अति प्रशंसा, अति डाहा र निन्दा पनि गर्नुहुँदैन भन्ने माक्र्सवादी मान्यता हो
1 min read
O अलिकति दाग देख्ने बित्तिकै चन्द्रमा कालो छ भन्नु त भएन नी ?
O भारतले राखेको ७ वटा मध्ये केहि प्रस्ताव पारित भएको भए खुशी हुन्थ्यो होला तर, देश सकिन्थ्यो ।
O अहिलेसम्म कोहि नेताले पनि सहमति गरी (सत्य निरुपण तथा मेलमिलाप आयोग) टिआरसी विधेयक ल्याउन सकेका थिएनन् ।
O एमाले भित्रै पनि सबैजना दुधले धोएका छन् भन्ने लाग्दैन ।
O जंगे पिल्लर गाडेर कपिलवस्तुलाई नेपालतर्फ पारेको ३० वर्ष पछिमात्रै इष्ट इण्डिया कम्पनीलाई थाह भयो ।
O भरसक अमृत नै रोपौं भन्ने प्रधानमन्त्री ओलीको चाहना हो ।
O सांसद जस्तो ब्यक्तिले यस्तो अशिष्ट र नेपालकै बेइज्यति गर्ने संस्कार र संस्कृति बनेको छ ।
O अमेरिकाले नेपालसँग भन्दा पनि चीनका कारणले नेपालसँगको सम्बन्ध कायम हुने देख्छु ।
२०८१ साल असोज २५ गते किर्तिपुरमा १० रापेनी १४ आना जग्गा भाटभटेनी सुपर मार्केटका साहु मिन बहादुर गुरुङले दान दिए । यो विषयलाई तपाईले कसरी लिनुहुन्छ ?
यसलाई दुई तरिकाले हेर्नुपर्दछ । लुकीचोरी वा घोटलाबाजी गर्ने भए यसरी खुला रुपमा दान दिने कुरा हुँदैनथ्यो । नबिराउँनु, नडराउँनु भन्ने भएपछि सहि कुराहरु दुनियाँका अघि देखाएर गरिन्छ । तर, नेकपा एमाले भन्ने पार्टीमा परम्परागत शाश्त्रीय खालको चिन्तन र चेतना अहिले पनि छ । पहिला पहिला कम्युनिस्ट पार्टी एउटा परम्पराबाट आएको थियो । त्यो उग्रता अहिले पनि एमाले भित्र बाँकी नै छ । त्यसैकारण महिला नेतृहरुले हत्तार हत्तारमा आलोचना र रुवाबासी नै गरे । पार्टीका अनुशासन विरुद्ध बोलेका कारण केहि लेखहरु पनि आए । संसदीय विधि र पद्धतिमा पार्टीहरु अनुशासनमा बाधिएका हुन्छन् । दान दिने र लिनेमा पनि विधि र पद्धति अवश्य नै हुन्छ । त्यहि अनुसार लिएको हुनुपर्छ । त्यस विषयमा केहि विसंगति नै छन् भने समयमा उजागार होला नै । अन्यथा शंका मात्रै गरिनु हुँदैन, अति प्रशंसा, अति डाहा र निन्दा पनि गर्नुहुँदैन भन्ने माक्र्सवादी मान्यता हो । नेपालका सबै पार्टीहरुलाई नजिकका हित्तचित्त मिलेका ब्यक्तित्व र धनीमानीहरुले हिजो भित्रभित्र दिएका कुराहरु उजागार भएन । कम्युनिस्ट पार्टीमा माओले भने जस्तै शाश्त्रियवादी पनि छन् । त्यो चिन्तनबाट म आफै पनि ग्रसित छु । त्यसैले पनि यो विषयलाई सन्तुलित ढंगले लिनुपर्दछ । आकाशै खस्यो भनेर उचालिनु हुँदैन । अरुले त उचाल्छन्, पछार्छन्, र थेचार्छन् त्यसैले हामी सबै जनाले सन्तुलित ढंगले लिनुपर्दछ । अरुले भन्दा ओली सरकारले केहि गर्छ भनेर कृष्ण खनालले एक दैनिक पत्रिकामा लेख नै लेख्नुभयो । यस्ता सूचनाहरु नलिने, नपढ्ने, काम र चिन्तन नगर्ने गरिन्छ । मुल्यांकन गर्नेले पनि पूर्ण र अंश भन्ने सिद्धान्तहरु हुन्छन् । अंशमा हेर्दा कमि कमजोरी देखिन्छ । चन्द्रमामा दाग देखिन्छ । जुन अंशमा हो । चन्द्रमाको पूर्ण मुल्यांकन गर्नुपर्दा सफा नै देखिन्छ । तर, अलिकति दाग देख्ने बित्तिकै कालो चन्द्रमा भन्नु त भएन नी ?
दुई ठूला पार्टीहरु नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनेको पनि एक सय दिन पुरा भएको छ । यसलाई कसरी मुल्यांकन गर्नु हुन्छ ?
ब्यक्तिको जीवनमा ३ महिना, ६ महिना, ६ वर्ष वा २० वर्ष मुल्यवान हुन्छ । तर, चेपुवामापरी माइक्रो म्यानेजमेन्ट गरेको ब्यक्तिका लागि तीन महिना पनि तीन दिन बराबर नै हो । ६ वर्ष पनि संस्थाका लागि ६ हप्ता बराबर नै हुन्छ । एमाले भित्रै पनि सबैजना दुधले धोएका छन् भन्ने लाग्दैन । मोरङमा भरखरै भरतमोहन अधिकारीका भतिजो लीलावल्लव अधिकारी बिकृत भएका रहेछन् बल्ल थाह भयो । यस्ता मानिसहरु एमाले पार्टीभित्र कति छन् ? खोजि गर्नुपर्छ । म यस्ता विकृत मान्छेहरु खोजेर उपचार गराउने गरेको छु । त्यसैले यो तीन महिनामा संयुक्त सरकारले काम गरेको आशा र भरोसा लाग्दो छ । किनभने अहिलेसम्म कोहि नेताले पनि सहमति गरी (सत्य निरुपण तथा मेलमिलाप आयोग) टिआरसी विधेयक ल्याउन सकेका थिएनन् । ओलीको विशिष्टिकृत पक्ष के छ भने उनका अनेक कमजोरी होलान् तर, पनि उहाँको यो नाफाको जिन्दगीलाई राम्ररी प्रयोग गरी काम गर्नुहुन्छ भन्ने लाग्छ । म उहाँको राम्रो कामलाई मात्रै प्रशंसा गर्दछु । जंग बहादुरले राणाले जंगे पिल्लर गाडे । उनले जंगे पिल्लर गाडेर कपिलवस्तुलाई नेपालतर्फ पारेको ३० वर्ष पछिमात्रै इष्ट इण्डिया कम्पनीलाई थाह भयो । उसले दुःख मनाउ ग¥यो । किनकी गौतम बुद्धको जन्मथलो पनि नेपालतर्फ प¥यो । सूचना थाहै नपाउने र सत्य कुरा नभन्ने अराजकहरुको जमातहरुको वृद्धि भएको छ । त्यसैले तीन महिनाको अवधिमा सरकारले धेरै राम्रो काम गरेको छ ।
प्रधानमन्त्री ओलीको यहि डिसेम्बरमा चीन भ्रमण तय भएको छ । तपाईको विचारमा मूख्य गरी के के एजेण्डा अघि सार्नुपर्ला ?
भारतले नेपालको संविधान २०७२ जारी गर्ने बेलामा ७ वटा प्रस्ताव राखेको थियो । ती ७ वटा मध्ये केहि प्रस्ताव पारित भएको भए खुशी हुन्थ्यो होला तर, देश सकिन्थ्यो । भारतीय प्रस्तावमा नेपालको मधेशमा जनसंख्या बढि छ, त्यहाँबाट जनसंख्याको आधारमा बढि भन्दा बढि सभासद चुनिने व्यवस्था संविधानमा हुनुपर्दछ । राष्ट्रियसभामा पनि त्यसै अनुपातमा सभासद चुनिनुपर्दछ । त्यसको मतलव भारतले नेपालका पहाड र हिमाल चाहिँ शून्य भएपनि हुन्छ भनेको हो । जनमत संग्रहमार्फत यस्ता विषय राखिनुपर्छ भन्ने थियो भारतको । यस्ता विषयमा चट्टानी र जब्बर अडान राख्ने केपी ओली, तत्कालिन प्रधानमन्त्री सुशील कोइराला प्रचण्ड हुनुहुन्थ्यो । त्यो समयमा भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आएर पख्लास भनि धम्की र दवाव दिएका थिए । त्यस प्रकारको संगीन अवस्थाबाट अघि बढेको छ । भारतमा प्रधानमन्त्री ओलीले त्वमं शरणम गर्दैनन्, भारतका भाइ होइनन् र समान हैसियत छ भन्छन् भन्ने मान्यताले रिसाएको छ ।
भारतले नबोलाए पनि प्रधानमन्त्री ओलीले चीनतर्फ मैत्री सम्बन्ध राख्ने छन् । प्रधानमन्त्री ओलीले भरसक भारतलाई नचिढ्याउने काम गर्छन् । तथापि अति नै गरेपछि भारतकै खति हुन्छ । नाकाबन्दीमा भारतकै पनि क्षति भयो । त्यहाँका विद्धानहरुले तिमीले गर्दा नेपाल जस्तो छिमेकी देशलाई सुनको थाली लिएर चीनतर्फ पठाईस् मोदी मुर्दावाद भनेर भने । काग धेरै बाठो भयो भने गुहँु खान्छ भन्छन् । भारत मित्रराष्ट्र हो । त्यहाँका जनतासँग हाम्रो कुनै दुश्मनी छैन । मैत्रीपूर्ण सम्बन्ध छ । तर, शासकहरु भने हामीलाई तल्लो व्यवहार गर्छन् । नेपालको सार्वभौमिकतालाई कायम राख्नमा ओली सरकारको उच्च मुल्यांकन गर्नुपर्छ । भारतलाई ओलीको चीन भ्रमणबाट शिक्षा पनि हुनुपर्छ । त्यो कति अपाच्य हुन्छ ? भोलिका दिनमा देख्न सकिन्छ । एउटा देशले नबोलाएको खण्डमा अर्को देश विकल्पका रुपमा छँदैछ । हामी कुनै एउटा देशसँग टासिएका हौं र ?
अहिलेसम्मका प्रधानमन्त्रीहरु दिल्लीलाई पवित्र तिर्थस्थल मक्का मदिना जस्तै भनि पहिला भारत भ्रमणमा जान्थे नि ? त्यो परम्परा प्रधानमन्त्री ओलीले तोडिदिएका हुन् ?
तोडिएको भन्दा पनि बाध्य हुनुपरेको हो । चीनले पनि व्यापारिक हिसावले भारतलाई चिढ्याउन चाहदैन । नेपाललाई कसरी सहयोग गर्ने भन्ने विषयमा चीनले भारतसँग पनि सल्लाह गरेको पनि सुनिन्छ । अमृत रोपेको ठाउँमा विष फल्दैन भनिन्छ । भरसक अमृत नै रोपौं भन्ने चीन, नेपाल र प्रधानमन्त्री ओलीको चाहना हो । ओलीको चीन भ्रमण बाध्यतावस नै हो । कसैले घारे हात लगाए पनि प्रधानमन्त्री ओलीको दृष्टिकोण मित्रराष्ट्रहरु प्रति सकरात्मक नै छ । तथापि त्वमं शरण गरेर बस्न हाम्रो नेपाल र हामी नेपाली बस्न सकिदैन । नेपाल र नेपालीको शीर उँचो राख्नुपर्दछ ।
चीन भ्रमणमा चर्चित बिआरआई (बेल्ट एण्ड रोड इनिसियटिभ) परियोजनाको विषयमा पनि छलफल हुन्छ कि ?
अहिले नेपालमा संयुक्त सरकार छ । अमेरिकी निर्वाचनको परिणामले पनि केहि असर गर्ला । संयुक्त सरकारका हिसावले के गर्ने ? सकरात्मक हिसावले कसरी काम गर्ने ? विआरआईका विषयमा पनि छलफल होला ।
अर्थ मन्त्रालयले २०८१ साल भदौ ६ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको थियो । यो विषयमा पनि छलफल होला नी ?
यो विषयमा चिनिया पक्ष पनि सकरात्मक हुन्छ भन्ने मलाई लाग्छ ।
यहि मंसिर १६ गते स्थानीय तहका रिक्त स्थानमा उपचुनाव हुँदैछ ? कुन पार्टीको पल्लाभारी होला ?
नेकपा एमालेका पदाधिकारीहरु, केन्द्रीय सदस्य र अगुवा कार्यकर्ताहरुको मति र गति सप्रिने र जनमैत्री भावना राख्ने हो भने एकालेको पक्षमा चुनावको परिणाम आउँछ । मैले कतिपय नेताहरु देखेको पनि छु जसले चुनावका बेलामा मात्रै नमस्ते गर्छन् र अरु बेला नमस्ते गर्छन् कि भन्दै हिड्छन् । जनमैत्री हिसावमा अघि बढेर आफैले गरेको काम जनताका तल्ला तहसम्म पु¥याउन सकेको खण्डमा नेकपा एमालेको पक्षमा पल्लाभारी होला । दोस्रो स्थानमा नेपाली कांग्रेस आउँछ भन्ने लाग्छ ।
अहिले यो संयुक्त सरकारले गर्नैपर्ने कामहरु के के हुन् भन्ने लाग्छ ?
अहिले जत्तासुकै अराजक वातावरण छ । राष्ट्रपति र प्रधानमन्त्री भनेको देशको प्रतिष्ठा र सम्मानसँग गासिएको कुरा हो । यिनैलाई विदेश गएको समयमा तथानाम गाली गर्नु, नारा लगाउने जस्ता अराजकपूर्ण कामहरु भएका छन् । अहिले शिक्षामन्त्री भइसकेकी एक जना सुमना श्रेष्ठ नामकी महिला छन्,तीनले सारी नै उचालेर हिडेकी छन् । सांसद जस्तो ब्यक्तिले यस्तो अशिष्ट र नेपालकै बेइज्यति गर्ने संस्कार र संस्कृति छ । देशभित्र झगडा गरी मुर्दाबाद र जिन्दावाद भने पनि यसलाई विदेशीका सामुन्ने अराजक शैलीमा विरोध गर्ने गरिनु हुँदैन । आकाशतिर थुकेर आफ्नै अनुहारमा पर्छ भन्ने कुरा बुझ्नुपर्छ । सरकारले पनि जनताका पक्षमा कसरी बढि सेवा दिन सकिन्छ भन्ने विषयमा ध्यान दिनुुपर्छ । कर्मचारी संयन्त्र पनि बढि भन्दा बढि जनताका आधारभूत सेवामा तल्लिन हुने भन्ने विषयमा ध्यान दिनुपर्छ । अहिले सरकारको मूख्यसचिव दोसल्ला ओडेर पोखरामा घुमेको देखिएको छ । जनताको सेवा गर्नुपर्छ भन्ने उहाँलाई पनि सिकाउनुपर्छ ।
अमेरिकी निर्वाचन परिणामले आगामी दिनमा नेपालको राजनीतिमा केहि फरक पार्ला ?
नेपाल ठूला देशको सामारिक महत्वमा छ । अमेरिकाको राष्ट्रपतिमा ट्रम भएपनि वाइडेन भएपनि अन्य देशलाई हेर्ने दृष्टिकोण पूर्ववत नै रहन्छ । अहिले जे गरे पनि अमेरिकी चिन्तन जब्बर रुपमा रहेको छ । उनीहरुले नेपाललाई क्रिडाको मैदान बनाउने, मुस्ताङतिर केहि मर्मत गर्ने खालको कुरा होलान् । नेपालसँग भन्दा पनि चीनका कारणले नेपालसँगको सम्बन्ध कायम हुने देख्छु । भारत र रुसको पनि दौत्य सम्बन्ध भएको र रुस नेपाल प्रति सकरात्मक भएको हुँदा कसैले केहि गर्दा धेरै नकरात्मक नहोला भन्ने लाग्छ ।
यस अघिको प्रचण्ड सरकारले त रुसको विरुद्धमा र युक्रेनको पक्षमा मत दिएको थियो नी ? त्यसैको निरन्तरता अहिले पनि छ नि ?
त्यो विषयलाई समयमा सच्याउनुपर्छ ।
अन्त्यमा केहिथप भन्नु छ कि ?
तपाईहरु सञ्चारकर्मीहरु हुनुहुन्छ । अहिले स्वस्थ्य पत्रकारिताको खडेरी परेको छ । सामाजिक सञ्जाल र टेलिभिजनहरुमा नेकपा एमाले र प्रधानमन्त्री ओलीलाई पाइला पाइलामा खेदो खनिरहेको देखेको छु । प्राध्यापक डा. पिताम्बर शर्माले पनि प्रधानमन्त्रीका विरुद्धमा बोलिरहँनु भएको छ । जुन गलत छ ।