रावलका दिमागमा अहंमता र निरंकुशताले भरिएका छन्
२०२९ साल पुस २ गते मस्ता १ कोटदेवल, बझाङमा जन्मनुभएका प्रयाग खड्का नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगका सदस्य हुनुहुन्छ । २०४६ साल देखि नेकपा मालेको सदस्य भएर काम गर्नभएका उहाँ २०४६ सालमा अनेरास्वबियु जिल्ला कमिटीको सदस्य बन्नुभयो । हालसम्म कुनै पनि लाभको पद नलिई निरन्तर रुपमा पार्टीमा खटिनुभएका उहाँ सुदूर पश्चिम प्रदेशका नेता भीम रावललाई नजिकबाट चिन्नुहुन्छ । रावलकोे बहिर्गमनलाई कसरी हेर्नुहुन्छ ? सुदूरपश्चिम प्रदेश नेकपा एमाले पार्टीको संगठनमा भीम रावललाई कारबाही गर्दा कस्तो असर पर्छ ? दशौं महाधिवेशन पश्चात केन्द्रीय निर्वाचन आयोग सदस्य खड्कासँग यिनै समसामयिक विषयमा केन्द्रीत रहेर गरिएको छोटो वार्ताः
तपाई सुदूर पश्चिमको एमालेका नेता हुनुहुन्छ । नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्ष पदमा पराजित भीम रावललाई नेकपा एमालेले कारबाही गरेको छ । यसबाट सांगठनिक रुपमा के फरक पर्छ ?
भीम रावलले केबल कम्युनिस्टको बर्को मात्रै ओड्नुभएको छ । उहाँ झण्डै ५० वर्ष नेपालको वामपन्थी आन्दोलनमा सक्रिय रहँनुभयो । असली चरित्र त दल खोलेपछि सबैजनालाई थाहै होला । उहाँ ठीक भएको भए पार्टीमा अन्तरसंघर्ष गर्नुपर्दथ्यो । राजनीतिक रुपमा ओत लाग्नका लागि राष्ट्रवादको नारा लगाउनुभएको हो । शब्दजाल बुनेर पार्टीका अध्यक्ष माथि प्रहार गर्नुभएको छ । उहाँको शैली देख्दा प्रगतिशील र राजावादीको जस्तो पनि छैन । सुदूरपश्चिमको नेताको हैसियतमा पार्टीबाट पाउनुपर्ने सम्पूर्ण कुरा पाइसक्नुभएको छ । पार्टीमा धम्काएर पद हत्याउन लागि पर्नुभयो । उहाँलाई इतिहासले मुल्यांकन गर्ला । २०४६ सालपछि सुरुमा अन्तरिम सरकारका वनमन्त्री झलनाथ खनालको सल्लाहकार हुनुभयो । त्यसपछि पर्यटन राज्यमन्त्री, शिक्षा मन्त्री अस्वीकार गर्नुभयो । त्यसमा उहाँ इन्चार्ज र सह–इन्चार्ज भानुभक्त जोशी हुनुहुन्थ्यो । उहाँले अन्यायपूर्ण तरिकाले जोशी कमरेडलाई सिफारिस नगरी मोहन सिंह राठौरलाई सिफारिस गर्नुभयो । पार्टीको छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभयो । नेकपा विभाजनका समयमा फरक मत राख्नेहरुलाई आक्रमक ढंगले निरंकुश शैलीमा पेल्नुभयो । त्यो समयमा उहाँलाई बन्दूके कमरेड भनिन्थ्यो । पूर्व माले भनेपछि देखि नसहने गर्नुभयो । बामपन्थी आन्दोलनमा लाग्न शिक्षकको स्थायी जागिर छाडेर अछाम जिल्लाबाट जनपक्षिय उम्मेदवार बन्नुभएका भीम बहादुर कडायत, जगत बोगटीले धेरै ठूलो संघर्ष गर्नुभएको थियो । उहाँ भन्दा अग्रजलाई पार्टीमा बस्न र टिक्न दिनुभएन । २०४९ सालमा भएको पाचौं महाधिवेशनमा नै भीम बहादुर कडायत केन्द्रीय सदस्य बनिसक्नुभएको थियो ।
राष्ट्रवादी नेता प्रेम सिंह धामीलाई दार्चुला जिल्लाबाट राजनीति गर्नका लागि भन्दै जागरिबाट राजिनामा दिन लगाउनेमा भीम कडायतहरु हुुनुहुन्थ्यो । भीम रावलले जहिले पनि ढुंगा राखेर अग्लो बन्न चाहनुहुन्छ । उहाँमा आफुभन्दा जान्ने सुन्ने त्याग र समर्पण भएका कोहि पनि नेता छैनन् भन्ने भावना छ । भीम रावलका दिमागमा अहंमता र निरंकुशताले भरिएका छन् । उहाँले चित्त बुझेका मानिसहरुलाई राप्रपाबाट ल्याएर प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रस्ताव गर्नुभयो । राजनीतिमा लागेर लामो संघर्ष गरिरहेका व्यक्तिहरुलाई उहाँले बन्देज गर्दै आउनुभएको छ । भीम रावल उप्रधानमन्त्री तथा गृहमन्त्री, रक्षामन्त्री, पर्यटन मन्त्री बन्नुभयो । पाँच पटक मन्त्री बन्नुभयो । उहाँले पाउन बाँकी नेकपा एमालेको केन्द्रीय अध्यक्ष्ख र प्रधानमन्त्रस्ी मात्रै हो । योग्यता क्षमताको कदर नगर्ने मानिसहरुको सहि मुल्यांकन नगर्ने र मन नपरेका मानिसहरुलाई अनुशासनको डण्डा भनेर प्रहार गर्ने गर्नुहुन्छ ।
डा. रावलले अध्यक्ष ओलीलाई नेकपा बन्न भन्दा पहिले देखिकै आरोप लगाउनुभएको छ । यसबाट अन्य विरोधीका लागि त मसला बन्ने भयो नि ?
वास्तवमा भन्ने हो भने दशौं महाधिवेशनमा उहाँ अध्यक्षमा पराजित हुनुभयो । कम्युनिस्ट पार्टीमा सामुहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी भन्ने हो । उहाँले जनताको बहुदलिय जनवादका बारेमा राम्ररी बुझ्नुभएको छ । ५० वर्षको लामो राजनीतिमा उहाँले सेवा सुबिधा पनि कम प्रयोग गर्नुभएको छैन । उहाँ माथि अन्याय भएको विषय जुन छ त्यसमा उहाँले वरिष्ठ नेता माग्नुभएको छ । नेकपा एमालेृमा बरिष्ठ नेता हुनका लागि अध्यक्ष भइसकेको, पूर्व प्रधानमन्त्री जस्ता व्यक्ति हुनुपर्दछ । त्यो खालको प्रचलन हाम्रो पार्टीमा छ । विधान बिपरित त्यो पद दिन सकिएन । उहाँ आठौं महाधिवेशन पछि यस्तै किसिमका बखेडा झिकेर लामो समय सपथ नै लिनुभएन । वास्तवमा माधव नेपालले उहाँलाई छोरा जस्तो गरी संरक्षण गरेर पुल्पुलाएर राख्नुभएको थियो । उहाँले व्यवस्थापन हुन्छ भनेपछि सपथ लिनुभयो । पछि गृहमन्त्री पाएपछि फेरी एमालेमा लाग्नुभयो
।
पार्टीमा विभाजनको असर त पर्ने भयो नि ?
सुदूर पश्चिमको आफ्नै विशेषता र चरित्रको राजनीति छ । एमालेको नेतृत्व एकतावद्ध भएर अघि बढ्ने हो भने माधव झलनाथ वामदेव गौतमले छा्दा पनि राम्ररी चलेको पार्टी हो । केहि पनि फरक पर्दैन । रावलले मन नपरेका जत्तिलाई किनारा लगाएकै हो । केहिलाई राष्ट्रबादको धङधङ्गी देखाएर आकर्षित गर्लान् । बिना विचारले पार्टी निर्माण गरेपनि बन्न सक्तैन । वैकल्पिक शक्ति बनाउनुपर्छ भन्नेहरुको पनि त अनुहारको हवीगत देखिइसकेको छ ।
उहाँ पूर्व गृहमन्त्री भइसकेको व्यक्ति भएकाले सेवानिवृत प्रहरी र सेनाका मानिसहरु राखेर संगठन बनाउन लागे जस्तो दृश्य पत्रकार सम्मेलनमा देखिन्थ्यो । त्यसको असर त ठूलो पर्ला नि ?
उहाँले नेकपा एमालेका अध्यक्ष ओलीलाई जत्ति आरोप लगाउनुभएको छ, कतिपय आरोपको हिस्सेदार उहाँ पनि हो । सुदूर पश्चिमको हकमा उहाँ भन्दा भूई तहमा काम गरेका मानिसहरुलाई अन्यायपूर्ण ढंगले काम गर्नुभएको छ । समानताको हिसावले काम गर्नुभएकै छैन । सत्ताको रजगजमा हुँदा आफ्ना वरीपरीका मानिसहरुलाई लाभका पदमा पु¥याउनुभयो । तिनै व्यक्तिहरुले उहाँलाई सहयोग गर्लान् । किनकी उहाँले सत्ता र शक्तिको भरमा केहि समय एमालेलाई गाली गर्ने वातावरण त गर्नुहोला अन्यथा वास्तवमा पार्टी निर्माण गर्ने सामाथ्र्य उहाँमा छैन । उहाँको असहमति हो भने बेलैमा पार्टी स्थापना गर्नुपर्दथ्यो । एमाले भित्रै बसेर गाली गरिरहँने कुरा बिरोधाभासपूर्ण छ । उहाँले कस्तो पार्टी खोल्ने हो वा गैर कम्युनिस्ट अहिलेसम्म केहि निश्चित छैन ।
डा रावललाई त दुर्गा प्रसाईका कार्यकर्ता, रबि लामिछानेका कार्यकर्ता, राप्रपाका कार्यकर्ताले फूलमाला लगाएर स्वागत गरेका छन् नी ?
लामो समयसम्म राज्य सत्तामा रहेको व्यक्तिले विकासको अवधारणा उहाँसँग छ भने सुदूर पश्चिम प्रदेशमा के विकास गर्नुभयो ? लामो समयसम्म प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाले त्यो क्षेत्रका लागि केहि गर्नुभयो । देउवालाई टक्कर दिने व्यक्तित्व बनाउनुभएका रावलले जे गर्नुपर्दथ्यो गर्नुभएन । त्यहाँका गरिब, शोषित, पीडित र सुकुम्बासीका लागि सिन्को पनि भाच्नुभएन । केहि उल्लेखनीय योगदान नै भएन । नेकपा एमाले भनेको श्रमजिबी वर्गको पार्टी हो ।
यसको अर्थ रावल नेकपा एमाले पार्टीमा केहि वास्ता नभएकै कारण बिरक्तिएका हुन् त ?
हो, उहाँको क्रेज घट्दो थियो । यो कारबाहीले पार्टी संगठनमा केहि फरक पार्दैन । रावलको स्थान सचिव लेखराज भट्टले लिनुपर्छ । त्यसपछि एकढिक्का भएर लागेको खण्डमा नेकपा एमाले पहिलो पार्टी बन्छ । फेरी शक्तिमा हुँदा अन्य नेतार कार्यकर्तालाई पेलेका रावल शक्ति विहिन हुँदा पेलिनु नौलो कुरा पनि होइन । उहाँ शक्ति हुँदा केहि गर्नुभएन । अहिले स्टन्टबाजी गरी लोकप्रिय बन्न खोज्नुभएको छ । जनतामा राष्ट्रबादी भन्ने उहाँ कस्तो हो भन्ने ? भन्ने विषयमा उहाँसँग सहकार्य गरेका भीम कडायतलगायतका नेताहरुलाई राम्ररी थाह छ । उहाँको बौद्धिकता र क्षमताका सहि सदुपयोग गर्नुपर्दथ्यो । उहाँले गाली गलौजको वैचारिक बहस बनाउनुभएको छ । जुन थालमा खायो त्यहि थालमा थुक्ने काम गरेको देखिन्छ । जुन पार्टीमा रहेर काम गरे त्यहि पार्टीका अध्यक्षलाई गाली गर्ने कस्तो संस्कारको विकास गर्नुभएको हो ? उहाँले ७४ वटा अभियोग लगाउनुभएको छ । एमालेका अध्यक्षलाई लगाएको आरोपबाट उहाँको पार्टी बन्ने छैन । पार्टी बनाउनका लागि त युवा, प्रौढ, श्रमिक, सर्वहारा गरिबलगायतका जनताको प्रतिनिधिमूलक बनाउनुपर्छ होला । समाजवादी, साम्यवादी, पुँजीबादी वा उद्दार पुँजीबादी कुन खालको पार्टी बनाउने हो ? त्यो पनि प्रष्ट देखिदैन । जहाँसम्म राष्ट्रबादी पार्टी बनाउने कुरा छ, हिजो त्यसका लागि अधिकांश मानिसहरु महाकाली सन्धि जस्ताको तस्तै गरी पास गर्नुहुँदैन यो राष्ट्रघाती छ भन्थे । प्रेम सिंह धामी, ऋसषराज लुम्साली, हिरन्यलाल श्रेष्ठ, भीम बहादुर कडायत, खगराज अधिकारीलगायतका नेताहरुको बहुमत थियो तर, बिभिन्न जालझेल गरी पास गराउने पक्षमा माधव नेपालको समूहमा उहाँहरुको हात थियो । जसरी पनि महाकाली सन्धि पारित हुनुपर्छ भन्नेमा माधव नेपालको समूहमा उहाँहरु हुनुुहुन्थ्यो ।
लिपुलेक, लिम्पियाधुरामा र कालापानीमा उहाँकै समयमा भारतले बाटो बनाएको थियो हैन ?
हो, उहाँ रक्षामन्त्री भएको समयमा भारतीय प्रधानमन्त्री मोदीले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा बाटो बनाएका हुन् । तर, उहाँले राज्यष्को तर्फबाट कुनै पनि पहल गर्नुभएन ।