May 5, 2026

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

० ‘जस्ले बाजा बजाउँछ, उस्ले ट्युन पनि खोज्छ, बाजाको पैसा तिर्नेले यो धुन पनि बजाउँ भनेर भन्छन्’

० राजनीतिक क्षेत्रमा भ्रष्टाचार हटाउने हो भने निर्वाचन खर्चिलो हुनु भएन
० यहाँ त पहिला थुन्दिने पनि सुन्दिने भएको छ ।
० सबै कुराहरु संविधानमा लेखेर पनि साध्य हुँदैन ।
० आफ्नो इतिहासमा पनि फर्कने बेला आउन सक्तछ ।
० एउटा आस्थाका केन्द्रका रुपमा राजा रहँदा हामी सबैलाई सहज हुन्छ ।
० अहिले राजाले नछाडेको भए हुन्थ्यो भन्ने अवस्था आउन नदिने हाम्रो दायित्व हो ।

१५ फेब्रुवरी १९४० मा साविक बासुलिङ्ग गाविस–१ बैतडीमा जन्मनुभएका लोकेन्द्र बहादर चन्द चार पटक प्रधानमन्त्री जस्तो पदमा रहेर काम गर्नु भएका भाग्यमानी नेपाली मध्ये पर्नुहुन्छ । पञ्चायतकालमा राजाको शासन हुँदा दुई पटक र बहुदलमा पनि प्रधानमन्त्री भएर दुई पटक गरी चार पटक प्रधानमन्त्री पदमा रहेर राजनीतिमा सादगी जिवन बिताएका एक जना पात्र हुनुहुन्छ । प्रथम पटक वि.सं. २०४० असार २८ देखि वि.सं. २०४२ चैत ८ गते सम्म दोस्रोे पटक, वि.सं. २०४६ चैत २४ देखि वि.सं. २०४७ बैशाख ६ सम्म, तेस्रो पटक, वि.सं. २०५३ फागुन २९ देखि वि.सं. २०५४ असोज २१ सम्म र चौथो पटक, वि.सं. २०५९ असोज २५ देखि वि.सं. २०६० जेठ २२ सम्म गरी चौथो पटक प्रधानमन्त्री बन्नुभएका चन्द २०२७ सालमा जिल्ला पञ्चायतको सभापति, २०३१ देखि २०४६ सालसम्म लगातार राष्ट्रिय पञ्चायतको सदस्यका रुपमा १६ वर्षसम्म, प्रतिनिधिसभाको सदस्य २०५१ देखि २०५६ सम्म, राष्ट्रिय पञ्चायतको उपाध्यक्ष २०३२ देखि २०३६ सम्म, त्यसपछि २०३७ सालमा राष्ट्रिय पञ्चायतको अध्यक्ष बन्नुभएको थियो । प्रजातन्त्रको पुनस्थापना पश्चात राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षसमेत बन्नुभएका उहाँ मानविकीमा बिए र कानूनमा एलएलबीसम्मको अध्ययन गर्नुभएको छ । चन्दले बाह्रांै खेलाडी, नेताको साथी, हिउँको तन्ना, इन्द्र धनुष, अपरिचितलगायतका दर्जनौं पुस्तक लेखि नेपाली साहित्यमा इट्टा थप्ने काम गर्नुभएको छ । साथै साहित्यमा नेपालको गौरवशाली मदन पुरुस्कारसमेत पाउनुभएको छ । हाल भक्तपुरको लोकन्थलीमा बस्नुभएका ८६ बर्षिय पूर्व प्रधानमन्त्री चन्दसँग डायरी एक्सप्रेस साप्ताहिकका सम्पादक नारायण प्रसाद शर्माले उहाँकै निवासमा लिइएको समसामयिक विषयमा गरेको छोटो वार्ताः
तपाईको उमेरको साढे आठ दशक र राजनीतिका ६ दशक भन्दा बढिको अवधिको अनुभवमा अहिलेको सरकारको कामलाई कसरी मुल्यांकन गर्नुभएको छ ?
अहिले रास्वपाको बहुमतको सरकार छ । सरकारको नेतृत्व गरिरहेको रास्वपाले बाचा गरेअनुसार काम गरे की गरेनन् ? भन्ने कुरा हो । त्यसको परिणाम ३ देखि छ महिनापछि देखिन सक्छ । मूल कुरा उनीहरुले राजनीतिमा भ्रष्टाचारको सफायाँ गर्ने भनेका छन् । त्यसको जरो कहाँ छ ? पत्ता लगाउनुपर्दछ । चुनाव धेरै खर्चिलो छ । खर्च गरेपछि कमाउन खोजिन्छ । एक पटक जितेपछि दोस्रो पटक पनि जित्नै पर्दछ भन्ने मनोविज्ञान बन्छ । त्यसैले चुनाव खर्चिलो नहोस् भन्ने वातावरण बनाउनुपर्दछ ।
पहिला पहिला पाकिस्तानमा चुनावका लागि सरकार गठन गरिन्थ्यो । जुन सरकार चुनाव गरिसकेपछि भंग हुन्थ्यो । त्यो जितेर आउँछन् उनीहरुले नै सरकार बनाउँथे । भारतमा पनि पुरै फोर्सहरु चुनाव घोषणा भएपछि निर्वाचन आयोगको मातहत हुन्थे । पञ्चायती व्यवस्थामा पनि म प्रधानमन्त्री भएको समयमा पूर्व प्रधानमन्त्री र राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्षहरुलाई बोलाएर वीरेन्द्र सरकारले आफ्नो चलन यस्तो त के गर्ने भनेर भनेपछि कसैले भैगो यहि चलन नै ठीक छ भने । मैले अर्कोदिनको बेग्लै दर्शन भेटमा ‘त्यो हो भने लागू होस सरकार भनेर भने ।’ किनकी म पनि आफ्नो निर्वाचन क्षेत्रमा जानु पर्दछ । (निर्वाचनमा जानु अघि राजाबाट बक्स निर्वाचन खर्च सम्बन्धमा) । मूल कुरा राजनीतिक क्षेत्रमा भ्रष्टाचार हटाउने हो भने निर्वाचन खर्चिलो हुनु भएन । कसैले खर्चिलो र तडक भडक गरेको खण्डमा कारबाही हुनु प¥यो । अहिले त कसरी बढि पैसा कमाउने भन्ने दौडमा कुदिरहेका छन् । कतिपय असल मान्छेहरु पनि त्यहि दौडमा सामेल भएका छन् । यहाँ त पहिला थुन्दिने पनि सुन्दिने भएको छ ।
हाम्रो निर्वाचन प्रणाली र शासकीय स्वरुपकै कारण निर्वाचनमा खर्चिलो भएको छ । तथापि संविधान संशोधनमा पनि नजाने दलहरुको अकर्मन्यताले गर्दा होइन र ?
संविधानमा के संशोधन गर्ने ? निर्वाचनमा खर्च गरिनु त नैतिक प्रश्न हो । बरु नियम र कानूनसम्मत गर्नुपर्दछ । निश्पक्ष सरकार गठन होस् । सबै कुराहरु संविधानमा लेखेर पनि साध्य हुँदैन । एउटा प्रचलन र नियम बनाएर सुरुवात गर्नुपर्दछ ।
पछिल्लो पटक बनेको सरकार असंलग्न परराष्ट्र नीति विरुद्धमा गयो भन्ने ब्यापक गुनासाहरु छन् । पहिलाका सरकार र अहिलेको सरकारबीच के फरक पाउनुभयो ?
म नेतृत्वमा बस्दा यस प्रकारका कुनै दवाव महसुस गरिएन । ‘एक पटक हामी चार÷पाँच जना थियौं । राजा विरेन्द्र होइबक्सन्थ्यो ।’ त्यसै क्रममा बाहिरी हस्तक्षेप धेरै भयो भन्ने कुरा चल्यो । राजा विरेन्द्रबाट के आज्ञा भयो भने ‘बलियोले सधै हस्तक्षेप गर्छन कहाँ गर्दैनन्’ अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनका समयमा दक्षिण अफ्रिकाका एक जनालाई थुनिएको थियो । हामी नेपालीहरुले हस्तक्षेप नहोस् भनेर याद गर्नुपर्छ । स्वतन्त्रपूर्वक आफ्नो देशको विकास गरौं । सार्वभौमिकता र स्वतन्त्रता पुस्तौसम्म कायम राखौं भनेर हामीले सोच्ने कुरा हो । हामीले कुनै छिमेकी वा अन्य देशसँग सहयोग गर्न खोज्दा कुनैपनि विचार नगरी लिई हाल्ने त्यसपछि हस्तक्षेप गरे भन्नु गाह्रो कुरा हो । अंग्रेजीमा एउटा कहावत छ ‘जस्ले बाजा बजाउँछ, उस्ले ट्युन पनि खोज्छ । बाजाको पैसा तिर्नेले यो धु्न पनि बजाउँ भनेर भन्छन्’ यसैले अरुको आधारमा भर नपरी हाम्रो साधन र स्रोतबाट जत्ति गर्न सकिन्छ त्यो मात्रै गर्नुपर्दछ । कमसेकम हामीले राष्ट्रिय सहमति कायम गरी काम गर्नुपर्दछ । देशको राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकताको विषयमा एक छौं भनेर सबै राजनीतिक पार्टीहरुले अठोट गर्नुपर्दछ ।
कुनै समय देखि वृटिस सेना, भारतीय सेनामा नेपालीहरु भर्ति भए । त्यसपछि अहिले त नेतृत्व विकास गर्ने निहुमा अमेरिकाले नै युथ काउन्सिलको नाममा थुप्रै नेपाली युवाहरुलाई संगठित बनाईरहेको छ । भरखरै त्यसलाई काउन्टर दिनका लागि चीनले पनि तालिमका लागि भन्दै निवेदन आब्हान गरेको छ । यसले नेपाली जनमानसमा झनै हस्तक्षेप बढाएको हैन र ?
यसका लागि हामीले मुलूकभित्रै रोजगारी सिर्जना गर्नुपर्दछ । हुनत आफु खुशी पनि विदेश जाने गरेका छन् । जहाँ गयो उहि देशको अलिकता माया त हुन्छ नै । रोजगारी र जनताको चित्तबुझ्दो शासन व्यवस्था हुनुपर्दछ ।
यस्तो हुनुमा हाम्रो नैतिकता र इमान्दारितामा पनि खडेरी परेको हो ? हामी गम्भीर रुपमा चुकेका हौं ।
अहिलेको वातावरणमा नैतिकता र इमान्दारिताको कमि छ । मैले पहिले नै भनको छु पैसा कमाउनका लागि सबै दौडिएका छन् । छात्रवृत्तिमा अध्ययनका लागि विदेश जान्छन्, पहिला सेनामा जान्थे । त्यो समयमा पनि त्यहि तर्क दिन्थे । तर, खोइ त नेपाल बस्नका लागि रोजगारीको व्यवस्था ?
हरेक देशमा एक जना सर्बमान्य सबैले मान्ने व्यक्ति रहन्छन् । उनैका कारण देशभक्ति र राष्ट्रियताको भावना जागृत हुन्छ । हाम्रोमा त यो हुनुपर्छ भन्ने मान्छे नभएका कारण यो अवस्था भएको हो ?
हामी कहाँ एकजना अभिभावकको आवश्यक्ता बेला बेलामा देखा परेको छ । एक दुई वर्ष अघि सर्वोच्च अदालत र नेपाल बारका बीचमा गम्भीर टसल भयो । कसैले पनि बोलाएर किन यस्तो भएको हो ? भनेर आँट गर्ने मान्छे भएन । वास्ता पनि गरेनन् । अरु बेला पनि त्यो प्रकारका अभिभावकको खाँचो परिरहेको छ । अहिले पनि राजासँग पूर्व पश्चिम, उत्तर दक्षिणबाट मानिसहरु टीका लगाउन आउँछन् । किन हो भने आस्थाका कारणले हो । त्यो आस्थाका केन्द्र हुनुपर्दछ । त्यसैले सक्रिय राजतन्त्र होइन एउटा आस्थाका केन्द्रका रुपमा राजा रहँदा हामी सबैलाई सहज हुन्छ । रुसमा स्तालिनका समयमा जर्मनीसँग भिषण लडाई भयो । उनले पुराना राजाहरुलगायत उक्त समयका लडाकुहरुलाई प्रयोग गरे । यसरी आफ्नो इतिहासमा पनि फर्कने बेला आउन सक्तछ । जसमा हामी गौरब पनि गर्न सकिन्छ । यसरी कुनै बेला आवश्यकता पनि पर्न सक्छ ।
यस्तो खालको ज्ञानको कमि हुनुमा हाम्रो शिक्षा प्रणाली पनि दोषि हैन र ?
हामी कहाँ पावर हुन्जेल सबै ठीक छ । पावर नभएको अवस्थामा केहि पनि ठीक छैन भन्ने किसिमको भाष्य तयार भएका छन् । यसरी दिएको बचनमा कायम नरहँने हो भने भोलिका दिनमा कोहि पनि रहँदैन । राजाले सत्ता नछाड्दा अलिकता दयियम कजभम (भीषण रक्तपात) पनि हुन सक्थ्यो । तर, राजाले पार्टीहरुको बचन अनुसार नै छाड्नुभयो । अहिले राजाले नछाडेको भए हुन्थ्यो भन्ने अवस्था आउन नदिने हाम्रो दायित्व हो । ठूलो संकटलाई छल्न भलाद्मी किसिमले बचन दिन सकिन्छ । अहिले त आफ्ने काम मात्रै चलाउँ बोलिको कुनै मतलव नै भएन भन्ने परिपाटी बनाउन लागियो, जुन त्यो ठीक भएन ।
पछिल्लो समयमा युवा र वृद्ध भनेर उमेर समूहको विभाजन ल्याएर एक आपसमा द्वन्द्व सिर्जना गरी खेल्ने काम भएका छन् । यो विषयमा के भन्नुहुन्छ ?
यो अवस्था कसरी आयो मैले बुझ्न सकिरहेको छैन । एकै दिनमा मेची देखि महाकालीसम्म आन्दोलनका नाममा देश नै सखाप पार्ने काम यहाँका राजनीतिक दलबाट सम्भव छैन । यो अध्ययनकै विषय हो ।
तपाई मदन पुरुस्कार प्राप्त साहित्यिक ब्यक्तित्व पनि हुनुहुन्छ । साहित्य र राजनीतिमा कसरी तालमेल भयो ?
साहित्यमा विचारको कुरा हुन्छ । कार्यक्रमबाट थाकेर आएपछि प्रधानमन्त्री कार्यालयमा पनि बसिरहेको अवस्थामा कोहि मान्छे छैनन् भने भावनामा बग्ने गर्थे । मेरो वास्तविक झुकाव त साहित्य प्रति नै हो । तर, जनताको आर्शिवादले राजनीतिमा लागेँ । राजा विरेन्द्रसँग धेरै समय काम गरेँ ।
अन्त्यमा केहि भन्नु छ कि ?
पहिला पक्राउ गर्ने र पछि जाँचबुझ गर्ने प्रक्रिया अब रोकिन्छ कि । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.