देशलाई बचाउनका लागि राम्रा मानिसहरुको खोजी हुनुपर्छ
वि.स. १९८४ साल जेष्ठ दशमीका दिन बाबु पशुपति भण्डारी (ब्याकरणमा पोष्टचार्य) र आमा शान्त भण्डारीका सुुपुत्रको रुपमा गौर, रौतहटमा जन्मनुभएका कृष्ण प्रसाद भण्डारी न्यायलयमा शुद्धीकरणका लागि नेपाल बारले गरेको आन्दोलनमा एक अग्रणी व्यक्तित्वको नाम हो । नेपालको न्यायलयमा भ्रष्टाचार छ यसलाई शुद्धीकरण गर्नुपर्छ भन्दा उहाँलाई पटक पटक मानहानीको मुद्दा लगाइयो । तथापि उहाँले जित्नुभयो । नेपाल रुस मैत्री संघको अध्यक्ष भएर पाँच हजार भन्दा बढि नेपालीहरुलाई चिकित्साशाश्त्र, इन्जिनियरिङ, कानूनलगायतका विषयमा निशुल्क छात्रवृत्तिको व्यवस्था मिलाएर अध्यनका लागि पठाउने व्यवस्था मिलाउनुभयो । यसबाट देशमा अभाव रहेको चिकित्सकहरुको ठूलो अभाव पुर्ति भयो । नेपाल आँखा अस्पतालको स्थापना र विस्तार गरी सर्वसाधारणको पहुँचमा पु¥याउने काममा अथक परिश्रम गर्नुभयो ।
पञ्चायतकालमा राष्ट्रिय पञ्चायत सदस्यका लागि स्नातक सिटबाट निर्वाचित भई सन् १९७१ देखि १९७५ सम्म नेपालको सांसदसमेत बन्नुभयो । कानूनमा र मानबिकी शास्त्रमा स्नातक गर्नुभएका वरिष्ठतम् अधिवक्ता भण्डारीले सन् १९५७, १२ मई देखि कानून व्यवसायीका रुपमा निरन्तर प्राक्टिस गर्दै आउनुभएको छ । कानून व्यवसायी परिषद्बाट पाएको उहाँको प्रमाणपत्र नै ८ हो । कानून व्यवसायमा लागेर कहिल्यै पनि विश्राम नलिने, आफ्नो शुल्क नतोक्ने र पीडितले जत्ति दिए पनि बहस पैरवी गर्ने सन्त स्वाभावका कारण भण्डारी कहिल्यै पनि विवादमा आउनुभएन । उहाँसँग डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायणप्रसाद शर्माले नेपाल ल फर्मको कार्यालयमै विशेष गरी शेयर बजारमा केन्द्रीत रहेर लिइएको छोटो अन्तवार्ताः
० अहिले शेयरबजार कृत्रिम रुपमा चलखेल गरी बढाइएको छ भनिन्छ । तथापि आम नेपालीहरु ठूलो रकम लगानी गरेका छन् । तपाईलाई के लाग्छ ?
हाम्रो देशलाई अरब, मलेशिया, कोरियालगायतका देशमा गएर हाम्रा छोरा छोरीले बचाएका छन् । उनीहरुले अबौं रुपैया नपठाएको भए देश स्वाहा हुन्थ्यो । उनीहरुलाई यहाँको वस्तुस्थितिका बारेमा ज्ञान छैन । नेपालमा अहिले लगानी गर्ने ठाउँ छैन । अन्य व्यवसाय चलाउन वातावरण छैन । त्यसैकारण मान्छेले विप्रषणबाट आएको पैसाले घर बनाए । जग्गा किने । जग्गाको भाउ आकाशियो । तपाईसँग पैसा छ भने के गर्ने ? अहिले जग्गामा लगानी अनाआवश्यक हो ।
बिप्रषण (रेमिट्यान्स) बाट आएको रकमले घर बनाए भाडामा लगाउनका लागि । तर, अहिले गाउँघरमा पुरै घर खाली भएका छन् । पैसा चाहि बाहिरबाट आइरहेको छ । घरजग्गा अहिले खाली भएपछि शेयर बजारमा लगानी गरेका छन् । कुनै कम्पनीले धेरै मुनाफा कमायो भने मात्रै शेयरको मूल्य बढ्छ । तर, कुनै पनि कम्पनीहरुको राम्रो अवस्था छैन । शेयरको मूल्य बढिरहेको छ । हाम्रो पैसा पठाउनेहरुको पैसा राख्ने ठाउँ नै शेयर बजार बनेको छ । भोलि शेयर बजार पनि सहकारी जस्तै स्वाहा हुन्छ । ठूला र विश्वाशिला कम्पनीमा लगानी गर्नुपर्छ । नेपालीसँग अथाहा पैसा छ । तर उनीहरुको लगानी त केबल घर बनाउनु र जग्गा किन्नु मात्रै भएको छ । रकम पठाउनेसँग ज्ञान छैन सरकारले पनि ज्ञान दिदैन । त्यसैले शेयर बजारमा अनाआवश्यक भाउ बढिरहेको छ ।
० सरकारले त झनै रेटिङकम्पनीमार्फत मूल्य बढाएर, प्रिमियम शेयर निश्कासनका लागि अनुमति दिएर जनतालाई भ्रममा पारेको छ नि ?
अहिले नेपालका ९९ प्रतिशत धनीहरु दुई नम्बरी धन्दावलाहरु हुन् । एक नम्बर धन्दा गरेको व्यवसायी धेरै कम छन् । बुद्ध एयरका मालिक सुरेन्द्र बहादुर बस्नेत, पञ्चकन्याका ग्रपका प्रेम बहादुर श्रेष्ठहरु बाहेक ठूला उद्योगीहरु बैंकमारा हुन् । पाँच लाखको प्रोजेक्ट बनाएर चार लाख कर्जा लिने प्रोजेक्टमा लगानी नगरी घर बनाउने डुबेको खण्डमा बैंक नै डुबोस् भन्ने छ । मैले बैंकरहरुलाई पैसा डुब्छ, ग्राहक गरिब छ, बैंक बचाउँ भनेको छु । शेयर मार्केटका कारण बैंकहरुलाई पनि असर परेको छ । त्यसका लागि सरकारले असल नियत भएका मानिसहरुको समिति बनाउन जरुरी छ । हामीले मेडिकल कलेज खोल्दा जनताले विश्वास गरी एक अर्ब रुपैया दिए । समस्या के आयो भने व्यवस्थापन कस्ले गर्ने ? तपाई राम्रो कम्पनी खोलेर राम्रो नाफा दिनुस् शेयरमा लगानी गर्छन् । अहिलेको शेयरमा लगानी दुःख गरेर कमाएको पैसा स्वाहा गर्ने बाटो हो ।
० सरकारले घाटामा देखाएर बन्द हुन लागेको भृकुटी कागज कारखानाको शेयर निश्कासन गर्न अनुमति दियो । पछि कारखाना नै बन्द भयो । जनताको त १० करोड रकम शेयर लगानीमा डुब्यो राज्य दोषि होइन ?
अहिले जत्ति ठूला घरहरु बनेका छन् अधिकांश कालो धनबाट बनेका हुन् । घुस खाएका छन्, कमाएका छन् पैसा कहाँ राख्ने ? पहिला बैंकमा पैसा राख्थे । सम्पत्ति शुद्धीकरण ऐनका कारण बैंकमा पनि पैसा राख्दैनन् । देशलाई बचाउनका लागि इमान्दार मानिसहरुको कम्पनी बनाएर शेयर जम्मा गर्नुपर्छ । त्यसो गरेको खण्डमा कोहि पनि डुब्दैन ।
० अधिकांश नेपालीहरु शेयर निष्काशन गर्ने उद्योग र कम्पनीको आर्थिक इन्डेक्स खराव भएपनि शेयर बजारमा सक्रिय छन् नी ?
अहिले सम्पूर्ण उद्योगहरु घाटामा छन् । मेरा नातेदारसँग मैले सल्लाह गर्दा उनले भने म सँग दुई करोड रुपैया छ । जग्गा किनौं एक आना पनि आउँदैन । के गर्ने शेयरमा लगानी गरेको छु । त्यसैले शेयरमा लगानी बाध्यात्मक बनेको छ । यसरी उत्पादन नहुने क्षेत्रमा अहिले लगानी भइरहेको छ ।
० यसको विकल्प लगानीको क्षेत्र के हुन सक्छ ?
योग्य र इमान्दार मानिसहरुको सिण्डिकेट बनाउनुपर्छ । तिनीहरुले सबैलाई विश्वासमा लिन सक्नुपर्छ । असल मानिसहरु नेपालमा धेरै जना छन् । दमननाथ ढुंगाना जस्ता असल मानिसहरु भएको देश हो हाम्रो ।
० राजनीतिज्ञहरु पनि बिभिन्न प्रकारका भ्रष्टाचारका मुद्दाहरुमा मुछिएका छन् । युवाहरु र नयाँ दलहरु पनि जनतालाई नै ठगीरहेका छन् । २०८४ को निर्वाचनमा तपाईले कस्तो देख्नुभएको छ ?
अहिले जत्ति राजनीतिज्ञ छन्, तिनीहरु मध्ये दुई नम्बरी मानिसको मात्रै तागत छ । उनीहरु नै शक्तिशाली छन् । विकल्प नै देशभक्तहरु एक जुट भएर देश बचाउँनुपर्छ । देशलाई बचाउनका लागि राम्रा मानिसहरुको खोजी हुनुपर्छ । रुसमा अध्ययन गरेका मित्रकुञ्जमा आवद्ध मानिसहरु योग्य र इमान्दार छन् । ति देशबाट हामीले अनुदान ल्याउनसक्नुपर्छ ।
० प्रसंग बदलौं, तपाईले न्यायलयमा भएका विकृति र विसंगति अन्त्यका लागि लामो समय आन्दोलनमा लाग्नुभयो । अहिले न्यायलयमा विकृति र विसंगति हटेको हो ?
अहिले सर्वोच्च अदालत बार एशोसियसनले एउटा पुस्तक प्रकाशन गरेको छ । त्यो पुस्तकमा लेखिएको छ । हाम्रो पहिलो पुस्ता देब नाथ बर्मा, विश्वनाथ उपाध्यायहरुको धेरै राम्रो थियो । घुस खाने र ख्वाउने काम गर्दैनथे । म सानो थिएँ । पहिलो पुस्तामा मेरो कुनै प्रभाव थिएन । दोस्रो पुस्तामा म बासुदेव ढुंगानाहरु मिलेर वकालतका साथै सामाजिक सेवा पनि गरियो । हामीले बहसमा भन्ने गर्दथ्यौं पढेर, लेखेर बहस गर, तर बकबास चाहिँ नगर । त्यो समयका वकीलहरु पढेर नै विद्धान बनेका थिए । तेस्रो पुस्तामा प्रकाश वस्ती र भरतराज उप्रेती जस्ता विद्धानहरु थिए । उनीहरु आफ्नो काम गरे तर, सामाजिक सेवामा भने कमजोर थिए । अहिले टीकाराम भट्टराईहरुको चौथो पुस्ताले राजनीति घुसायो । राजनीति गर्नेहरु वकील मात्रै धनी भए । कांग्रेस, एमाले र माओवादीका वकीलहरु धनी बने । अरु स्वाहा भए । अझ चौथो पुस्ता बिचौलिया नै बन्यो । नयाँ पुस्ताका वकील बन्न सक्तैनन् । तथापि बिभिन्न संस्था र कम्पनीमा काम पाएका छन् । तर, उनीहरु राम्रो वकील बन्न सक्तैनन् । उनीहरुमा व्यवहारिक ज्ञान हुँदैन । त्यो व्यवहारिक ज्ञान बहस गर्ने वकीलले मात्रै प्राप्त गर्न सक्छ । आज हाम्रो बहसलाई न त न्यायाधीशले नै सुन्छन् नत हामीले नै पढ्छौं । यो अवस्थामा शून्यतामा गइरहेका छौं ।
० अहिले समग्रमा कानूनी अभ्यासमा कमि हुन गयो ?
अहिले वकिल भनेकै काग्रेस, एमाले र माओवादीहरु हुन् । बिचौलिया पनि यहि छन् । नाम कांग्रेस, एमाले र माओवादी झगडियालाई जत्ति ठगे पनि हुन्छ ।
० न्यायालयमा शुद्धीकरणका लागि तत्कालै गर्नुपर्ने कुराहरु के के छन् ?
हामीले चण्डेश्वर श्रेष्ठ नेपाल बारको अध्यक्ष भएका समयमा धेरै राम्रा काम गरेका थियौं । केहि काम गर्दैन भनेर मैले कानून व्यवसायी परिषद्लाई २४ वर्षदेखि बहिस्कार गरेको थिएँ । तर, चण्डेश्वरजीले कानून व्यवसायीसँग मिलेर एउटा कार्यक्रम बनाए । उनले अदालत मात्रै सुध्रिएर हुदैन कानून व्यवसायी पनि सुध्रिनुपर्छ भनेर न्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा वकीलहरु पनि समेटेर एउटा समिति बनाइयो । त्यसले सुधारका लागि प्रतिवेदन बनायो । यो प्रतिवेदनमा न्यायलय र बार दुबैलाई सुधार्ने विषय अहिले आएर थन्किएको छ । वकील र न्यायाधीश दुबै सुधार्नुपर्छ ।
अहिले युवा पीढि वकालत पेसामा प्रवेश नै गर्न सक्तैन । किनकी हाम्रो समयमा काम मात्रै लगाउने होइन पैसा पनि दिने गरेका थियौं । उनीहरुलाई खान पुग्थ्यो । हामी कहाँ काम सिक्न लवदेव भट्ट आए । उनलाई मैले भने र तपाईलाई मुद्दा लेख्न आउँदैन म्याद थप्ने निवेदन लेख्नुहोस् । त्यसबाट उनलाई खान पुग्थ्यो । जबसम्म नयाँ पीढिलाई सिकाएर पैसा दिने व्यवस्था गर्दैनौं, उसले सिक्न पनि सक्दैन । वकालतमा हरेक फर्मले दुई तीन जना नयाँ वकील राखेर काम दिनुपर्छ । नेपाल ल फर्म बाहेक कसैले यसरी राम्ररी सिकाएका छैनन् । हामी कहाँ धेरै राम्रा, इमान्दार र योग्य वकीलहरु छन् । ती विद्धान वकीलहरुको गुट बनाएर काम गरेको खण्डमा मात्रै न्यायलयमा सुधार गर्न सकिन्छ । लोभी र दुई नम्बरीले देश बनाउँदैनन् ।