बम हानेर सुरुङ खन्दा जमिन भासियो र घर चर्किए
1 min readगोपी सुर्खेती, पूर्व वडाध्यक्ष, चन्द्रागिरि नगरपालिका, नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना प्रभावित क्षेत्र
नेपालकै पहिलो नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना २६८८ मिटर लामो बन्दैछ । यो सुरुङको एमओयु गर्दा प्रभावित क्षेत्रका जनताका लागि खानेपानीको व्यवस्था गरेर मात्रै काम सुरु गर्ने भनिएको थियो । छिटो काम गर्नका लागि यो आयोजनाको सुरुङ मार्ग निर्माणमा बम ब्लाष्ट गर्यिो जुन सम्झौतामा उल्लेख छैन । त्यसैकारण चन्द्रागिरि नगरपालिका वडा नम्बर दुईका प्रभावित जनताको झण्डै १५० वटा घरका भित्ताहरु चर्किए । खानेपानीको मुहान सुके । राष्ट्रिय गौरवको यो आयोजनाको ठेक्का सम्झौता सेप्टेम्बर २३, २०१९ र ठेक्काको काम सुरुवात १४ नोभेम्वर २०१९ बाट गरियो । अहिले स्थानीय प्रभावित क्षेत्रका बासिन्दालाई खानेपानीको हाहाकार भएको र आफ्ना ऋण धन जम्मा गरी बनाएका घरहरु चर्किएपछि आन्दोलनमा उत्रिएका छन् । यहि फागुन ६ गते देखि प्रभावित क्षेत्रका जनताहरु आन्दोलनमा छन् । यसै विषयमा आन्दोलनको नेतृत्व गरेका चन्द्रागिरी नगरपालिका वडा नम्बर २ का निवर्तमान वडाध्यक्ष गोपी सुर्खेतीसँग प्रभावित क्षेत्रमै पुगेर कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले डायरी एक्सप्रेस साप्ताहिकका लागि गरेको छोटो अन्तर्वार्ताः
० तपाईहरु नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका कारण खानेपानीका मुहानहरु सुक्न गएका घर चर्किएका कारण आन्दोलनमा हुनुहुन्छ तपाईहरुका अन्य माग के के हुन् ?
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना सञ्चालन भएपछि चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का साबिक बाडभञ्ज्याङ गाबिसका १,२,३ र ५ नम्बर र साविक दहचोक गाबिसको ४ नम्बर वडामा सुरुङको जमिन मुनि पर्ने भागहरुमा पानीका मुहानहरु पुरै सुके । दोस्रो कुरा सुरुङ खन्ने समयमा आयोजना पक्षले हामीलाई सुरुङ माथिको जमिन भासिदैन जे गर्दा पनि हुन्छ भन्थे । विज्ञ इन्जिनियरहरुले हामीलाई यो विषयमा विश्वास दिलाएका थिए । तर, खन्दै जाँदा सुरुङ भासियो । घरहरु चर्किए । त्यसमा पनि राज्य पक्षले कुनै सम्बोधन गरेको अवस्था छैन । खोला खोल्सीहरुको पानी सिञ्चित गरेर तरकारी लगायतका कृषि बालीहरु लगाउन सकिन्थ्यो । तर, अहिले पुरै समस्या भइसकेको अवस्था हो । यो समस्या देखापर्ने बित्तिकै प्रभावित क्षेत्रका जनताहरु आन्दोलित हुनुभयो । आन्दोलित भएपछि समस्या समाधानका लागि धेरै पटक प्रयास गरियो । यसको हल गछौं भनेर आयोजना पक्षले भन्दै आएको छ तर, समस्या जिउको तिउ नै छन् । फागुन २३ गते सुरुङको ब्रेक थ्रु गर्ने भनिएको छ । तर, समस्या पूर्ण रुपमा हल नभएको हुँदा प्रभावित क्षेत्रका जनताहरु बाद्य भएर आन्दोलनमा उत्रिनुपरेका छ ।
० आयोजना प्रभावितहरुको संख्या कति छ ?
यो रेकर्ड आयोजना निर्माण पक्षसँग पनि छ । सुरुङ खन्नु अघि प्रभावित मात्रै ५ सय घर थिए । यो पाँच वर्षको अवधिमा अन्य तीन सय जत्ति घर थपिएका छन् । यसरी ७÷८ सय घरधुरी गरी जम्मा ३ हजारको संख्यामा प्रभावित छन् ।
० सुरुङमार्ग निर्माण आयोेजना प्रभावित क्षेत्रका जनतालाई मुआवजा दिने काम सुरुमै भएको हैन र ?
सुरुङ माथिको जमिनलाई हालसम्म पनि एक रुपैया मुआवजा दिइएको छैन । मुआवजा दिएको चाहिँ सडक बनाउने ठाउँको मात्रै हो । जमिन भासिएको छ, घर चर्किएको छ । कसैले पनि एक रुपैया पाएका छैनन् । अध्ययन भइरहेको छ भन्दै जानकारी दिने तर, समस्या समाधान नहुने अवस्था रहँदै आएको छ ।
० आयोजना सुरु गर्नु अगावै इआर्ईए पनि गरिएको हुन्छ । त्यो समयमा यी समस्याहरु उठाइएनन् ?
प्रारम्भिक चरणमा वातावरणीय प्रभाव मुल्यांकन (इआए) गर्दा सुरुङ खन्ने प्रविधि अर्को देखाइयो । त्यो समयमा टिएमटी भन्ने माटो खन्ने मेसिनबाट काम गर्ने बताएका थिए । त्यसपछि हाम्रो भेला भयो । माइन्युट गरियो । तर, पछिल्लो समयमा खर्च कम हुने भएका कारण आयोजनाले बम नै हानेर सुरुङ खन्न थाल्योे । यसरी ब्लाष्टिङ भएपछि कम्पनका कारण जमिन भासियो घर चर्किए । यसरी इआइएमा जे भनियो त्यो गरिएन । अर्को ढंगले काम गरियो ।
० आयोजनाका प्रमुख र भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरुले चासो लिएर हेर्नुभएकोे छैन ?
पछिल्लो चरणमा हामीलाई एक पटक सडक विभागमा छलफलका लागि बोलाउनुभयो । हाम्रा कुराहरु राख्यौं । उहाँहरुले कतिपय विषयमा हामीले गर्न सकिन्छ भन्ने लचक्ता पनि प्रस्तुत गर्नुभयो तर, कतिपय विषयमा भने हाम्रो लेबलबाट हुँदैन, क्याबिनेटमै लैजानुपर्छ भन्नुभयो । हामी यी विषय माथि लैजान्छौं त्यसपछि खबर गरौला भन्नुभयो । तर, खवर नै आएन ।
० उहाँहरुले त राष्ट्रिय गौरबको आयोजनालाई अबरोध गर्नुभयो भन्नुभएको छ नी ? आन्दोलन कसरी अघि बढ्छ ?
हामी शान्तिपूर्ण ढंगले आन्दोलनलाई अघि बढाउँछौं । अहिले आयोजना पक्षले प्रभावित क्षेत्रका बासिन्दा हामीहरुलाई राष्ट्रिय गौरबको आयोजनामा भाँजो हालेको भन्ने आरोप लगाउने गरेको छ । दैनिक यत्ति घाटा भयो भनिरहेका छन् तर, सबैभन्दा सहयोग गरेकै यहिका बासिन्दाहरुले हो । किनकी हिजो नगरपालिकासँग आयोजना पक्षले एमओय्ु (ःझयचबलमगm या ग्लमभचकतबलमष्लन) गर्दा स्पष्टसँग के लेखिएको छ भने प्रारम्भिक सर्वेक्षणमा नै पानीका मुहानहरु सुक्छ भनेर खानेपानीका संरचना बनाएर सबै जनालाई पानी ख्वाएर मात्रै काम सुरु गर भनिएको छ । तर, हामीले राष्ट्रिय गौरवको आयोजना भएकोले काम हुँदै गर्छ । नेपालको सिस्टम यस्तै हो भनियो । सरकारी प्रोसेसमा समय लाग्छ भनेर साथ सहयोग गरियो । भित्रको काम द्रुत गतिमा सुरु भयो । त्यसपछि पानीका मुहान सुके । केहि समय ट्यांकरबाट ल्याएर पानी वितरण गरियो । हामी प्रभावित क्षेत्रका जनताले आन्दोलन गरेपछि एक दिन बिराएर १० देखि १५ मिनेट मात्रै पानी आउने गरेको छ ।
० यहाँ आयोजनाका कारण पानीको मुहान सुकेपछि स्थानीय सरकारका प्रमुख चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले चासो लिनुभएको छैन ?
हाम्रो क्षेत्रमा प्रशस्त खानेपानीका मुहानहरु छन् । यो आयोजना सुरु गर्नु अघि कुन ठाउँको मुहानमा कति इन्च बराबरको पानी छ भन्ने कुराको आयोजना पक्षसँग पूर्ण रुपमा रेकर्ड छ । आयोजनाका कारण अहिले कम्तिमा पनि चार÷पाँच इन्च पानी सुकेको छ । यसरी परापूर्वकालदेखि निशुल्क रुपमा खाँदै आएको पानी सुकेको हो । यो पानी सुकेपछि नगरपालिकाको भूमिका शून्य नै छ । नगरपालिकाको कुनै भूमिका देखिएको छैन । नगरपालिका अहिले पुरै निदाएर बसेको अवस्था छ । ३ हजार जत्ति जनसंख्या प्रत्यक्ष प्रभावित छन् ।
० तपाईहरुको आन्दोलनको स्वरुप कस्तो हुन्छ ?
हाम्रो प्रभावित क्षेत्रका जनताहरु फिल्डमा उतारेर आन्दोलन हुने छ । आन्दोलन शान्तिपूर्ण नै हुन्छ । समस्या समाधान नहुन्जेल आन्दोलन हुनेछ ।
० अन्य तहबाट सम्भव नभएपछि प्रधानमन्त्रीसम्म मागपत्र दिन जानका लागि पहल गर्नुभएको छैन ?
२०८० साल भाद्र १६ गते प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको कार्यक्रममा आउँदा केहि महिना अघि यहि वडामा जनस्तरबाटै गुनासो गरेका थियौं । त्यसपछि यहिबाट आयोजना पक्षलाई फोन गरी सुरुङ मार्ग प्रभावितहरुलाई सम्बोधन गर्न के गर्नुपर्छ ? प्रधानमन्त्री प्रचण्डले यसको प्रतिवेदन ७ दिन भित्र बुझाउन निर्देशन दिनुभएको थियो । आयोजना पक्षले यहाँका समस्या प्रतिवेदनमार्फत खुलाएको भए पनि सक्रियपूर्वका कार्यन्वयन गर्ने काम भएका छैनन ।
० यो काम कहाँ रोकियो त ?
नेपालमा यत्ति लामो सुरुङ्ग मार्ग पहिलो प्रयोग पनि हो । गाडी सञ्चालन हुने गरी बनाइएको सुरुङ्ग मार्ग आयोजना पक्षले ढिलाई गरेको छ ।
० तत्काललाई खानेपानीको समस्या कसरी व्यवस्थापन गरिएका छन् ?
हाम्रो यो क्षेत्रमा ६ गतेबाट आन्दोलनको सुरुवात भएको हो । आन्दोलन अघि यो बोरिङ खन्न एक महिना लाग्छ भन्थे तर, अहिले अर्को बोरिङ फिल्डमा झरिसकेको छ । पानीको चरम समस्या नहुँदै हामीलाई पानी ट्यांकरबाट ल्याएर ख्वाउने गरिएको छ ।
० प्रभावित जनतालाई खानेपानीको ट्यांकर ल्याएर पानी वितरण स्थायी समाधान त होइन नी ?
हिजोको दिनमा पानीको चरम समस्या हुँदा पनि ट्यांकरबाटै ख्वाएको थियो । मानिस पानी बिना बाच्न नसक्ने प्राणी हो । आयोजना पक्षलाई प्रशस्त फाइदा हुँदा ट्यांकर प्रयोग गरिएको हुन सक्तछ ।
० चासो लिनुपर्ने विभागीय मन्त्री प्रकाश ज्वाला आफै जागिर बचाउन लागिरहेका छन् । अबका दिनमा कसरी माग प्रस्तुत गर्नुहुन्छ ?
सुरुङमार्ग निर्माण आयोजना भनिए पनि सबै काम सडक विभागलाई सोध्नुपर्ने हुन्छ । भौतिक पूर्वाधार मन्त्रीलाई आफ्नो व्यवस्थापनको चिन्ता छ । जुन ढंगले समस्या समाधानका लागि लाग्नुपर्ने हो अहिले सुतिरहेको अवस्था छ । प्रधानमन्त्री कार्यालय जाँदा पनि फाइल त मन्त्रीकै माध्यमबाट लैजाने हो । अहिले परिस्थितिकै कारण पनि अझ ढिलाई हुन गएको हो ।
० अन्तमा अरु केहि भन्नु छ कि ?
नागढुंगा सुरुङमार्ग नेपालकै पहिलो प्रयोग हो । गाडी चलाउने गरी बनाइएको यो सुरुङमार्ग अहिलेसम्म नेपालको सन्दर्भमा लामो पनि छ । हामीले सुरुवातमा साथ र सहयोग पनि गरेका थियौं तर, पछिल्लो चरणमा आएर यस्ता विकराल समस्याहरु आउलान् भन्ने त सोचेका पनि थिएनौं । यी समस्यालाई छिटो भन्दा छिटो सबै जना मिलेर हाल गरी आयोजनालाई अघि बढाऔं । भोलिका दिनमा नगरपालिकाका प्रमुखले अहिलेसम्म कुनै चासो नै नराख्नु भनेको बिडम्बना नै मान्नुपर्दछ । नगरप्रमुख कता अलमलिनुभएको हो ? अतः छिटो भन्दा छिटो हाम्रा मागलाई सम्बोधन गर्दै आयोजनालाई अघि बढाउन हामी आतुर छौं ।