एनआरएनए भन्ने संस्था स्वतन्त्र भएपनि पार्टीको भातृ संगठन जस्तो बनेको छ

चन्द्र सुयल थापा, पूर्व अध्यक्ष तनहुँ–काठमाडौं सम्पर्क मञ्च हाल जापान
नेपालमा रहँदा पत्रकारिता पेसासँग आवद्ध साविक पुर्कोट गाविस–२, हाल भानु नगरपालिका –९ तनहुँका चन्द्र सुयल थापा रोजगारीका लागि झण्डै दुई दशकदेखि जापानमा हुनुुहुन्छ । नेपालमा रहँदा तनहुँ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षसमेत भएर काम गर्नुभएका थापासँग नेपाल आएको समयमा उहाँसँग गरिएको विशेष वार्ताः
तपाई रोजगारीका लागि जापानमा जानुभएको छ । त्यहाँ नेपालीहरुको अवस्था कस्तो छ ?
जापानमा कामको कदर हुन्छ । पढेलेखेका जापानिजहरु पनि सामान्य काम गर्छन् । पढेलेखेका नेपालीहरु पनि त्यहाँ पुगेपछि भाडा माझ्ने काम सामान्य नै हो । किनकी त्यहाँ कामको बढि महत्व छ ।
तपाई नेपालमा रहँदा पनि पत्रकारिता जस्तो पेसामा श्रम गर्नुभएको थियो । त्यहाँको श्रममा कस्तो अनुभव भइरहेको छ ?
सुरुमा न्यास्रो भए पनि पछि काम गर्दै जाँदा रमाइलो भयो ।
त्यहाँ बस्ने नेपालीहरुलाई हाम्रो नेपाली दुतावासको कस्तो ब्यवहार पाउनुभयो ?
त्यहाँका नेपालीहरुलाई परेका समस्याहरु एनआरएनएले हेर्ने र बुझ्ने गरेको छ । समस्या जटिल भएमा राजदूतावासमार्फत गरिँदै आएको अवस्था छ ।
नेपाली दुतावासले खासै नेपाली श्रमिकहरुका समस्यामा वास्ता नगर्ने गर्छन् भन्ने गुनासोहरु छन् नी ?
जापानमा नेपाली दुतावासले गुनासो आउने गरी काम गरेको छैन । सक्रिय रुपमै त्यहाँका नेपालीहरुको पक्षमा काम गरेको छ । सामान्य गुनासाहरु त सबै ठाउँमा भइहाल्छन् नी ।
नेपालीहरु जापान पुगेपछि प्रायजसोले के काम गर्छन् ?
एक थरी नेपालीहरु ब्यवसाय गर्छन् । अर्काथरी विद्यार्थीहरुले पढाई खर्चका लागि पनि रेष्टुराहरुमा काम गर्छन् ।
एनआरएनएका पूर्व अध्यक्ष भवन भट्टदेखि धेरै नेपालीहरुले जापानमा रेष्टुरन्ट व्यवसाय गरेका छन् ।
किन अन्य पेसा नअगालेको होलान् ?
अन्य व्यवसाय भन्दा रेष्टुरा व्यवसाय बढि नै चल्छ । जापानीजहरु प्राय घरमा खाना खाँदैनन् । उनीहरु रेष्टुरामा गएर खाना खान्छन् । घरमा पकाएर खाँदा बढि समय लाग्छ । रेष्टुरामा जाँदा तुरुन्तै खाना पाइन्छ । त्यहाँ घण्टाको हिसावमा काम हुन्छ । जापानीहरुले एक छाकमा ७÷८ सयका खाना खान्छन् । तर, एक घण्टा काम गर्दा १२÷१३ सय कमाउँछन् । त्यसैकारण पनि रेष्टुरन्टहरु बढि चल्छन् ।
अहिले जापान भरमा नेपालीहरुको संख्या कति छ ?
जापानमा बस्ने नेपालीहरु झण्डै डेडलाख जत्तिको संख्यामा छन् । एनआरएनएको रिपोर्टमा ६० हजार मात्रै छ । कतिपय इन्ट्रि नभएका कारण संख्याको रिपोर्ट मेल नखाएको हो ।
कोरोना महामारी पछि जापानको आर्थिक अवस्था कस्तो छ ?
कोरोना महामारी पश्चात अहिले आर्थिक अवस्थामा सुधार आएको छ । त्यो समयमा खस्किएको थियो । कोरोना कालमा जापान सरकारले जापानकै नागरिक सरह प्रत्येक व्यक्तिलाई एक लाख रुपैया राहात प्रदान गरेको थियो । रेष्टुरन्ट व्यवसाय गर्नेहरुलाई एउटा पसल बराबर दैनिक ५० हजार सरकारले दिने गरेको थियो
।
कतिपय नेपालीहरु बस्नकै लागि जापानिज श्रीमती विवाह गरेर बसेका छन् । उनीहरुको अवस्था कस्तो छ ?
जापानीज श्रीमती विवाह गरेपछि भिसा लगाइरहँनु पर्दैन । जापानीज श्रीमती विवाह गर्नेहरुले जुनसुकै ठाउँमा पनि काम गर्न पाउँछन् । अन्य त उहि नै हो । विद्यार्थी र अन्य भिसा बनाएर जानेहरु अन्य क्षेत्रमा जान पाउँदैनन् ।
बाहिर काम गर्न जाँदा के हन्छ ?
बाहिर काम गर्न गएको खण्डमा आफ्नै देशमा (डिपोर्ट) फर्काइदिन्छ ।
त्यहाँ कामदारको बीमा प्रणाली कस्तो छ ?
त्यहाँ सबै कामदारको बीमा हुन्छ । उपचार खर्चमा ७० प्रतिशत बीमाले नै ब्येहोर्ने गरेको छ । यसरी ७० प्रतिशत उपचार खर्च बीमामार्फत राज्यले दिने गरेको छ । अर्को तर्फ आफुले तिरेको रकम ६५ वर्ष पछि पेन्सनका रुपमा दिने गर्दछ ।
विश्वयुद्दमा कुनै बेला हिरोसिमा र नागासाकीमा अमेरिकाले एटम बम पड्काएर ध्वस्त बनाइदिएको थियो । अहिले जापान विकास हुनुमा के कारण देख्नुहुन्छ ?
सुरुमा लड्न र झगडा गर्न जापानिजहरु बढि नै लागे । उनीहरु संसार नै जित्छौं भन्दै लडे । तर, अमेरिकाले एटम बम खसाले पश्चात उनीहरुमा युद्दतिर होइन देश विकासका काममा लाग्नुपर्छ भन्ने लाग्यो । त्यसैले सिंगो जापान तथा हिरोसिमा र नागासाकीमा राम्रो विकास गरे ।
जापानमा कर्मचारी र प्रहरी प्रशासन कसरी चलेको जस्तो लाग्छ ?
नेपालमा प्रहरी मेरो साथी भनिन्छ । तर, व्यवहारमा त्यो अझै भएको छैन । त्यहाँ प्रहरी प्रशासनले विदेशी र जापानिजलाई समान व्यवहार गरेको पाईन्छ । जापानमा कुनै अपराधीले प्रहरीलाई नै कुट्यो भने पनि कुट्दैनन्, सम्मान गरिरहेका हुन्छन् । दोषी नै भए पनि सम्मानपूर्वक व्यवहार गर्छन् । यातना भन्ने त कुरै छैन ।
पछिल्लो समयमा एनआरएनएमा विवाद चर्किएको छ । यसको असर जापानमा पनि त परेको होला नी ?
एनआरएनए जापानमा पनि पहिला नेतृत्वको विवाद आएको थियो । शिव पौडेलको नेतृत्वको निर्वाचित टीममा धाधली भयो भन्दै आलोचना पनि गरियो । पछि पौडेलकै नेतृत्व कायम भयो । एनआरएनए भन्ने संस्था स्वतन्त्र हो तर, पार्टीको भातृ संगठन जस्तो बनेको छ । केन्द्रमा जस्तै जापानमा पनि विवाद मुक्त चाहिँ छैन ।
अहिले नेपाल सरकार एनआरएनएको कुन समुहलाई मान्यता दिने अलमलमा छ । भविष्यमा कस्तो परिणाम आउँला ?
यो रोग जापानको एनआरएनएलाई पनि सरेको छ । मिलेर जाँदा मात्रै हरेक समस्याको समाधान हुन सक्छ । संस्थाको भविष्य पनि उज्जल हुन्छ ।
तपाई लामो समय जापानमा रोजगारीका लागि बस्नुभयो । भोलिका दिनमा कस्ता योजना बनाउनुभएको छ ?
खासै योजना त बनाएको छैन तर, पनि बिस्तारै नेपाल फर्कनुपर्छ भन्ने लागिरहेको छ । त्यसपछि समाजका लागि केहि उल्लेखनीय काम गर्नुपर्दछ ।
अधिकांश नेपालीहरु जापानमा कति समय बसेपछि स्वदेश फर्कने गरेका छन् ?
वास्तवमा राम्रो तरिकाले काम गरेको खण्डमा लामो समय बस्नेहरुको संख्या पनि धेरै नै छ । मैले सुने अनुसार नेपालको नागरिकता त्याग गरेर जापानकै नागरिकता लिनेहरुको संख्या पनि १०/१२ हजार छन् भन्ने सुनिन्छ ।
नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमलाई जापानमा बस्ने नेपालीहरुले कसरी मुल्यांकन गरेका छन् ?
जापानमा राजनीति फेसबुकको ग्रुप मेलमार्फत चल्ने गरेको छ । पार्टीभित्रका मतभेदहरु पनि बाहिर निस्कन्छन् । नेपालमा भन्दा बढि राजनीतिक चासो जापानमा बसेका नेपालीहरुमा देखिरहेको छु ।
अहिलेको एमाले(माओवादीको गठबन्धनका विषयमा कस्तो प्रतिक्रिया पाउनुभयो ?
पहिला केपी ओलीले नै समर्थन दिएर प्रचण्ड प्रधानमन्त्री बन्नुभयो । पछि प्रचण्डले कांग्रेसको समर्थन लिनुभयो । कुनै समयमा माओवादी र एमालेबीच पानी बाराबार नै थियो । अहिले यसरी समिकरण बदलियो र राजनीतिमा जे पनि भइहाल्ने रहेछ । तथापि यो सरकार पनि लामो समय टिकाउ होला जस्तो लाग्दैन । भोलि कांग्रेस र एमाले मिलेर सरकार नबनाउँलान् भन्न सकिने अवस्था रहेन ।
अन्तमा केहि भन्नु छ कि ?
तपाईको पत्रिकामा मेरा केहि विचारहरु राख्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद छ ।