November 17, 2026

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

“अहिले न्याय क्षेत्र शून्यतातिर गइरहेको छ”


वरिष्ठतम् अधिवक्ता कृष्ण प्रसाद भण्डारी
वि.स. १९८४ साल जेष्ठ दशमीका दिन बाबु पशुपति भण्डारी (ब्याकरणमा पोष्टचार्य) र आमा चन्द्रकला भण्डारीका सुपुत्रको रुपमा गौर, रौतहटमा जन्मनुभएका वरिष्ठतम् अधिवक्ता कृष्ण प्रसाद भण्डारी न्यायलयमा शुद्धीकरणका लागि नेपाल बारले गरेको आन्दोलनमा एक अग्रणी व्यक्तित्वको नाम हो । नेपालको न्यायलयमा भ्रष्टाचार छ यसलाई शुद्धीकरण गर्नुपर्छ भन्दा उहाँलाई पटक पटक मानहानीको मुद्दा लगाइयो । तथापि उहाँले जित्नुभयो । नेपाल रुस मैत्री संघको अध्यक्ष भएर पाँच हजार भन्दा बढि नेपालीहरुलाई चिकित्साशाश्त्र, इन्जिनियरिङ, कानूनलगायतका विषयमा निशुल्क छात्रवृत्तिको व्यवस्था मिलाएर अध्यनका लागि पठाउने व्यवस्था मिलाउनुभयो । यसबाट देशमा अभाव रहेको चिकित्सकहरुको ठूलो अभाव पुर्ति भयो । नेपाल आँखा अस्पतालको स्थापना र विस्तार गरी सर्वसाधारणको पहुँचमा पु¥याउने काममा अथक परिश्रम गर्नुभयो । पञ्चायतकालमा राष्ट्रिय पञ्चायत सदस्यका लागि स्नातक सिटबाट निर्वाचित भई सन् १९७१ देखि १९७५ सम्म नेपालको सांसदसमेत बन्नुभयो । कानूनमा र मानबिकी शास्त्रमा स्नातक गर्नुभएका वरिष्ठतम् अधिवक्ता भण्डारीले सन् १९५७, १२ मई देखि कानून व्यवसायीका रुपमा निरन्तर प्राक्टिस गर्दै आउनुभएको छ । कानून व्यवसायी परिषद्बाट पाएको उहाँको प्रमाणपत्र नै ८ हो । कानून व्यवसायमा लागेर कहिल्यै पनि विश्राम नलिने, आफ्नो शुल्क नतोक्ने र पीडितले जत्ति दिए पनि बहस पैरवी गर्ने सन्त स्वाभावका कारण भण्डारी कहिल्यै पनि विवादमा आउनुभएन । उहाँसँग डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायणप्रसाद शर्माले नेपाल ल फर्मको कार्यालयमै विशेष गरी नेपालको न्यायपालिकामा मौलाएको विकृति, वकालत पेसाको खस्किँदो स्तर, शेयर बजारको कृत्रिम चलखेल र समसामयिक राजनीतिमाथि केन्द्रित रहेर लिइएको छोटो अन्तवार्ताः


० तपाईंले न्यायालयमा भएका बिचौलिया, विकृति, विसङ्गति र बेञ्च सपिङको अन्त्यका लागि लामो समयदेखि आन्दोलन गर्नुभयो । अहिले न्यायालयमा सुधार आएको हो त ?

हालै सर्वोच्च अदालत बार एसोसिएसनले एउटा पुस्तक प्रकाशन गरेको छ । त्यहाँ कानुन व्यवसायीका पुस्ताबारे चर्चा छ । हाम्रो पहिलो पुस्तामा देवनाथ वर्मा, विश्वनाथ उपाध्यायहरूको समय निकै स्वच्छ थियो । उहाँहरू घुस खाने र खुवाउने काम गर्नुहुन्नथ्यो । म त्यतिबेला सानो थिएँ ।
दोस्रो पुस्तामा म, वासुदेव ढुङ्गानाहरू मिलेर वकालतका साथै सामाजिक सेवा पनि ग¥यौँ । हामी बहसमा भन्ने गथ्र्यौँ “पढेर, लेखेर बहस गर, तर बकबास चाहिँ नगर ।’’ त्यो समयका वकिलहरू अध्ययन गरेरै विद्वान् बनेका थिए । तेस्रो पुस्तामा प्रकाश वस्ती र भरतराज उप्रेती जस्ता विद्वानहरू थिए । उहाँहरूले आफ्नो काम राम्रो गर्नुभयो, तर सामाजिक सेवामा अलि कमजोर देखिनुभयो ।
अहिले टीकाराम भट्टराईहरूको चौथो पुस्ताले वकालतमा राजनीति घुसायो । राजनीति गर्ने वकिलहरू मात्रै धनी भए । काङ्ग्रेस, एमाले र माओवादीका वकिलहरू मालामाल बने, अरू स्वाहा भए । अझ चौथो पुस्ता त बिचौलिया नै बन्यो । आजका नयाँ पुस्ताका युवाहरू राम्रा वकिल बन्न सकिरहेका छैनन् । विभिन्न संस्था र कम्पनीमा जागिर त पाएका छन्, तर उनीहरूमा व्यावहारिक ज्ञान छैन । व्यावहारिक ज्ञान त इजलासमा बहस गर्ने वकिलले मात्रै प्राप्त गर्न सक्छ। आज हाम्रो बहस न त न्यायाधीशले नै सुन्छन्, न त वकिलहरूले नै पढ्छन् । अहिले न्याय क्षेत्र शून्यतातिर गइरहेको छ ।


त्यसो भए अहिले समग्रमा कानुनी अभ्यास कमजोर भएको हो ?
अहिले वकिल भनेकै काङ्ग्रेस, एमाले र माओवादी भएका छन् । बिचौलिया पनि यहीँ भित्र छन् । पार्टीको झन्डा बोकेपछि झगडियालाई जति ठगे पनि हुने अवस्था सिर्जना भएको छ ।


० न्यायालयमा शुद्धीकरणका लागि तत्कालै गर्नुपर्ने मुख्य कामहरू के–के हुन् ?
चण्डेश्वर श्रेष्ठ नेपाल बारको अध्यक्ष हुँदा हामीले धेरै राम्रा कामको सुरुवात गरेका थियौँ । केही काम गर्दैन भनेर मैले कानुन व्यवसायी परिषद्लाई २४ वर्षदेखि बहिष्कार गरेको थिएँ । तर, चण्डेश्वरजीले अदालत मात्रै सुध्रिएर हुँदैन, कानुन व्यवसायी पनि सुध्रिनुपर्छ भनेर न्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा वकिलहरू समेत समेटेर एउटा समिति बनाउनुभयो। त्यसले सुधारका लागि निकै राम्रो प्रतिवेदन पनि तयार पा¥यो। तर, न्यायालय र बार दुवैलाई सुधार्ने त्यो प्रतिवेदन अहिले दराजमा थन्किएको छ ।
अब वकिल र न्यायाधीश दुवै सुध्रिनुपर्छ । अर्को कुरा, अहिले युवा पुस्ता वकालत पेसामा टिक्नै सक्दैन । हाम्रो समयमा हामी नयाँलाई काम मात्रै लगाउँदैनथ्यौँ, पैसा पनि दिन्थ्यौँ, जसले उनीहरूलाई खान पुग्थ्यो । हामीकहाँ काम सिक्न लवदेव भट्ट आउनुभएको थियो । मैले उहाँलाई “तपाईंलाई मुद्दा लेख्न आउँदैन, अहिले म्याद थप्ने निवेदन लेख्नुहोस्’’ भने त्यसबाट उहाँलाई जीवन धान्न पुग्थ्यो । जबसम्म नयाँ पुस्तालाई सिकाएर पारिश्रमिक दिने व्यवस्था गर्दैनौँ, तबसम्म उसले सिक्न सक्दैन । हरेक ल फर्मले दुई–तीन जना नयाँ वकिल राखेर सिकाउनुपर्छ । ‘नेपाल ल फर्म’ बाहेक अरू कसैले यसरी सिकाएका छैनन् । हामीकहाँ अझै पनि धेरै इमानदार र योग्य वकिलहरू छन् । ती विद्वान् वकिलहरूको समूह बनाएर काम गरे मात्रै न्यायालय सुध्रिन्छ। लोभी, लालची र दुई नम्बरी व्यक्तिले देश बनाउँदैनन् ।


० प्रसंग बदलौँ, अहिले शेयर बजार कृत्रिम रूपमा चलखेल गरी बढाइएको छ भनिन्छ। तर, आम नेपालीले ठूलो रकम लगानी गरेका छन्। तपाईंलाई के लाग्छ ?
हाम्रो देशलाई खाडी, मलेसिया र कोरिया गएका हाम्रा छोराछोरीले बचाएका छन्। उनीहरूले अर्बौँ रुपैयाँ रेमिट्यान्स नपठाएको भए देश उहिल्यै टाट पल्टिन्थ्यो। तर, विडम्बना के छ भने विदेशमा दुःख गर्नेहरूलाई यहाँको वास्तविक आर्थिक अवस्थाको ज्ञान छैन। नेपालमा अहिले उद्योग–व्यवसाय चलाउने वातावरण छैन । त्यसैले मानिसहरूले रेमिट्यान्सको पैसाले घर बनाए, जग्गा किने। जग्गाको भाउ अस्वाभाविक रूपमा आकाशियो । पहिले भाडामा लगाउन घर बनाए, तर अहिले गाउँघरका घर पूरै खाली छन् । घरजग्गाको कारोबार सुकेपछि अहिले त्यो पैसा शेयर बजारमा ओइरिएको छ । वास्तवमा कुनै कम्पनीले राम्रो मुनाफा कमायो भने मात्रै शेयरको मूल्य बढ्नुपर्ने हो । तर, यहाँ कुनै पनि कम्पनीको अवस्था राम्रो छैन, तैपनि शेयरको मूल्य बढिरहेको छ । रेमिट्यान्सको पैसा थुपार्ने ठाउँ शेयर बजार बनेको छ । भोलि शेयर बजार पनि सहकारी जस्तै डुबेर स्वाहा हुने खतरा छ । सरकारले जनतालाई वित्तीय ज्ञान दिँदैन, त्यसैले बजारमा अनावश्यक भाउ बढिरहेको छ ।


० सरकारले नै रेटिङ कम्पनीमार्फत मूल्य बढाएर ’प्रिमियम’ मा शेयर निष्कासन गर्न अनुमति दिएर जनतालाई भ्रममा पारेको आरोप छ नि ?

अहिले नेपालका ९९ प्रतिशत धनीहरू ‘दुई नम्बरी’ धन्दावाला हुन् । एक नम्बरी (इमानदार) व्यवसाय गर्नेहरू निकै कम छन् । बुद्ध एयरका संस्थापक स्व. सुरेन्द्रबहादुर बस्नेत, पञ्चकन्या ग्रुपका प्रेमबहादुर श्रेष्ठहरू बाहेक अधिकांश ठूला उद्योगीहरू ‘बैंकमारा’ हुन् । पाँच लाखको प्रोजेक्ट बनाएर बैंकबाट चार लाख कर्जा लिने, त्यो पैसा प्रोजेक्टमा नलगाई घर बनाउने र व्यवसाय डुबेमा बैंक नै डुबोस् भन्ने प्रवृत्ति छ । मैले बैंकरहरूलाई “पैसा डुब्छ, ग्राहक गरिब छ, बैंक बचाऊँ’’ भन्ने गरेको छु । शेयर बजारको अस्थिरताले बैंकहरूलाई पनि असर पारेको छ । यसका लागि सरकारले असल नियत भएका विज्ञहरूको समिति बनाउन जरुरी छ ।
हामीले मेडिकल कलेज खोल्दा जनताले विश्वास गरेर एक अर्ब रुपैयाँ दिएका थिए । तर, व्यवस्थापन कसले गर्ने भन्ने समस्या आयो । राम्रो कम्पनी खोलेर नाफा दिनुस्, जनताले लगानी गर्छन्। अहिलेको शेयर बजार त दुःख गरेर कमाएको पैसा स्वाहा पार्ने बाटो मात्र बनेको छ ।


० विगतमा सरकारले घाटामा गएर बन्द हुन लागेको भृकुटी कागज कारखानाको शेयर निष्कासन गर्न अनुमति दियो, पछि कारखाना नै बन्द हुँदा जनताको १० करोड डुब्यो। यसमा राज्य दोषी होइन ?
अहिले जति ठूला घरहरू बनेका छन्, ती अधिकांश कालो धनबाट बनेका हुन्। घुस खाएका छन्, अवैध कमाएका छन् । अब त्यो पैसा कहाँ राख्ने ? पहिले बैंकमा राख्थे, अहिले सम्पत्ति शुद्धीकरण ऐनको डरले बैंकमा पनि राख्दैनन् । देशलाई बचाउन इमानदार मानिसहरूको कम्पनी बनाएर पुँजी सङ्कलन गर्नुपर्छ, त्यसो गरे कोही पनि डुब्दैन ।
अहिले कम्पनीहरूको आर्थिक सूचकाङ्क (इन्डेक्स) खराब भए पनि मानिसहरू बाध्यताले शेयर बजारमा छन् । मेरा एक नातेदारले सल्लाह माग्दै भने “मसँग दुई करोड रुपैयाँ छ, जग्गा किनौँ भने एक आना पनि आउँदैन, अब के गर्ने ? बाध्य भएर शेयरमा लगानी गरेको छु ।’’ यसरी अनुत्पादक क्षेत्रमा पुँजी फसेको छ ।


० त्यसो भए अबको विकल्प र लगानीको सही क्षेत्र के हुन सक्छ ?
यसका लागि योग्य र इमानदार मानिसहरूको बलियो समूह (सिन्डिकेट) बनाउनुपर्छ, जसले आम जनतालाई विश्वासमा लिन सकोस्। नेपालमा दमननाथ ढुङ्गाना जस्ता असल र निष्ठावान् मानिसहरू अझै छन् । राजनीतिज्ञहरू भ्रष्टाचारका मुद्दामा मुछिएका छन्, युवा र नयाँ भनिएका दलहरूले पनि जनतालाई ठगिरहेका छन् ।


० आगामी निर्वाचन र देशको राजनीतिक भविष्य कस्तो देख्नुभएको छ ?
अहिले जति राजनीतिज्ञहरू छन्, तीमध्ये ‘दुई नम्बरी’ काम गर्नेहरूको मात्रै तागत र हालीमुहाली छ । उनीहरू नै शक्तिशाली छन् । अबको एकमात्र विकल्प भनेको सबै देशभक्त र इमानदार शक्ति एकजुट भएर देश बचाउनु हो । देश जोगाउन राम्रा र विज्ञ मानिसहरूको खोजी हुनुपर्छ । रुसमा अध्ययन गरेर फर्किएका ‘मित्रकुञ्ज’ मा आबद्ध प्राविधिक तथा विज्ञहरू योग्य र इमानदार छन् । यस्ता जनशक्तिको उपयोग गर्दै मित्रराष्ट्रहरूबाट अनुदान र प्रविधि भित्र्याएर देश निर्माणमा लाग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.