November 16, 2026

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

नेसनल मेडिकल कलेज किर्ते गरी निजी बनाएको भन्दै सभामुखलाई ज्ञापनपत्र

1 min read

काठमाडौँ । वीरगन्जस्थित नेसनल मेडिकल कलेजको स्वामित्व किर्ते जालसाजी गरी निजी कम्पनीका रूपमा दर्ता गराएको र न्यायिक प्रक्रियामा समेत आर्थिक चलखेल गरेको गम्भीर आरोप लगाउँदै नेपाल मुस्लिम वेलफेयर सोसाइटी तथा नेपाली मुस्लिम समाज (वीरगन्ज, पर्सा) ले उच्चस्तरीय न्यायिक छानबिनको माग गरेको छ।

संस्थाका तर्फबाट सम्माननीय सभामुखसमक्ष बुझाइएको ज्ञापनपत्रमा कलेजको मनसायपत्र (Letter of Intent) पुनः सोसाइटीकै हकमा हस्तान्तरण गर्न पहल गरिदिन आग्रह गरिएको छ।ज्ञापनपत्रमा उल्लेख भएअनुसार, सूचीकृत संस्था नेपाल मुस्लिम वेलफेयर सोसाइटीको आधिकारिक पहलमा तत्कालीन सरकार तथा मातहतको निकायबाट ‘प्रस्तावित नेसनल मेडिकल कलेज, आदर्शनगर, वीरगन्ज’ का नाममा मनसायपत्र प्रदान भएको थियो। तर, सोसाइटीका तत्कालीन महासचिव डा. म. जैनुदिन अन्सारीले किर्ते जालसाजी गरी उक्त संस्थालाई कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीका रूपमा दर्ता गराएको आरोप लगाइएको छ।न्यायिक प्रक्रियामा आर्थिक चलखेल र प्रभावको आरोपकिर्ते जालसाजीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा चल्दा समेत आर्थिक प्रभाव र प्रलोभनमा पारी एकलौटी फैसला गराइएको ज्ञापनपत्रमा दाबी गरिएको छ।

निवेदक पक्षले मुद्दा फैसला गर्ने तत्कालीन न्यायाधीश गिरीशकुमार शर्माकी छोरी आशना पोखरेललाई निःशुल्क एमबीबीएस (MBBS) पढाउने र पास गराउने सर्तको ग्यारेन्टीका साथै मोटो भेटी चढाएर डा. अन्सारीले आफ्नो पक्षमा फैसला गराएको गम्भीर आरोप लगाएका छन्। जिल्ला अदालतको उक्त विवादास्पद फैसलालाई माथिल्ला न्यायिक निकायहरूले समेत सदर गर्दै गएपछि मुस्लिम समुदाय न्यायबाट वञ्चित भएको समाजको गुनासो छ।विगतका पूर्वप्रधानमन्त्रीहरू वीरगन्ज आउँदा डा. अन्सारीको घरदैलोमा बास बस्ने गरेको प्रसङ्ग कोट्याउँदै ज्ञापनपत्रमा सोही राजनीतिक पहुँच र आर्थिक शक्तिका कारण सोसाइटीले न्याय नपाएको उल्लेख गरिएको छ।

राजस्व छली, हुन्डी र मनी लन्ड्रिङमा छानबिनको मागकथित सञ्चालक डा. अन्सारीले आफ्नो पहुँचको आडमा मेडिकल कलेज सञ्चालनका क्रममा व्यापक राजस्व छली गरेको तथा गैरकानुनी तवरबाट कलेजको भवन र घरजग्गा समेत बिक्री गरी बैंकिङ कारोबारमा लगानी गरेको आरोप लगाइएको छ। साथै, उनी हुन्डी तथा मनी लन्ड्रिङ जस्ता गम्भीर आर्थिक अपराधमा समेत संलग्न रहेको भन्दै नेपाल सरकार र मातहतका उच्च निकायहरूमा उजुरी दिइसकिएको ज्ञापनपत्रमा जनाइएको छ।मोटो भेटी चढाएर न्याय किनी समग्र नेपाली मुस्लिम समुदायमाथि कुठाराघात गरिएको ठहर गर्दै निवेदक संस्थाले तत्काल उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। साथै, सोसाइटीले प्राप्त गरेको नेसनल मेडिकल कलेजको वास्तविक मनसायपत्र सोसाइटीकै हकमा फिर्ता हस्तान्तरण गर्न वर्तमान परिवर्तनकारी सरकारसमक्ष पहल गरिदिन सभामुखसमक्ष विनम्र अनुरोध गरिएको छ। ज्ञापनपत्रसँगै तत्कालीन सरकारबाट प्राप्त मनसायपत्र, अन्सारीविरुद्ध दिइएका उजुरीका प्रतिलिपि र अदालतका फैसलाका प्रतिलिपिहरू समेत प्रमाणका रूपमा पेस गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.