संघका अध्यक्षले कोटाको आडमा नेपालबाट भारततर्फ सुन तस्करी गराएका छन्
नेपाल रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष, श्री रिद्धिसिद्धि ज्वेलर्सका प्रमुख सुनचाँदी व्यवसायी नरेन्द्र गुप्ता अहिले चर्चाको शिखरमा छन् । उनले संघले खुद्रा व्यवसायीहरुलाई वितरण गर्ने सुनको कोटामा भ्रष्टाचार भएको भन्दै आरोप लगाएपछि भित्रीे विषयहरु सार्वजनिक भए । गुप्तालाई स्पष्टीकरणका लागि आफ्नै संघले हैरानी दिएको छ । व्यवसायी गुप्ताले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, सुमनमान मानन्धर र निर्मल ज्योति तुलाधरलाई बिपक्षी बनाएर आवश्यक अनुसन्धान गर्न उपत्यका अपराध अनुसञ्धान कार्यालयलाई निवेदन दिएका छन् ।
गुप्ताले व्यवसायको भित्री विकृति र विसंगतिलाई सार्वजनिक गरिदिएपछि अहिले बजार तातेको छ । वीरगञ्जबाट सञ्चालित एक अनलाइनमा श्री रिद्धिसिद्धि ज्येलर्सका सञ्चालक गुप्ताको श्रोत उल्लेख गरी सुनचाँदीको कोटा प्रणालीमा भ्रष्टाचार गरेको उल्लेख थियो । तस्करी धन्दा गरी अकुत सम्पत्ति जम्मा गर्नेहरु उनी विरुद्ध खनिएका गुप्ताले बताए । २०८० साल फागुन ८ गते नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष सुमनमान ताम्राकारले वरिष्ठ उपाध्यक्ष गुप्ताले संघका पदाधिकारी माथि नै आरोप लगाएका कारण छलफलका लागि कार्यालयमा उपस्थित हुन पत्रचार गरे । त्यसै गरी नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघका महासचिव किसान सुनारले पनि २०८० फागुन ९ गते नै छलफलका लागि उपस्थित हुन पत्रचार गरे ।
सुनचाँदी व्यवसायी गुप्ताले आवश्यक अनुसन्धान तथा कारबाही गरी पाउँ भन्दै २०८० साल फागुन १० गते उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष सुमनमान ताम्राकार, निवर्तमान अध्यक्ष तथा उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र नेपाल रत्न तथा आभुषण संघका उपाध्यक्ष निर्मल ज्योति तुलाधरलाई विपक्षी बनाई उजुरी दर्ता गरे । उजुरीमा उनले भनेका छन् ‘नेपाल राष्ट्रबैंकको निर्देशन अनुसार खुद्रा गहना व्यवसायीहरुलाई उपलब्ध गराउनुपर्ने सुनको कोटा फर्जि बिल देखाएर भारततर्फ तस्करी गरेको हुँदा अनुसन्धान गरी छानविन गरी पाउँ ।’ गुप्ताको विशाल बजार न्यूरोडमा रहेको पसलमा गई कर्मचारीलाई धम्काएको कारण २०८० साल फागुन ११ गते जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाको निवेदन दिएका छन् । बिरामी भएर घरमै आराम गरिरहेका गुप्तासँग यिनै विषयमा केन्द्रीत रहेर नारायण प्रसाद शर्माले गरेको छोटो कुराकानी ः
० तपाई कति वर्ष देखि यो व्यवसायमा आवद्ध हुनुहुन्छ ?
मैले १६ वर्षको उमेर देखि नै व्यवसायमा आवद्ध भएँ । तर, गहना व्यवसाय चाहिँ १९९७ अर्थात २०५३ साल देखि सुरु गरेको हुँ ।
० नेपाल रत्न तथा आभुषण संघमा कहिले देखि आवद्ध हुनुभएको हो ?
यो संस्था स्थापना भए देखि नै आवद्ध छु । नेपाल सुन चाँदी व्यवसाय संघमा पनि सदस्य छु । यो संघले जातिगत विभेद गर्दथ्यो । त्यो बेलामा नै म सदस्य भएको हुँ । त्यसपछि स्वर्गिय रमेश महर्जनको नेतृत्वमा नेपाल रत्न तथा आभुषण संघ खोलियो । त्यो समयमा पनि संस्थापक सुरेश मान श्रेष्ठ हुनुहुन्थ्यो । म त्यो समितिमा रहँदै अहिले वरिष्ठ उपाध्यक्षको रुपमा कार्यरत छु ।
० तपाईहरुको संस्था रत्न तथा आभुषण संघमा पछिल्लो पटक सतहमा आएको विवादको चुरो कुरा के हो ?
जब सुन चाँदीमा कोटा प्रणाली लागू गरियो त्यस पछि नै विवाद सुरु भएको हो । सुनको कोटा किन लगाइयो ? देशमा विदेशी मुद्राको कमि थियो । त्यसैकारण कोटाको निर्धारण गरियो । त्यसपछि विभिन्न संघ संस्थाहरुलाई दामासायीले वितरणका लागि अनुमति दियो । जो वास्तविक गहना व्यवसायीहरु छन् । तिनीहरुलाई नै वितरण गर्नु भनेर जिम्मेवारी दिइएको हो । तर, जिम्मेवारी पुरा गर्नुपर्नेमा उहाँहरुले त्यहाँ रहेका केहि ब्यक्तिहरुले त्यसको दुरुपयोग गर्न थाले । विगत १५ वर्ष देखि व्यक्तिगत सोँच भएका र दुरुपयोग गर्नेहरुका विरुद्धमा म लागि रहेँ । त्यहि विरोधका कारण नेपाल रत्न तथा आभुषण संघ नेग्जाको वाट्स् एप (जसमा हामी २२० जना सदस्यहरु छौं) मा आवद्ध छौं । यो एपमा हामीले व्यवसायीका समस्याहरु उजागार गर्न छलफलका लागि बनाइएको ग्रुप हो । जुन सुरुमा मैले नै बनाएको थिएँ । पछि मात्रै यसको स्वामित्व नेग्जालाई दिएको हुँ । त्यो ग्रुपमा मैले बेथितिका विषयमा उठान गरेँ । त्यसपछि संघका अध्यक्ष सुमनमान ताम्राकारले मेरो राजिनामा माग्नुभयो । त्यो समयमा म नेपाल बाहिर थिएँ । उहाँले फागुन ११ गते छलफलका लागि उपस्थित हुनका लागि उपस्थित हुन पत्रचार गर्नुभयो । त्यो पत्र बुझ्न पनि सकिन । उहाँले मलाई भन्नुभयो ‘तुरुन्तै आउनुहोस् अन्यथा कानूनी प्रक्रिया अघि बढाइनेछ ।’ म नेपालमा फर्किएपछि फागुन ११ गते प्रष्टिकरण पनि दिए । भाषामा उहाँले बिभिन्न उच्च पदाधिकारीहरुलाई आक्षेप लगाएको बताउनुभएको छ । त्यस्तो केहि पनि छैन । कोहि पनि नेपालका उच्च पदाधिकारीहरुको अपमान गरेको छैन । मैले रत्न तथा आभुषण संघको ग्रुपमा लेख्दा चोर, ठग, फटाहा, सुनको बेथिति गर्ने, कोटाको सुन दुरुपयोग गर्ने र तस्करी गर्नेहरुको अपमान गरेको हुँ ।
नेपाल रत्न तथा आभुषण महासंघबाट मलाई पुनः बोलावट भयो । तपाई यहि फागुन २७ को अपरान्हमा आएर आफ्नो स्पष्टीकरण दिनुहोस् । म नेपाल रत्न तथा आभुषण महासंघको सिधा रुपमा सदस्य पनि होइन । नेपाल रत्न तथा आभुषण संघको भने म वरिष्ठ उपाध्यक्ष तथा सदस्य हुँ । नेपाल रत्न तथा आभुषण महासंघको अध्यक्षलाई त मैले कोटाको आडमा सुनहरु नेपालबाट भारतमा तस्करी गराउँदै आउनुभएको छ भनेर भनेकै हुँ । यो विषयमा मैले उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा ठाडो निवेदन दिएको छु । तथापि कारबाही पेण्डिङ नै छ । मेरो पसलमा मेरा कर्मचारीलाई धम्काएको प्रमाण पनि सुरक्षित छ । त्यसैकारण कारबाहीका लागि शान्ति सुरक्षा पनि माग गरेको छु । यत्ति हुँदा हुँदै पनि नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठ र नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्य दुबैजनाले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्नुभयो । यसमा नरेन्द्र कुमार गुप्ता विवादित हुनुहुन्छ र उहाँको गतिविधि रहस्यमय छ भनेर ।
० तपाईको व्यवसाय विवादित हो त ? राजस्व अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लगायत निकायले किन छानविनै गरेन ?
तिनीहरुका लागि अनुरोध गर्ने भनेरै निर्णय गरिएको छ । त्यो अनुरोधको मैले स्वागत गर्दछु । नेपाल सुनचाँदी तथा रत्न आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले गैर कानूनी काम कसैले गर्छ भने छानविन गर्नुपर्दछ । नरेन्द्र कुमार गुप्ताका हकमा कसैले छानविन गर्छ भने मैले सहयोग गर्दछु । तथापि मेरो माग भने नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र व्यवसायी र नेपाल सुनचाँदी व्यवसायी महासंघको ब्यानरको दुरुपयोग भयो । यसरी संस्थाको ब्यानर दुरुपयोग गर्ने महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठ र नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्य दुबैको सम्पत्ति छानविन होस् । साथै दुबै जनाले कोटाको आडमा भारतमा सुन तस्करी गर्नेहरुलाई सहयोग गरेका छन् । यो मैले किटानी गरेको छ । तपाईको मिडियामार्फत मैले किटानी नै गरेको हुँ । म नेपाल रत्न तथा आभुषण संघको वरिष्ठ उपाध्यक्ष भएर काम गरेको छु । तर, उहाँहरुको भनाईमा म रहस्यपूर्ण कसरी भएँ । म नरेन्द्र कुमार गुप्तामार्फत श्रम गरी खाने इमान्दार व्यवसायीलाई तर्साउन खोजिएको हो । सुरेशमान श्रेष्ठ र मणिक रत्न शाक्यलगायत उहाँका सहयोगीहरुले नबोल्नुहोस है भन्दै तर्साउनुभएको छ ।
उहाँहरु सुरेशमान श्रेष्ठ, मणिक रत्न ताम्राकार, निर्मल ज्योति तुलाधर र नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठलाई सच्चिन र राज्यसमक्ष आत्मसमर्पण गरी छानविनमा सहयोग गर्न तपाईको पत्रिकामार्फत अनुरोध गर्दछु । उहाँहरुले सुनहरु भारतमा सिधै तस्करी गरेको हो भने सजाय भोग्नैपर्दछ । कोटाका आधारमा के के हर्कत गर्नुभयो ? त्यो छानविन होस् मेरो माग यत्ति नै हो ।
० सुन तस्करी किन गरिन्छ ? यो कहिले देखि हुँदै आएको हो ?
भन्सारमा सुन तस्करी आज देखि भएको होइन । मैले काम सुरु गर्नु अघि नै पत्रपत्रिका मार्फत पढ्दै आएको हुँ । तथापि तस्करी रोकिएको विषयमा अहिलेसम्म पनि पढेको छैन । सुन तस्करी पनि नयाँ नयाँ माध्यमबाट गरिँदो रहेछ । भारतमा ड्युटी कम हुने बित्तिकै हामी कहाँबाट सुन तस्करी हुने रहेछ । कोटा प्रणाली त अभावमा बनाइएका हुन् । तर, त्यहि कोटा प्रणालीमार्फत पनि जुल्मीहरुले श्रमजीवी मजदूरको पनि भाग खाएका छन् । दुई लाख श्रमजिवीहरुले मलाई अगाडि बढ्न प्रेरणा दिनुभएको छ । उहाँहरुको मसँग लिखित साथ नै छ । म सधै व्यवसायीहरको हतिका लागि तयार छु । पदका लागि लागेको होइन । म कोटा बेगर बाहिरबाट एक तोला पनि सुन किनेको छैन । व्यवसायीलाई सहयोग गर्दा कुनै पनि व्यक्तिगत स्वार्थ छैन । केबल सामाजिक स्वार्थ मात्र छ । म विकृति र विसंगतिका विरुद्धमा पलिे देखि नै बोल्दै आएको छु । यस प्रकारका प्रेस विज्ञप्ति जारी हुँदा त्यसमा लेखिएका र सोधिएका स्पस्टीकरणमा मलाई अल्पज्ञानी पनि भनिएको छ । उहाँहरुको ज्ञान कस्तो छ ? भोलि राज्यले अनुसन्धान गर्ला ।
० अहिले त्रिविवि भन्सारबाट भएको सुन तस्करीकै विषयमा संसदको मागपछि छानविन आयोग बनेको छ । त्यसले पनि तपाईका माग सम्बोधन गर्ला नी ?
आशा छ । तपाईहरुमार्फत जानकारी पुग्ला । मैले आयोगका अध्यक्ष डिल्लीराज आचार्यसँग नेपाल रत्न तथा आभुषण संघका सचिवसँग गएर भेटेको छु । त्यहाँ पनि स्पष्टका साथ उठाएका छौं ।
० तपाईहरुले सुन तस्करी छानविनका लागि बनेको आयोगलाई सहयोग गर्नुहुन्छ ?
म जस्तो जिम्मेवारी नागरिकले हाम्रै हितका लागि बनेका छानविन आयोगलाई असहयोग गर्ने कुरा नै आउँदैन ।
० अन्तमा केहि भन्नु छ कि ?
निकट समयमै हाम्रा दुईवटै महासंघहरुको महाधिवेशन हुँदैछ । यस्ता जुल्मीहरुसँग नडराईदिनुहोस् । सबै पदाधिकारीहरु बदनाम छैनन् । केहि पदाधिकारीहरुकै कारण बद्नाम भएका हुन् । हामी श्रमजीवीहरु कहिँ पनि डराउनुपर्दैन । तर, गैरकानूनी ब्यापार गर्नेहरु नै डराउनुपर्दछ । राज्यले कहिल्यै पनि छाड्दैन । धन्यवाद ।