चन्द्रागिरि नगरपालिकाका मेयर ईट्टा भट्टा हटाउने पक्षमा हुनुहुन्न
अदालतको आदेश र बिभिन्न समयका वातावरण सम्बन्धी संस्थाको प्रतिवेदनका आधारमा काठमाडौंका छेउछाउका ईट्टाभट्टाहरु बिस्तारै हटाइए । चन्द्रागिरि नगरपालिकामा सञ्चालित हुँदै आएका केहि मापदण्ड बिपरतिका प्रदुषित ईट्टाभट्टाहरु २०८० साल असार मसान्तसम्म पनि चलाइए । ईट्टाभट्टाहरुले कतिपय सरकारी सार्वजनिक जग्गाहरु पनि अतिक्रमण गरेको अवस्था छ । स्थानीय जनताको आन्दोलनका कारण पनि जबर्जस्त चलाईएका केहि ईट्टाभट्टाहरु सम्झौता पालना गर्न नसक्ने स्थिति भएपछि बन्द भएका छन् । तर, चन्द्रागिरि नगरपालिका–१० सतुंगलमा रहेको ओम मछिन्द्रनाथ ईट्टा उद्योग (हिरा ईट्टाभट्टा) चाहिँ अहिले पनि आफैले हस्ताक्षर गरेको सम्झौता र नगरकार्यपालिकाले स्वीकृत गरेको वातावरण मैत्री इट्टा उद्योग सञ्चालन कार्यविधि–२०७९ विपरित सञ्चालनमा छ । नगरकार्यपालिकाले राजपत्रमै प्रकाशन गरेको कार्यविधि र आफैले गरेको सम्झौता बिपरित इट्टाभट्टाबाट प्रदु्षण भइरहँदा पनि स्थानीय सरकारका प्रमुख घनश्याम गिरी ‘रोम जल्दाको शासक निरो जस्तै बासुरी बजाएर बसिरहेका छन् । उनले सम्झौता विपरित भट्टा सञ्चालन गरिरहेको अवस्थामा किन बन्द गराउन प्रयास गरिरहेका छैनन् ? वडा नम्बर १० का अध्यक्ष शिव महर्जन पनि भित्री रुपमा भट्टा ब्यवसायीकै पक्षमा वकालत गरिरहेका छन् । यसै विषयमा चन्द्रागिरि नगरपालिकाका ईट्टाभट्टा पीडित मूल संघर्ष समितिका संयोजक मुकुन्द घिमिरेसँग गरिएको छोटो वार्ताः
० ईट्टाभट्टाको प्रदुषणले स्थानीय बासिन्दालाई असर गर्छ भनेर हटाउनकै लागि आन्दोलनको नेतृत्व गरिरहँनुभएको छ । तर, हटाउँछौं भनेर प्रतिवद्धतासहित सम्झौतामा हस्ताक्षर भए पनि अहिले त केहि सञ्चालन भैरहेको देखिन्छ नी ? तपाईको आन्दोलन कहाँ पुग्यो ?
वास्तवमा हाम्रो आन्दोलन रोकिएको छैन । पहिला खास गरी लामो समयसम्म जनतासँगै आन्दोलनमा गएका थियौं । जनतासँगै बसेर बिभिन्न अन्तक्रिया र छलफल पनि ग¥यौं । जब चन्द्रागिरि नगरपालिकाले कार्य विधि निर्माण ग¥यो, त्यसपछि यी इट्टा भट्टाहरु मापदण्ड अन्न्तर्गत आउँछन् । र, पुरानो खालको प्रदुषण बढाउने चिम्नीहरु हट्छन् भन्ने लाग्यो । त्यसैकारण यो अवधिमा जुलुस र अन्तक्रियाहरु नगरिएका हुन् । तथापि हामीहरु निरन्तर रुपमा चन्द्रगिरि नगरपालिकाका प्रमुख र चन्द्रागिरि नगरपालिकाकासँगै कुरा गरिरहेका छौं । वडा अध्यक्षहरु र सम्बन्धित पक्षसँग जनताहरुलाई साक्षात्कार पनि गरिरहेका छौं । हाम्रो आन्दोलनलाई टेवा पुग्ने गरी गत पुस महिनामा नगर स्तरको पत्रकार सम्मेलन पनि गरायौं । जसमार्फत हाम्रो आन्दोलन जारी छ भन्ने सन्देश पनि दिन सफल भयौं । हाम्रो आन्दोलन निरन्तर रुपमा अघि बढिरहेको छ । हामी जनताका माझमा गइरहेका छौं । अहिले पनि भित्रभित्रै सबै जनताहरु पुरै नहटेका कारण आक्रोशित छन् । चन्द्रगिरि नगरपालिकाबाट एउटा ओम मछिन्द्रानाथ ईट्टा उद्योगबाट पुरानै चिम्नीबाट धुवाको प्रदुषण फ्याकिरहेको छ । अहिले पनि भित्रभित्रै सबै जनताहरु पुरै नहटेका कारण आक्रोशित छन् । हाम्रो आन्दोलन अघि बढिरहेको छ । हामी जनतासँगै छौं ।
० नगरकार्यपालिकाबाटै पास गरी राजपत्रमा कार्यविधि प्रकाशित छ । जुन कार्यविधिमा भएको मापदण्ड बमोजिम गर्ने सम्झौता पनि भएको छ । किन कार्यन्वयन भएन ?
सबैभन्दा ठूलो कुरा त सम्झौता कार्यन्वयनको हो । पहिलो कुरा कार्यविधि बन्यो । त्यसमा मामदण्ड तोकिएको छ । पुरानो प्रविधिका सबै ईट्टाभट्टाहरु हट्ने भनेर प्रष्टसँग कार्यविधिमा उल्लेख छ । पहिलो विद्युतिय टनेल क्लिन मात्रै राख्न पाउने भनेर प्रष्ट उल्लेख छ । दोस्रो चन्दागिरि नगरपालिका र इट्टाभट्टाका सञ्चालकहरुबीच सम्झौता पनि भएको छ । जसमा वातावरण तथा बिपत् व्यवस्थापन समितिले प्रष्टसँग पुरानो चिम्नीहरु हटाउनुपर्छ भनेर नगरपालिकामा प्रतिवेदन पनि दिएको छ । तथापि समस्या चन्द्रागिरि नगरपालिकाका मेयर इट्टाभट्टा हटाउने पक्षमा हुनुहुन्न । साथै मछिन्द्रनाथ इट्टा उद्योग सन्चालित भइरहेको वडा अध्यक्ष पनि इट्टाभट्टा हटाउने पक्षमा हुनुुहुन्न । त्यसैले गर्दा पनि हामीलाई शंका लागेको छ । किनकी उहाँहरुले हटाउन चाहेको भए अहिलेसम्म यी इट्टाभट्टाहरु हटिसकेका हुन्थे । नगरभित्रका अधिकांश जनप्रतिनिधिहरु यी इट्टाभट्टाहरु हटाउने पक्षमा हुनुहुन्छ । नगरपालिकामा पनि प्रमुख प्रशासकीकय अधिकृत, वातावरण शाखाका कर्मचारीहरुलगायत यो टीम पूर्ण रुपमा हटाउने पक्षमा हुनुुहुन्छ । तर, नगरप्रमुख र इट्टाभट्टा सञ्चालन भएको सम्बन्धित वडाका अध्यक्षले मानिरहँनु भएको छैन । त्यसैले पनि भित्र शंका छ । उहाँहरुबीच भित्र सम्झौता छ ।
० यस्ता प्रदुषित उद्योगहरु सञ्चालन पूर्व इआइए (वातावरणीय प्रभाव मुल्यांकन) गर्ने भनिएको हुन्छ र, नविकरण पनि गर्नुपर्दछ । त्यो पाटो कसरी अघि बढेको छ ?
वास्तवमा त्यो सन्दर्भमा हाम्रो कार्यविधिमै उल्लेख छ । ती सम्पूर्ण प्रक्रिया पुरा गरेपछि मात्रै विद्युतीय इट्टाभट्टा राख्न सकिने उल्लेख गरिएको छ । हामीलाई प्रष्टसँग पारदर्शि तरिकाले भनिएको पनि छैन । तर, सुन्नमा आए अनुसार नगरपालिकालाई अहिलेसम्म यी इट्टाभट्टाहरुले राज्श्व रकम पनि ठूलो परिमाणमा तिर्न बाँकी रहेको छ । अहिले बुझाएको भए थाह भएन ।
० कतिपय ईट्टाभट्टाले सरकारी सार्वजनिक जग्गाहरु पनि अतिक्रमण गरेका छन् भन्ने सुनिन्छ । यसमा पनि नगरपालिकाले संरक्षण गर्नबाट चुकेको हो ?
नगरपालिकाभित्र अहिले पनि हजारौं रोपनी जग्गा ट्रयाक गरिएको अवस्था छैन । यसरी हजारौं रोपनी जग्गा ब्यक्तिले नै अतिक्रमण गरी आफ्नो नाममा बनाएको भन्ने कुरा सुनिएको छ । खास गरी कतिपय ठाउँमा त अझैपनि सार्वजनिक जग्गाहरु व्यक्तिले नै मिचिरहेका छन् । नगरपालिका मुकदर्शक बनेको छ । यो तरिकाले सार्वजनिक जग्गाको संरक्षण होला भन्ने मलाई लाग्दैन । सार्वजनिक जग्गा संरक्षण गर्नका लागि पुरानो पुर्जाहरु र त्यहाँभित्र भएका बेइमानी र नयाँ पुर्जाहरु जग्गा घुसाएका प्रमाणहरुका आधारमा नगरपालिकाले एक्सन लिनुपर्नेमा अगाडि बढ्ला भन्ने लाग्र्दैन । सार्वजनिक जग्गा संरक्षणमा आँखा चिम्लिएर बसिररहेको छ ।
० अहिले ओम मछिन्द्रनाथ ईट्टा उद्योग सम्झौता र कार्यविधिको मापदण्ड बिपरित चलाइएको छ । पर्ख र हेरको अवस्थामा रहेका अन्य इट्टा भट्टाहरु पनि सञ्चालन गरिएको खण्डमा तपाईहरुको भूमिका कस्तो रहँन्छ ?
हामी त निरन्तर आन्दोलनमा छौं । हरेक वडामा जाँदा जनताले के भन्नुहुन्छ भने ‘हामी इट्टाभट्टाका पुरानो चिम्नीहरु भत्काइदिन्छौं तपाईहरु नेतृत्व गर्न अगाडि बढ्नुहोस् । यो नेतृत्व बिक्दैन भन्नुभएको छ ।’ इट्टाभट्टाका कारण जनताका जग्गाहरु कहि ४० फिट गहिरो बनाइदिएका छन् । कहिँ जग्गा नै हराएका छन् । साथै सार्वजनिक जग्गा हराएका छन्, मिचिएका छन् । देख्न र सुन्न पनि लाजमर्दो छ । हामी निरन्तर रुपमा संघर्षमा छौं । जनतालाई केहि समयमा भित्रै आव्हान गरी कसरी जाने भन्ने विषयमा छलफल गरी हाम्रो जित हासिल गरेरै छाड्नेछौं । त्यसमा हामीसँगै नगरप्रमुख र वडाअध्यक्षले पनि साथ दिनुहुनेछ भन्नेमा पूर्ण विश्वास छ ।
० गाडीहरुको अधिक प्रदुषण, प्लाष्टिक जलाउने जस्ता कामहरु पनि नगरपालिकाभित्र भइरहेका छन् । नगरपालिकाका प्रमुख कबाडी करका विषयमा पनि चर्चामा छन् नी ?
नगरपालिकालाई हराभरा बनाउनका लागि स्वच्छ र प्रदुषण मुक्त बनाउने हो भने पुराना गाडीहरुबाट हुने प्रदुषण र कतिपय घरका छेउछाउमा प्लाष्टिक उत्पादक उद्योग खुलमखुला रुपमा सञ्चालन भइरहेका छन् । जनताहरु आक्रोसित र आक्रान्त छन् । यस्ता उद्योगहरु वडा र नगरपालिकासँग साँठगाँठ गरी चलाईरहेका पनि छन् । स्वीकृत पाईरहेका छन् । तिनीहरुलाई समेत अनुगमन गरी कमसेकम नगरले विशेष अभियान चलाउनुपर्दछ । खास गरी इट्टाभट्टा पीडित मुल संघर्ष समितिले यसको नाम पनि परिवर्तन गर्दैछ । हामीसँग धेरै विषयहरु आएका छन् । नगरप्रमुखले नै धेरै विषयमा ठूलो घोटाला गर्नुभएको छ भनेर ब्यापक आएका छन् । उहाँले स्पष्ट रुपमा उत्तर दिनुभएको पनि छैन । जनताहरु अझैपनि विश्वस्त हुन सक्नुभएको छैन । यस्ता तमाम विषयहरु जिउका तिउँ नै छ । यिनको समाधान भनेको नगरपालिकाबाट हैन जनताहरुले नै जुरुक्क उठेर समाधान माग्नुपर्दछ खोजेर पाइएला जस्तो लाग्दैन ।
० नगरप्रमुखले आफ्ना दाताहरु रिसाउँछन्, कार्यकर्ता र मतदाताहरु घट्छन् भनेर यथास्थितिलाई नै राख्न चाहनु भएको हो ? कार्यकारी निकाय नगरपालिकाका प्रमुख निदाएर बस्नुको कारण के होला जस्तो लाग्छ ?
वास्तवमा इट्टाभट्टा मात्रै नभएर खानेपानीको व्यवस्थापन सम्बन्धमा उहाँकै दलभित्रका बलिया कार्यकर्ता र नेताहरुले नै तिब्र आलोचना गरिरहेका छन् । उहाँहरुलाई मैले किन आलोचना गरेको भनेर सोद्धा पत्ता लगाउन सक्नुभएको छैन । एक जना नेपाली कांग्रेसकै एक जना विद्धान नेताले के भन्नुभयो भने ‘भित्र भित्र डरलाग्दो परिस्थिति सिर्जना भएको छ, हाम्रो पार्टीमा पनि स्पष्ट जवाफ दिन सक्नुभएको छैन । र उहाँको नियतमा खोट देखेका छौं, पार्टी र कार्यकर्ताले भनेको मान्नुहुन्न जे मन लाग्यो त्यहि गर्ने प्रवृति छ जुन लामो समय टिक्दैन र पार्टीभित्र एक्लै हुनुहुन्छ ।’ साँच्चिकै नगरप्रमुख घनश्याम गिरीले कुनैपनि प्रश्नको उत्तर दिन सकिरहँनुभएको छैन । आफै निर्णय गर्ने र पछि आफैले उलंघन गर्ने काम गरिरहँनुभएको छ । समस्या यहि छ ।
० त्यसो भए नगरपालिका प्रमुखले दोस्रो कार्यकालसम्म नगरको भवन बनाउने बाहेक केहि कामगर्नुभएन हैन ? यो नगरपालिकामा तत्काल के के गर्नुपर्ने थियो ?
केहि पनि नभएको भन्ने त होइन, बाटोघाटोका कामहरु राम्रै गर्नुभएको छ । खानेपानीका सम्बन्धमा पनि केहि सामान्य कामहरु गर्नुभएको छ । उहाँ अहिलेको समय अनुसार इनोभेसनमा जान सक्नुभएन । नयाँपन भएन बाबुले श्राद्धमा बिरालो बाधेको कारण छोराले पनि नबुझिकनै बाधे जस्तै अवस्था छ । त्यसैको निरन्तरता छ । अहिलेको जमना भनेको प्रविधिको हो । प्रविधिमा उहाँ पस्न सक्नुभएको छैन । केहि सामान्य काम जस्तै घरको नक्सापास सन्दर्भमा मूल रुपमा डिजिटलाइज्ड गर्न सुरु गर्नुभएको छ । यसरी कतिपय राम्रा कामहरु पनि छन् । तर, जनताले देख्ने र अनुभूति गर्ने गरी काम गर्न सक्नुभएको छैन । जग्गा प्लटिङको डरलाग्दो परिस्थिति छ । मनपरि रुपमा प्लटिङ छ । नगरप्रमुख मनपरि रुपमा निदाएर बस्नुभएको छ । कसैले बोलेको सुन्नुहुन्न । चन्द्रागिरि नगरपालिकाभित्र अन्य थुप्रै समस्याहरु छन् । अहिले जापनिज सरकारको सहयोगमा बनिरहेको टनेलमार्गमा त्यहाँ माथि बस्ने जनताहरु खानेपानी र घरहरु चर्किएका कारण प्रताडित छन् । कहिल्यैपनि उहाँले जनताका आवाज उठाउनुभएन । अहिले पनि संघर्ष चलिरहेको छ । मलाई पनि खबर भएको छ । सधै जनताले आन्दोलन गरेर मात्रै काम हुने अवस्थाको सिर्जना गरिरहँनुभएको छ ।
खानेपानीको सन्दर्भमा उहाँले वषौं देखि परिश्रम गरेर खानेपानी उपभोक्ता समितिहरुले असाध्यै राम्रोसँग स्तरोन्नति गरिरहेको अवस्थामा एक्कासी सिध्याउने अवस्था बनाउनुभयो । खानेपानी समितिहरुको सम्पत्ति समेत नगरपालिकामा ल्याउने हर्कत गर्नुभयो । यो गलत थियो । एकीकृत खानेपानीमा लैजाने कदम राम्रो भएपनि उहाँले त्यसलाई छलफल गरेर कार्यविधि बनाउनुपर्दथ्यो । ताली बजाउने काम बाहेक केहि गर्नुभएन ।
० चन्द्रागिरि नगरपालिकामा खानेपानीको श्रोत संरक्षणमा तपाईलाई के गर्नुपर्ने जस्तो लाग्छ ?
चन्द्रागिरि नगरपालिकामा खानेपानीका सन्दर्भमा पुरानो मुलहरु व्यवस्थापन गर्नुपर्ने टड्कारो समस्या छ । उदाहरणका रुपमा खङलाङमा खानेपानीको ठूलो मुल छ । त्यसलाई व्यवस्थित गर्नका लागि नगरपालिकाले सहयोग गर्नुपर्दथ्यो । तर, कहिल्यै पनि गर्दैन । उपभोक्ताबाट जत्ति पैसा आएको छ । त्यसैबाट काम गरिएको छ । विकास निर्माणका कामहरु पनि गरेका छन् । नगरपालिकाले सहयोग गर्ने र छलफल गरी निस्कर्षमा पुग्ने काम भएका छैनन् । कति बढि पानी निकाल्न सकिन्छ भन्ने विषयमा कामै गर्नुभएको छैन । त्यसै गरी महादेवस्थानमा खानेपानीको समिति छ । त्यसले धेरै उपभोक्तलाई व्यवस्थित रुपमा खानेपानीको वितरण गरिरहेको छ । त्यहाँको खानेपानी समितिलाई पनि उचित सहयोग गर्नुभएको छैन । एडीबीबाट एक अर्ब रुपैया आएको छ । त्यसलाई कसरी परिचालन गर्ने भन्ने योजना नै बनाउनुभएको छैन । त्यो रकम ल्याउन मेरो पनि योगदान छ । यस्ता योजनाहरु आफ्नै मान्छेबाट अघि बढाउने र कसरी लम्ब्याउने भन्नेमा हुनुहुन्छ । गर्दैछु मात्रै भन्नुहुन्छ । अहिले १२ नम्बर वडा बलम्बुका जनताहरु खानेपानीबाट प्रताडित हुनुुहुन्छ । गाग्रीहरुको लाइन देख्दा हाम्रो मन रुन्छ । तर, वडाअध्यक्ष र मेयरको मन रुदैन । जनतालाई रुवाउनुहुन्छ । ति समस्या समाधान भएनन् ।
० चन्द्रागिरि नगरपालिकाको गर्नै पर्ने महत्वपूर्ण अन्य समस्याहरु पनि छन् कि ?
यो नगरपालिकामा रहेको त्रिभुवन पार्क जसको नाम सहिद स्मृति प्रतिष्ठान भएको छ । यो प्रतिष्ठानलाई नगरपालिका मातहत ल्याउने विषयमा अहिले पनि आनाकानी भएको छ ।
० यो आनाकानी नगरपालिकाबाट भएको हो ?
नगरपालिकाले २०७२ सालमै मातहतमा ल्याउने निर्णय गरेको हो । त्यसको विकास भएन, कर्मचारीहरुले समयमा तलब पाउन सकेनन् । अहिले पनि ३ करोड रुपैया घाटामा छ भन्ने सुनिएको छ । त्यसैले पनि समस्या अगाडि नै घनिभूत रुपमा उठाउन जरुरी छ । त्यहाँ अर्को समस्या भनेको ३,४,६ र ७ नम्बर वडाका जनताहरुको जग्गा छ । जसले सित्तैमा जग्गा प्रदान गरे उहाँहरुसँग सहमति गरेर नगरपालिकाको मातहतमा ल्याउने र प्रदेशले कार्यविधि बनाएर ति तीनवटै वडाका जनतालाई सम्बोधन गर्ने गरी नगरपालिका मातहतमा पार्कलाई ल्याउन सकेको खण्डमा सुन्दर प्राकृर्तिक सम्पदा र पर्यटकीय रुपमा आम्दानी गर्न सकिने नगरपालिका बन्ने थियो । त्यो भइरहेको अवस्था छैन । कसैको पनि सुझाव ग्रहण पनि नगर्ने र नसुन्ने भएकाले यो अवस्था आएको हो ।
० अन्त्यमा केहि भन्नु छ कि ?
चन्दागिरि नगरपालिका अन्यन्तै सुन्दर नगरपालिका हो । यो नगरपालिकाको सौन्दर्यतालाई बचाउनका लागि हामीले विशेष योजनाका साथ अघि बढ्न सकिन्छ । यसका लागि नगरपालिकाका मेयर र उपमेयरसहितको विज्ञहरुको विशेषसभा सञ्चालन गरेर कार्यदिशा निर्माण गरी अघि बढेमा नमूना नगरका रुपमा विकास गर्न सकिन्छ । त्यसका लागि नगरको निर्माणमा आम जनता मिडियाकर्मी र बिभिन्न दलका नेताहरु पनि प्रदुषणका विरुद्धमा आवाज उठाउनुहुने नै छ । यो प्रदुषणले विद्यालयलाई पनि आक्रान्त बनाएको छ । नगरलाई सुन्दर बनाउनका लागि विद्यालय र क्याम्पसलगायतमा काम गर्ने बिभिन्न तह र तप्काका जनताले सहयोग गर्नुहुनेछ । त्यसका लागि एकतावद्ध जाहेर हुने नै छ भन्ने आशा गर्दछु ।