February 11, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

तस्करी रोक्नका लागि सुरक्षाकर्मी र कर्मचारीले पाउने ४५ प्रतिशत कमिसन लिने व्यवस्था खारेज हुनुपर्छ

राजेश शर्मा, अध्यक्ष आम जनता पार्टी रौतहट



प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टी रौतहटका अध्यक्ष हुन् राजेश शर्मा । आम जनता पार्टीे भन्सार प्रशासनले तस्करीबाट आएको सामान पक्राउ गरे बापतको पुरुस्कार ४५ प्रतिशत कमिसनको व्यवस्था गरेको विषयलाई लिएर आन्दोलनमा छ । त्यसैकारण तस्करीबाट आएको सुन लगायतका सामानहरु धमाधम पक्रिएको सरकारको दाबी छ । तथापि राज्यको करबाट तलब भत्ता खाएका कर्मचारी र सुरक्षा निकायलाई नै कमिसन दिनु न्याय संगत नभएको आम जनता पार्टीका नेताहरुको मत छ । यसै क्रममा आन्दोलनमा खटिएका शर्मासँग डायरी एक्सप्रेस साप्ताहिकले गरेको छोटो वार्ताः


तपाई भन्सार प्रशासनले तस्करीका सामान पक्राउ गरे बापत र सुराकी बापत दिन भनि बनाइएको भन्सार नियमावलीको विषयलाई लिएर आन्दोलनमा हुनुहुन्छ ? खास गरी माग के के हुन् ?
भन्सार कार्यालयले तस्करीका सामानहरु पक्राउ गरे बापत दिने भनि घोषणा गरिएको ४५ प्रतिशत कमिसन रकम भन्सार नियमावलीको अनुच्छेद १० दफा ४७, ४८ र ४९ मा जुन नियम÷कानून बनाइएको छ, त्यो कानूनमा के छ भने तस्करीका समान समात्नेलाई कमिसन दिइने उल्लेख छ । त्यसमा जो सुराकी छ, उसले मात्रै १५ प्रतिशत पाउँछ र समात्नेलाई तीस प्रतिशत पाइने व्यवस्था गरिएको छ । यसबाट यो सबै रकम ब्यक्तिको ढिकुटीमा गयो राज्यको ढिकुटमा गएन । ५५ प्रतिशत मात्रै कर उठाएर कसरी राज्य बलियो हुन्छ ? र राज्यमा विकास सम्भव होला ? कर्मचारी र सुरक्षाकर्मीलाई समात्नकै लागि राज्यले तलव भत्ता दिएको छ । त्यसैकारण ४५ प्रतिशत कमिसन दिने व्यवस्था खारेजीका लागि आम जनता मञ्चले विरोध प्रदर्शन गर्दै आएको हो ।


भन्सारको नियमावलीमा गरिएको व्यवस्थालाई हटाउन त पुनः अर्को बजेट शेषनलाई कुर्नुपर्छ । आन्दोलनबाट कसरी सम्भव होला त ?
भन्सारले यो व्यवस्था खारेज गर्न मानेन भने हामीले अर्थमन्त्रालय घेराउँ गर्दछौं । हामीले यो व्यवस्था नहटाउने हो भने अर्थमन्त्रीको राजिनामाको पनि माग अघि सारेका छौं । तबसम्म हामीहरु निरन्तर एक पछि अर्को आन्दोलनका कार्यक्रम अघि सार्नेछौं । हामीले त्यति मात्रै नभएर मधेशका प्रत्येक जिल्लाका भन्सार कार्यालयहरु घेराउ गर्नेछौं । कमिसनका नाममा देशको ढिकुटी लुट्ने प्रवृतिको अन्त्य हुनुपर्दछ ।

कमिसन नदिँदा भन्सार तस्करी बढेका कारण यो व्यवस्था राखिएको होला नी ?
४५ प्रतिशत कमिसन दिनु पनि जायज हो र ? जागिर खाएपछि उसको काम र कर्तब्य के हो ? त्यसको लागि कसिमन दिनुपर्ने ? भन्सार कार्यालयको कर्तब्य र जिम्मेवारी होइन ? तस्करी रोक्नका लागि कमिसन नै दिनुपर्ने ? अहिले देशको आर्थिक अवस्था पुरै जर्जर छ । समयमा राज्यले कर्मचारीकै लागि पनि तलब ख्वाउन सकिरहेको छैन ।


बीचमा कमिसन हटाउँदा सुरक्षा निकायले तस्करी रोक्न इमान्दारीपूर्वक पहल नगरेका कारण भन्सार प्रशासनले कमिसनको व्यवस्थाका लागि नियमावलीमा व्यवस्था गरिएको दाबी छ नी ?
सुरक्षाकर्मीले तस्करीका सामान समात्दै समात्दैन भने सरकारको कसरी काम हुन्छ ? त्यसका लागि त पहल गर्नुप¥यो नि । प्रहरीले तस्करी नियन्त्रण गरेन भने उसलाई कानून बनाएर कारबाही हुनुप¥यो ।


आन्दोलनमा सहभागि भएको पनि धेरै दिन भइसक्यो अव आन्दोलनको स्वरुप कसरी अघि बढ्छ त ?
हाम्रो माग भन्सार विभागमा सुनुवाई भएन भने अर्थमन्त्रालय घेराउँ गछौं । त्यसपछि मधेशका सबै भन्सार कार्यालयमा गएर घेराउँ र तालाबन्दी गछौं । जबसम्म यो व्यवस्था हट्दैन तबसम्म हाम्रो आमजनता पार्टीको भातृ संगठन आम जनता मञ्च आन्दोलनमा सक्रिय पूर्वक लागिरहन्छ ।

मधेशका अन्य मधेशवादी पार्टीहरुले त विरोध गरेका छैनन् नी ?
आफुलाई मधेशका मसिहा भन्ने पार्टीका नेताहरु दलाली गरेका छन् उनीहरुका संगठनले जनताको विषयमा किन सराकारै राख्दैनन् ? उनीहरुको जिम्मेवारी होइन ? अहिले जनताले एक बोरा मल ल्याएको खण्डमा प्रहरीले समातेर राख्छ । जनतालाई पिट्छ । दुःख दिन्छ । तर आफुलाई मधेशका ठेकेदार हुँ भन्ने कथित दलालहरु भने आवाज नै उठाउँदैनन् । मधेशका जनता भन्सार कार्यालयको नियम र कानून प्रति पीडित छन्् । भन्सार नियमावलीमा राखिएको कमिसनको व्यवस्था नसच्चाएसम्म आम जनता पार्टीले विरोध गर्छ ।

०अन्य मधेशी पार्टीहरुले यो विषयको उठान किन गरेनन् भन्ने लाग्छ ?
अरु केहि होइन यिनीहरु कथित दलाल हुन् । आज भन्दा २० वर्ष अघि देखि मधेशका जनताहरुलाई यिनीहरुले लुट्दै आएका छन् । मधेशी जनताहरु यिनीहरुको व्यवहार प्रति आजित छन् । त्यसैकारण अहिले बिस्तारै पतन भएका पनि छन् । यहि रबैया रहेको खण्डमा अन्य मधेशबादी पार्टीहरु सखाप हुन्छन् । यो जनताले बुझिरहेका छन् ।

तपाईहरु पनि सरकार बाहिर रहँदा जनताका पक्षमा काम गर्ने र सरकारमा गएपछि बिर्सने होला नी ?
त्यसो भएको भए त हाम्रो अध्यक्ष प्रभु साहलाई मन्त्रीको अफर गरिएको थियो । तर, उहाँले लिनुभएन नी । उपेन्द्र यादवजी एमाले, माओवादी, नेपाली कांग्रेस जो सुकैको नेतृत्वमा सरकार बन्दा पनि सधै शक्तिमै हुनुहुन्छ । मधेशका लागि के गर्नुभयो ? केहि गर्नुभएको छैन । पछिल्लो निर्वाचनमा मधेसी जनताले देखाइदिएका पनि छन् । मधेशमा आम जनता पार्टीको लहर चलिसकेको छ । अर्को निर्वाचनमा आम जनता पार्टीले सबैतिर झण्डा फहराउनेछ ।

रौतहटमा अहिले आम जनता पार्टीको संगठन कस्तो छ ?
हाम्रो जिल्ला रौतहटमा क्षेत्र नम्बर एक देखि चार नम्बरसम्म संगठन एकदमै राम्रो छ । लुम्बिनी प्रदेश देखि कर्णाली प्रदेशसम्म संगठन बिस्तार गरिएको छ । पार्टीको संगठन तिब्र रुपमा बिस्तार भएको छ ।


रौतहट जिल्लामा स्वच्छ चुनाव हुँदैन । त्यहाँ सहज रुपमा जनताले भोट हाल्न सक्तैनन् । मोहम्मद् आफ्ताव आलम जस्ताले जित्छन् भन्ने सुनिन्छ नि ?
कुनैबेला रौतहटमा अफताव आलम जस्ताके बोलावाला थियो । मिडियाले नै उनको अवस्था देखाइदियो । हामीले भन्ने पर्दैन । तथापि निस्पक्ष रुपमा निर्वाचन भएको खण्डमा आम जनता पार्टीलाई जनताले बहुमत दिएर जिताउँछन् ।
आगामी वि.स.२०८४ सालको संसदीय निर्वाचनमा मधेश प्रदेशमा तपाईहरुको सिट कति आउँछ भन्ने अनुमान छ ?
हाम्रो पार्टीले मधेश प्रदेशमा ५० प्रतिशत सिट ल्याउने विश्वास गरेका छौं । तर हामी अहिले चुनावका लागि माहोल बनाएका होइनौं । जनताका लागि काम गरिएको हो ।


रौतहटमा जनताका पक्षमा काम गर्ने र माहोल बनाउने विषयमा तपाई भन्सार नियमावलीको विरोध गर्नुभएको छ । भोलिका दिनमा अन्य कार्यक्रमहरु के छन् ?
भन्सार सुधारका विषय पछि जनतालाई नागरिकता लिने सुबिधाका लागि विशेष पहल गनुृपर्छ । अर्को कुरा जनताका लागि मल र बीउँहरु समय समयमा उपलब्ध गराउनुपर्छ । जनतालाई सस्तो दरमा कृषि ऋण उपलब्ध हुनुपर्छ । मिटर ब्याजमा जनताहरु मारमा छन् ।
रौतहटमा उखु किसानहरु पनि मिलबाट रकम भुक्तानी नपाएर हैरान हुन्थे अहिले कस्तो अवस्थामा छन् ?
रौतहटको श्रीराम सुगर मिलले धेरै किसानहरुको पैसा खाएको छ । किसानहरु उखु मालिकबाट पीडित छन् । त्यसको विरोध प्रदर्शन अर्को चरणमा हुनेछ । अहिले सरकारले उखुको मूल्य प्रति क्वीन्टल ६२५ रुपैया तोकेको छ । तथापि समयमा रकम भक्तानी हुँदैन ।

आम जनता पार्टीको काठमाडौंमा पनि संगठन छ ?
हाम्रो संगठन काठमाडौं उपत्यकाका तिनै जिल्लामा राम्रो छ । यहाँको संगठनमा सभासद तिलक थापाले संयोजन गर्नुभएको छ । काभ्रेको बनेपामा पनि संगठन राम्रो छ । हाम्रो संगठन अपेक्षा भन्दा बढि नै छ ।


तपाईहरुको पार्टी सदस्यको संख्या कति छ ?
हाम्रो पार्टी सदस्यको संख्या भन्दा पनि प्रभु साह प्रतिको जनलहर हो ।


धेसमा जातिय समस्याहरु जस्तै यादव र साह बीचको टसल पनि चरम छ नि ? यादवहरुले अन्य जातिहरुलाई बढि डोमिनेट गरे भन्ने गुनासोहरु पनि सुनिन्छ नी ?
हाम्रो मधेशमा जातिबीचमा टसल गराउने काम आफुलाई मधेशका मसिहा भन्ने दलालहरुले हो । मधेशलाई लुट्नेका काम गरेकाहरुले नै यस्तो हल्ला मच्चाएका हुन् । जनताले आफुलाई काखमा राखेर दलालहरुले लुटेका हुन् भन्ने कुरा राम्ररी बुझेका छन् । अहिले आम जनता पार्टीमा प्रत्येक जातजातिका मान्छेहरु समेटिएका छन् ।


अहिले कम्युनिस्ट पार्टीका नेताहरुले पनि बर्गियतामा विश्वास गर्नुपर्नेमा जातिय कुरा गर्छन् नी ?

दलालहरुले नै एजेण्डा बनाएर मधेशका जनतालाई गुमराहमा पारेर जातिय द्वन्द्व बढाएका हुन् । साथै हरेक समयमा फाइदा लिएका हुन् । यो कुरा मधेशका जनताले राम्ररी बुझेका छन् ।


२०१५ सालको निर्वाचनमा ४ सिट मध्ये रौतहटबाट कम्युनिस्ट पार्टीले दुई सिट जितेको थियो । अहिले २०८० सालमा कस्तो प्रभाव छ त ?

कम्युनिस्ट पार्टीको नेतृत्वमा हामी कहाँ २००७ साल देखि आन्दोलन र क्रान्तिहरु भएकै हुन् । यहाँ कम्युनिस्टहरु त्यहि बेला देखि नेपाली कांग्रेससँग भिड्दै आएका थिए । प्रभु साह पनि माओ, लेनिन र माक्सकै सिद्धान्त लिएर हिड्नुभएको छ । त्यसलाई नयाँ तरिकाले जनतालाई सुख र समृद्धि दिलाउने काम मात्रै आम जनता पार्टीको हो । नियम, कानून र संविधानको परिधिभित्र रहेर जनताका पक्षमा काम गर्नका लागि आम जनता पार्टीको स्थापना भएको हो ।


अन्त्यमा केहि भन्नु छ कि ?
हाम्रो अर्थमन्त्रालय र भन्सार विभागका महानिर्देशकलाई अनुरोध छ कमिसन दिने व्यवस्था यथासिघ्र खारेज गरियोस । देश लुटतन्त्रबाट बचाइयोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.