धेरै चलचित्र पत्रकार मलाई आइडल मान्छन्
नेपाली चलचित्र पत्रकारमा आफूलाई अब्बल रुपमा प्रस्तुत गर्दै आउनुभएको नाम हो कुवेरराज गिरी । नेपाल चलचित्र पत्रकार संघको उपाध्यक्ष समेत रहनुभएका उहाँले यस क्षेत्रको श्रीवृद्धिमा आफूलाई तल्लिन राख्दै आउनुभएको छ । चलचित्र पत्रकारितामार्फत चलचित्र क्षेत्रको विकास, बिस्तारमा क्रियासिल रहँदै आउनुभएका कुवेरराज गिरीसँग डायरी एक्सप्रेसका लागि सारादा देवी सापकोटाले गर्नुभएको कुराकानीको संक्षिप्त अशंः–
पछिल्लो समय के गर्दै हुनुहुन्छ ?
अहिले चलचित्र पत्रकारिता निरन्तर चलिरहेको छ । चलचित्र पत्रकारितामार्फत म चलचित्र क्षेत्रको विकास, बिस्तारमा क्रियासिल छु । अहिले नेपालको प्रतिष्ठित अनलाईन राटोपार्टी मार्फत चलचित्र पत्रकारिता अगाडि बढिरहेको छ ।
पत्रकारिता क्षेत्रमा कहिलेदेखि सक्रिय हुनुहुन्छ ?
करिब दुई दशकदेखि म नियमित चलचित्र पत्रकारितामा सक्रिय छु । पत्रकारिताको यो दौरानामा करिब आधा दर्जन साप्ताहिक, त्यतिकै हाराहारी राष्ट्रिय दैनिक, मासिक र केही अनलाईनमा काम गरेको अनुभव छ ।
पत्रकारितामा रङ्ग पत्रकारिता नै रोज्नुको कारण ?
जतिबेला म पत्रकारितामा होमिए । त्यो समय चलचित्र पत्रकारिता गर्ने मानिस थोरै थिए । राम्रा मिडियाले यो पत्रकारितालाई कतैकतै स्थान दिएपनि अनिबार्य गरेका थिएनन् । चलचित्र पत्रकारिता गर्नेलाई कतिपय पत्रकार मान्न तयार थिएनन् । नेपाली कलासंस्कृतिलाई उजागर गर्ने चलचित्रलाई पत्रकारितामा स्थापित गर्न र चलचित्र पत्रकारिता पनि अन्य पत्रकारिता जस्तै स्थापित गर्न सकिन्छ । यो महत्वपुर्ण बिधा हो भनेर बुझाउने हिसावले रोजेका थिए । जुन उद्देश्य अहिले सफल भएको छ । अहिले सबै मिडियामा रङ्गपत्रकार र यो बिधाले स्थान पाएको छ । चलचित्र पत्रकारितामा पत्रकार पनि बढेका छन् ।
रङ्ग पत्रकारिताको यो लामो दौरानमा धेरै अविस्मरणीय क्षणहरु पक्कै छन् । कुनै एक दुई सम्झाना गर्नुपर्दा ?
पत्रकारिताको यो दौरानमा तितामिठा अनुभव त धेरै छन् । जीवनमा कहिलै भुल्न नसकिने घटना पनि धेरै छन् । ति मध्ये एक चलचित्र बिकास बोडको अध्यक्ष धर्मेन्द्र मरवैता (पप्पु)को नियुक्तीको समय मैले सौर्य दैनिकमा लेखेको स्टोरी ‘पप्पु कान्ट डान्स’ निकै चर्चित भएको थियो । यो समय चलचित्र बिकास बोडमा नियुक्त अध्यक्ष पप्पुलाई कार्यकक्षमा छिर्न नदिने आन्दोलन थियो । त्यो आन्दोलमा मैले लेखेको स्टोरी देखाएर सबै नाचेका थिए । भोलीपल्ट मैले फेरि लेखेको समाचार दिनभर बिरोध रात परेपछि सहमती शिर्षकले महिनौ देखिको आन्दोलन सेलाएको थियो ।
नेपालमा पत्रकारिताको बर्तमान अवस्थालाई कसरी हेर्नुहुन्छ ? यसमा रङ्ग पत्रकारितालाई कहाँनेर पाउनुहुन्छ ?
बर्तमान अवस्थामा नेपालमा पत्रकारिताको क्षेत्र एकदमै राम्रो छ । पत्रकारहरु ब्यवसायिक भएका छन् । उनीहरुको सेवासुबिधा बढ्दो छ । पत्रकारितामा चुनौती पनि बढ्दो छ । पछिल्लो समय खुलेका थुप्रै मिडिया र पत्रकारले समाचार प्रस्तुत गर्न देखाउने गरेको हतारोले विश्वसनियता गुमाउदै गएको हो कि भन्ने पनि लाग्छ । अहिले रंग पत्रकारितामा विश्वसनियता गुम्दै गएको छ ।
रङ्ग पत्रकारिताको अवसर र चुनौती के कस्ता देख्नुहुन्छ ?
अहिले राम्रा मिडियाहरु थुप्रै खुलेका छन् । हरेक मिडियाले रङ्ग पत्रकारितालाई पनि राम्रो स्थान दिएका छन् । त्यो हिसावले अवसर थुप्रै छन् । साथ(साथै चुनौती पनि थपिएको छ । अहिले आफु्सँग नजिक भएको हिसावले जथाभाबी समाचार बनाउने, समाचारको गहिराइमा नपुग्ने र विश्वसनियतमा ध्यान नदिने प्रबृति बढ्दो छ । यसले समग्र रङ्ग पत्रकारिता क्षेत्रलाई नै बदनाम गर्छ कि भन्ने डर छ ।
यहाँ रङ्ग पत्रकारहरुको संस्था चलचित्र पत्रकार संघ नेपालको उपाध्यक्षमा रहेर आफ्नो जिम्मेवारी कुशलपुर्वक निर्वाह गरिरहनु भएको छ । चलचित्र अथवा रङ्ग पत्रकारितालाई ब्यवस्थित बनाउन के कस्तो कदम चाल्नुपर्ने अवस्था देख्नु भएको छ ?
रङ्ग पत्रकारिता ब्यवस्थित, मर्यादित र विश्वसनिय बनाउन त्यसका क्रियासिल ब्यक्तिलाई समय समयमा तालिक, प्रशिक्षण गोष्ठी र मेरिटेसनको समेत आवश्यकता पर्छ । जुन कार्य चलचित्र पत्रकार संघबाट हुँदै आएको छ । मेरो कार्यकालमा सबै पत्रकार सक्षम र राम्रो बनाउने योजनामा म लागेको छु । त्यसका लागि कसरत समेत गरिरहेको छु ।
चलचित्र पत्रकारितामा ‘ठेक्का’ पत्रकारिता छ भन्ने सुनिन्छ । एउटा पत्रकारमा हुनुपर्ने गुण के के हो ?
कुन कुरोलाई ठेक्का पत्रकारिता भनिएको हो त्यो स्पष्ट छैन । फिल्मको प्रचार जिम्मा लिने तिर लक्षित हो भने त्यो अहिले मौलाएको छ । त्यो गलत हो । पारिश्रमिक लिएर प्रचार प्रसारलाई बाटो दलेखाउनु, माध्यम बनाउन गलत होइन । तर पुरै मै गर्छु भनेर ठेक्का लिनु गलत हो । त्यसरी गर्ने ठक्काले पत्रकारितामा बिकृती भित्र्याउछ ।
चलचित्र तथा रंगपत्रकारितामा आफु कुन पोजिसनमा हुनुहुन्छ ?
म एउटा सफल चलचित्र पत्रकार हो । मेरो यो क्षेत्रमा नाम छ । पछिल्लो समय भित्रिएका धेरै भाइबहिनी मलाई प्रेरणाको श्रोत मान्छन् । धेरै चलचित्र पत्रकारको आइडल हो म ।
पत्रकारले जहिले पनि के कुरो भुल्नु हुँदैन भन्ने यहाँलाई लाग्छ ?
पत्रकारले जहिले पनि समाचार निस्पक्ष, सत्य, तथ्यमा आधारिता रहेर बनाउनुपर्ने कुरो भुल्नु हँुदैन ।
यहाँले यो क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप थुप्रै मान, सम्मान, पुरस्कार र अवार्ड प्राप्त गर्न सफल हुनु भएको छ । कस्तो लाग्छ फर्केर हेर्दा ?
मैले यो क्षेत्रमा दिएको करिब दुई दशकको योगदानको यो क्षेत्रका बिभिन्न संघसंस्थाले सम्मान, अवार्ड तथा पुरस्कार दिइरहनु भएको छ । त्यसले यो क्षेत्रमा मैले पत्रकारिताको क्रममा भोगेको दुःख, समस्या भुलाउछ । यो क्षेत्रमा अझ धेरै राम्रो काम गर्न प्रेरणा समेत मिल्छ ।
यहाँलाई सामाजिक कार्यमा पनि संलग्न रहेको देखिन्छ नि ?
मानिस जुनै क्षेत्रमा रहेपनि त्यसको सामाजिक उत्तरदाइत्व भने हुन्छ । हामीले ब्यवसायिक कामको अलवा सामाजिक काममा पनि क्रियासिल गराउदै जानुपर्छ । सामाजिक कामले मनमा शान्ती, जीवनमा नयाँ उर्जा र सकारात्मक सोच पैदा गर्छ । हामी पत्रकार भनेको समाजका सेलिब्रेटी पनि हौं । हामीले गर्ने क्रियाकलापले अरुलाई पनि उर्जा दिनसक्नुपर्छ ।
अन्त्यमा, यो क्षेत्रमा आउन चाहनेलाई के भन्नु हुन्छ ?
चलचित्र अथवा रङ्ग पत्रकारितामा आउन चाँहनेका लागि म सधै स्वागत गर्छु । यो क्षेत्र राम्रो छ भन्छु । यो क्षेत्रमा अरु सफल भएको देखेर भित्रिने होइन । केही गर्छु । यो क्षेत्रमा करियर बनाउछु भनेर मिहिनेत गर्ने हिसावले आउनुस् भन्छु ।