नेपाली जनताले यो सरकारको छिटोभन्दा छिटो बहिर्गमन चाहन्छन्
1 min read
आगामी आश्विन १०-११ गते कर्णाली प्रदेशमा नेकपा एमालेको अधिवेशन हुँदैछ । यसै क्रममा केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज नागिन्द्र शाहीसँग कार्यक्षेत्र हुम्लामै रहेको समयमा अधिवेशन र नेकपा एमालेको भावी रणनीतिका सम्बन्धमा गरिएको टेलिफोन वार्ताः
० तपाई नेकपा एमालेको केन्द्रीय सदस्य तथा नेकपा एमाले हुम्ला जिल्लाका इन्चार्ज हुनुहुन्छ । अहिले प्रदेश अधिवेशन हुन गइरहेको सन्दर्भमा के–के कामहरु भइरहेका छन् ?
कर्णाली प्रदेशमा नेकपा एमालेको प्रथम प्रदेश अधिवेशन १० र ११ गते हुँदैछ । नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीबाट १० गते उद्घाटन सत्र सुरु हुँदैछ । राष्ट्रिय राजनीतिले आवश्यकतालाई मध्येनजर गरेर अहिलेको अस्थिर राजनीतिलाई निकास दिनका निमित्त एउटा राजनीतिक शक्तिको आवश्यकता रहन्छ । राजनीतिमा स्थायी शक्ति निर्माण गर्न सक्ने ल्याकत, ताकत र बल नेकपा एमालेसँग मात्रै छ । बलियो राजनीतिक शक्ति निर्माण गर्ने र स्थायित्व दिने गरी हामीले उद्घाटन सत्र तयारी गर्दैछौं । उद्घाटन सत्र सम्पन्न गरीसकेपछि प्रदेश अधिवेशन पनि भएको हुँदा स्वाभाविक रुपमा नेतृत्व निर्माण गर्ने काम हुन्छ । त्यसका लागि कर्णाली प्रदेशमा रहर लाग्ने गरी जनताको भरपर्दो शक्ति निर्माणका बनाउन सक्ने नेतृत्वको निर्माण गर्नेछौं । जुन नेतृत्व सर्वसम्मत् ढंगबाट निर्वाचित हुने विश्वास र अपेक्षा गरेका छौं । कथं कदाचित त्यसो हुन सकेन भने हाम्रो विधानले व्यवस्था गरे अनुसार लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन हुनेछ । र प्रदेश अधिवेशन सफल पार्नेछौं ।
० नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानमा हुम्लाको अवस्था कस्तो रहन पुग्यो ?
हुम्लाको समग्र मुल्यांकन गर्दा चाहे नेपाली कांग्रेसका समर्थक हुन् वा नेकपा माओवादी वा अन्य पार्टीका किन नहुन् उहाँहरुले के भन्नुभएको छ भने, ‘मुलूकको राष्ट्रियताको सन्दर्भमा देशलाई राजनीतिक स्थायित्व दिने सन्दर्भमा एक विश्वाशिलो पार्टी नै नेकपा एमाले हो भन्ने कुरामा हामी विश्वस्त छौं’ । गाउँमा बस्ने किसान दाजुभाइ, दिदी बहिनीहरुलाई किन हामीलाई मत दिनुभएन त भनेर प्रश्न गर्दा उहाँहरु भन्नुहुन्छ ‘हामी बिभिन्न प्रकारको दवाव र प्रभावमा परियो, रोजगारीको प्रभावमा परियो त्यसैकारण मत दिन नसकेका र्हौं हामीलाई थाह छ नेकपा एमालेले यो मुलूकको सर्वश्रेष्ठ पार्टी हो ।’ यो पार्टीले हाम्रो माटो र बाटो सुहाउँदो पार्टी नै नेकपा एमाले हो भनिरहेका छन् । यसलाई हाम्रो अधिवेशन मार्फत, बैठक र छलफलमार्फत सन्देश दिन गइरहेका छौं । नेकपा एमाले नेपालको राजनीतिमा नयाँ व्यवहारिक सन्देश दिन गइरहेको छ । चुनाव देखि चुनावसम्म भन्ने राजनीतिको अन्त्य गरेर जनताका घर देखि जनताको दैलोसम्म, जनताको खेत देखि बारीसम्म, ओठदेखि आँखासम्म नेतृत्व गर्ने राजनीतिक शक्ति भएको खण्डमा मात्रै मुलूक समृद्ध हुन सक्छ । यहि सन्दर्भमा हुम्लामा मात्रै होइन जुम्लामा पनि हेर्दा नेकपा एमालेलाई जनताले आशा र भरोषाका साथ हेरिरहेका छन् ।
० मिसन ग्रासरुट अभियानमा पहिलाका सदस्य संख्या धेरै घट्यो भन्ने अन्य जिल्लाको आकांडामा छ । त्यहाँको अवस्था के हो ?
वास्तवमै मिसन ग्रासरुटमा सदस्यताहरु अध्यावधिक र काटछाँट गरिएको छ । नेकपामा हुादा २०७५ साल जेठ ३ गते हामी नेकपा भएपछि पार्टी सदस्यहरुको अद्यावधिक भएकै थिएन । त्यो समयका माओवादी पृष्ठभूमि बोकेका साथीहरु पनि नेकपामा हुँदा सदस्यता लिनुभएको थियो । त्यसैले पनि स्वाभाविकै रुपमा संख्या बढि थियो । उहाँहरु माओवादीमा र कोहि समाजवादीमा गएपछि संख्या कम हुनु पनि स्वाभाविकै हो । मिसन ग्रासरुटमा अद्यावधिक भएपछिको संख्या र २०७५ साल जेठ ३ गते अघिको संख्या हेर्दा २०–२५ प्रतिशत पार्टी सदस्यहरुको संख्या बढेको छ ।
० भोलिको दिनमा संगठन निर्माण कार्य कसरी अघि बढ्छ त ?
नेकपा एमालेको सिद्धान्त माक्र्सवाद, लेनिनवाद, बहुदलिय जनवाद, द्धन्द्धात्मक भौतिकवाद भने पनि जनताका कामको नेतृत्व गर्नुपर्दछ । यसरी जनताले बुझ्ने गरी नेकपा एमालेको. संगठन निर्माण हुनुपर्दछ । त्यसका लागि नेकपा एमालेले मुल्यांकन गरिरहेको छ । यसैकारण हाम्रा प्रदेश र जिल्ला अधिवेशनहरु किन गर्न लागिरहेका छौं भने अव नेपालका राजनीतिक दलहरु सिद्धान्तमा मात्रै सिमित नगरीकन जनताको पेट भर्ने खालको, जीवनमा काम लाग्ने, समस्याहरुको समाधानका लागि नेतृत्व गर्ने खालको, जनताको आँखाको आशु पुछ्ने गरी, खुट्टामा चप्पल किनेर लगाउन नसक्ने अवस्थाका जनतालाई नेकपा एमाले साथी बन्नुपर्दछ । मल नपाएर बाली लगाउन नपाएका किसानको नेकपा एमालेले नेतृत्व गर्नुपर्दछ । यसरी जनताको घर आगनमा हामी सबैजना युद्ध स्तरमा लागिरहेका छौं ।
० गाउँमा जाँदा अहिलेको सरकारप्रति जनताको मुल्यांकन कस्तो पाउनुभयो ?
यो सरकारको मुल्यांकन गर्दा बालुवाटारको दानापानी खाएर बाँचेका बाहेक सम्पूर्ण जनताको सरकारप्रति वितृष्णा छ । जनतालाई अनुभूति हुने गरी नयाँ काम गर्न सकेको छैन । सुशासनलाई प्रोपोगाण्ड गरिन्छ । भ्रष्टाचारलाई प्रोपोगाण्डा गराईन्छ । विषयवस्तुलाई अर्कोतर्फ मोड्न खोजिन्छ । यसैकारण नेपाली जनताले यो सरकारको छिटोभन्दा छिटो बहिर्गमन हेर्न चाहन्छन् । तथापि नेकपा एमालेले सरकार तर्फ ध्यान दिएको छैन । जनताको बुझाई पनि यो सरकारको छिटो भन्दा छिटो बहिर्गमन हुनुपर्छ भन्ने नै हो ।
० अन्तमा केहि भन्नु छ कि ?
हामी कर्णाली प्रदेशको ऐतिहासिक प्रथम अधिवेशनको संघारमा छौं । त्यसका निमित्त तपाईहरु सबै मिडियाकर्मी दाजुभाइ दिदी बहिनीहरुले हाम्रो यो अभियानलाई सफल पार्नका निमित्त आ–आफ्नो ठाउँबाट सहयोगको अपेक्षा गरेका छौं । एक माघले जाडो जाँदैन । तपाईको लोकप्रिय मिडियामार्फत भन्न चाहन्छु कि भ्रष्टाचार, अन्याय र अत्याचारको विरुद्धमा नेकपा एमाले पार्टी लडिरहेको छ । यो मुलूकमा जब राष्ट्रियतमाथि खत्तरा आउँछ, त्यति बेला नेकपा एमाले जनताका साथमा रहन्छ । अहिले चुच्चे नक्साको कुरा हराएको छ । सीमा स्तम्भहरु ढलिरहेका छन् । सरकार त्यसको विषयमा बोल्दैन । नेपाली जनता र राष्ट्रका निमित्त हामीहरु साथमा छौं । धन्यबाद ।