January 13, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

सल्लाहकारहरुको अनुभव र अनुभूतिलाई देश र जनताको जिबिकासँग गासेर लानुपर्दछः जितवीर लामा


२००९ साल मंसिर १ गते विगु गाउँपालिका–४ लादूकमा जन्मनुभएका जितवीर लामा नेकपा एमालेका केन्द्रीय सल्लाहकार हुनुहुन्छ । आमा फूलमाया र बाबु प्रेम बहादुर लामाको सन्तानका रुपमा जन्मनुभएका लामा लोकतन्त्र पछिको पहिलो संसदीय निर्वाचनमा दोलखा क्षेत्र नम्बर दुईबाट विजयी बन्नुभयो । शिक्षातर्फ नेपाली विषयमा स्नातकोत्तर गर्नुभएका लामाले २०४३ सालमा जनपक्षिय उम्मेदवारका रुपमा नेकपा एमालेको तर्फबाट राष्ट्रिय पञ्चायतको सदस्यमा र २०४४ सालमा जिल्ला पञ्चायतको सभापतिमा निर्वाचन लड्नुभएको थियो । २०३६ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सदस्य, २०४५ सालमा प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको उपाध्यक्ष जस्ता जिम्मेवारीमा रहेर उदारणीय काम गर्नुभएका उहाँ २०२२ साल देखि नै क्षमावती हाई स्कूलमा पढ्दा देखि नै राजनीतिमा आवद्ध हुनुुहन्थ्यो ।


० अहिलेको राजनीतिक परिवेसलाई कसरी हेर्नुभएको छ ?

अहिलेको राजनीतिक परिस्थितिलाई मुल्यांकन गर्दा एकदमै जटिलता छ । यसमा विश्लेषण गर्नुपर्दा देश गम्भीर संकटमा छ । राजनीतिक, सामाजिक , आर्थिक र सांस्कृतिक रुपमा पनि संकटमा छ । लोकतन्त्र आएपछि जसरी रुपमा अगाडि बड्नुपर्दथ्यो, जनताले जुन आशा र अपेक्षा गरेका थिए, त्यो खालको स्थितिमा पनि मुलूक गएन । अन्तराष्ट्रिय साम्राज्यवादीहरुले नेपालमा चलखेल गर्ने स्थितिमा थलो बनाउने काम गरे । छिमेकी राष्ट्रहरु चीन र भारतसँग सन्तुलन राखेर अघि बढ्नुपर्दथ्यो । नेपाल जस्तो मानव सभ्यताका, धार्मिक, र ऐतिहासिक दृष्टिकोणले पुण्यभूमि देशमा सामारिक हिसावमा पनि अत्यन्तै महत्वपूर्ण छ । राष्ट्रलाई मानव सन्देश दिने बुद्ध जस्तो जन्म भएको र विश्वको सर्वोच्च शिखर सगरमाथा जस्तो भएको देशमा स्वतः नै फलिफाप हुने स्थिति थियो । तर, हामी जसरी अघि बढ्नुपर्दथ्यो त्यो बढ्न सकेनौ । यो नै दुःख लाग्दो विषय बन्यो । किनकी मल्लकालिन, लिच्छवीकालिन र किरातकालको स्थितिलाई हेर्ने हो भने एसिया महादेशमा नै चाहे कला क्षेत्रमा चीनमा अरनिकोले स्तुपा बनाउन पुग्नु र राडी पाखी लगायतका कपठाहरु दक्षिण भारततर्फ पनि निर्यात हुने गर्दथ्यो । त्यसैले पनि हाम्रो जस्तो देशलाई व्रिटिशसँग लड्नका लागि पृथ्वी नारायण शाहले हिन्दूराज्य बनाएको अनुमान गर्न सकिन्छ । त्यो समयमा भारतमा विट्रिश विरोधी आन्दोलन चलिरहेको थियो । यसरी सबै मिलेर विट्रिश साम्राज्यवादीहरुलाई खेद्ने स्थितिमा गएको हुन सक्छ । जब नेपालमा लोकतन्त्रको स्थापना भयो जनताले अपेक्षा गरेको जनपक्षिय ढाँचामा दलहरु गएनन् । नीतिगत निर्णय एकातर्फ र नेतामुखि भएर ब्यवहारमा अर्कातर्फ गरियो । यसरी नत दलाल पुँजिपतिलाई नै चिर्न सक्यो नत राष्ट्रिय पुँजिलाई नै संरक्षण गर्न सक्यो । मुलूकलाई सबल बनाउने कार्ययोजना पनि ल्याउन सकेन । यो खालको अवस्था रह्यो । ०३५ पुस ११ गते सालमा नेकपा मालेको गठन पछि जातिय संगठनहरु बनाएर त्यसैको माध्यमबाट माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधारालाई पार्टीको माध्यमद्धारा जनताको गाँस, बास र कपाससँग एकाकार बनाएर उनीहरुको संस्कार, संस्कृति र रितिरिवाज सम्बन्धी कसरी वैज्ञानिककरण गर्न सकिन्छ भन्ने विषयमा थारु कल्याणकारी समिति, नेपाल तामाङ घेदुङ, याक्थुम चुम्लुङ, लिम्बु समाज, थारु कल्याणकारी समाज यस्ता थुप्रै जनजातीका संगठनहरु बनाएर हामीले अघि बढायौं । त्यो समयमा कम्यनिष्ट, कांग्रेस जो भएपनि सामाजिक संस्कार, संस्कृति र भाषालाई उत्थान गर्ने स्थितिमा साझा सवाललाई मात्रै विकास गर्ने किसिमले अघि बढायौं । त्यो समयमा हामीले कर्मचारीभित्र देखापरेको भ्रष्टाचार, विकृति र विसंगतिहरुलाई रोक्नका लागि संगठनहरु बनायौं । सुब्यवस्थित र सुशासन दिनका लागि ति काम ग¥यौं । जब दलहरु २०४६/०४७ र २०६३ सालपछि खुला भएर आए, त्यसपछि पुरानो अवस्था नै रहेन । जुन खालको अवधारणा थियो रहेन । अहिले पार्टीहरु जसरी सञ्चालन भएका छन्, यो लोकतान्त्रिक अभ्यास नै होइन ।


० २०४७ साल पछिका सरकारबाटै ललिता निवास जग्गा प्रकरणमा संलग्न भएको देखिन्छ । उद्योग धन्दाहरु कमिसनको लोभमा कौडीको मोलमा बेचिएको छ, विधि र पद्धतिमा जान चाहने लगाम नै नभएर हो कि किन यस्तो अवस्थाको सिर्जना भयो ?
लोकतन्त्र आएपछिको पहिलो सांसद म पनि थिएँ । कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री हुँदा देखि नै नेपाली कांग्रेस पार्टी सत्तासँग पनि नजिक र सत्ताको भित्री अन्तर्य पनि थाह पाउने किसिमको पार्टी देखियो । हामी प्रतिपक्षमा बसेर सजग र सतर्क गराउने काम पनि गरियो । मदन भण्डारीले भ्रष्टाचारका विरुद्धमा, समाज रुपान्तरणका विषयमा ठाउँ ठाउँमा बोल्नु पनि भएको थियो । हामीमा एक खालको सोचाई र चिन्तनले पनि हुँदैन कम्युनिस्ट व्यवस्था आएको खण्डमा पनि टिकाउन सकिदैन भनेर नै जनपक्षिय ढाँचामा माक्र्सबाद र लेनिनवादलाई जनताका सामु लैजानुपर्छ भनेर नै जनताको बहुदलीय जनवाद पारित गरिएको हो । तर, जनताको बहुदलीय जनवादभित्र पनि नेताहरुले पारदर्शी बनाएर एकाकार बनाएर लैजानुपर्दथ्यो त्यो हुन सकेन । मेरो जिल्ला दोलखामा त प्लाष्टर नै गरिएको थियो । पञ्चायतकालमा दोलखाले त नमुना नै पेश गरेको थियो । त्यो समयमा जनपक्षिय प्रधानपञ्च, जनपक्षिय सभापति, जनपक्षिय राष्ट्रिय पञ्चायत सदस्य भन्नेलाई पनि पञ्चायतले थुन्ने गर्दथ्यो । त्यसरी नै काठमाडौंमा पध्मरत्न तुलाधरले पार्टीको सदस्य नभएपनि पूर्णकालिन रुपमा पार्टीलाई अगाडि बढाउनुभयो । जनतालाई कसरी गाँस, बास र कपासको ब्यवस्था गर्न सकिन्छ भनेर लोकतन्त्र आउनु केहि पूर्व प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चमार्फत प्रचार प्रसार पनि गरियो । तर, लोकतन्त्र आएपछि स्रोतर्ला विचलन गर्ने काम कृष्ण प्रसाद भट्टराईबाट भयो । त्यस्तो हुन दिनुहुँदैन भन्ने विषयमा संसदमा प्रतिपक्षको रुपमा छायाँ सरकार बनाएका थियौं । छायाँ प्रधानमन्त्री मनमोहन अधिकारी र म स्थानीय विकास मन्त्री बनेको थिए । तर, त्यसपछि महाकाली सन्धिलगायतका विषयमा के गर्ने ? राज्य कसरी चलाउने भन्ने विषयमा नेकपा एमालेले दिशाबोध गराउने काम गरेको थियो । तर, बिस्तारै बिस्तारै उद्योग धन्दा कौडीको मोलमा बेच्ने, जलसम्पदा प्रयोग गर्ने नाममा साछीका रुपमा बस्नुपर्ने बाद्यता देखापर्न गयो । हामीले कराउँदा कराउँदै कैयौं उद्योग धन्दाहरु भृकुटी कागज कारखाना, हरिसिद्धि इट्टा टायल कारखाना, वीरगञ्ज चिनी मिल, हेटौडा कपडा उद्योग, भृकुटी कागज कारखानालगायत बेच्ने काम गरियो ।


० देशलाई परनिर्भर बनाएर राज्य असफल बनाउनका लागि उद्योगधन्दा बेच्ने काम डिजाईन स्वरुप नै आएको हो ?
नेपाली कांग्रेस पार्टीमा गणेशमान सिंह जस्ता इमान्दारहरुलाई जवर्जस्ती पाखा लगाइयो । अन्तर्राष्ट्रिय पुँजीपतिहरुको दलाली पेसामा उनीहरु लागेँ । दलाल पुँजीपतिहरुको फन्दामा हाम्रा कम्युनिस्ट नेताहरु पनि फस्दै गए । पछिल्लो समयमा अपर तामाकोशी ३०÷३५ अर्ब रुपैयामा तयार हुन्थ्यो, तर त्यसलाई खर्ब ऋणमा पु¥याइयो । अहिले नोक्सानी भयो, ऋण तिर्न सकिएन भनेर सुनिन्छ ।


पञ्चायतकालका एक नेता नवराज सुबेदीले दरबारमा रानीले मारवाडीसँग पैसा लिन्थिन् त्यहि कारण व्यवस्था पनि असफल भयो भन्थे, अहिले पनि नेताका कथित रानीहरुकै कारण यो अवस्था आएको हो भनिन्छ नि ?
कथित रानीहरुले त्यस प्रकारको काम गरेको खुलासा आफ्नो स्वार्थ नमिलेका कारण पञ्चायतका तत्कालिन नेताहरु सूर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, मरिचमान सिंह श्रेष्ठ, नवराज सुबेदीले गरेका हुन् । यसरी भागवण्डा नमिलेका कारण यस्ता विषयहरु ‘एक्सपोज’ भएका हुन् । रोक्ने र छेक्ने काममा त उनीहरु नै हुन् । दरबारिया मान्यतामा बस्नु र भन्नु उनीहरुको चरित्र नै हो ।


० अहिले पनि ठूला–ठूला काण्डहरु जस्तै नक्कली भुटानी काण्ड, जग्गा काण्डहरुमा त कथित रानीहरुकै नाम बाहिर आएको छ नी ?
जुन सवाल उठाउनुभयो, त्यो स्वाभाविक नै हो । राणाकाल र शाहकाल कतिपयले गौरव गर्छन् । मलाई त्यो लाग्दैन । मलाई त अन्धकारको युग लाग्दछ । नेपाल भूमिलाई एकीकरण गरेपछि कसरी भूमिलाई उर्वरा बनाउने भन्ने विषयमा जानुपर्दथ्यो । त्यसरी गएको इतिहास नै देखिदैन । राणा प्रधानमन्त्री चन्द्र शम्शेरको मात्रै इतिहास केलाउने हो भने उनको १ लाख १० बिघा जग्गा थियो । उपत्यकामा मात्रै १० हजार रोपनी जग्गा उनको नाममा परेको थियो । उनीहरुले त्यो जग्गा कसरी प्राप्त गरे । उनीहरुले यहाँको जमिन त उखाँडे नी ।


० त्यसो त चन्द्र शम्शेरले बेलायतले नेपाललाई दिएको २० लाख पाउण्ड पनि आफ्नै नाममा राखेको भन्ने सुनिन्थ्यो नि ?
त्यो त आफ्नो ठाउँमा छ । उनीहरुले यहाँको उर्वरा शक्तिलाई विदेशीलाई बेचेर जनशक्तिलाई व्रिटिशलाई सुम्पने र जग्गा जमिन हडप्ने कुराले के देखिन्छ भने पुरै जमिन निश्क्रिय बनाइयो । काम गरेर तलब दिनुपर्नेमा बिर्ता दिइयो । ठूला–ठूला न्यायतपोल देखि गुठी जग्गा जमिनहरु कब्जा गरिए ।
केशर शम्शेरले विक्रम शिला महाविहार मिचेर आफ्नो दरबार बनाए । जहाँ अतिसालेसमेत आफ्नो नातीलाई दुई वर्ष पढाएका थिए । अतिसा तिब्बतका सम्राट श्रङचङ गोम्पोका राजगुरु हुन् । उक्त विक्रम शिला महाविहारमा अहिले छायाँ सेन्टर बनाइएको छ । जुन राणाकै ज्वाई पृथ्वी बहादुर पाण्डेले बनाएका हुन् । सेतो कमलको फूल चढाउनुपर्ने पोखरी समेत उनीहरुले नै कब्जा गरेका छन् । विक्रमशिला महाविहारको २०२८ साल देखि नै मु्द्दा परिरहेको छ । यस प्रकारको अवस्थाले नेपाललाई कसरी जल, जमिन र जंगललाई प्रयोग गर्ने भन्ने विषयमा योजना नै बनाइएन । बरु कसरी लुट्ने भन्ने मात्रै अवस्था देखियो । यसबाट के पुष्टि हुन्छ भने उनीहरु यहाँको साधान स्रोत लुटपाट गरी बुढेसकालमा बनारस गएर बस्ने गरे । सुखसयल गरे । सामाजिक रुपमा पनि राणाहरुले सचेत समाजको सुझाव लिएनन् । उनीहरुले सुझाव दिने उपाध्याय बाहुनलाई कुरा नमिलेकै आधारमा जैसी बनाइदिए । नुवाकोटमा त्यसो गरिएको सुनिन्थ्यो । यसरी राणाहरुको १०४ वर्ष अन्धकारमय नै बन्यो र तामाङ युवाहरुलाई दासका रुपमा पिपा बनाउने, युवतीहरुलाई दरबारमा राख्ने र पशुपति शम्शेरको ससुराली ग्वालिएरसम्म पु¥याउने काम भयो । त्यो अवस्थामा पनि एक खालको सबलिकरण समाज इण्डियाको भन्दा नेपालमा देखिन्छ । कश्मिर, हिमाञ्चल देखि बर्मासम्मको रेञ्जमा सभ्यता सुदृढ छ । यसरी हाम्रा धार्मिक संस्कार र संस्कृतिको अध्यन गर्दा त्यो देखिन्छ । तामाङ समदाय बुद्धिष्ट नभएका भए के हुन्थ्यो ? तामाङ, थकाली र खाम प्रदेशका मगरहरु ठूलो संख्यामा बुद्धिष्ट भएकै कारण गर्दा प्रतिपाद नगरी अघि बढेको देखिन्छ । तर, पनि तत्कालिन सत्ताले साथ दिएको अवस्था देखिदैन । जब लोकतन्त्र आयो, त्यसपछि मैले दोलखामा बिर्ता खारेज गरिदिए । जहाँ ६ सय घरधुरी बस्थे उनीहरु सबेलाई बिर्तावालले मुद्दा हालेका थिए । ४ वर्षसम्म मुद्दा खेपे र जिते पनि । अहिलेका सांसदहरु चाहे कांग्रेस होस वा कम्युनिस्ट देखिने गरी केहि पनि काम गर्न सकेनन् ।


० नेकपा एमालेले अहिलेको स्थितिमा के गर्नुपर्छ ?

नेकपा एमाले मात्रै होइन सबै दलका नेताहरुले आफुलाई रुपान्तरण गर्नुपर्दछ । हिजोको संगठनमा जुन राप र ताप थियो, त्यो रहेन । विकृति र बिसंगतिहरु भित्रिए । पैसावलाहरु नै पहुँचमा पुगे । जो जनपक्षिय छ, जनतामा भिजेको छ त्यो व्यक्ति त्यहि बिलाउने अवस्था छ । जसले तस्करी र अनियमितता गर्छ त्यसैको पार्टीमा चल्ने गरेको छ । एमाले मात्रै सुध्रिएर हुन्दैन । अतः प्रत्येकलाई सुधार्नुपर्छ ।
हिजो देखि पार्टीमा काम गरेका सल्लाहकारहरुको अनुभव र अनुभूतिलाई देश र जनतासँग कसरी गासेर लग्दा क्यास गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन जरुरी छ । अहिलेको समाज गाउँमा गएपछि थाह हुन्छ । सबै युवाहरु विदेश वा शहरमा छन् । गाउँमा बुढाबुढी मात्रै छन् ।
कुनै बेला फिलिपिनीहरु ७५ प्रतिशत नै युएनमा जागिरे थिए । उनीहरुले दक्ष तालिम लिएर विदेशमा जागिर गर्न जान्थे । तर, हाम्रा युवाहरु त केहि नेपाली बोल्नै नजान्नेहरु पनि वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । हिजो मात्रै अमेरिका जना हिडेका नेपालीहरु ग्वाटमालामा पक्राउ परेको समाचार सुनेको थिए । त्यसैकारण नेकपा एमालेले सल्लाहकार टीमलाई डम्पिङ साइडमा राखे जस्तो गर्नुहुँदैन । त्यसबाट त केबल घुए किरा मात्रै जन्मन्छ कमलको फूल त फुल्दैन । कमलको फूल फुलाउँने अनुभव र अनुभूतिलाई प्रयोग गर्ने हो भने क्रियाशिल बनाउनुपर्छ । अहिले क्रियाशिल रुपमा काम गर्नुपर्ने सञ्चार क्षेत्र, बुद्धिजिबी क्षेत्रमा बस्नेहरु पनि लरबर भएको अवस्थामा छन् । उनीहरु एमाले छाड्दैनन् । तर, भूमिका कसरी निभाउने भन्ने विषयमा थाह छैन । एक पटक म तराईमा जाँदा राजवंशीहरुको घ्वासी भन्ने हुँदो रहेछ । त्यस प्रकारको यो पार्टी हुनुहुँदैन । त्यसैले १ नम्बरमा सांगठानिक सुधार, दोस्रोमा सैद्धान्तिक सवाललाई जनपक्षिय बनाएर सशक्त रुपमा लैजानुपर्दछ । तेस्रो सास्कृतिक रुपमा दुई अतिवादीहरु हिन्दू अतिवादी र अर्कोतर्फ यसका विरोधीहरु छन् । पुर्वाञ्चलमा प्रधानमन्त्रीले कहिले किरात प्रदेश बनाउछु भनेकै कारण एक जनाका निधन हुन पुग्यो । समाजलाई हार्मोनी बनाउने हो पार्टीका प्रत्येक नेता र नेतृत्वले पानीमा आफ्नो अनुहार देखे जस्तै हुनुप¥यो । नेपाली कांग्रेसका उद्धारबादी अर्थतन्त्रका नेता रामशरण महत र प्रकाश चन्द्र लोहनी जस्ताले गर्दा अहिले कुन अवस्था आयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.