टाउको काटेर ल्याउ, झोलामा पैसा लैजाउ’ भन्ने शेर बहादुरजीसँग प्रचण्डको गठबन्धन टिक्तैन: राज कुमार गुप्ता

‘
यहि मंसिर ४ गते हुन गइरहेका संघीय संसदको निर्वाचनमा पर्सा –३ मा राजकुमार गुप्ता नेकपा एमालेका तर्फबाट संघीय संसद सदस्य उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । २०७४ सालको संघीय संसदको निर्वाचनमा पनि उम्मेदवार बन्नुभएका गुप्ता २०७० सालको संविधानसभामा नेकपा एमालेको तर्फबाट पर्सा –२ प्रत्यक्ष तर्फबाट विजयी भई प्रतिनिधित्व गर्नुभएको थियो । अहिले मधेश प्रदेशमा नेकपा एमालेमा लहर चलेको छ । तथापि व्यवस्थापन र अन्य असन्तुष्टिहरु पनि संवोधन गर्नुपर्ने जरुरी देखिन्छ । आगामी निर्वाचनका विषयमै केन्द्रीत रहेर नेकपा एमालेका केन्द्रीय सदस्य तथा दोस्रो संविधानसभाका सदस्य गुप्तासँग डायरी एक्सप्रेस साप्ताहिकका निमित्त नारायण प्रसाद शर्माले गरेको छोटो टेलिफोन वार्ताः
० तपाई पर्सा– तीनबाट आगामी संघीय संसद सदस्यका लागि सिफारिस हुनुभएको छ । निर्वाचनमा जित्ने आधार कसरी तय गर्दै हुनुहुन्छ ?
स्थानीय निर्वाचनको आकांडा हेर्दा नेकपा एमालेले २० हजार मत ल्याएको छ । नेपाली कांग्रेसले २४ हजार मत पाएको छ । जसपाले १० हजार मत प्राप्त गरेको थियो, त्यो मध्ये सात हजार मतसहित जसपाका साथीहरु हाम्रो पार्टीमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसबाट तीन हजार मतसहित हाम्रो पार्टी नेकपा एमालेमा प्रवेश गरेका छन् । अर्को आधार भनेको यो वीरगञ्ज (पर्सा) मा पटक पटक नेपाली कांग्रेसले चुनाव जित्दै आयो । कांग्रेसबाट मन्त्रीहरु पनि बने । पटक पटक कांग्रेसकै नेतृत्वमा सरकार पनि बन्यो । नेपाली कांग्रेसले झण्डै २३ वर्ष सरकारको नेतृत्व पनि गरेको थियो । तर, विकासको नाममा सिन्को पनि भाचेन । त्यसैकारण नेकपा एमालेलाई नै जिताउनुपर्छ भन्ने लहर चलेको छ ।
० स्थानीय स्तरमा एमाले पार्टीभित्रका केहि असन्तुष्टिहरु बढेका छन् भनिन्छ कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?
नेकपा एमाले एक ढिक्का छ । हामीले अलिकति पनि असन्तुष्टि रहँने ठाउँ नै राखेका छैनौं ।
० निर्वाचनमा सत्तापक्षबाट हुने प्रशासनिक धाधलीहरु रोक्न कस्तो रणनीति बनाउँदै हुनुुहुन्छ ?
हामीले हाम्रा प्रतिवद्धताहरु जनता माझ लैजाने हो । नेपाली कांग्रेसले जहिले पनि सरकारमै बसेर निर्वाचन गराएको छ । तर, पनि सधै नै नेपाली कांग्रेसले भन्दा बढि सिट ल्याएको छ । नेपाली कांग्रेसलाई जनताले चिनिसकेका छन् । प्रशासनको धाधली त यथावतै छ । यहाँ नेपाली कांग्रेसको हाली मुहाली गरेको छ । त्यसले हाम्रो क्षेत्रमा त्यस प्रकारको धाधलीले मतमा फरक पर्दैन ।
० स्थानीय तहको निर्वाचनमा आफ्नो दाजुलाई जिताउन प्रधानमन्त्री शेर बहादुर देउवाका कानूनी सल्लाहकार महान्यायाधिवक्ता खम्म बहादुर खातीले जसरी प्रस्तुत भएको खण्डमा कसरी जित्नुहोला त ?
प्रशासनले अहिले पनि त्यस प्रकारको अवस्था देखाएको छ । तर, पनि जनताका अगाडि केहि अर्थ राख्दैन । हामीले आफ्नो मत जनताका बलमा सुरक्षित राख्नेछौं ।
० मधेश प्रदेशमा नेकपा एमालेको पक्षमा पहिला भन्दा फरक लहर आएको हो ?
मधेश प्रदेशमा नेकपा एमालेको लहर नै चलेको छ । सर्लाही जिल्लामा तीन दिन अघि मात्रै माधव नेपालको पार्टीका पुरै प्यानल सहित नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपा, कांग्रेस र लोसपा त नेकपा एमालेमा प्रायः प्रवेश गरेका छन् । यो प्रदेशमा हामीले राम्रो सिट प्राप्त गर्नेछौं । यो प्रदेशमा नेकपा एमाले पहिलो पार्टी बन्नेछ ।
० तपाई संविधानसभाको सदस्य र संविधानमा हस्ताक्षरकर्ता तर, संविधानमा हस्ताक्षर नै नगर्ने जसपाले यस अघि निर्वाचनमा जित्यो । अहिले कसरी स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा यो अवस्था देखियो ?
म पहिला जितेको ठाउँ अहिले क्षेत्र नम्बर दुईमा पर्दछ । दुई नम्बरका केहि वडाहरु मात्रै परेका छन् । यो तीन नम्बरमा २०७४ सालको निर्वाचनमा जसपाले जितेको थियो । तर, केहि पनि काम गरेन । निर्वाचित भएको दुई अढाई महिनामा त अख्तियारबाटै निलम्बनमा परे । अहिले पनि यो क्षेत्रका संघीय सांसद हरि नारायण रौनियार निलम्बनमै छन् । यहि कारणले पनि नेकपा एमालेलाई नै रोजौ भनिकन ब्यापक प्रचार प्रसार गरिएको छ ।
० मधेशका नाममा निर्वाचित भएर काठमाडौंमा घर बनाएर बस्ने र गाउँका जनताको वास्तै नगर्नेहरु पनि छन् नी ? तपाईले जनताको सेवा गर्नुहुन्छ भन्ने कसरी सुनिश्चित गर्नुहुन्छ त ?
म २०७४ सालको निर्वाचनमा हारे तर, जनताकैबीचमा बसेँ । अहिले पनि निरन्तर रुपमा जनताकैबीचमा छु । हिजो लक्ष्मणलाल कर्णले जित्दा मधेश आन्दोलनको रापताप थियो । उनीहरुले नेकपा एमालेका विरुद्धमा अनर्गल प्रचार गरेका थिए । एमाले मधेश विरोधी हो भनेर सेन्टिमेन्ट तयार गरियो । त्यसैकारण उहाँले जित्नुभएको हो । तथापि उहाँहरु त काठमाडौंमा नै बस्नुभयो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि जसपाले एउटा पनि वडा जितेको थिएन । मधेश आन्दोलनका समयमा जुन खालका भ्रामक प्रचारहरु गरिए त्यो कुरा जनताले बुझिसकेका छन् । ‘बेटी बचाउ, बेटी पढाउँ’ भन्ने कार्यक्रममा ६० प्रतिशत भ्रष्टाचार भएको छ यो भन्दा लज्जाको विषय के हुन्छ ? भ्रष्टाचार सम्बन्धि कैयौ फाइलहरु अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन् । कानूनी कारबाहीको प्रक्रियामा छन् । मधेशमा संविधानमा यो भएन त्यो भएन भन्दै भ्रामक प्रचार गरिएको जनताले बुझिसकेका छन् । सारा जनताले गलत प्रचार गरेको बुझिसके । पर्सामा जसपा र लोसपासँग नेपाली कांग्रेसको गठबन्धन भयो भने केहि राम्रो होला अन्यथा एक्ला एक्लै लड्न आएको खण्डमा नाजुक अवस्था हुनेछ ।
० तपाईको निर्वाचन क्षेत्रमा आम जनताका आधारभूत समस्याहरु के–के छन् ? तपाईले जनतासँग विजयका लागि के प्रतिवद्धता गर्नुभएको छ ?
यहाँका जनतालाई कृषि उत्पादनका लागि आवश्यक मल छैन । जनताहरु हाहाकारको अवस्थामा छन् । अन्य जिल्लाका तुलनामा यो जिल्लामा विकासका कामै भएका छैनन् । यहाँबाट जितेर गएका नेताहरु हिजो जनताका लागि सोच्दै सोचेनन् । नेकपा एमालेले जितेपछि हाम्रो सरकार बन्नेछ । त्यसपछि विकासको लहर ल्याउनेछौं । धेरै पहिला देखि विकासको मामिलामा पछि परेको अवस्थामा आउने निर्वाचन पछि विकासको लहर आउने छ ।
० वीरगञ्ज चिनी मिलको सञ्चालन सम्बन्धमा तपाईको राय के हो ?
वीरगञ्ज चिनी मिल यथास्थितिमा चलाउन सकिने अवस्थामा छैन । यो सरकारले जनतालाई हावादारी गफ दिएको छ । हाम्रो पार्टीका कर्ण थापा र महेश बस्नेत उद्योगमन्त्री हुँदा हामीले दुई पटक सञ्चालन गर्न सकिन्छ कि भनेर भारतीय व्यापारीसमेत बोलाएर छलफल गरेका थियौं । यो अहिले बेकारको मुद्दा मात्रै हो । यो चिनी मिल चलाउन सम्भव छैन । अब हामीले यो खालको चिनी मिलको सट्टामा आधुनिक मेसिन ल्याएर स्थापना गर्न सकिन्छ । किनकी यो चिनी मिलको मेसिन पनि कामै नलाग्ने अवस्थामा पुगिसकेको छ । नेकपा एमाले सरकारमा आएपछि यहाँ भएको ६/७ सय विघा जमिनमा नयाँ प्रविधिको उद्योग स्थापना गर्नेछौ ।
० कुनै समय वीरगञ्ज करिडोरमा थुप्रै उद्योग धन्दाहरु थिए । अहिले समस्याग्रस्त छन् । कति बन्द पनि भएका छन् । तीनका प्रवद्र्धनका लागि के पहल गर्नुहुन्छ ?
औद्योगिक करिडोरका उद्योगहरु बन्द नै त भएका छैनन् । तथापि यो सरकारको नीतिका कारण रुग्ण भएका हुन् । सरकारले अर्थ व्यवस्था चौपट बनाएको छ । अर्थ व्यवस्थामा नै सुधार नगरेपछि कसरी हुन्छ ? केपी कमरेड प्रधानमन्त्री भएका समयमा सिमरामा सेजको स्थापना गरियो । सेज अहिलेको सरकारले राम्ररी चलाएको छैन । आर्थिक मन्दीमा सुधार गरिएको छैन । बैंकले पनि ब्यापार व्यवसायमा लगानी गरेको छैन । यो गठबन्धन सरकारले ध्यानै दिएको छैन । हाम्रो सरकार बनेको खण्डमा मात्रै समाधान हुन सक्छ ।
० अहिले देशमा चरम भ्रष्टाचार छ । महंगी र बेरोजगारीका कारण युवाहरु निरासामा छन् । तपाईको पार्टी नेकपा एमालेले के गर्छ ?
देश अहिले लथालिंग अवस्थामा छ । यो परमादेशी सरकारले जनताका पक्षमा केहि काम गरेको छैन । अदालतमा निवेदन दिएको भरमा सरकार बनाइदिएको छ । देशलाई विकासोन्मुख अवस्थामा ल्याउनका लागि एमालेकै सरकार चाहिन्छ । यो गठबन्धन सरकार टिकाउनका लागि मात्रै काम गरिरहेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले भन्नुभएको छ, सत्ता टिकाउनका लागि के सम्म पनि गरिएको रहेछ ? यो परमादेशी सरकारले जनताको एउटा पनि काम गरेको छैन । शेर बहादुर देउवा सुतेर सरकार चलाएका छन् । सरकार चलाउने व्यक्ति सुतेकै कारण देशको अवस्था आएको हो । यो अवस्थामा आगामी निर्वाचन पछि नेकपा एमालेको सरकार बनेन भने देश श्रीलंकाको जस्तो अवस्थामा पुग्नेछ । टाट पल्टिन समय लाग्दैन । सरकार समयमा परिवर्तन गर्न सकिएन भने दूर्घट्नामा जान्छ ।
० बालुवाटार जग्गा काण्डमा माधव नेपाल जेल जाने अवस्था आएका कारण गठबन्धन गरी उद्दार गर्नुपरेको भनेर नेपाली कांग्रेसकै नेता डा. मिनेन्द्र रिजालले बताएका छन् । नेकपा युएसका कारण कम्युनिस्टका नाममा केहि हराउन सक्ने मत पनि काट्ने अवस्था छ नी ?
चुनावमा गठबन्धन पनि सफल हुँदैन । निलम्बित प्रधानन्यायाधीश राणाले स्पष्ट रुपमै भन्नुभएको छ ‘ललिता निवास जग्गा प्रकरणमा जेल जाने अवस्था सिर्जना भएकै कारण शेर बहादुरजीसँग गठबन्धन गरेका हुन्’ । प्रचण्डलाई हिजो शेर बहादुरले नै टाउकोको मोल तोकेका थिए । ‘टाउको काटेर ल्याउ झोलामा पैसा लैजाउ’ भनेकै हुन् । उनैलाई प्रधानमन्त्री बनाउने प्रचण्ड केबल कम्युनिस्टको खोल ओडेर बसेका व्यक्ति मात्रै हुन् । कम्युनिस्ट त न माधव नेपाल हुन् नत प्रचण्ड नै ।
० अन्तमा केहि भन्नु छ कि ?
तपाईको मिडियामार्फत सम्पूर्ण देशबासीलाई अपिल गर्न चाहन्छु ‘यो देशको विकासका लागि आगामी निर्वाचन पश्चात हाम्रा श्रदेय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउनेछौं’ । उहाँको नेतृत्वमा सरकार बन्दा हुलाकी राजमार्ग, मोतिहारीबाट अमलेखगञ्जसम्मको पाइपलाइनलगायतका महत्वपूर्ण कामहरु भएका थिए । नेकपा एमालेलाई यसपटक पूर्ण बहुमतका साथ जिताएर देशलाई कंगाल बनाउनबाट बचाउन परेको छ । अहिले देखिएको आर्थिक मन्दीबाट देशले पार पाउनका लागि पनि नेकपा एमालेकै सरकार बन्न जरुरी छ ।