October 8, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

काठमाडौं जाँदा आर्थिक संकटले दुध खाँदा खाँदैको भैसी बेचे: बैठा , कुस्ती खेलाडी

वीरेन्द्र बैठा धोबी, कुस्ती खेलाडी

वि.स. २०२८ साल जेठ २३ गते फेटा गाउँपालिका–४ बारामा जन्मनुभएका वीरेन्द्र बैठा जुडो र कुस्ती खेलका राष्ट्रिय खेलाडी हुनुहुन्छ । बाबु जुक्ति बैठा र आमा राजकली देवीको सन्तानको रुपमा जन्मनुभएका विरेन्द्र बैठाका पाँच छोरी र दुई छोरा छन् । दलित समुदायका एक जना राष्ट्रिय खेलाडी बैठालाई राजनीतिक दलका नेताहरुले भने खासै सहयोग गरेका छैनन् । देशको राजधानी काठमाडौं जाँदासमेत एक जना राष्ट्रिय खेलाडीले आर्थिक संकटकै कारण भैसी बेच्नुपर्ने बाद्यता छ । पहुँचवलाहरु कोच भएर करारमा काम गरिरहेका छन् । तर, बैठा भने पहुँच नभएकै कारण नीजि गाडी चलाएर जिबिकोपार्जन गरिरहेका छन् । यसै विषयमा विरगञ्ज गएको समयमा बैठासँग डायरी एक्सप्रेस साप्ताहिकका तर्फबाट नारायण प्रसाद शर्माले गरेको छोटो कुराकानीः


० तपाई कहिले देखि खेल क्षेत्रमा प्रवेश गर्नुभयो ?
म २०५२/०५३ साल देखि नै खेल क्षेत्रमा प्रवेश गरेको हुँ ।


० तपाई यो क्षेत्रमा प्रवेश गरिरहँदा के कस्ता समस्याहरु परे ?
मलाई खेल्ने क्रममा धेरै समस्याहरु आइपरे । हाम्रोमा खेल्ने ठूला खेलाडीहरु भन्दा पनि कुरा बनाएर चाकरी गर्न जान्नेहरु कहाँ कहाँ पुगिसके । हामी खेल क्षेत्रमा उत्कृष्ठ भएपनि सिधासाधा भएकै कारण अगाडि आउन सकिएन ।


० तपाई यो क्षेत्रमा प्रवेश गरिसकेपछि कति वटा पुरुस्कार प्राप्त गर्नुभयो ?
म खेल क्षेत्रमा सक्रिय रहँन नसकेको पनि ८/९ वर्ष भइसकेको छ । खेल क्षेत्रबाट म निरास भइसकेँ । मेरो लागि त यो क्षेत्र नर्क भइसक्यो । तत्कालिन विरेन्द्र राजाको निधन भएका समयमा सार्क गेम भएको थियो । मेरो गुरुहरु उक्त समयमा कुस्ती खेल खेल्नुभएको थियो । त्यो समयमा मैले राजालाई पनि भेटेको थिए । सायद उहाँ भएको भए हामी खेलाडीहरुको यो अवस्था हुने थिएन । म जुडो खेल खेल्नका लागि काठमाडौं गएको थिएँ । त्यो समयमा एक जना नेपाल प्रहरीका एसपी सापले मेरो खेल हेर्नुभएको थियो । त्यसपछि म गाडीको लाइसेन्सका लागि फर्म भर्न गएको थिए । उहाँले बोलाएर मलाई नाम सोधेपछि चिन्नुभयो र लाइसेन्स बनाएर दिनुभयो । अहिले आएर म त्यहि लाइसेन्सबाट ड्राइभर बनेर दैनिक गुजराका लागि काम गरेको छु ।


० खेलाडीहरुलाई करारमा प्रशिक्षक बनाएर खेलकुद परिषद्ले केहि रकम तलव भत्ता दिँदै आएको छ नी ?
मैले कोचका लागि थ्रि डी पनि गरेको छु । तर, गाउँमा बस्ने हुँदा कुनै जानकारी नै पाउँदिन । जापानको गुरु नारायणी रंगशालामा आउनुभएको थियो । त्यो समयमा उहाँ मकालु होटलमा बस्नुभयो । तथापि त्यो समयमा कोचको तालिम गरेको प्रमाणपत्र पनि अझै पाएको छैन । वीरगञ्ज गएर सोध्दा कलैया छ । कलैया गएर सोध्दा वीरगञ्ज छ भनेर हैरानी मात्रै दिइयो ।


० तपाई जस्तो खेलाडीले किन सहयोग गरेनन् ?
यो झुठको दुनियाँ हो । राम्रो खेलाडीको भलो गरिँदैन । हाम्रो नाम तलबाट सिफारिस भएर जान्छ, तर, माथि पुगेँपछि काटिन्छ । २०७० सालमा हेटौडामा भएको कोचको तालिममा पनि समावेश भएँ । त्यो समयमा पनि मैले प्रमाण पत्र पाइन । काठमाडौंमा भएको कोच तालिममा पनि खबर नै पाइन । त्यसपछि मैले उजुरी पनि गरेँ । हामी जस्ता खेलाडीसँग सधै पैसाको कमि हुन्छ । म भैसी बेचेर काठमाडौं गएको थिएँ । तर, पनि कुनै सहयोग पाउन सकिँन । ति एसपी साहेवले गाडीको लाइसेन्स नबनाइदिएको भए म जहर खाएर मर्ने अवस्था हुन्थ्यो । किनकी मेरा पाँच छोरी दुई छोरा श्रीमती बाबु र आमा पाल्नुपर्ने अवस्था छ ।


० तपाईलाई स्थानीय स्तरका नेताहरुले खेलाडीलाई सहयोग गर्नुपर्छ भनेर चासो देखाएका छ्रैनन् ?

बिल्कुलै गरेका छैनन् । वीरगञ्जको सम्झना होटलमा चन्दा शाह आउनुभएको थियो । त्यो समयमा उहाँले खेलाडीलाई सहयोग गर्छु भन्नुभयो । त्यसपछि म काठमाडौं गए । तर, कुनै सहयोग पाउन सकिन । दोस्रो पटक काठमाडौं जाँदा पनि दुध खाँदा खादैको भैसी बेच्नुप¥यो । तत्कालिन खेलकुदमन्त्री चन्दा शाहको कार्यालय र खेलकुद परिषद्का् कार्यालयमा पनि गइयो । तर, कतै पनि सहयोग पाउन सकिएन । यहाँ होइन त्यहाँ जानुस भन्दा भन्दै कुनै कामै हुन सकेन ।


० स्थानीय सरकारका प्रतिनिधिहरुले पनि खेल क्षेत्र र खेलाडीहरुलाई सहयोग गर्न सक्छन् । त्यो पनि तपाईको पक्षमा हन सकेन ?
म खेल क्षेत्रमा निश्क्रिय भएको पनि ७/८ वर्ष भयो । काठमाडौं गएर सहयोग खोज्दा खोज्दै यताको काम पनि छुट्छ । खेलमा पनि सक्रिय छैन । नेपालका राम्रा खेलाडीहरु कहिँबाट सहयोग पाउन नसकेपछि अरब जान बाद्य भएका छन् ।


० अहिले तपाई गाडी चलाएर घरको जीबिकोपार्जन गरिरहँनुभएको छ ?
हो म एक जनाले गाडी चलाएर १० जनाको परिवार पालेको छु । मेरो घर वीरगञ्जबाट १० किमी पर बारा जिल्लाको फेटा गाउँपालिकामा पर्दछ ।


० तपाई बाराको फेटा जस्तो गाउँमा जन्मिएर पनि राष्ट्रिय स्तरको कुस्ती खेलाडी बन्नुभयो । तथापि अहिले सबैतिरबाट तिरस्कार जस्तो भएर गाडीको चालक बनेर जिविकोपार्जन गरिरहँनुपरेको छ । यो अवस्था देख्दा बाटो बिराएछु भन्ने लाग्दैन ?

म गाडी चलाएको छु । म सरकारले खेलाडीको सम्मान स्वरुप दियो भने मैले लिन सक्छु । अन्यथा नेताहरुको पछि लागेर कुनै फाइदाको काम लिन सक्तिन । अहिले त्यस्तै प्रकारका मानिसहरुको महत्व छ ।


० अहिले तपाईले राज्यसँग गर्नुभएको अपेक्षा के हो ?
मेरो १५ वर्षको छोरालाई पनि मैले खेलाडी बनाउन चाहन्छु । उ १५ वर्षको भए पनि देख्दा २० वर्षको जस्तो देखिन्छ । म यस्तो अवस्थामा छु भने छोरोलाई पनि किन खेलाडी बनाउने ?


० खेलाडीले सुबिधा पाउनका लागि पनि चाप्लुसी, चाकरी गर्नुपर्ने वा नातेदार नै हुनुपर्छ ?
हो जहाँ पनि चाकरी र चाप्लुसीकै आधारमा काम दिइन्छ ।


तपाईले हाम्रो मिडियामार्फत केहि भन्नु छ कि ?
देशका लागि खेलेका योग्य खेलाडीहरुलाई राम्रो स्थान दिनुप¥यो । मान सम्मान दिनुप¥यो । अर्को पनि त्यस्तै खेलाडी तयार गर्न सकियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.