October 13, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

पहिला मन्त्रीहरु मात्रै भ्रष्टाचारमा लिप्त हुन्थे, अहिले त प्रधानमन्त्री आफै डरलाग्दो नीतिगत भ्रष्टाचारमा जोडिएका छन्: अधिवक्ता गणेश गिरी संघीय संसद सदस्यका लागि उम्मेदवार



० काठमाडौं क्षेत्र नम्बर ३ को संघीय संसद सदस्यको निर्वाचनमा तपाईले उम्मेदवारी दिनुभएको छ । तपाईको जितका आधारहरु के छन् ?

म अधिवक्ता गणेश गिरी यस काठमाडौं क्षेत्र नम्बर तीनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट संघीय संसद सदस्यका लागि उम्मेदवारी दिएको छु । हामीले विशेष गरी राष्ट्रिय मुद्दाहरु उठाएका छौं । हामीसँग हिन्दू राज्यका विषय उठाएका छौं । राष्ट्रमा भ्रष्टाचार हुन नहुने वा गर्न नहुने भन्ने मुद्दाहरु छन् । नागरिकता र नागरिकता विधेयक, एमसीसी जस्ता अनुमोदनका विषयका साथै देशलाई दीर्घकालिन असर गर्ने मुद्दा र सम्झौताहरुका साथै यहाँका नागरिक समुदायसँग सरोकार राख्ने मुद्दाहरु हामीले उठाएका छौं । यी मुद्दाहरुका विषयमा सशक्त आवाज उठाउने र ति विषयमा परेका पीर मर्काहरुलाई लिएर हामी आम जनसमुदायसँग जाने विचारमा छौं । यहि नै हाम्रो जितको बलियो आधारहरु हुन् ।


० यस अघिको संघीय संसदको निर्वाचन र अहिलेको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको रणनीतिमा के फरक छ ?

यस पटक विगत भन्दा धेरै फरक छ । यस पटक हामीसँग राष्ट्रिय मुद्दा मात्रै होइन, हाम्रो पार्टीमा आएको परिवर्तन, नेतृत्वमा आएको कुशलता जस्ता कारणले नै फरक अवस्था आएको हो । यो विषय भनेको अहिले स्थानीय क्षेत्रमा राप्रपा प्रति अत्यन्तै आकर्षण बढेको अवस्था छ । हाम्रो पार्टीका श्रदेय अध्यक्षले भन्नुभएको छ ‘भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो’ । हाम्रो अध्यक्षको प्रतिवद्दतालाई आम नेपाली जनताले मन पराउनुभएको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारमा मौलाएको भ्रष्टाचारलाई भोलिका दिनमा भ्रष्टाचारलाई न्यूनिकरण गरेर नेपाली जनसमुदायलाई जर्जरताबाट निराकरण गरेर सुशासनको प्रतिवद्धता जाहेर गर्नेछौं ।
हामी संविधानको संशोधनको पक्षमा छौं । हाम्रो देशमा ८० प्रतिशत हिन्दूहरु रहेका छन् । संविधान निर्माणका क्रममा ८० प्रतिशत नेपाली जनताले हिन्दू धर्मको पक्षमा राय दिएका थिए । तथापि ठूला राजनीतिक दलहरुले त्यसलाई लत्याइदिए । जवर्जस्त धर्मनिरपेक्षताको विषय घुसाइदिए । संसारमा कहिँ पनि धर्मनिरपेक्षता छैन । अमेरिकी राष्ट्रपतिले पनि निर्वाचित भएपछि बाइबल छोएर सपथ लिने गरेका छन् । भारतका प्रधानमन्त्रीले गीता छोएर सपथ लिने गरेका छन् । त्यसैले नेपालमा पनि हाम्रो सांस्कृतिक र धार्मिक हिसावले ८० प्रतिशत हिन्दू बाहुल्य भएको राज्यमा जसरी धर्म निरपेक्षता लादियो त्यसलाई पनि मुद्दाकै रुपमा लिएका । हाम्रो अर्को मुद्दा संवैधानिक राजतन्त्र हो । किनकी अहिले राष्ट्र अभिभावक बिहिन छ । राष्ट्रपतिले स्वतन्त्र रुपमा अभिभावकीय भूमिका निभाउन सक्नुभएको छैन । संवैधानिक राजा भएको खण्डमा मात्रै निष्पक्ष रुपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुन्छ । त्यसैकारण हामीले संवैधानिक राजतन्त्रको मुद्दालाई ज्वलन्त रुपमा उठाएका हौ । अर्को तर्फ अहिले संघीय राज्यका नाममा राज्यले धान्ने नसक्ने गरी प्रदेश सांसद र मन्त्रीहरु बन्ने व्यवस्था छ, जुन राज्यको साधन र स्रोतले धान्नै सक्तैन । हाम्रो संघीय प्रणाली धान्नका लागि विदेशीसँग ऋण लिनुपर्ने अवस्था छ । त्यसैले पनि यो संघीय प्रदेश नहुँदा पनि देश चल्छ । केन्द्रीय सरकार र बलियो स्थानीय सरकारले मात्रै चल्ने देखियो । त्यो हाम्रो अवधारणा नै हो ।


० भ्रष्टाचार र कमिसन अहिलेको प्रणालीगत हिसावले अधिकार नै हो भन्ने नेताहरुलाई तपाई के भन्नुहुन्छ ?
हो यो नै अहिलेको गलत प्रवृति हो । २०४६ वा २०६२÷०६३ को आन्दोलनपछि खारिएर आएका नेताहरु भ्रष्टाचारको रसातालमा यसरी मुलूकलाई फसाउनुुहुन्छ भन्ने सोचेकै थिएनौं । उक्त समयमा हामी पनि आन्दोलनमा सामेल भएका थियौं । देशमा लोकतन्त्र र गणतन्त्रको स्थापना पश्चात देशमा आर्थिक, सामाजिक सबलीकरण हुन्छ भन्ने आम मानिसहरुको आशा थियो । उहाँहरुले त भ्रष्टाचारलाई संस्थागत गराउँनु भयो । पहिला मन्त्रीहरु मात्रै भ्रष्टाचारमा लिप्त हुन्थे होलान् तर, अहिले त ठूला शासकहरु प्रधानमन्त्री आफै डरलाग्दो नीतिगत भ्रष्टाचारमा जोडिएका छन् । विगतमा लाउडाकाण्ड, धमिजा काण्ड, उद्योग धन्दा निजीकरण काण्ड जस्ता चर्चामा थिए । तर, अहिले चाहिँ एउटै निर्णयका आधारमा अबौं रुपैया राज्यको ढिकुटीबाट गुमाउनु परेको छ । यो अत्यन्तै लज्जासपद् स्थिति हो । अहिले भएका ठूला भनिएका राजनीतिक दलका नेताहरुसँग जनता आजित भएका कारण जनताहरु सुशासन दिन सक्ने पार्टीको खोजिमा छन् । त्यसको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मात्रै हुनेछ । जनताको मनमा अहिले नैतिकताको राजनीति गरेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै हो भन्ने परेको छ । संघीय संसदमा बोल्दै हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि भ्रष्टाचार विरुद्धमा मिसाइल नै प्रयोग गरिदिनुभयो । संसदको कार्यकाल थप्न खोज्ने दलहरुका विरुद्धमा उहाँले जेहाद नै छाड्नुभयो । उहाँले कार्यकाल सकिइसकेको संसदबाट आफुले तलब भत्ता नलिने घोषणा गर्नसाथ सरकार नैतिक संकटमा फस्न पुग्यो । साथै कार्यकाल थप्न लागेको विधेयक फिर्ता गर्न बाध्य भयो । त्यसैकारण नेपालको राष्ट्रिय ढिकुटीको झण्डै साढे दुई अर्ब बच्यो । यहि नारा मन परेका कारण हामी सबै जना समाहित भएका छौं । नीतिगत भ्रष्टाचार न्यूनिकरण गर्ने, सार्वजनिक प्रशासन र कर्मचारीतन्त्रमा भएका संस्थागत भ्रष्टाचारलाई क्रमशः निर्मुलीकरण गर्दै स्वच्छ र कानून बमोजिम काम गरेर जनतालाई सहज रुपमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनेछौं । ।
० सरकारले राष्ट्रघात हुने गरी नागरिकता विद्येयक ल्यायो । साथै नागरिकता ऐन २०६३ को दफा २१ मा भएका दण्ड सजायलाई पनि घटायो । तपाई कानूनका विद्यार्थी पनि भएका नाताले के भन्नुहुन्छ ?
सजाय भन्दा पनि नागरिकता राजनीतिक इस्यु भएको छ । हो कसैले गलत तरिकाले लिन्छ भने त्यसलाई कानून बमोजिम दण्ड सजाय हुनुपर्दछ । तर, नेपालमा चाहिँ जब जब चुनाव नजिक आउँछ, तब तब मात्रै नागरिकताको सवाल उठ्ने गरेको छ । जुन गलत प्रवृति हो । चुनावको मुखमा मधेशको जनमत आफु तर्फ आकर्षित गर्नका लागि भन्दै नागरिकताको इस्यु उठान गरिएको हुन्छ । आम रुपमा नेपालीले नेपालको नागरिकता पाउनुपर्दछ । तर, कसैलाई ढाटेर नियोजित तबरले बिदेशीलाई सहज हुने गरी नागरिकता विधेयक ल्याएमा हाम्रा लागि स्वीकार्य हुँदैन ।


० अहिले करोडौं भारतीयहरुले ढाटेर नागरिकता लिएका छन्, देश फिजी बन्नेभयो भनिएको छ नी ?

अहिले नै त्यस प्रकारको चिन्ता गरिहाल्नुपर्दैन । हामी आत्तिइहाल्नु पर्ने गरी विदेशीलाई नागरिकता दिएका छैनौं । विगतमा स्वर्गीय गिरिजा प्रसाद कोइरालाको प्रधानमन्त्रित्वकालमा सीमामा पाल नै टागेर नागरिकता बाडियो भन्ने मिडियामा आयो । हो हाम्रो नागरिकता वितरण गर्ने अधिकारीहरुले दुरुपयोग गर्नुभयो होला । तर, जथाभावी नै बाडिएको नहोला । हाम्रा यो देशमा बंसजका हिसावले जन्मिएका नागरिकलाई नागरिकता दिन आपत्ति मानेका छैनौ । तर, यहाँ जन्मेका आधारमा नागरिकता दिनुपर्छ भनेर हाम्रो कानूनले भनेको छैन । यस्तो मानसिकतालाई स्वीकार गर्ने कि नगर्ने भन्ने हो । हाम्रा चेलीबेटीहरु विदेशमा जाँदा जुन प्रक्रियाले नागरिकता पाउँछन् हामी पनि त्यहि प्रक्रियाबाट दिनेछौं । हामी कहाँ नेपाली नागरिकसँग विवाह गरेर बुहारी बनेर आएका महिलालाई पनि नागरिकता दिनुपर्छ । तर, त्यसका लागि सीमा राखेर अंगिकृत नागरिकता मात्रै दिनुपर्दछ । राजनीतिक अधिकार वा व्यवसायिक मात्रै कुन प्रकारको नागरिकता दिने भन्ने हाम्रो अधिकारको कुरा हो । हाम्रो नागरिकता ऐनमा बंसज र अंगिकृतका अलवा सम्मानजनक नागरिकताको विषयहरु पनि छन् । यहि जन्मेर हुर्किसकेपछि स्नातक र डिग्री पास गरेपछि पनि नागरिकता पाउन नसकेका नेपाली दाजुभाइहरु पनि छन् । समस्या छँदै छैन भन्दिन । जुन समस्या हिमाल, पहाड र तराईमा गरी सबै ठाउँमा छ ।


० यहाँ त दुई देशको नागरिकता लिएर ब्यापार ब्यवसाय गर्ने बैंक वा नेपाली व्यक्तिसँग ऋण लिएर भाग्ने गरेकाहरु पनि छन् नी ?
दुई देशको नागरिकता लिन पाइदैन त्यो त बिल्कुलै अवैद्य हो । नेपालको नागरिकलाई विदेशीले दिँदा पनि नेपाली नागरिकता त्याग्दैपदैछ । कानूनले दुई देशको नागरिक एकै समयमा हुन मिल्दैन । अन्य देशमा जे ब्यवस्था छ, नेपालमा पनि त्यहि व्यवस्था छ ।


० तपाई उम्मेदवार हुनुभएको राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी कुनै समय सत्ताको चाबी जस्तो थियो । अहिलेको प्रणाली अन्तर्गत निर्वाचन हुँदा कुनै एक दलको बहुमत आउने छाँटकाँट देखिदैन । निर्वाचन पछि कस्तो अवस्था होला भन्ने लाग्छ ?
अहिले हेर्दा कुनै दलको बहुमत आउँला जस्तो देखिदैन । किनकी हाम्रो राजनीतिक प्रणाली पनि दोषी हो जस्तो लाग्छ । ठूला राजनीतिक पार्टीहरुले पनि समानुपातिक राजनीतिक प्रणालीलाई चरम दुरुपयोग गरेका छन् । आगामी निवाचन पश्चात पनि हङ पार्लियामेन्ट नै होला जस्तो छ । हामी पनि प्रत्यक्ष र समानुपातिकमा गरी झण्डै ४५÷५० सिट ल्याउनेछौ । संसदमा हामी सम्भवत सबैभन्दा ठूलो पार्टी हुनेछौं । स्वतन्त्र सांसदहरुको पनि सात÷आठ सिट नै आउनेछ । यसरी आखिरीमा हङ पार्लियामेन्ट नै हुने निश्चित जस्तै छ ।


० अन्तमा काठमाडौं क्षेत्र नम्बर ३ का मतदाताहरुलाई उम्मेदवारको हैसियतमा के भन्नुहुन्छ ?
यस काठमाडौं क्षेत्र नम्बर ३ का आदरणीय दाजुभाइ दिदी बहिनीहरुलाई के भन्न चाहन्छु भने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई माया गर्नुहोला किनकी यो पार्टीले भ्रष्टाचार निर्मुलीकरण, सुशासन, संवैधानिक राजतन्त्र, हिन्दू अधिराज्य, स्थानीय सरकारले गरेका भ्रष्टाचार उन्मुलन जस्ता मुद्दाहरु उठाएको छ । यसका लागि स्थानीय सरकारमा समेत भ्रष्टाचार हेर्ने गरी एउटा संयन्त्र नै खडा गरिनुपर्दछ भन्ने माग छ । हामीसँग जस्ता राष्ट्रियता सम्बन्धी मुद्दाहरु अन्य पार्टीसँग छैनन् । किनकी हामीले निष्ठाको राजनीति गरेका छौं । यसरी हाम्रो पार्टीले निष्ठा र नैतिकताको राजनीति सुरुवात गरेका छौं । त्यसैकारण अन्य उम्मेदवारहरु भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो भन्न हैसियत राखेका छैनन् । यस्ता निष्कलंक नेता भएका पार्टीका उम्मेदवारलाई भारीमतले विजय बनाउनुहुनेछ भन्ने आशा र अपील गरेको छु । धन्यवाद छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.