October 13, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

बेटी पढाउ बेटी बचाउँ कार्यक्रम पैसाको बार्गेनिङ गर्ने स्रोत पो बन्यो

प्रह्लाद गिरी, प्रदेश सभा सदस्य तथा जसपाबाट बिद्रोह गरी एमाले प्रवेश गरेका पुराना कम्युनिस्ट नेता



मधेश प्रदेशबाट प्रत्यक्षतर्फको सिटमा जनता समाजवादी पार्टीको तर्फबाट निर्वाचित प्रह्लाद गिरी यहि भाद्र ४ गते नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई पार्टीमा भित्राएर उचित जिम्मेवारी दिने बताउनुभएको छ । मधेशका जनताको मुद्दा बनाएर राजनीतिमा उदय भएका उपेन्द्र यादवले त्यहाँका जनताको हितमा केहि नगरेको बताउने गिरीको प्रवेशले आगामी प्रदेश र संघको निर्वाचनमा नेकपा एमालेका निमित्त कोशेढुंगा सावित हुने कुरामा दुई मत छैन । यसै विषयमा केन्द्रीत रहेर डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले गरेको कुराकानीः


० तपाई जसपाबाट भरखरै नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । त्यसको मूख्य कारण बताइदिनुहोस् न ?

नेपालको राजनीतिक अवस्थामा सत्ता गठबन्धनका दलका कुराहरु, मधेशका राजनीतिक कुराहरु हेर्दा देश अहिले दिशाहिनता तर्फ उन्मुख छ । राष्ट्रलाई हाक्न सक्ने कुशल नेतृत्वका आवश्यकता छ । केपी ओली बाहेक राजनीतिलाई सहि दिशामा लैजाने कोहि मानिस छैनन् । यो देशको राष्ट्रिय आवश्यकता हेरेर नै हामीले काम गर्नुपर्छ । म कोअर्डिनेशन कमिटी (कोके) को समय देखि नै पर्सा जिल्लाको पार्टी निर्माणमा संलग्न हुँदै आएको हुँ । बीचमा व्यवहार र परिस्थितिका कारण यो पार्टी छाडे पनि अहिले पुनः प्रवेश गरेको छु । पाँच दलिय गठबन्धन केबल सत्ता भागवण्डाका लागि मात्रै बनेको हो । यसले देश र राष्ट्रका लागि कुनै काम गर्दैन ।


उपेन्द्र यादवको नेतृत्वमा जसपा पार्टी पछिल्लो अवस्थामा पार्टी तीन टुक्रा भयो कारण के हो ?
उपेन्द्र यादवले मधेशको राजनीतिमा समावेसीका कुराहरु गर्नुभयो । साथै हिमाल, पहाड र तराई जोड्ने कुरा गर्नुभयो । तेस्रो शक्ति निर्माणका कुराहरु पनि गरिए । तर, व्यवहारिक रुपमा उहाँभित्र एकल जातिय अहंकार छ । उहाँका जातका मानिसहरु ल्याएर शासन कायम गर्ने मात्रै सोच उहाँ भित्र छ । सबैलाई सन्तुष्ट गराएर नेतृत्व गर्नसक्ने क्षमता नै छैन । त्यसै कारण मानिसहरु टिक्न र खप्न नसकेका कारण बारम्बार पार्टी टुक्रिने गर्दछ ।


० एकथरी नेताहरु उपेन्द्र पार्टी र शक्ति केन्द्रहरु पनि परिवर्तन गरिरहन्छन् भन्ने आरोप लगाउँछन् । तपाईलाई के लाग्छ ?
उहाँ नेपालमा कुनै शक्ति केन्द्रको मोहोरा पनि हो । मोहोराकै रुपमा पनि प्रयोग भइरहँनुभएको छ । नामै त नखोलौं । जनताहरु बुझिरहेका छैनन् । उनका कुरामा अव मधेसी जनता लाग्ने छैनन् ।


० रेणु यादवलगायतका जसपा नेताहरु पनि एमालेमा प्रवेश गर्ने हल्ला बजारमा आएको छ नी ?
मैले पनि सुनिरहेको छु र रेणु यादव लगायतको टीम एमाले प्रवेश गर्ने भनेर । यो त राम्रो कुरा हो ।


० मधेश प्रदेशमा आगामी निर्वाचनमा नेकपा एमालेले कति सिट जित्ने अनुमान गर्नुभएको छ ?
नेकपा एमाले पार्टी व्यवस्थित ढंगले अघि बढेको खण्डमा बहुमत त नभनौं एक नम्बर पार्टी चाहिँ पक्कै बन्छ । किनकी मधेश प्रदेशमा अहिले एमालेकै लहर छ । र, पाँच दलिय गठबन्धनमा जनताको कत्ति पनि विश्वास छैन । तथापि एमाले भित्र पनि केहि समस्या छन् । सामुहिक नेतृत्वलाई स्वीकार नगर्ने मानिसहरु पनि यहाँ छन् । आफ्नो व्यक्तिगत स्वार्थ पुर्ति गर्न खोज्नेहरु पनि छन् । त्यो सबै अवरोध पन्छाएर सहि मुल्यांकन गरेर सहि व्यक्ति चयन गरेको खण्डमा नम्बर वान पार्टी चाहिँ बन्छ ।


० मूख्यमन्त्री लालबाबु राउतले ल्याएको ‘बेटी पढाउँ बेटी बचाउ’ कार्यक्रमको साइकल खरिद प्रकणमा पनि मूख्यमन्त्री स्वयं संलग्न भएको अवस्थामा अख्तियारले बचाएको आरोप छ नी के भन्नुहुन्छ ?
‘बेटी पढाउँ बेटी बचाउ’ भन्ने नारा नै उल्टो छ । यो नाराका विषयमा त्यो पार्टीमा रहँदा धेरै बहस गरेको छु । मधेशमा त बेटी बढेपछि भाग्छन् भन्नेहरु छन् । बचाउने कुरा कहाँबाट आयो ? छोरी गर्भमा भएकै कारण भ्रुण हत्या गरिन्छ, भने कहाँबाट बचाउने कुरा आयो ? यो कार्यक्रम अन्तर्गत साइकल खरिदमा व्यापक भ्रष्टाचार भएको छ । यो कुरा त मैले दुई वर्ष अघि नै भनेको थिएँ । यो कमिसनको खेल मात्रै हो । साइकल बाड्दा पनि आफ्नो क्षेत्रमा मात्रै बाडिएको छ । अन्य क्षेत्रमा दिइएको पनि छैन । विभेद पनि गरिएको छ । साइकलहरु पनि छ महिना भन्दा बढि नटिक्ने कमसल अवस्थाका छन् । यसमा कमिसन र ठूलो रकमको चलखेल भएकै हुन् । कसले कति खायो र कसलाई बचायो ? हामी १५÷१६ जना प्रदेश सभाका सदस्यहरु उपेन्द्र यादव कहाँ डेलिगेसनमा गएका थियौं । यो कार्यक्रममा भ्रष्टाचार भयो भनियो । हामीले उजुरी गरेका मात्रै थियौं उपेन्द्र यादवलाई त पैसाको स्रोत पो बन्यो । उनलाई त बार्गेनिङ गर्ने ठाउँ पो बन्यो । उनले त माल लिएर आउ नत्र हटाइदिन्छु तिम्रो विरुद्धमा यस्तो भइरहेको छ पो भनेछन् ।
० तराईमा छोरीहरु जन्मेकै कारण र दाइजोको मोहले गर्दा कतिपय आमाहरुको परिवारबाटै हत्या भएका घट्नाहरु पनि सुनिन्छन् । त्यसको लागि कसरी न्यूनिकरण गर्न सकिन्छ ?
यो मधेसको समाजमा पुरानै मनोविज्ञान हो । हुन त देशको सबैजसो ठाउँमा त्यो खालको अवस्था छ । अझ बढि मधेशमा छ । छोरी जन्मेपछि नाक खुम्च्याउने चलन छ । तथापि समाजमा बिस्तारै परिवर्तन भइरहेको छ । केहि प्रतिशत मानिसहरु मात्रै त्यो प्रवृतिका छन् । अहिले त्यो अवस्था छैन ।


० तपाई पुरानो कम्युनिस्ट नेता जनताहरुले कम्युनिस्ट प्रति आशा र अपेक्षा गरेपनि फुटका कारण अन्य इतर पार्टीहरुले नेतृत्व गरेका छन् । अबको चुनावको रणनीति कस्तो हुनुपर्दछ ?
हाम्रो लागि बहुत दूर्भाग्यको कुरा हो । नेकपा एमालेको निर्माणमा लागेका धेरै मान्छेहरु एमाले पार्टी भन्दा बाहिर छन् । कम्युनिस्ट पार्टीको सिद्धान्तबाट चुनिएका मानिसहरु आफ्नो व्यक्तिगत स्वार्थमा रुमलिए । वास्तवमा दुई तिहाईको कम्युनिस्ट पार्टीको सरकार हुँदा हुँदै प्रचण्ड, माधव, झलनाथजीहरु त्यो आन्दोलनलाई हाकेको भएपनि अहिले कांग्रेसको पछि पछि दयाको पात्र बनेर लुरु लुरु हिड्नुभएको छ । नेताहरुकै कारण पार्टीमा टुट र फुट भएको हो । यो नै बामपन्थी आन्दोलनको दूर्घट्ना हो । नेताहरु सुध्रिनुपर्दछ । समयको दौरानमा जनताले पाठ सिकाउने नै छन् ।


० नेपाली कांग्रेसका एक जना नेताले केहि दिन अघि एक कार्यक्रममा बालुवाटार प्रकरणमा माधव नेपाल जेल जाने अवस्था आयो । उनलाई बचाउनका लागि शेर बहादुर देउवाले ओलीको विरुद्धमा मोर्चा बनाउनु परेको हो भन्नुभएको छ नी ?
हुन सक्छ । टप लेबलमा सिंहदरबार र यसको अगलबगलमा यो विषय हुन सक्छ । जनता झुक्याउन र भुलाउन सबै पार्टीहरु समाजवाद अप्नाएको भन्दैछन् । कम्युनिस्ट केन्द्र बनाउने भन्दा भन्दै समाजवादी केन्द्र बनाने भन्दै झुक्याएका छन् । देउवाको पछि पछि लागेर समाजवाद आउँछ ? समाजबादी केन्द्रको निर्माण होला ? हिजो मतियार बनेर लुरुलुरु हिडिरहेका नेताहरुको हिसाव किताव जनताले आउने दिनमा देखाउनेछन् ।

० अन्तमा केहि भन्नु छ की ?
काठमाडौंमा बस्ने मानिसहरु मधेसमा बस्नेहरुलाई फरक दृष्टिकोणले हेर्नुहुन्छ । त्यो राख्नु हुँदैन । म एमाले प्रवेश गरेको कार्यक्रममा पनि भनेको थिएँ । राजा महाराजाको पाला देखि नै अपमान र बिभेद गर्ने अवस्था चलिरह्यो । मधेशका मानिसहरुको अनुहार हेर्ने बित्तिकै बिहारको मानिस भन्ने गरिन्छ । हामी सच्चा माक्र्सबादी हौ भने माक्र्सवादले हरेक किसिमका शोषण, दमन, विभेदको उन्मुलन गरेर समतामूलक समाज निर्माण गर्ने हो । जातिय, बर्गिय, धार्मिक र सामाजिक बर्गियको बिरोध गरेर एउटा नयाँ समाज निर्माण गरी अघि बढेको खण्डमा मात्रै साम्यवादमा जान सकिन्छ । मधेसी जनताको अढाई सय वर्ष अघि देखिको भावना नेकपा एमाले जस्तो पार्टीबाट नेतृत्व गर्न आवश्यक थियो । कम्युनिस्ट पार्टीहरु मधेश आन्दोलनको नेतृत्व गरेनन् । त्यसको नेतृत्व गर्न भ्रष्टाचारी, सामान्ति, प्रतिक्रियाबादीहरु आए । त्यसपछि मधेश आन्दोलनलाई अर्को दिशातर्फ मोडे ।
आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गर्न सकोस् । सिद्धान्त र विचारलाइृ पाखा लगाउने तत्वहरुलाई पन्छाएर अघि बढ्न सकियोस् । तब मात्रै पार्टी सबल र सक्षम बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.