शिक्षकहरुको समर्पण, विद्यार्थीहरुको लगनशीलता र अभिभावकहरुको जागरणका कारण गुणस्तरीय शिक्षा दिन सकिएको हो
सात वर्ष देखि राजधानीको चर्चित सामुदायिक विद्यालय विश्व निकेतन माविका प्रधानाध्यापक हुनुुहुन्छ हेरम्ब राज कडेल । यहि साता साउन ११ गते एसईईको परीक्षाफल प्रकाशित भएको छ । शिक्षाविद्हरुले अहिलेको परिणाम हेर्दा गुणस्तर खस्किएको भनेर टिप्पणी गरिरहेका छन् । सामुदायिक विद्यालय भएपनि उत्कृष्ट विद्यालयको स्थानमा रहेको विश्व निकेतन माविका प्रधानाध्यापक कडेलसँग यिनै विषयको सेरोफेरोमा रहेर डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले गरेको छोटो कुराकानीः
० भरखरै एसईई परीक्षाको परिक्षाफल प्रकाशित भएको छ । अघिल्ला वर्षहरुमा भन्दा परिणाम खस्किएको भन्ने टिका टिप्पणीहरु सुनिएका छन् । तपाई एक चर्चित विद्यालयको हैसियतले कसरी टिप्पणी गर्नुहुन्छ ?
अघिल्ला वर्षहरु २०७६ र २०७७ मा विद्यालयको आन्तरिक मुल्यांकनमा परिणाम सार्वजनिक गरियो । जसमा ‘आफ्नै हात जगन्नाथ’ किसिमले मनोमानी ढंगले मुल्यांकन गरेका कारण त्यो अवस्था रहेको हो । तर, २०७५ सालको जुन समयसम्म बाहिर केन्द्रमा गएर परिक्षा दिने व्यवस्था थियो, त्यो बेलाको भन्दा केहि खस्किएको पक्कै पनि हो । यसका पछाडि केहि कारणहरु पनि छन् । विद्यार्थीहरुले पछिल्लो वर्षमा कोरोना भाइरस (कोभिड–१९) का कारण केबल चार महिना मात्रै आम्नेसाम्ने भई विद्यालयमा आएर पढ्न पाएका हुन् । त्यस अघि अनलाइन प्रणालीबाट भर्चुअल विधिबाट पढाउँदा कतिपयसँग प्रविधिको पहुँच नै थिएन । महामारीका रुपमा रहेको कोरोना भाइरसका कारण कतिपय विद्यार्थीहरुले आफ्ना अभिभावक गुमाए, कतिपय अभिभावकहरुको जागिर गुम्यो । साथै विद्यार्थीहरु आफै पनि बिरामी बनेको अवस्थालाई पार गरेर आए । गणित र विज्ञान जस्ता विषयहरु प्रश्न पनि अलिक घुमाउरो पाराले सोधियो । कतिपयले ‘आउट अफ कोर्स’ पनि भन्नुभयो । समय सापेक्ष मोडेल प्रश्न भन्दा पनि विद्यार्थीहरुलाई घुमाउने फरक खालका प्रश्नहरु सोधियो । त्यसैकारण नतिजा अपेक्षाकृत हुन सकेन । तथापि हाम्रो विद्यालय विश्व निकेतन माबिको नतिजा भने राम्रो छ । यो विद्यालयमा ३.६ जीपीए भन्दा बढि ल्याउने नै २० जना छन् । त्यसैगरी ३.२ भन्दा बढि ल्याएर पास गर्ने यो विद्यालयमा ६० जना भन्दा बढि विद्यार्थीहरु छन् । यसरी सबैजनाले २ जीपीए भन्दा बढि ल्याएर पास गरेका छन् । तथापि देश व्यापी रुपमा हेर्दा नतिजा खस्किएको नै छ ।
० २०६८ सालमा एक कक्षामा भर्ना भएका विद्यार्थीहरुको संख्या र अहिले एसईई पास गरेका विद्यार्थीहरुको संख्याको फरक हेर्दा त एकदमै बढि छ । किन विद्यार्थीहरुले बीचमै अध्ययन गर्न छाडे ? तपाईलाई के लाग्छ ? राज्यले दायित्व लिन नसकेको हो ?
राम्रो प्रश्न गर्नुभयो । अहिले धेरै विद्यार्थीहरु ‘ड्रप आउट’ हुने सम्भावना छ । आर्थिक अवस्था कमजोर भएका बाबु आमा, रोजगारी र अन्य कारणले बसाई सराई गर्नुपर्ने कारणले, अनुत्तिण भएपछि कक्षा दोहो¥याउनुपर्ने साथै चेतनाको अभाव पनि हो । बि.स. २०८५ सालसम्म आठ कक्षा उत्तिण नगर्ने व्यक्तिहरुलाई राज्यले दिने नागरिकता, जेष्ठ नागरिक भत्ता लगायतका सेवा सुबिधाका सुबिधा नदिने भनिरहेको छ । यसले गर्दा बाद्यत्मक रुपमा पढ्नका लागि विद्यालय जानैपर्दछ । अहिलेको अवस्थामा पुरानो अनुपातमा ड्रप आउट दर घट्दै गएको छ । तथापि पूर्ण रुपमा हटिसकेको छैन । त्यसको मूख्य कारण गरिबी, बसाईसराई, कमजोर पडाईका कारण दोह¥याई तेह¥याई पढ्नु पर्दा संख्यामा फरक देखिएको हो । तथ्यांकमा एक आपसमा रुजु नभएर पनि हो ।
० कतिपय सुबिधाका कारण संख्या बढि देखाउँदा पनि खास संख्यामा फरक पनि परेको हो कि ?
त्यो कारण पनि हुन सक्छ । अहिले आइएमइएस (शिक्षा तथा मानव स्रोत केन्द्र) ले तीन पुस्ते विवरणसहित छात्र र छात्राहरुको विवरण तयार गरेको छ । त्यसमा दलित, आदीबासी र जनजातीहरुको विवरण दिनुपर्दछ । त्यसमा नक्कली नामहरु राखेको खण्डमा भेरिफाई गर्दा सजाय हुन सक्तछ । त्यसैकारण वास्तविक तथ्यांक आउने क्रममा छ । तर, पनि कतिपय अनुदान, छात्रवृति, दिवा खाजा, छात्राहरुलाई साइकल वितरण, जस्ता सेवा पाउनका लागि वास्तविक तथ्यांक भन्दा बढि संख्या देखाएको हुँदा बढि ड्रप आउट देखिएको हो । अहिले आइइएमइएस (इन्ट्रीग्रेटेड मेनेजमेन्ट इनफरर्मेशन सेन्टर) एकीकृत शिक्षा सूचना प्रणालीले अलिक चासोका साथ हेरेको छ । त्यसपछि मात्रै वास्तविक तथ्यांक आउन थाल्नेछ ।
० अहिलेको पाठ्यक्रम बजार अनुकुल छैन । त्यसैकारण शैक्षिक बेरोजगारहरुको संख्या बढेको भनिन्छ । तपाईले यो विषयमा के भन्नुहुन्छ ?
एकदमै सहि कुरा गर्नुभयो । पाठ्यक्रम भनेको सम्पूर्ण शिक्षा प्रणालीको मूल तत्व हो । जुन देशको पाठ्यक्रम त्यहिको जीवनपयोगी, व्यवसायिक किसिमको छ, देशमा प्रगति र समृद्धि भएको छ । जुन देशको पाठ्यक्रम कमजोर र व्यवहारिक छैन । त्यो देश विकासको दृष्टिले पछि परेको छ । हाम्रो शिक्षाको पाठ्यक्रम बनाउँदा सिंहदरबारभित्र विशेषज्ञ बोलाएर बनाईन्छ, बढि माग र मन्थन नै गरिदैन । कुन क्षेत्रमा कस्तो पाठ्यक्रम राख्दा भोलिका पिढिले त्यो सीप सिक्न सक्छन् भन्ने विचार नगरी पाठ्यक्रम ल्याएका कारण यो अवस्था आएको हो ।
हाम्रो कर्णाली प्रदेशमा जडीबुटी खेती सम्बन्धीको पाठ्यक्रम उपयुक्त हुन्छ, त्यसै गरी दोलखा, सोलुखुम्बु, ओखलढुंगामा पर्वतारोहण सम्बन्धी, इलाम र झापातिर चिया सम्बन्धि र अन्य निकासीजन्य बस्तुहरु सम्बन्धी पाठ्यक्रम राख्न सकिन्छ । प्रविधि सम्बन्धी हाउस वाइरिङ, प्लमबिङ, कृषि प्रणाली सम्बन्धी, भटेरीनरी सम्बन्धी कोर्षहरु बनाएर सिकाउन सकियो भने नेपालमा मात्रै नभएर विदेशमा जाँदापनि राम्रो तलव पाउने गरी रोजगारी पाउन सक्नेछन् ।
हामो देशमा कपाल काटेर भारतीयहरुले वार्षिक करोडौं रुपैया लैजान्छन् । तर, हामीहरु भने लाज मानेर काम नै गर्दैनौं । यस्ता विषयहरु दैनिक रुपमा आवश्यकता पर्दछ । अहिले स्नातकोत्तर गरेको व्यक्ति जागिरको लागि निवेदन लेख्न जान्दैन । यस्तो अव्यवहारिक प्रकारको पाठ्यक्रम पढाइएको छ । त्यसैले हामीले जीवनपयोगी, व्यवहारिक र सीपमूलक किसिमको पाठ्यक्रम बनाएर अध्ययन गराउनुपर्ने जरुरी छ । अहिले पढाई सिध्याएपछि जागिर नै खानुपर्छ भन्ने पनि होइन । उनले कुनै ब्यवसाय गरेर अन्यलाई रोजगारी उपलब्ध गराउन पनि सक्छ । यसरी पाठ्यक्रमलाई समय सापेक्ष गराउन जरुरी छ ।
० तपाईको विद्यालयमा प्राप्त एसईईको नतिजालाई कसरी मुल्यांकन गर्नुभएको छ ? यो विद्यालयमा पढ्न चाहनेहरुले पनि भर्ना पाउन सकिरहेका छैनन् नी ?
यहि साउन ११ गते एसईईको नतिजा प्रकाशित भयो । एसईईको नतिजा आएपछि देश भर नै खस्किएको पायौं । हाम्रो विद्यालयमा मात्रै २२७ जना विद्यार्थीहरुले एसईईको परीक्षाका लागि फर्म भरेका थिए । जसमा ३.६ देखि चार जीपीए ल्याउने २० जना, ३.२० देखि ३.६० सम्म ल्याउने ४० जना थिए । २.८० देखि ३.२० सम्म ल्याउने ६५ जना, २ देखि २.४० जीपीए ल्याउने ६९ जना थिए । २ देखी २.४ जीपीए ल्याउने २६ जना र १.९० जीपीए ल्याउने जम्मा एक जना छन् । यसरी एसई परीक्षामा पाँच जना भने अनुपस्थित भएर २२२ जनाले परीक्षा दिएका थिए । समग्रमा हेर्दा नतिजा राम्रो छ । अझ पनि हामी सन्तुष्ट छैनौं । २०७५ सालको एसईमा हाम्रा विद्यार्थी भेषराज उपाध्यायले चार जीपीए ल्याएर देशभरमै सर्वोकृष्ट भएका थिए । अहिले चार जीपीए ल्याउने त प्रशस्तै भए । तथापि उत्कृष्ट हुन भने सकेनन् । अहिले कक्षा ११ का लागि फर्म खुलिसकेको छ । ११ गते नतिजा प्रकाशन भएपछि हामीले १२ गते देखि नै फर्म खोल्यौं । दुई दिनमै ७५० भन्दा बढि विद्यार्थीहरुले फर्म भरे । गत वर्ष कक्षा ११ मा हामी कहाँ चार हजार सात सय विद्यार्थीहरुले फर्म भरेका थिए । त्यसमा मात्रै १ हजार २३० जना मात्रै भर्ना लिन सफल भयौं । अहिले भरखरै २०७९ मा एक देखि नौं कक्षासम्म पनि दुई हजार पाँच सय विद्यार्थीहरुले परिक्षा दिएका थिए । चारसय जना मात्रै भर्ना लिने भन्दा भन्दै पाँचसय पचास जना विद्यार्थीहरु भर्ना लिन बाद्य भयौं । यसरी विद्यार्थी, अभिभावक, नागरिक समाज, शिक्षकहरु सबैले गुण्स्तरीय शिक्षा प्रदान गरिन्छ भन्ने विश्वास छ । मैले आफ्ना छोराछोरी यहि विद्यालयमा पढाए । यहाँका ९० प्रतिशत शिक्षकका छोरा छोरी यहि पढ्ने गरेका छन् । अभिभावकहरुलाई यहि नै ठूलो विश्वास रहेको छ । आफ्ना बच्चाहरु अर्को विद्यालयमा पढाउँदा स्वाभाविकै रुपमा विश्वास टुट्छ । आफ्ना विद्यार्थीलाई अर्को विद्यालयमा पढाएर अनुभवी र योग्य शिक्षक छने भनेर विज्ञापन गर्न सुहाउछ त ? जो कोहिले पनि सोच्छ ‘दालमा कुछ काला हैं’ । यहाँ पढेर नै हाम्रा विद्यार्थीहरुले राम्रो नम्बर ल्याएका छन् ।
म यो विद्यालयको प्रधानाध्यापक भए पनि हाकिम होइन सेवक हुँ । दैनिक नौ घण्टा कार्यालयमै खटेको हुन्छु । हाम्रो विद्यालय टीमवर्कको हिसावले सञ्चालित छौं । शिक्षक र अभिभावकहरु पनि सहयोगी भूमिका निर्वाह गरिरहँनुभएको छ । शिक्षकहरुको समर्पण विद्यार्थीहरुको लगनशिलता र अभिभावकहरुको जागरणका कारण गुणस्तरीय शिक्षा दिन सकिएको हो । विद्यार्थी भर्नाको समयमा अभिभावकसँग म आफै सल्लाह र सुझाव दिने गरेको छु । जुनसुकै बच्चालाई पनि विज्ञान नै पढाउनुपर्छ भन्ने होइन । राम्रो गरेको खण्डमा जुन सुकै विषयमा पनि अवसर छ । भविष्यमा डाक्टर नै बन्छु भन्ने बच्चालाई साइन्स पढाउनु, चार्टर्ड एकाउन्टेन्ट, एकाउन्टेन्ट र मेनेजर बन्ने भए मेनेजमेन्ट नै पढ्दा हुन्छ, न्यायाधीश, वकिल बनेर काम गछु भन्ने हो भने कानुन पढ्नु, भोलिका दिनमा लोकसेवा परीक्षामा भिड्छु मेजर म्याथ र इङलिस लिएर पढ्न चाहनेलाई भने हुमानिटिज पढाउनुहोला । शिक्षा अधिकृत बन्छु पाठ्यक्रम बनाउने काम गर्ने चाहना राख्ने हो भने शिक्षा नै पढाउनु । यसरी कुनै पनि विषय नराम्रो चाहिँ छैन । केबल बच्चाको रुची र उसले रोजेको विषय नै पढाउनुपर्दछ । जहाँ जाँदा पनि कुन डिभिजनमा उत्तिर्ण गरेका शिक्षकहरु हुनुहुन्छ ? त्यहाँ प्राक्टिकल विषयहरु हुन्छन् कि हुँदैनन् ? कुन माध्यमबाट कसरी पढाईन्छ ? राम्ररी बुझ्नुहोला । हाम्रो विद्यालयमा यहि साउन २१ गते कक्षा ११ को प्रवेश परीक्षा हुँदैछ । आफ्ना बालबच्चालाई कहाँ पढाउने भनेर भौतारिनुभएको छ भने, फर्म भराएर प्रवेश परीक्षा दिन लगाउनुहोस् हामी गुणस्तरीय शिक्षाका लागि प्रतिवद्ध छौं ।
० विश्व निकेतन माविलाई अझ बढि प्रतिस्पर्धि बनाउनका लागि भावी योजनाहरु पनि छन् कि ?
हामी कहाँ इलेक्टिकल इन्जिनियरिङ विषयमा कक्षा नौ देखि १२ सम्म पठन पाठन गरिन्छ । साथै विद्यार्थीहरुले नेपाली सेनाको एनसीसी (राष्ट्रिय सेवा दल) को सिनियर क्याडेटको ११ र १२ का लागि चार महिने तालिम गराईन्छ । हामी कहाँ तीन हजार नौ सय विद्यार्थीहरु छन् । जुन ११ कक्षाको भर्ना लिन बाँकी नै छ । १३५ जना टिचिङ र ननटिचिङ गरी स्टाफहरु छन् । अबका दिनमा चार हजार भन्दा बढि विद्यार्थी बढाउनु भन्दा गुणस्तरीय शिक्षा दिएर देशकै सर्वोकृष्ट विद्यालय बनाउने पक्षमा छौं । विज्ञान विषयका लागि हामीले सर्वोकृष्ट हव नै बनाउने योजनामा छौं । अहिले भौतिक निर्माणका काम भइरहेको छ । एक वर्ष अत्याधुनिक कक्षा कोठाहरु बन्नेछन् । यसकारण नयाँ कार्यक्रम भन्दा उत्कृष्ट शिक्षाका लागि प्रतिवद्ध भएर लाग्ने छौं ।