पुराना पिढीका कांग्रेस नेताका सन्तानहरु महाधिवेशन प्रतिनिधिका रुपमा आएका हुँदा मलाई भोट दिनेछन्
वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की नेपाली कांग्रेसको १४ आंैं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्नुभएको छ । ९१ वर्षिय कार्की लोकतान्त्रिक आन्दोलनका क्रममा आठ वर्ष जेल जीवन बिताउनुभयो । नेपाल महिला संगठनकी संस्थापक अध्यक्ष मंगला देबी सिंहको नेतृत्वमा केन्द्रीय सदस्य भएर काम गर्नुभएकी कार्कीले कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइराला जस्ता व्यक्तित्वसँग निकट रहेर लामोसमय नेपाली कांग्रेस पार्टीमा काम गर्नुभएको थियो । नेपाली कांग्रेसको काठमाडौंमा जारी १४औ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनुभएकी कार्कीसँग डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले महाधिवेशनलगायत विषयमा गरेको विशेष कुराकानीः
० तपाई नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । तपाईले जित्ने आधारहरु के–के छन् ?
म नेपाली कांग्रेसको जिबित मध्येको सबै भन्दा पुरानो राजनीतिक कार्यकर्ता हुँ । आजसम्म मैले सबैको भलो मात्रै गरेकी छु । महिला संगठनमा मंगला भाउजु (गणेशमान सिंहकी धर्मपत्नी मंगला देवी सिंह) को समयमा पनि महिला संघको केन्द्रीय सदस्य थिएँ । तथापि कुनै पनि राजनीतिक लाभको पद लिएकी थिइन । प्रतिबन्धित समयमा पनि मैले पञ्चायत इतर धेरै नेता र कार्यकर्ताहरुलाई वीरगञ्जबाट रक्सौल पार गराएर प्रशासनबाट पक्राउ गर्नबाट बचाए । मलाई पुराना नेतृत्व गर्ने नेपाली कांग्रेसका सदस्यहरु सबैले राम्ररी चिन्नुहुन्छ । मैले लामो समय मंगला भाउजु र कृष्ण प्रसाद भट्टराईसँग काम गरेकी छु । अहिले नेपाली कांग्रेसमा लागेर काम गरेका केन्द्रीय सदस्य देखि मन्त्रीहरुसम्म पनि म भन्दा पछि सदस्य बनेका हुन् । म आजसम्म पनि नेपाली कांग्रेसमा लागेर स्वयंसेवककै रुपमा काम गरेँ । मैले कांग्रेसमा लागेर निरन्तर रुपमा काम गरेबापत अवश्य पनि मत पाउनेछु भन्नेमा आशा र पूर्ण विश्वास छ । साथै यो महाधिवेशनमा सबै भन्दा बढि मत ल्याउने छु भन्ने विश्वास छ ।
० अहिले धेरै जसो महाधिवेशन प्रतिनिधिहरु युवा छन् । पुरानो र पार्टीमा धेरै योगदान रहेको तपाई जस्तो व्यक्तिले आफ्नो पुरानो योगदानको कसरी प्रचार प्रसार गर्दै हुनुुुुहुन्छ ?
अहिले म पुरानो पिढीको भएपनि यो महाधिवेशनमा भाग लिनका लागि पुरा नै नेताहरुको छोरा, नाती, छोरी र नातिनीहरुले भाग लिएका छन् । शान्ति कार्कीलाई नचिन्ने नेपाली कांग्रेस नै होइन । तिनै पुराना पिढीका कांग्रेस नेताका सन्तानहरु महाधिवेशन प्रतिनिधिका रुपमा आएका हुँदा मलाई भोट दिनेछन् ।
० ९१ वर्षको यो उमेरमा पनि यसरी राजनीतिमा सक्रिय हुन के बाट प्रेरणा पाउनुभएको छ ?
राजनीतिमा नातावाद, कृपावाद भयो । पार्टीमा सिद्धान्त र नेतृत्व र नैतिकता नै भएन । पार्टीका भातृ संगठनहरु पनि सक्रिय हुन सकेनन् । भातृ संस्थाहरु पुनःजागरण नै गरिएनन् । सिंगो कांग्रेस पार्टी यस्तो अवस्थामा चल्न सक्तैन । तरुण दल, नेविसंघ, किसान संगठन, सैनिक संगठनहरुमा पुनःजागरण नै गरेनन् । यी संगठनमा लागेका नेता कार्यकर्ताहरु कहाँ जाने ?
सरकारी कर्मचारी भई जागिर खाएर सेवानिवृत भएकाहरु नेपाली कांग्रेसमा आएर राजनीति सुरु गर्छन् । उनीहरु पैसा कमाएका छन् । पैसाका आधारमा नेतासँग टिकट पाउँछन् । जसले जीवनभर राजनीति गरे, तिनीहरु कहाँ जाने ? त्यसकारण जो मानिस जागिरबाट फर्केर राजनीतिमा आउँछ, त्यसले कम्तिमा पाँच वर्ष पछि मात्रै लाभका पदमा टिकट पाउनुपर्छ । नातावाद कृपावाद हुनुुहुँदैन । दलित, गरिबहरु र महिलाहरुलाई पुनर्जागरण गर्नुपर्दछ । महिलाहरुलाई ८० प्रतिशत आरक्षण भनिएको छ । तर तिनै नेताहरुको नातेदारहरुले मात्रै पद पाएका छन् । तल्लो तहमा काम गरेका नेताहरु अहिले पनि कुनै पद पाउन सकेका छ्रैनन् । मैले केन्द्रीय सदस्यमा विजयी भएको खण्डमा मेरो भावना र विचारसँग मेल खानेहरुसँग यो मिसन अघि बढाउने छु । अहिले बिरालोले म्याउ गरेको छ । तर, कसले घाटीमा घण्टी बाध्ने भन्नेमा मात्रै मत नमिलेको हो । सबैलाई थाह छ घण्टी बाध्नुपर्दछ भन्नेमा । ‘मत बाल न बच्चा दिनभर अच्छा’ भने जस्तै म बिरालोको घाटीमा घण्टी बाध्न सफल हुनेछु ।
० त्यसको अर्थ तपाई विजयी भएपछि पार्टीमा शुद्धीकरणको अभियान थालनी हुन्छ ?
जो नातामा पनि खास गरी श्रीमान्हरु पहिले देखि नै राजनीतिमा छन् भने श्रीमतीलाई राजनीतिको माथिल्लो पदमा ल्याउनु ठीकै पनि हो । हामीले राजनीतिमा शुद्धीकरण मात्रै होइन बुद्धिकरण पनि गराउन जरुरी छ ।
० तपाई लामो समय देखि राजनीतिमा लागेर पनि ८६ वर्ष पछि मात्रै वीरगञ्ज महानगरपालिकाको उपप्रमुख पदमा टिकट पाएर निर्वाचित पनि हुनुभयो । देशभरका प्राय पालिकामा निर्वाचित हुनेहरुमा निर्माण व्यवसायी, मेनपावर व्यवसायी, घरजग्गा व्यवसायीहरु छन् । कस्तो महसुस गर्नुभएको छ ?
मलाई पार्टीले उपमेयरको टिकट त दियो । तर, अहिले कुनै अधिकार छैन । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार गरी तीन सरकार छन् । लडाई गर्ने र कुस्ती खेल्नु भएन । बोर्डका सदस्यहरु पनि मेयरमुखी बनेका छन् । कतिका छोरा छोरी त्यहि जागिरे छन् । सरुवा गरिदिन्छन् कि भन्ने डर, कत्तिका छोरा छोरी करारमा जागिरे छन्, जागिर जाला कि भन्ने डर, यसरी बहुमत भएका पार्टीका जनप्रतिनिधिहरु पनि केहि गर्न सकिरहेका छैनन् । म उपमेयर नहुँदा पनि शक्तिशाली नै थिए । म कृष्ण प्रसाद भट्टराई, बिपी कोइराला र गिरिजा प्रसाद कोइरालासँग काम गरेकी मानिस हुँ । म जनताको सेवा गरेकी मानिस हुँ । तर, उपमेयरमा कुनैपनि तोकिएको खास अधिकार छैन ।
० तपाई वीरगञ्ज महानगरपालिकाको उप प्रमुख (उपमेयर) भएर जनताका पक्षमा के के काम गर्नुभयो ?
मैले एक्लै वा सामुहिक रुपमा थुप्रै काम गरे । आपांगहरुको घर बनाइदिए । अपांगहरुको निमित्त विद्यालय खोलिदिए । त्यसैकारण मलाई राष्ट्रपतिबाट पदक प्राप्त भएको छ । न्यायिक समितिको संयोजक भई मैले गरेका निर्णयहरुमा जिल्ला अदालतबाट समेत सदर भएका छन् । त्यसो हुँदा औधी खुशी छु । मैले गरेका निर्णयमा जिल्ला अदालत र उच्च अदालतले समर्थन गरेपछि त्यो भन्दा खुशी के हुन्छ ?
० यसरी तपाईका सुझाव र सल्लाह यस्ता निकायले पनि सहर्ष स्वीकार गर्दा कस्तो अनुभूति हुन्छ ?
संसारमा इमान्दार मानिसहरु पनि छन् । तर, उनीहरुमा शक्ति छैन । इमानलाई अहिले हेरिएन । केबल पैसा मात्रै हेरियो । पैसा बिना केहि पनि भएन । अहिले टिकट लिन पनि पैसा । सुरुमा एउटा एमान्दार मानिसका लागि टिकट दिने भनिन्छ, तर, पछि पैसा दिएपछि अर्कोले टिकट लिन्छ । यस्तो अवस्था छ । स्थानीय तहमा टिकट बाड्दा यो अवस्था आएको छ । कसरी शुद्धीकरण होला ?
० तपाईलाई जितका लागि अग्रिम बधाई छ ।
तपाईले आफ्नो समय दिएर मेरा विचार राख्ने मौका दिनुभयो । म जीवनभर राजनीतिमा लाग्दा आठ वर्ष जति जेल परेको छु । प्रहरीको पिटाई खाएको छु । शान्ति कार्कीलाई जिताउनका लागि तपाईको पनि प्रचार जारी होस् । तपाईको मिडियाको पनि अझ प्रगति होस् । त्यहि शुभकामना दिन चाहन्छु ।