February 12, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

राजनीति प्रति भएका वितृष्णा चिर्नका लागि प्राविधिक जनशक्तिहरु राजनीतिमा जोडिनुपर्दछ प्रा.डा. अन्जनी कुमार झा


नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष प्रा.डा. अन्जनी कुमार झा नेपाली कांग्रेसका १४ औ महाधिवेशनमा केन्द्रीय सदस्य (मधेसी खुला) पदका उम्मेदवारी दिनुभएको छ । प्रस्तुत छ डा. झाले डायरी एक्सप्रेस साप्ताहिकका प्रतिनिधिसँग गरेको छोटो प्रतिक्रियाः


० तपाई एक जना वरिष्ठ चिकित्सक नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ जितका आधारहरु के के छन् ?
मैले नेपाली कांग्रेसलाई एककाइसौं शताब्दीको कांग्रेस बनाउनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको हुँ । विश्वमा जुन रुपमा विकास भएको छ त्यसका लागि नेपाली कांग्रेसलाई वैज्ञानिक सोच बनाउनुपर्दछ । अहिले राजनीतिमा जुन प्रकारको वितृष्णा पैदा भएको छ, यसरी जुन किसिमको वातावरण बनेको छ । यसलाई चिर्नका लागि प्राविधिक जनशक्तिहरु यसमा जोडिनुपर्दछ भन्ने लागेर म निर्वाचनमा होमिएको हुँ । नेपाली कांग्रेसले आन्दोलनमा सधै नेतृत्वदायी भूमिका निर्बाह गर्दै आएको छ । सोहि अनुसार अब नेपालीलाई स्वाभिमानी बनाउनका लागि र अन्य विकासका काममा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न जरुरी छ । त्यसैकारण पनि आफ्नो लामो समयको अनुभवबाट प्राप्त सहयोग र सुझाव पार्टीमा दिनका लागि उम्मेदवारी दिएको हुँ ।
म अस्ति सोलुको लुक्लामा गएको थिएँ, छिन– छिनमा बत्ति गयो । त्यसतो पर्यटकीय क्षेत्रहरुमा पनि विद्युत हँदा हुँदै पनि राम्रो व्यवस्थापन हुन सकेको छैन । काठमाडौंमा पनि टुकटुके बत्ति बलेको जस्तो अवस्था हुन्छ । जुन कुराहरु सम्भव छ त्यसमा पनि पहलकदमी भएर छिटो छरितो होस् । यस्ता विषयमा नेपाली कांग्रेसले छिटो छरितो किसिमले हल गरोस् । स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरु जुन अन्त्यका लागि नेपाल चिकित्सक संघ मार्फत दवावमूलक कार्यक्रमहरु मैले उठाएको थियो । यसलाई राजनीतिक एजेण्डाका रुपमा नेपाली कांगे्रसले लिन सकोस् । यसरी चाहे स्वास्थ्यका कुरा होस् वा किसानका लागि मलको समस्या वा विकासको कुरा नै किन नहोस्, यस्ता विषयमा हामी बोल्दै पनि आएका हौं । अब यस्ता विषयहरु उठाएर नेपाली कांग्रेसको बैठकमा नै प्रभाव पार्ने किसिमको दवाव सिर्जना गर्नका लागि मैले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको हुँ ।


० तपाईहरु जस्तो चिकित्सकको सुझाव राजनीतिक दलका नेताहरुले लिन्छन् भन्ने लाग्छ ?

हो, त्यसैका लागि त मैले उम्मेदवारी दिएको हुँ । यदि म केन्द्रीय समितिमा बस्न पाएको भए, आम नागरिकको चाहना बमोजिम प्रभाव पक्कै पनि पर्छ जस्तो मलाई लाग्छ । म केन्द्रीय सदस्यमा निर्वाचित भएको खण्डमा बाहिरबाट बोल्नु र भित्रबाट बोल्नुमा फरक हुने हुँदा यस विषयमा चासोका साथ काम गर्नेछ ।


० केहि समय देखि अघिसम्म स्वास्थ्य सचिवमा मेडिकल डाक्टर नै राख्ने प्रचलनलाई केहि समय अघि हटाइयो । प्रशासनको सचिव बनाउँदा झनै समस्या हुन्छ हैन र ?
कसैले पनि केहि जिम्मेवारी पाएको खण्डमा सधैका लागि हुँदैन । कुनै मेडिकल डाक्टर स्वास्थ्य सचिव भएको अवस्थामा प्रभावकारी भूमिका निर्वाह गर्न सक्यो भने मात्रै त्यसको निरन्तरता हुन्छ । म अहिले पनि स्वास्थ्य मन्त्रालयमा काम गर्ने सचिवलाई आग्रह गछु कि डाक्टर हुँ त्यसैले सचिव भइहाल्छु भन्ने भ्रम नपाल्नु भनेर अनुरोध गरेको छु । डाक्टर नै सचिव भएपछि राम्रो काम हुन्छ भनेर हामीले जुन प्रकारले सोचेका थियौं । त्यहि बमोजिम काम गर्नुहोस् । त्यसपछि मात्रै परिवर्तन आउन सक्तछ ।


० तपाईले उठाउनुभएको माग र मुद्दाहरु एक दुई तीन भनेर भन्दा के के हुन ?
पहिलो
कुरा त नेपाली कांग्रेसले जसरी राजनीतिक परिवर्तनका लागि राष्ट्रियता, प्रजातन्त्र र समाजवादसहित संघीय नेपालको मुद्दा बनायो, यसरी नेपालमा भएका साधन र स्रोतलाई आम्दानी गर्नका लागि वैज्ञानिक सोच बनाउनु छ । रोजगारी सिर्जना गर्ने कुरा केबल नारामा मात्रै सिमित छ । समग्र रुपमा नेपाली कांग्रेसले सम्वोधन गर्न सकोस् । यिनै मूख्य मद्दाहर हुन् ।


तपाई चिकित्सक तर, नेपाली कांग्रेसको राजनीतिमा लाग्नुपर्दछ भन्ने आकर्षण कसरी तयार भयो ?
हरेक राजनीतिक दलका नेताहरुले राजनीति गर्नका लागि आफै काम गर्नुपर्दछ । कसैले चन्दा लिएर राजनीति गर्नुहुन्न । अहिलेसम्म राजनीति गर्नेहरुले पनि दैनिक एक घण्टा वा दुई घण्टा भए पनि कुनै आयमूलक रोजगारीमा संलग्न हुनैपर्दछ । म अहिले चुनाव लड्दैछु तर, पनि कसैसँग चन्दा माग्दिन । त्यसैले अन्य व्यक्तिसँग चन्दा लिएर राजनीतिक गर्नु हुदैन । हरेक राजनीतिक परिवर्तनको नेतृत्व जननायक विशेश्वर प्रसाद कोइराला देखि हालसम्म नेपाली कांग्रेसबाटै भएका कारण म पनि नेपाली कांग्रेस प्रति आकर्षित भएको हुँ । यो देशमा स्थिर राजनीति र युवाहरुलाई रोजगारीको व्यवस्था कसैले गर्न सक्छ भने, नेपाली कांगे्रसले मात्रै सक्छ । त्यसैले पनि म कांग्रेस पार्टीमा लागेको हुँ ।


तपाईको जित सुनिश्चित नै भएको हो ?
हुनत महाधिनेशन प्रतिनिधिहरुले भोट हाल्ने हुन् । तर, मैले २० औ वर्ष देखि जुन काम गर्दै छु, त्यसको मुल्यांकन गरी भोट दिनु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.