सिनेमाले मागे अनुसार दिन नसक्दा गाह्रो हुन्छ त्यसैले बाधिनु पर्छ ःमधु पन्थी, कला निर्देशक
० पछिल्लो समय केमा ब्यस्त हुनुहुन्छ ?
म एउटा कलाकर्मी भएकाले कला क्षेत्रका काममा नै आफूलाई संलग्न गराउँदै आएको छु । तपाईंलाई थाहै छ विगत वर्षदेखि कोरोना भाइरसको संक्रमणका कारण कामहरूको चाप कम छ । फेरि पनि फाटफुट कामहरू भइरहेका छन् ।
० यस क्षेत्रमा आउनका पछाडी केही कारणहरू छन् कि ?
मलाई के लाग्छ हरेक मानिस कुनै पनि क्षेत्रमा तीन कुराले प्रवेश गर्छ । एक लहलहैमा लाग्छ । दुई साथीभाईको संगत र अरुले भनेको भरमा लाग्छ । तीन जानेर बुझेर पढेर आफूलाई यो क्षेत्रमा केही गरौ भन्ने अभिप्रायले लाग्छ । मेरो हकमा पनि माथि उल्लेख गरिएको तेस्रो पक्ष अलिक हावी छ । फेरि अर्को पाटो के हो भने मेरो बच्चैदेखि कलाकारिता क्षेत्रमा रुचि रहेको थियो । उमेर बढ्दै गएपछि त्यो रुचि अझ बढ्दै गयो । नेपालमा पनि व्यावसायिक रूपमा चलचित्र बन्न थाले । यसका लागि म मैलै धेरै बुझदै गए र यो क्षेत्रमा आए । यसका बारेमा बुझेर र अध्ययन गरेर यो क्षेत्रमा आएँ ।
० औपचारिक रुपमा कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
एउटा चलचित्र दर्शकमाझ आइसक्दा धेरै जनाको मेहनत, लगन र लगाव लागेको हुन्छ । हामीले देख्दा पर्दामा देखिने पात्रलाई मात्र देख्छौ तर सत्य के हो भने पर्दा पछाडीका पात्रको पनि उत्तिकै परिश्रमले राम्रो क्रियसनले मात्रै सफल सिर्जना दर्शकमाझ आउँछ । म पनि कला निर्देशनको क्षेत्रमा अनुभव संगाल्दै गर्दा मैले २०५१ मा आई.कम.र २०५४ मा शंकरदेव क्याम्पसबाट बी.कम. पूरा गरे । त्यसपछि यही क्षेत्रमा पूरापूर समर्पित भएर लागे ।
० यो कला निर्देशन भनेको के हो ?
चलचित्रमा कला निर्देशन एक महत्वपूर्ण पाटो हो । चलचित्रमा कथाले मागेअनुसार कहीँ हिमाल, कहीँ पहाड, कहीँ तराई, कहीँ जंगल, कहीँ ठूलो समुद्र, कहीँ मनमोहक दृश्य त कहीँ डरलाग्दो भीर देखाउनुपर्ने हुन्छ । त्यही दृश्य साँच्चिकै जस्तो देखाउने, बनाउने वा तयार गर्ने कला नै मुभिज् आर्ट डाइरेक्सन हो । अर्थात कला निर्देशन हो । नेपालमा त यस्ता कतिपय ठाउँ पाइएला तर विदेशमा पाइँदैन । हाम्रो काम भनेको जस्तो डिजाइनको सिन चाहियो त्यस्तै बनाउने अनि प्रोडुसर डिजाइनलाई जानकारी गराउने हो । त्यसपछि उहाँले त्यो डाइरेक्टरलाई जानकारी गराउनुहुन्छ । आकर्षक सेटहरू जुन तपाईं चलचित्रमा देख्नुहुन्छ नि त्यसको डिजाइन गर्ने काम कला निर्देशकले गर्छ ।
० कला निर्देशन क्षेत्र कत्तिको सहज छ ?
यो कला निर्देशन भन्ने बित्तिकै एकदमै गाह्रो क्षेत्र हो । किनभने कल्पना गरिएको कुरालाई जस्ताको त्यस्तै उतार्नुपर्ने हुन्छ । फेरि कला निर्देशनको काँधमा कल्पनालाई न्याय गर्नुका साथै सामाजिक जिम्मेवारी पनि हुन्छ । मैले निर्माण गरेको चलचित्रबाट दर्शकलाई कस्तो प्रभाव पर्छ भन्ने बुझ्नुपर्ने हुन्छ । चलचित्र सामाजिक दायित्व बोकेको पाटो भएकोले त्यसलाई निर्देशन गर्नु कम सजिलो छैन ।
० आफूले अहिलेसम्म गरेका काममा कत्तिको न्याय गरेको छु जस्तो लाग्छ ?
मैले हरेक कार्यमा आफूले पूर्ण न्याय गर्ने कोशिसमा नै हुन्छु । विविध कारणले कुनै कुनै कुरामा कम्प्रोमाइज गर्नु पर्ने हाम्रो बाध्यता छ । तर पनि पूर्णरुपमा न्याय गर्ने कोशिस गरेको हुन्छु म । मैले आफ्नो खुबीले भ्याएसम्म राम्रो दिने कोशिस गरेको हुन्छु ।
० कतिको कम्प्रोमाइज गर्नुपर्छ ?
कम्प्रोमाइज गर्दा क्षमता देखाउन सकिदैन । सिनमाले मागे अनुसार दिन नसक्दा गाह्रो हुन्छ । बाधिनु पर्छ । भनेजस्तो तरिकाले काम गर्न पाइदैन । तर, कम भन्दा कम उपल्लब्धतामा धेरै उपलब्धी निकाल्न सक्नु पनि एउटा खुबी हो । फेरि सत्य के हो भने जति धेरै उपलब्धता हुन्छ त्यही धेरै राम्रो क्रियशन हुन्छ ।
मैले गेरका चलचित्रमा केहीको नाम लिनुपर्दा दादागिरी, डन, खलनायक, दोस्ती, टक्कर, दुई मुटुको, म छु नि तिम्रो, मेरो पैसा खोइ, जय पशुराम, अ गुड फ्रेण्ड, तिम्रो पर्खाइमा, भगवान् सबैको, आँधीतुफान, अभिमन्युलगायतका रहेका छन् । आफूले गरेका सबै काम मनपर्छ तर पनि अझ राम्रो गर्नुपाए हुन्थ्यो भन्ने जहिले रहन्छ ।
० तपाईं अलिक महंगो निर्देशक हुनुहुन्छ भन्ने छ नि ?
महगो र सस्तो भन्ने कुरा त सामानको कुरा जस्तो भयो भन्ने लाग्छ । मलाई के लाग्छ भने म हरेक काम अलिक फरक ढंगले गर्न चाहन्छु । नयाँ नयाँ प्रयोग गर्छु । जसले गर्दा राम्रो काम निस्कन्छ । केही राम्रो गर्न खोज्दा पक्कै पनि भइरहेको भन्दा अलिक बढी एक्सपेन्सिभ हुन्छ । त्यो स्वभाविक नै हो भन्ने लाग्छ । यसैमा मलाई अलिक बढी पारिश्रमिक लिने गर्छ भन्ने गरिन्छ ।
० सामाजिक रूपान्तरणमा कला क्षेत्रको कस्तो प्रभाव रहन्छ ?
मलाई के लाग्छ भने कला र साहित्यबिनाको समाज अँध्यारोमात्रै होइन, अपांग नै हुन्छ । समाजलाई स्वस्थ, सुन्दर र गतिशील बनाउन कला क्षेत्रको अहं भूमिका रहन्छ । यसर्थ, सामाजिक रूपान्तरणको भरपर्दो जग नै कला हो ।
० तपाईंको दृष्टिकोणमा चलचित्र के हो ?
सिर्जना हो, जुन सिर्जनाले मनोरञ्जनमात्र हैन, समाजलाई जागरूक बनाउँदै चेतना पनि दिन्छ । चलचित्र तत्कालीन समयको दस्तावेज पनि हो । जीवन र जगत्को यथार्थ सन्देश दिने माध्यम हो चलचित्र ।
० कलालाई आफूबाट अलग्याएर हेर्दा कस्तो अनुभव गर्नुहुन्छ तपाईं ?
कलालाई आफूबाट अलग्याएर हेर्दा आफूलाई निष्पट अन्धकारबीच निस्सासिरहेको बिरानो यात्रीजस्तो अनुभव गर्छु ।
० यो क्षेत्रमा आफूलाई कहाँनेर पाउनुहुन्छ तपाईं ?
कला क्षेत्रमा नै केही उल्लेखनिय कार्यगरौ भन्ने कलाकारहरूको उपस्थितिप्रति गर्व लाग्छ मलाई । जुन उपस्थितिबीच मेरो पनि कहीँ आफ्नै स्पेस छ । त्यो स्पेसलाई सुरक्षित र मजबुत बनाउने कुरामा म सचेत छु ।
प्रस्तुतिः शारदा देवी सापकोटा