कथा, निर्देशकीय र अभिनय पक्षहरू सबै उत्कृष्ट हुनुपर्छ
० यो क्षेत्रमा कसरी आउनुभयो ?
मेरो सानै देखिको रुची हो कला क्षेत्र । विस्तारै बुझदै र अध्ययन गर्दै यो क्षेत्रमा आए ।
० पहिलो कुन थियो ?
बद्री अधिकारीको टेलिशृंखला ‘सहयात्री’वाट औपचारिक कलाकारिता क्षेत्र सुरु भएको हो । नायिकाको भुुमिकामा पहिलो चलचित्र ‘ध्रुव’ हो ।
० पहिलो निर्देशन कुन थियो ?
चलचित्र ‘लक्ष्मी रानी’बाट निर्देशनमा डेब्यू गरेकी हुँ ।
० कलाकारिताको सुरुवात चाहिँ ?
मैले रंगमञ्चवाट कलाकारिता सुरु गरेकी हुँ ।
० अहिले के गर्दै हुनुहुन्छ ?
तपाईं हामी सबै यतिवेला कोरोना संक्रमण कारण आफूलाई सुरक्षित राख्दै काम गर्नु पर्ने अवस्थामा छांै । म पनि सुरक्षाका मापदण्डलाई ख्याल गर्दै केही म्युजिक भिडियोमा अभिनय गरिरहेकी छु । केही सिरियलमा पनि काम भइरहेको छ । यस्तै हरेक हप्ताको शनिबार आउने पारिवारिक सिरियल ‘कुल खानदान’मा पनि अभिनय गरिरहेकी छु । यसको राम्रो प्रतिक्रिया आइरहेको छ । अब यसको एक सय भागको तयारी गरिसकिएको छ । म निरन्तर छु यसमा । यस्तै कोरोना कहरबीच मैले आफ्नो आफ्नो चलचित्र ‘लक्ष्मी रानी’ युट्युबमा सार्वजनिक गरे । अहिले नयाँ प्रोजेक्टको तयारी गर्दैछु । त्यसको काम भइरहेको छ । तर, यो कोरोना संक्रमणका कारण फ्लोरमा जान भने सकिएको छैन । कोरोना संक्रमणको नियन्त्रणका लागि एक मात्र उपाय भनेको यसका विरुद्ध लगाइएको खोप नै हो । यति बेला खोप लगाउने कार्य भइरहेको छ आशा छ छिट्टै नै सहज वातावरण हुने छ र, हामी फेरि छिट्टै नै ठूलो पर्दाको ‘एक्सन कट’मा सहभागि हुने छांै । यस्तै यो बीचमा मैले केही सामाजिक कार्यमा पनि आफूलाई व्यस्त बनाउँदै आइरहेकी छु ।
० अभिनयसँगसँगै चलचित्र निर्माणमा पनि हात हाल्नु भयो भने निर्देशनमा पनि हुनुहुन्छ ?
यि सबै यही क्षेत्रका विभिन्न पाटा हुन् । म यही क्षेत्रमा छु । यो क्षेत्रबाट अलग भएकी होइन । यो सबै एक अर्कासँग सम्बिन्धित काम नै हुन् । आफूले जानेको, आफूले बुझेको कुरा किन दर्शकमाझ न पस्किने भनेर हात हालेकी हुँ । मैले छ वटा फिल्म निर्माण गरेँ, त्यसपछि निर्देशन गर्न थालेकी हुँ । अभिनय र निर्माण गर्दै जाँदा निर्देशन पनि गर्न सक्छु भनेर थालेकी हुँ ।
० लेखन कार्यतिर लाग्नुभएको छ भने चलचित्र निर्देशन पनि गर्नुभयो, निर्देशन गर्ने सोच कसरी आयो ?
लामो समयसम्म यो क्षेत्रमा रहेकी म आफैँ अझ राम्रो निर्देशन किन नगर्ने भनेर लागे । तपाईंले भने जस्तै चलचित्र लेखनमा पनि आफूलाई संलग्न गराएकी छु ।
० सबै विधातर्फ हात हाल्दा कसरी सम्भव हुन्छ ?
मलाई के लाग्छ भने सबैभन्दा ठूलो कुरा मानिसको इच्छा रहेछ । इच्छा र आफूमा खुवी भएमा धेरै कुरा सम्भव हुन्छ । फेरि एउटै कामका विविध पाटा हुन यि सबै । हामीले साढे दुई घण्टा देखि तीन घण्टा पर्दामा जुन दृश्य देख्छौ त्यो निर्माण गर्नु आफैँमा गाह्रो हो । मैले आफूले निर्देशन गरेको चलचित्रमा अभिनय गरेको छैन । चलचित्रमा निर्देशनको ठूलो जिम्मेवारी हुन्छ । मैले नयाँ कलाकारहरुलाई अवसर दिने गरेकी छु ।
० हाम्रा चलचित्रले समाजलाई के दियो जस्तो लाग्छ ?
नेपालमा आमसंचार, मनोरञ्जन र चेतना अभिवृद्धिको एउटा सबल र प्रभावकारी माध्यमको रुपमा चलचित्र माध्यमले निकै ठूलो लोकप्रियता कमाइसकेको कुरा निर्विवाद छ । नेपाली समाजमा प्राचीन कालदेखिनै प्रगाढ रुपमा जरा गाडेर बसेका अन्धविश्वास, कुरिति एवम् विविध विकृतिहरूलाई उदांगो पारेर वैज्ञानिक तथा अग्रगामी विकासका निम्ति जनमानसमा एउटा प्रमुख प्रेरक माध्यमका रुपमा आफ्नो जन्मकाल देखिनै नेपाली चलचित्रहरूले कुनै न कुनै रुपमा भूमिका खेल्दै आएका छन् ।
० चलचित्र निर्माण गर्दा ध्यान दिनुपर्ने कुरा के हो जस्तो लाग्छ ?
चलचित्र निर्माण भनेको टिमले गर्ने काम हो । टिममा सबै राम्रो हुँदा मात्रै एउटा राम्रो चलचित्र दर्शकमाझ आउँछ । हरेक कुराको ख्याल गरियो भने मात्रै राम्रो चलचित्र तयार हुन्छ । फेरि एउटा ध्रुवसत्य कुरा के हो भने कलात्मक सिर्जनाका माध्यमहरू प्रशस्त छन् । तर ति मध्ये चलचित्र माध्यम चाहिँ निर्माणका दृष्टिले सबै भन्दा महँगो र खर्चिलो व्यवसाय हो । लगानी धेरै गर्नु पर्ने हुन्छ । त्यसैले चलचित्र निर्माण गर्दा निर्माताको लगानी उठाउने र थोरै भए पनि नाफा हुनुपर्ने महत्वपूर्ण प्रावधानलाई सबैले ध्यान दिनै पर्ने हुन्छ । फेरि चलचित्र एउटा व्यवसाय हो भन्दैमा कसरी बढी भन्दा बढी नाफा आर्जन गर्न सकिन्छ भन्ने उद्देश्यद्वारा अपरिमार्जित, अपरिष्कृत र अकलात्मक रुपमा चलचित्र माध्यमको महत्वको अपमान गर्न खोज्नु हो ।
० चलचित्र भनेको के हो ?
चलचित्र श्रब्यदृश्य मनोरञ्जनात्मक साम्रग्री हो । जसले जनमानसमा चेतनाको स्तर वृद्धि गराउँदछ । फ्रान्सबाट सुरु भएको फिल्मी इतिहास अहिले विश्वभरमा निकै व्यावसायिक हुँदै गएको छ । लभ स्टोरी चलचित्र, एक्सन चलचित्र, ऐतिहासिक एवम् धार्मिक तथा बैज्ञानिक चलचित्र लगायत फरक फरक विषयबस्तुमा चलचित्र निर्माण भएको पाईन्छ । नेपाली चलचित्रको इतिहास छोटो भएपनि उपलब्धिको हिसाबले धेरै नै फड्को मारेको छ । जनमानसमा अहिले निकै नै फिल्मको प्रभाव पार्न सफल रहेको छ । चार दशक भन्दा लामो इतिहास बनाईसकेको नेपाली चलचित्रको आफ्नै गौरव गाथा छ ।
० तर कोरोना संक्रमणले त नेपाली चलचित्रलाई अन्योल बनायो नि होइन, यो अन्योलबीच चलचित्र क्षेत्र कसरी चलायमान बनाउन सकिएला ?
नेपाल सरकारले यो क्षेत्रलाई पुर्नजागृत गर्न सहयोग गर्नुपर्छ । चलचित्रकर्मीको करोडौं लगानी ‘होल्ड’मा छ । चलचित्र प्रदर्शन हुन पाएको छैन । शुटिङ रोकिएको छ । बैंकबाट ऋण लिएर चलचित्र निर्माणमा, हल निर्माणमा लगानी गरेका छन् । अहिले उनीहरूको आर्थिक स्रोत नै बन्द हुँदा ठूलो समस्या पैदा भएको छ । चलचित्र क्षेत्रलाई बचाउनका लागि राज्यले लगानी गर्नुपर्छ । त्यो विविध तरिकाले गर्न सक्छ । ऋण मिनाहा गरिदिएर, विभिन्न शीर्षकमा लाग्ने कर, शुल्क छुट गर्नुपर्छ ।
० चलचित्र अब डिजिटल जानुपर्ने अवस्था आउन लागेको हो ?
तपाईंले भने जस्तै डिजिटल माध्यमबाट जान त सकिन्छ । तर, ठूलो लगानी उठाउन सक्ने सम्भावना कम हुन्छ । किनभने अहिले हामीसँग भएको डिजिटल प्लेटफर्म थोरै दर्शकको पहुँचमा छ । त्यसैले थोरै लगानी भएका फिल्महरू मात्रै रिलिज गर्न सकिने अवस्था छ । त्यसरी कतिपयले गरिरहेका पनि छन् ।
० अबका चलचित्र कस्तो हुनुपर्छ ?
अब चलचित्र निर्माण गर्दा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालका हुनुपर्छ । कथा, निर्देशकीय, अभिनय पक्षहरू सबै उत्कृष्ट हुनुपर्छ । अबको युग भनेको डिजिटल युग हो । यो युगमा बाँच्नका लागि, स्थापित हुनका लागि उत्कृष्ट काम नगरे यत्तिकै हराएर गईन्छ । अब बन्ने चलचित्रहरू नयाँ कथा र शैलीमा मौलिकतासहित आउँछ जस्तो लागेको छ ।
० नेपाली सिनेमाको रूपान्तरण सुरु भएको हो ?
हो, तपाईंले भने जस्तै वर्तमान समयमा नेपाली सिनेमाको रूपान्तरणको प्रयास सुुरु भएको छ । सिनेमाले अहिले मौलिकता खोजिरहेको छ । जति स्थानीय भयो, मौलिकता त्यति नै बलियो हुने हो । हिजो हामीलाई बलिउडले एकदमै प्रभावित ग¥यो । त्यसपछि अरू सिनेमाहरूको प्रभाव हामीमा प¥यो । कहिले कोरियन, कहिले मद्रासी र कहिले हलिउडको प्रभाव ग्रहण गरिरह्यौं । तर, अहिले मौलिकताको खोजी भइरहेको छ । चलचित्रको विषय र भाषालाई जति स्थानीयकरण गर्न सक्छौं, त्यो त्यति अन्तर्राष्ट्रिय हुँदो रहेछ । त्यति नै दर्शकले माया गर्दा रहेछन् । पछिल्लो समय यो बोध भएको छ ।
० गुणत्मक रुपमा हाम्रा चलचित्रले अग्रता लिन नसकेको भन्ने छ नि ?
नेपाली चलचित्रको गुणात्मकताको कुरा गर्ने हो भने नढाँटिकनै भन्नुपर्छ यसले अग्रता लिन सकेको छैन नै । यसका विभिन्न कारणहरूमध्ये मुख्य कारण बाह्य चलचित्रको प्रभाव नै हो । जब हाम्रा निर्माता, निर्देशक, पटकथा लेखक बाह्य चलचित्रको प्रवाहबाट जब बाहिर निस्कन्छन्, तब नेपाली चलचित्रले अवश्य गुणात्मकता पस्किने छ ।
प्रस्तुति ः शारदा देवी सापकोटा