October 13, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

स्वच्छाचारिताको विचित्र नमुना हामीले भोगिरहेका छौं



वि.स. २००१ साल पौष १८ गते साविक तनहुँसुर गाउँ विकास समिति–९, तनहुँमा बुवा गोबद्धर््न पोखरेल र आमा दौपदा पोखरेलका सुपुत्रका रुपमा जन्मनुुभएका रामचन्द्र पोखरेल निर्मल हाई स्कूल दमौलीका संस्थापक प्रधानाध्यापक समेत हुनुुहुन्थ्यो । वि.स २०७० सालको दोस्रो संविधानसभाबाट सभासदमा निर्वाचित हुनुभयो । २०४९ सालमा जिल्ला विकास समिति तनहुँको सभापति भएर काम गर्नुभएका पोखरेल, नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा मूख्य सचिव भएर पनि काम गर्नुभयो । नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा झण्डै तीन वर्ष जेल जीवन बिताउनुभएका पोखरेल नेपालमा पत्रकारिताबाट स्नातक गर्ने पहिलो व्यक्ति पनि हुनुुहुन्छ । पोखरेलका थुप्रै लेख रचनाहरु प्रकाशित भएका छन् । संविधान सभामा सदस्य भएर समाजवाद उन्मुख संविधानको निर्माणमा योगदान पु¥याउनुभएका उहाँले अहिलेको अस्थिर राजनीतिक अवस्थालाई कसरी हेर्नुहुन्छ ? यसै विषयमा डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले गरेको छोटो अन्तवार्ताः


० तपाई झण्डै ६० वर्ष राजनीतिमा बिताउँनुभयो । प्रजातन्त्रका लागि तीन वर्ष जेल जीवन बिताउँनुभयो । २०७० सालको दोस्रो संविधानसभामा सभासद पनि हुनुभयो । अहिले तपाईहरुले बनाएको संविधानका अनुसारका प्रधानमन्त्रीले संसद पनि भंग गर्नुभयो । कस्तो लागिरहेको छ ?
यो घट्ना मेरो लागि एकदमै अनेपक्षित लाग्छ । यस्तो होला भनेर मैले सोचेकै थिँइन । झण्डै दुई तिहाई सीट ल्याएर बनेको पार्टीका प्रधानमन्त्री (सिटिङ प्राइमिनिष्टर) ले पार्टीभित्रको विरोधको वावजुद अचानक रुपमा सदनको विघटन गर्नु मेरा लागि अनपेक्षित लाग्दछ । वि.स. २०१७ सालमा दुई तिहाई सिट ल्याएको नेपाली कांग्रेसका सरकारलाई तत्कालिन राजा महेन्द्रले जसरी विघटन गरे । त्यसै गरी २०१७ साल पौष १ गते जस्तै यस पटक पुष ५ गते घट्ना घट्न पुग्यो ।


० अहिले प्रधानमन्त्रीको कदमको नेपाली कांग्रेसले प्रष्ट रुपमा खुलेर विरोध गरिरहको छैन भनेर आरोप लगाइएको छ नी ?
भित्री कुरा त मलाई थाह हुने कुरा पनि भएन । तर, पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयमा अहिले प्रधानमन्त्रीले चालेको कदमको घोर विरोध छ । कार्यक्रमको हिसावमा शनिवार मात्रै पार्टीका शुभेच्छुक संस्थाहरुले विरोध कार्यक्रम सम्पन्न गरेका छन् । यसरी पार्टीका विभिन्न तहबाट विरोध कार्यक्रमहरु भइरहेका छन् । कुनै तह बाँकी छैनन् । प्रधानमन्त्रीको यो कदम गैरसंवैधानिक भयो सच्चाउनुपर्दछ भनेर विरोध गरिरहेका छौं । व्यक्तिगत कुरा गर्दा यो पार्टी अलिक उद्धार पनि छ । पार्टी भित्र वैचारिक स्वतन्त्रताको परम्परा पनि छ । तर, निर्णय भइसकेपछि मान्ने परम्परा पनि छ ।


० प्रधानमन्त्रीले अध्यादेशमार्फत संविधान संशोधन गरी संवैधानिक निकायर्मा नियुत्तिको सिफारिस गर्नुभयो । अहिले ३२ जनाको पद बहाल पनि भइसकेको अवस्था छ । तपाई के भन्नुहुन्छ ?

स्वच्छाचारिताको विचित्र नमुना हामीले भोगिरहेका छौं । अहिले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली सरकारका प्रमुख छन् । हामीले २०६२/०६३ को जनआन्दोलनमा साथ लिँदै आएको तत्कालिन नेपाल कम्युनिस्ट पार्टी एमालेको धार जुन नेपाली कांग्रेससँग पनि नजिक रहेको मानिएका केपी शर्मा ओलीजी संविधानको मर्म र भावनाको उद्देश्य भन्दा बाहिर जानुहुन्न भन्ने लाग्थ्यो । तर, अहिले हामीले के देखिरहेका छौ भने, अझै पनि कम्युनिस्ट पार्टीमा एक खालको ‘डिक्टेटरसीप’ तानाशाहीको भावना जिउँदै भएको जस्तो लागिरहेको छ ।


० प्रधानमन्त्री ओलीले त आफ्नै पार्टीका नेताहरु माथि पनि त तानाशाही (डिक्टेटरसिप) चलाउँनुभएको आरोप छ नी ?
यस बारे मेरो केहि भन्नु छैन । किनकी यो त उहाँहरुको पार्टीभित्रको झगडा हो । पार्टी मिलोस र एक भएर संविधानको रक्षा गरोस् । हामीले हाम्रो पार्टीको मात्रै स्वार्थ हेर्ने हो भने अहिलेका दुबै समूहले दुई वटा पार्टीका चुनाव चिन्ह नपाए पनि फुटतर्फ नै लम्किदैछ । अलग अलग नेतृत्व र अलग अलग केन्द्रीय समिति बनाउने दौडधुप भइरहेको छ । यो अवस्थामा पार्टीगत रुपमा त कांग्रेसलाई फाइदा नै हुनुपर्दथ्यो । कम्युनिस्ट पार्टीमा फुट आएका कारण जनमत त हाम्रोतर्फ नै छ । तर, हामीलाई निर्वाचन भन्दा पनि देशको संविधान ठूलो मानेका छौ । किनकी चुनाव त आफ्नो समयमा होला नै । तर, विघटित संसद पुनःस्थापना हुनुपर्छ भन्ने नै हाम्रो बटम लाइन हो ।


० प्रधानमन्त्री ओलीले एक पछि अर्को गर्दै संविधानलाई बल मिच्याई गर्दै आउनुभएको छ । निर्वाचन तोकिएको समयमा होला भन्ने लाग्छ ?
तपाईले सहि प्रश्न गर्नुभयो । हामी चुनाव भनेर बस्न नसकेको अवस्था अर्को पनि छ । जसले यसरी संविधान मिच्छ भने निर्वाचनको मिति सार्न त झनै सहज हुने नै भयो नि ?
कोभिड महामारी र अन्य परिस्थितिको बहाना देखाएर सार्न सक्छन् । त्यसैले हामीलाई एक पछि अर्को गर्दै संविधान मिचिँदै जाने डर हो । हामी अहिले चुनावमा जान डराएको होइन । सरकार, प्रधानमन्त्रीको र राष्ट्रपतिको हैसियत भन्दा कैयौं गुणा नाघेर काम गरेको हामीले महसुस गरेका छौं । यो नै ज्यादै चिन्ताको विषय हो ।
० प्रधानमन्त्री ओलीको स्वच्छचारिता बढ्नुमा बिपक्षी पार्टी नेपाली कांग्रेसको विरोध नगर्ने शैलीको पनि आलोचना गरिएको छ नी ?
कांग्रेसले सरकारको विरोध शालिन ढंगले, लोकतात्रिक तौर तरिकाले गर्दै आएको छ । त्यसलाई सडक तोडफोड गरेन, अशान्ति मच्चाएन भनेर हामीले नै नबुझेको हो कि भन्ने जस्तो आलोचना गरिएको छ । तपाईले के ख्याल गर्न जरुरी छ भने, जब २०३३ सालमा बिपी कोइराला मेलमिलापको नीति लिएर नेपाल आउनुभयो । प्रवासको बसाई छाडेर स्वदेश फर्कनुभयो, जुन बेला नेपाल आउनु नै कति खतरनाक थियो, त्यसैलाई नै तोडेर प्रवाह नगरी नेपाल आउनुभयो । त्यसरी नेपाल आउँदा यहाँका कम्युनिस्टहरुले राजा र कांग्रेस मिलेर हामी विरुद्धमा डिजाइन हुँदैछ भन्न किसिमको ब्याख्या गरे । अहिले कम्युनिस्ट साथीहरु बिपीको राष्ट्रवादीताको बारेमा कुनै शंका गर्दैनन् । स्वयम् पुष्पकमल दाहाल प्रचण्ड सुन्दरीजलको बिपी संग्राहलयमा गएर दुई घण्टा बसेपछि खाना खाएर भाव विभोर भएका थिए । साथै बिपीको प्रशंसा गरेका थिए । उहाँहरु कति दूर दर्शिता राख्नुुहुन्छ भन्ने कुरामा त विगतका घट्नाहरुबाट नै प्रष्ट हुन्छ । हामीले बेला बखतमा लिएका अडानहरुमा उहाँहरु पनि बुझदै जानुहुन्छ ।
अहिलेको अवस्था के हो भने तपाई चुनावको बारेमा मात्रै होइन अलिक फरक सोच्नुभयो भने थाह हुन्छ, त्यसपछि मात्रै मुलुकमा कति सतर्क रहँनुपर्ने अवस्था छ भन्ने कुराको महसुस गर्नुहुन्छ । अहिले यो मुलुकले होशियारी पूर्वक हाम्रो राष्ट्रियतालाई अक्षुुष्ण राख्नुपर्ने अवस्था छ । त्यसलाई धारासायी बनाउने काम वर्तमान सत्ताले गरेको छ । जुन एकदमै घातक हुन्छ भन्ने महसुस गरिरहेका छौं । त्यसैकारण हामीले संविधान र वैधानिक बाटोको जोड दिएका हौं ।


० झण्डै एक वर्ष देखि प्रधानमन्त्री सिंहदरबारको कार्यालयमा जानुभएको छैन । कोभिड–१९ को महामारीमा पनि जनताले राहत पाउन सकेनन् । तपाईहरुको मुल्यांकन के हो त ?

वास्तवमा लोकतन्त्र एक खालको प्रक्रियामा हुन्छ । ‘डेमोक्रेसी’ भनेको आफुले पालना गर्ने र पालना गराउने हो । यसरी आफुले प्रक्रिया पालना गर्ने अरुलाई गराउँने हो । यो खालको व्यवस्था नै डेमोक्रेसी हो । हामीले नै डेमोक्रेसीका नियम पालना गरेनौं भने भोलि अर्कोले पनि हामीलाई मिच्न सक्छ । यो कुरा नबुझेर आफैले नियम मिच्दै गएपछि भोलि आफैले दुःख पाउने अवस्था सिर्जना हुन्छ । अहिलेको अवस्था भनेको बल्ल बल्ल लामो समयपछि झण्डै दुई तिहाईको सरकार बनेको थियो । अब त पाँच वर्ष टिक्ला कि भन्ने आशा र अपेक्षा थियो । हाम्रो देशमा कहिल्यै पनि पाँच वर्ष सरकार नटिकेको अवस्था हो । त्यसैकारण यो पटक हामीले स्थायित्व प्राप्त गर्नेछौं भनेर शालिन तरिकाले विरोध गर्दै आयौं । त्यसलाई सरकार सञ्चालन गर्नेहरुले कमजोरी नै ठान्नुभयो । बुद्धिजिबीहरुले पनि हामीलाई प्रमुख प्रतिपक्षी दल धेरै शालिन भयो भन्ने आरोप लगाउनुभयो । अपेक्षित विरोध भएन भन्ने उहाँहरुको आलोचना थियो । संविधानको बर्खिलाप हुँदा हामी चुप लागेर बसेका छैनौं ।


० प्रधानमन्त्रीले आफुलाई मन नपर्ने बित्तिकै संसद भंग गरिदिने जस्तो व्यवहारबाट मुक्ति पाउनकै लागि तपाईहरुले संविधानमा बाद्यकारीे प्रावधान राख्नुभयो । तर, त्यसबाट पनि रोकिएन । अवको अवस्था कसरी अघि बढ्ला त ?

यो बढो गम्भीर प्रश्न छ । यसको उत्तर शव्दमा व्यक्त गर्न अलिक कठिन छ । नेपाली कांग्रेसले २०६२/०६३ को जनआन्दोलनमा दुई वटा शक्तिलाई समन्वय गरेको थियो । जसमा एउटा जंगलबाट आएको र अर्को संविधानको दायरामा आएका छौं भन्ने शक्ति । यो दुई वटै धारलाई एकैचोटी मुलधारमा उनीहरुलाई स्वीकार गराउनु कति भूमिका निर्वाह गर्नु प¥यो ? त्यो अवस्थालाई सम्झन सक्नुहुन्छ । हामीले सात राजनीतिक दलका माध्यमबाट त्यसका संवैधानिक पाटोबाट हामीहरु लागिरहेका छौं, भन्ने वामपंथी साथीहरुलाई पनि साथ लिएर अभ्यास गरेका थियौं । त्यसै गरी जंगलमा रहेको शक्तिलाई पनि हामीले वैधानिक बाटोबाट राष्ट्रियताको मुलधारमा ल्याउनका लागि पहिल गरेका थियौं । त्यसमा हामी सफल पनि भयौं । त्यसका लागि नेपाली कांग्रेसका नेता गिरिजा प्रसाद कोइरालाको मुख्य भूमिका रह्यो । उक्त समयमा म पनि नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मूख्य सचिव बनेर काम गरेको थिएँ । त्यो समयमा गिरिजा बाबुले कसरी सोच्नुहुन्छ ? भन्ने लाग्दथ्यो । उहाँ डेमोक्रेसी प्रति अत्यन्तै समर्पित व्यक्तित्व हुनुहुन्थ्यो । जसले काम पनि त गरेरै देखाउनुभयो । बिपी कोइराला देखि (किसुनजी) कृष्ण प्रसाद भट्टराई, सुवर्ण शम्शेरसम्मले डेमोक्रेसीका लागि कति योगदान गर्नुभयो ? शुवर्णजीले नेपाली कांग्रेसले समाजवादको घोषणा गरेपछि १० हजार विघा जमिन सरकारलाई नै बुझाइदिनुभयो । वीरगञ्जको १० हजार विघा जमिनको मूल्य अहिले कति पर्ला ? नेपाली कांग्रेस त्यो खालको स्कूलिङबाट आएको हो । यसरी नेपाली कांग्रेसले कहिल्यै पनि लोकतान्त्रिक पद्धतिको तोडमोड गरेन । यसरी सरकारले गरेका गैर संवैधानिक कामको विरुद्धमा नेपाली कांग्रेसले तोडफोड गरेन भन्नु भन्दा पनि इतिहासतर्फ हेरेको खण्डमा हामी प्रति नै न्याय हुन्छ ।
० तपाई पत्रकारितामामा पहिलो स्नातक हुनुहुन्छ । नेपालको पत्रकारिताको विकासलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
अहिले नेपालको पत्रकारितामा अदभूत विकास भएको छ । तर, गुणस्तरीयताको भने अझै ध्यान पुगेको छैन । गुणस्तरीयता कायम गर्न सकियो भने नेपालको पत्रकारिता विश्वमा नै नमुना बन्न सक्छ
० अन्तमा…?

हाम्रो गण्डकी प्रदेशका पत्रकारबाट सञ्चालित पत्रिकाले मलाई सम्झेर मेरा विचार राख्ने मौका दिनुभएकोमा अत्यन्तै आभारी छु । तपाईलाई धन्यवाद पनि दिन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.