नेकपा पार्टी घोषित रुपमै विभाजन भयो भने दलहरुको काबु भन्दा बाहिर पनि जान सक्छ
वि.स.२०३४ साल फागुन १४ गते फेदाप गाउँपालिका ५, तेह्रथुममा जन्मनुभएका बाबुराम थापा नेकपा एकता राष्ट्रिय अभियानका सचिव हुनुुहुन्छ । २०४७ सालमा ८ कक्षामा अध्ययन गर्दा गर्दै इसिबु मावि तेह्रथुमको अनेरास्वबियु प्रारम्भिक कमिटीको सचिव भएर काम गर्नुभएका थापा २०५२ मा नेकपा एमालेको पार्टी सदस्य, २०५८ सालमा प्ररायुसंघको जिल्ला अध्यक्ष र २०६३ सालमा केन्द्रीय सदस्य, २०६६ सालमा युवासंघको केन्द्रीय सचिव, २०७२ मा किसान महासंघको उपमहासचिव, २०७२ मा नेकपाको कोशी अञ्चल सदस्य, २०७५ मा किसान महासंघको स्थायी कमिटी सदस्य भएर काम गर्नुभयो । उहाँ अहिले बिभाजनको संघारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै समूहलाई एकता गराउने अभियानमा संयोजन गर्ने समूहका सचिव भएर काम गरिरहँनुभएको छ । उहाँसँग ब्यस्तताका वावजुद डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले गरेको समसामयिक कुराकानीः
० नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा अलिक मोह जागेरै ढिला सुस्ती भएका हुन् कि ?
० दलहरु र निर्वाचन आयोगले गर्नुपर्ने आन्तरिक तयारी हेर्दा वैशाखमै चुनाव होला जस्तो लाग्दैन ।
० दुबै समूहले प्राप्त गर्ने भनेको नै असफलता हो ।
० राम्रो उम्मेदवार र पार्टीलाई बिजयी गराउने जनताको उत्साह र चाहना हुन्थ्यो, त्यो अवस्था अहिले देखिइदैन ।
० बिभिन्न कालखण्डमा एकता र सहकार्य गरिएको सुन्दर पक्ष पनि छ ।
० दुबै समूहले प्राप्त गर्ने भनेको नै असफलता हो ।
० फुट भयो भने निर्वाचन पछि प्राप्त हुने मतले पार्टी भित्र विद्रोहको अवस्था सिर्जना हुन्छ ।
० तपाई नेकपा एकता राष्ट्रिय अभियानको सचिव हुनुहुन्छ । एकताका लागि कसरी काम गरिरहँनुभएको छ ?
हामीले भरखरै मात्र नेकपा एकता राष्ट्रिय अभियान केन्द्रीय तहको घोषणा गरेका छौं । अहिले प्रदेश र जिल्ला तहसम्मका कार्यक्रमको तयारी भइरहेको छ । केन्द्रीय तहमा पार्टी एकता अभियान अगाडि बढाउने सन्दर्भमा पार्टी एकताको सान्दर्भिकताका विषयमा पार्टीका उच्च तहका नेताहरुसँग छलफल र परामर्श भइरहेको छ ।
० अहिले निर्वाचन आयोगले पार्टी एक नै रहेको सन्देश दिएको छ । त्यसैले पनि दुबै पक्षलाई मिलाउनका लागि जोडबल कस्तो रहन्छ ?
मुलतः निर्वाचन आयोगको प्रक्रियाले एउटा मानसिकताको विकास गरेको छ । सर्वोच्च अदालतको फैसला कुर्ने केहि नेताहरुको मानसिकता रहेको बुझिन्छ । तथापि अहिले पनि पार्टी एकताको सन्दर्भमा १० लाख पार्टी सदस्यको जनमत लिने हो भने ७० प्रतिशत भन्दा बढि कार्यकर्ताहरु एकताका पक्षमा हुनुहुन्छ । ति कार्यकर्ताहरु तटस्थ हुुनुहुन्छ । यसरी नेकपा पार्टीको ‘क्रिम फोर्स’ एकताकै पक्षमा छ । उहाँहरु कुनै समूहमा लागेको अवस्था देखिइदैन ।
० अहिले दुबै पक्षबाट एक अर्कालाई आक्षेप लगाउने, खुइल्याउने गरिएको छ नी ?
राजनीतिक संस्कार र संस्कृतिको प्रदर्शन गर्नुपर्छ र सिकाउनुपर्दछ । त्यसलाई व्यवहारमा उतार्नुपर्दछ भनेर हामीले भनिरहेका छौं । अहिले उच्च तहका नेतृत्वहरुबाटै जुन शव्दमा प्रहार गर्ने काम भइरहेको छ, त्यो राजनीतिक संस्कार अनुरुपको छैन ।
० सामाजिक सञ्जालमा पनि एक अर्को प्रति कटाक्ष गरिएका छन् । यस विषयमा एकता अभियानको केहि भूमिका रहन्छ कि ?
वास्तवमा मानिसका गल्तिहरु औल्याइदिने हो । लामो इतिहास र भूमिका निर्वाहमा रहेका बिभिन्न कालखण्ड पार गरेर आएका नेताहरु आफै सच्चिन जरुरी छ । यसरी जुन खालका संस्कार प्रदर्शन भएका छन् । ति कम्युनिस्ट आचरण अनुसारका छैनन् सबै गलत छन् ।
० पार्टीमा पछिल्लो समयमा सचिवालयमा प्रस्तुत भएका १९ पेज र ३८ पेजका दुबै थरीबाट आएका राजनीतिक पटाक्षेप पछि फुटको संघारमा उत्रियो । त्यहि समयमा यो एकताका लागि बढि पहल हुनुपर्दथ्यो होला नि ?
पहिलो कुरा हामीले कमिटीगत प्रणाली भुलेका हौ कि ? कुनै समय हामीले अनेरास्ववियु वा पार्टीको तल्लो तहमा रहेर काम गर्दा पार्टीका बैठकहरु समापन हुने सन्दर्भमा आलोचना र आत्मआलोचना भनेर एजेण्डाकै रुपमा राखिने गरिन्थ्यो । पार्टीका अन्तरबिरोधहरु संस्थागत रुपमा मात्रै बाहिर आउँथे । पार्टीका नौ जना सचिवालय सदस्यहरुबीच नै समझदारी गरेर अघि बढेको भए हुन्थ्यो । त्यहाँ भित्रका कुराहरु बाहिर ल्याउन जरुरी थिएन । भित्रै व्यवस्थापन गरको भए हुन्थ्यो । किनकी हिजो नेकपामा पार्टीको दुबै तहबाट निस्कर्ष निकालेर सहमति गरिन्थ्यो । अहिले त कुनै सैद्धान्तिक असहमतिहरु नै छैनन् । कार्य सञ्चालन र नेतृत्वको व्यवस्थापनका सन्दर्भमा मात्रै असहमति भएका हुन् । त्यहि भित्रबाट निकास दिएर सहमति गर्ने वातावरण बनाएको भए राम्रो हुन्थ्यो । कार्यकर्तालाई दुई भागमा विभाजन गर्ने काम नेतृत्वले जसरी गरिरहेको छ, त्यसमा बिल्कुल राजनीतिक संस्कार भन्दा तल झरेको छ ।
० नेतृत्वले चाहे जसरी जनताहरु विभाजन नभएको खण्डमा भोलिका दिनमा एक पक्षको अवस्था त धेरै नै दयनीय हुने देखिन्छ नि ?
दुबै पक्षले आफ्ना भेलाहरुमा शक्ति प्रदर्शन गर्ने काम भइरहेका छन् । हाम्रो शक्ति प्रदर्शन समृद्धिको यात्रा तर्फ समाजवादको निर्माण गर्ने अभियानतर्फ अगाडि बढेको भए हुन्थ्यो । हामी हिजो राजाका निरंकुशताका विरुद्ध जुन ढंगले जनपरिचालन गरेका थियौं, त्यहि अवस्थामा हामी ‘युटर्न’ भएका छौं । यो बिल्कुलै राम्रो परम्पराको सुरुवात होइन । केका लागि पुनः आन्दोलनमा उत्रिने ? हामीले राजालाई फालेर गणतन्त्र ल्यायौं । तर, पनि त्यहि अवस्थामा किन पुगेका हौं । हामी यहि अवस्थामा निर्वाचनमा जाँँदा जनताहरु भाग लिन्छन् भन्ने अवस्था देखेको छैन । निर्वाचन प्रति जुन राम्रो उम्मेदवार र पार्टीलाई बिजयी गराउने जनताको उत्साह र चाहना हुन्थ्यो, त्यो अवस्था अहिले देखिइदैन । जनताहरु निरास छन् । यहि निस्कर्षमा हामीहरु छौं ।
० झण्डै ६ दशक कम्युनिस्ट पार्टीमा काम गरेका नेताहरु यो निर्णयमा पुग्नुमा तपाईलाई कस्तो लाग्छ ?
हो, उहाँहरुले लामो योगदान दिनुभएको छ । त्यसको पछिल्लो पुस्ताले सम्मान गर्न जरुरी छ । तथापि पछिल्लो समयमा नेतृत्वलाई अवसरको मोह जागेको पो हो कि ? नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा अलिक मोह जागेरै ढिला सुस्ती भएका हुन् कि ? त्यसैकारण नेताहरुले विगतमा जुन प्रकारका उच्च स्तरका सहमति गरेर अघि बढेका थिए, पुनः एकपटक आफुसँग भएका कमि कमजोरीहरुलाई आलोचना र आत्मआलोचना गरेर फेरी पनि उच्च स्तरको सहमति गर्न जरुरी ठान्दछु ।
० सत्ता हस्तान्तरण र पुस्तान्तरणकै कारणले अहिलेको बिग्रह आएको जस्तो लाग्छ । यस्को विकल्प के होला त ?
नेपालको कम्युनिस्ट आन्दोलन इतिहास हेर्दा विभाजन र बिखण्डनले ग्रसित भएको अवस्था देखिन्छ । कतिपय अवस्थामा त कम्युनिस्ट आन्दोलन नै समाप्तीका दिशामा पुगेको हो कि भन्ने देखिन्छ । तर, बिभिन्न कालखण्डमा एकता र सहकार्य गरिएको सुन्दर पक्ष पनि छ । जसबाट ठूला ठूला सफलता हासिल भएका पनि छन् । अहिले नै पार्टी एकता हुँदैन भन्ने अवस्था छैन । हाम्रो ‘रियल ग्राउण्ड’ के हो ? त्यहि आधारमा अघि बढाउँनुपर्दछ । साथै त्यसको व्यवस्थापकीय हिसावले ध्यान दिनुपर्दछ ।
० आगामी २०७८ साल वैशाखमा संघीय प्रतिनिधिसभाको चुनाव हुन्छ भन्ने लाग्छ ?
चुनावको घोषणा गरिसकेपछि कसरी हुँदैन भन्नु । तर, विगतका निर्वाचनका तयारीहरुलाई हेर्ने हो भने अहिले माघ महिना पनि बित्न लागिसकेको छ । दलहरु र निर्वाचन आयोगले गर्नुपर्ने आन्तरिक तयारी हेर्दा वैशाखमै चुनाव होला जस्तो लाग्दैन ।
० वैशाखमा चुनाव हुन सकेन भने पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी जस्तै मन्त्री परिषद्को अध्यक्षमा वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरालाई अध्यक्ष बनाएर चुनावी सरकार बनाउने अवस्था आउँछ भन्ने बजारमा हल्ला छ नी ?
अहिलेको राजनीतिको मूख्य मियो (केन्द्र) नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हो । यो पार्टी पुनः एकता भएर अघि बढ्यो भने राजनीतिक स्थिरता हुन्छ । यदि नेकपा पार्टी घोषित रुपमै विभाजन भयो भने दलहरुको काबु भन्दा बाहिर पनि जान पनि सक्छ । त्यसपछि कुनै पनि विकराल अवस्था आउन सक्छ ।
० अहिले बाहिरी रुपमा संसद पुनः स्थापनाका कुरा गरेपनि कतिपय नेताहरु भित्री निर्वाचनमै जाने मनस्थिति रहेको बुझिन्छ । त्यसैले भित्री रुपमा खुलेर समर्थनमा देखिइदैनन् नि ?
संविधान र कानूनको ब्याख्या गर्ने हाम्रो उच्च निकाय भनेकै सर्वोच्च अदालत हो । संसद पुनः स्थापना हुने कि नहुने भन्ने विषयमा बहस भइरहेको छ । सर्वोच्च अदालतको निर्णय प्रक्रियालाई बाधा र प्रभाव पार्ने गरी हामीले क्रिया वा प्रतिक्रिया जनाउनु हुँदैन । अदालतले जनताका पक्षमा विश्वशनीयताको वातावरण सिर्जना गराएर संविधान बमोजिम नै फैसला गर्नेछ । त्यस अघि नै हामीले टिका टिप्पणी गर्नु वान्छनीय हुँदैन ।
० कम्युनिस्ट पार्टीले निर्वाचनमा गएर झण्डै दुई तिहाईको स्थानमा जित हासिल गर्दा पनि यो अवस्था आउनुले भविश्य कस्तो देख्नुभएको छ ?
विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमै नेपालको कम्युनिस्ट आन्दोलनले सफलता हासिल गरेको छ । अहिले पार्टी विभाजित भएर एकता भंग भयो भने, दुबै समूहको जत्ति र जसरी अनुमान गर्नुभएको छ, त्यो सफलता हासिल हुन सक्तैन । दुबै समूहले प्राप्त गर्ने भनेको नै असफलता हो । विगतका अनुभवले पनि के बताउँछ भने, जब जब हाम्रा फुटका कारणले संकट उत्पन्न हुन्छ, त्यो अवस्थामा कम्युनिस्ट पार्टीहरुबीच एकता र सहकार्य हुने विगतको अनुभव छ । फुट भयो भने निर्वाचन पछि प्राप्त हुने मतले पार्टी भित्र विद्रोहको अवस्था सिर्जना हुन्छ । त्यो बिद्रोहले कम्युनिस्ट पार्टीहरु बीचमा एकताको वातावरण सिर्जना गराउँछ । त्यसको नेतृत्व पार्टीका अगुवा कार्यकर्ताहरुबाट हुन्छ । र, विभाजित कम्युनिस्ट पार्टीहरुबीच एकता हुन्छ ।
० कम्युनिस्ट पार्टीमा लागेकै कारण अवसरहरु पनि गुमेका हुन्छन् । तपाईलाई दुःखको अनुभव र सुखको अनुभूति कहिले लाग्यो ?
म व्यक्तिगत रुपमा केहि प्राप्त नगर्दा र आन्तरिक रुपमा असफलता प्राप्त गर्दा जत्ति चिन्ता लाग्ने गर्दथ्यो, त्यो भन्दा बढि चिन्ता पार्टी पराजित हुँदा, कम्युनिस्ट आन्दोलनले धक्का खाँदा लाग्ने गर्दछ । म व्यक्तिगत जीवनमा केहि पाउँछु कि भनेर किटानीका साथ कम्युनिस्ट राजनीतिमा लागेको होइन । म ब्यक्तिगत लाभका लागि ठूलो अपेक्षा गरेको छैन ।
० अन्तमा कहि भन्नु छ कि ?
हामीले नेकपा एकता राष्ट्रिय अभियानको सुरुवात गरेका छौं । यसको नेतृत्व नेकपाका उपाध्यक्ष वामदेव गौतमले गर्नुभएको छ । यो अभियान हामीले प्रदेश, जिल्ला र पालिका तहसम्म पनि पु¥याउने छौं । म पार्टीमा इतिहास बोकेका र अग्रज साथीहरुलाई के अनुरोध गर्न चाहन्छु भने पार्टी एकताको अभियानलाई अघि बढाउने सन्दर्भमा सबैले साथ दिनुहोस् । त्यसो गरेको खण्डमा पार्टी एकता सम्भव छ । त्यसका लागि साथीहरु जुन ठाउँमा हुनुहुन्छ, त्यहि ठाउँबाट नेकपा पार्टीको एकताका लागि पहल गर्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु ।