नेपालका प्रथम चार्टर्ड एकाउन्टेन्टको अन्तरकथा नौ कक्षामा गणितमा शून्य, एसएलसीमा फेल !
नेपालका प्रथम चार्टर्ड एकाउन्टेन्ट, २०४८ सालमा सप्तरीबाट निर्वाचित सांसद तथा पर्यटन तथा नागरिक उड्यनमन्त्री कुबेर प्रसाद शर्माको फागुन १४ गते ८४ वर्षको उमेरमा निधन भएको छ । उहाँसँग कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले अन्तवार्ता लिएर २०७३ साल पौष ११ गते डायरी एक्सप्रेस साप्ताहिकमा छापिएको महत्वपूर्ण अंश । असामायिक निधन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तृप्त परिवारमा समवेदना प्रकट गर्दछु ।
जन्म कहाँ र कहिले भयो ?
मेरो जन्म वि.स. १९९४ साल असार ५ गते मावली घर मकवानपुरगढी गाउँमा भएको हो । त्यस बेलाको चलन अनुसार माइतीमा बच्चा जन्माउनु हुन्न भन्ने चलन भएकाले मेरो आमा सोम कुमारीले मलाई जन्माउँदा समेत ढिकीघरमा सारिएको थियो ।
तपाईको बुवाको विवाह सप्तरीबाट मकवानपुरमा कसरी भयो ?
मेरो पिताजी रामप्रसाद उपाध्याय पोखरेलको विवाह पनि अनौठो किसिमबाट भएको छ । मेरो पिताजीको घर हिन्दूस्तानको बोर्डरमा भए पनि खार्पा र कुभिण्डेका नाम चलेका पोखरेलहरू थिए । जस्ले पृथ्वी नारायण शाहलाई नेपाल राज्यको एकीकरणमा मद्दत गरेका थिए । त्यसैले हाम्रा पुर्खाले सप्तरीको नर्घोमा विर्ता समेत पाएको हुँदा इज्जत उत्तिकै थियो । साथै मेरो मावली रिजालहरूको मकवानपुर गढीमा पनि सेन राजाको राजधानी थियो । हाम्रा मामाहरू पनि सेन राजाको दरबारमा पहुँच भएका मानिसहरू मध्ये पर्दर्थे । मेरा मामाका पाँच जना दाजुभाइ थिए । साथै पाँचै जनाले राम्रो जागिर पाएका थिए । यातायातको सुविधा नभएको त्यो समय पूर्वी तराईबाट मकवानपुर पुगेर विवाह गर्नु भनेको नै ठूलो संघर्ष थियो । त्यो समयमा पहाडमा सम्पन्न परिवारका महिलाहरूलाई
पनि अत्यन्त दुःख थियो । गाउँबेसी गर्नुपर्ने, निकै परबाट पानी बोक्नुपर्ने जस्ता कष्टदायी जीवन थियो भने मधेसमा ठीक बिपरित अवस्था थियो । महिलाहरूले त कामै गर्नुनपर्ने अवस्था थियो । गोठाला, भान्से लगायत धाई र सुसारे समेत राखिन्थे । त्यसैले पहाडीया सम्पन्न परिवारका मानिसहरू छोरीलाई तराईमा विवाह गराउँदा खुशी हुन्थे । अहिलेको वीरगंजमा बबई भन्ने गाउँ छ । त्यहाँ हाम्रो गाउँको एक जना मानिसको विवाह भएको रहेछ । मकवानपुरका रिजालहरूको पर्साको आसपासमा सेनराजाको पालादेखी पाएको जमिन्दारी रहेछ । मेरो एक जना फुपुको विवाह पनि बबईको एक जना सम्पन्न ब्रम्हाण परिवारमा भएको थियो । मेरो फुपूको विवाह भएको परिवारमा चार जना बराल परिवारमा एक जना मात्रै छोरा भए । उनी एकजना मात्रै चारै जना बराल परिवारको सम्पत्ति पाउने उत्तरधिकारी बने । २००७ सालको परिवर्तन पछि उहाँ कांग्रेस पार्टीमा लागेर प्रतिष्ठित नेता पनि बन्नुभयो । त्यो सम्पर्कबाट मकवानपुरका सेन राजासँग रिजालहरूको सम्बन्ध र जमिन्दारी वीरगंजको आसपासमा र नर्भोगका मानिसहरूको पर्साका मानिसहरूसँग विहावारी भएको हुँदा मेरो आमा र पिताजीको विवाह भएको हो । त्यसरी त्यो समयमा राजपरिवारसँग पोखरेल र रिजाल दुबै परिवार नजिक थिए । त्यसै कारण रिजाल र बराल परिवार अहिले पनि राजनीतिमा सक्रिय नै छन् ।
प्राथमिक चरणको शिक्षा कहाँ र कहिले पाउनुभयो ?
प्राथमिक चरणको शिक्षा प्राप्तिका लागि मेरो जुन संघर्ष छ त्यो एकदमै दुःखदायी छ । त्यो समयमा भारतबाट काइते मास्टरहरू बोलाएर घरमै राखेर शिक्षा लिने प्रचलन थियो । त्यो काइते मास्टरले हिन्दीमा कखरा पढाउने गर्दर्थे । हामीले अंग्रेजी पढ्नुपर्दछ भनेर त्यो समयमा फष्टबुक भन्ने किताव पढ्यौ । हाम्रो ठूलो वर्णमाला जस्तो फष्टबुकबाट काइते मास्टरले हामीलाई पढाए । म आठ वर्षको भएपछि मेरो ब्रतबन्ध पनि मावलीमै भएको थियो । त्यसपछि मावलीले मलाई पढाउन भनेर काठमाडौं ल्याए । काठमाडौमा बस्दा मलाई शरिरभरी नै घाउ र खटिरा आए । त्यसपछि म मामाहरूको अनुमति बिनै ९/१० वर्षको उमेरमै काठमाडौं छाडेर घर गए । घरमा पनि भागेर आयो भनेर सबैले मलाई गाली नै गरे । मेरोगाउँ नजिकै पूर्व प्रधानन्याधीश अनिरुद्र प्रसाद सिंहको बाबुले स्कूल खोलेका थिए । त्यो स्कूलमा विद्यार्थी चाहियो भनेको हुँदा हाम्रा अभिभावकहरूले त्यही भर्ना गरिदिए । तर भरखरै खुलेका कारण त्यहाँ पनि योग्य शिक्षकहरू थिएनन् । एक जना शिक्षकले ३/४ वटा कक्षा पढाउनुपर्दथ्यो । तथापि एक वर्ष जत्ति नै म त्यो स्कूलमा पढे । मेरो हजुरआमा बनारसमा भएका कारण मलाई बनारसमा पढ्न पठाइयो । मेरो संगोल परिवारको काकाको छोरा पनि हजुरआमासँगै बस्ने गरेका थिए । त्यसपछि हजुरआमासँग बसिरहेका काकाका छोराले पढाई र डेरा नै छाडेर उनी लापात्ता नै भइदिए । त्यो समयमै २००७ सालको क्रान्ति सुरु भएको थियो । विद्यार्थीहरूलाई फ्रण्ट जाउँ र प्रजातन्त्रको लागि लड भनेर कर्नर मिटिङहरू हुन्थे । मेरा पिताजीले काकाको छोरा भागेका कारण चार कक्षामा पढ्दा पढ्दै १२/१३ वर्षको उमेरमा मेरो छोरा पनि भाग्छ र पढाई बिगार्छ भनेर घरमा बोलाउनुभयो । क्रान्तिको समयमा जब म गाउँ आए । गाउँमा हाम्रा दाजुभाइहरूको झगडा थियो । एक पक्षको नेता मेरा पिताजी र अर्को पक्षको नेता गणेश कुमार पोखरेल हुनुहुन्थ्यो । जो पछि पञ्चायती व्यवस्थामा राष्ट्रिय पञ्चायतको सदस्य समेत हुनुभयो । उहाँसँग मेरो पिताजीको पानी बाराबार र बोलचाल नै बन्द थियो ।किनकी गणेश प्रसादहरू राणाको समर्थक थिए भने हाम्रो पिताजी प्रजातन्त्रपट्टि लाग्नुभएको थियो । उनीहरूले हाम्रो पिताजी कांग्रेस हुन भनेर उजुर गरिदिए । उजुरीमा भनिएको थियो कांग्रेसमा लागेर आर्य समाजसँग मिलेका छन् । र साथै घरमा कागजपत्र समेत छन् भनियो । त्यसपछि राणा शासनको प्रहरी आएर हाम्रो घर खानतलासी पनि ग¥यो । तर केहि पाउन सकेन । त्यही बीचमा गाउँमा एउटा घट्ना घट्यो । मेरो हजरु आमा आखेलढगुांको पहाडकी रग्ेमीको छोरी हनुहुनुहुथ्यो । हजुरबुवाको विवाह हुदाँ धाई सुसारे र कमारा कमारी समेत दाइजोका रूपमा सँगै आएका थिए । किनकी त्यो समयमा कमरा कमारी किनबेच नै हुन्थ्यो । उसको परिवार बस्ने क्रममा त्यो कमारीको छोरो एक जना तिलक बहादुर घर्ति भन्ने एकदमै चलाख थियो । र महिला पट्टि बढी आशक्ति थियो । उसले जो सुकै महिलालाई पनि फकाउन सक्थ्योे । उसले हाम्रो हली मुसहरको छोरी फकाएर भागेछ । उ एक वर्ष जत्ति नै गायब भयोे । त्यसपछि फर्केर आयोे । गाउँमा मुसहरकी छोरी भगाएको कारण जात गयो भनेर हल्ला चलाइयो । त्यो कुरा भएपछि हाम्रो पट्टिका दाजुभाइहरू यसको पानी पनि चल्दैन भनेर भन्न थाले । मेरो पिताजीले पानी चलाउने सिलसिलामा उसलाई खसीको बन्दोवस्त गराउन लगाएर मासु चिउराको भोज गराउन भन्नुभयो । त्यो तिलक बहादुर मेरो पिताजी प्रति अत्यन्त बफादार थिए । त्यो भोजमा नाम चलेका नर्घोका यादवहरू र हाम्रा पोखरेल दाजुभाइहरू लाइन बसेरै तिलक बहादुरले पस्किएको मासु चिउराको भोज खाए । संयोगबस त्यो भोजमा म पनि थिए । त्यसपछि हाम्रा बिरोधी गणेश प्रसाद र नारायण प्रसाद पोखरेलहरूले चाहिँ यिनीहरू त पक्का कग्रेसीहरु नै पो रहेछन् । किनकी जातपात नमान्ने र आर्य समाज मान्ने गरेका रहेछन् भन्दै उजुरी गरिदिएपछि भोजमा उपस्थित ५० जना माथि पानी मुद्दा लगाइयो । पानी मुद्दा परेपछि हामीलाई पण्डित र पुरेतहरूले बाइकट नै गरे । र जजमानी नै नगर्ने घोषणा गरे । त्यो पानी मुद्दा परेको हाम्रा दाजुभाइका छोराछोरीको त्यो समयमा न्वारान पनि गरिएन । राणाशासनको त्यो समयमा हामी सबैको बिहाबारी नै बन्द भयो र जात पनि गयो । सबै डराए । यसरी त्यो खालका े वातावरणमा हामी हुर्र्किएका थियौँ । हामीलाई लगाइएको पानी मुद्दा २००४ साल देखि २००७ सालसम्म चलेको थियो । २००७ सालको क्रान्तिपछि जनकपुरका एक जना मैथिली ब्रम्हाण दिगम्बर झा राजविराजमा बडाहाकिम बनेर आए । उनलाई हाम्रा दाजुभाइ सबैले पानी मुद्दा चलिरहेको भनेर उजुरी गरे । त्यसपछि उनै झाले न्यायधीशलाई बोलाएर प्रजातन्त्र आएपछि पनि जातपातको मुद्दा चल्छ ? भन्दै खारेज गर्न आदेश दिए । वि.स.२००७ सालको क्रान्ति चलिरहेको बेला हाम्रो गाउँमा भारतको नेउरमा नेपाली कांग्रेसको कार्यालय खोलिएको थियो । त्यो कार्यालयमा पढेलेखेका कांग्रेसहरू जाने गर्दर्थे । उनीहरूले हामीलाई हतियार चलाउन सिकाउँथे । म सानो र दुब्लो पातलो भएपनि त्यहाँ सामेल हुने गर्दर्थे । त्यसबेला हतियार चलाउन सिकाउने व्यक्ति सुवास चन्द्र बोसको आजाद हिन्दको कमाण्डरलाई ल्याइएको थियो । उनलाई तालिम दिन र लड्नका लागि ल्याइएको थियो । उनले मलाई पनि हतियार चलाउन सिकाउन कोशी नदीको किनार झाडीमा लिएर गएका थिए । तर मैले रिभल्बर फायर गर्न नसकेपछि उनले सिआइडी डिपार्टमन्टमा पठाउँ भनेर आदेश दिए । त्यसपछि हाम्रो काम कांग्रेसको पर्चा र पम्लेट गाउँ गाउँमा गएर बाड्ने भयो । हामीमा राणाका मानिस र पुलिसहरू आए भने साथीभाइहरूलाई लुक भन्ने जिम्मेवारी भयो । त्यसरी मेरो राजनैतिक प्रवेश भयो ।
हाम्रो गाउँमा प्रचार प्रसारका लागि बिहारको नेउर क्याम्पबाट कांग्रेसका मानिसहरू आएका थिए । त्यहाँ अवध सिंह नामक एक जना समाजवादी नेता थिए । उनीहरूको समाजवादी पार्टीको सम्बन्ध विशेश्वर प्रसाद कोइरालासँग थियो । हामी उनीहरूको साथ दिएर हिडेका थियौं । त्यो समयमा प्रजातन्त्र जिन्दावाद, राणाशाही मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद भनेर नारा लगाउँदै गाउँ घुमिरहेका थियौं । साँझपख त्यो कांग्रेसी जत्था गणेश प्रसाद र नारायण प्रसाद पोखरेलको घरमा पुग्यो । जसको बगैचा र घर पनि अत्यन्तै राम्रो थियो जसको नाम नै हावाघर थियो । त्यतीकैमा एक जना नौलो मानिसको त्यहाँ प्रवेश भयो । उनी त्यहीका नारायण प्रसाद बस्ने खाटमा गएर बसे । त्यसपछि त्यहाँको अवस्था ‘सर्पलाई छुचुन्द्रोको डर र छुचुन्द्रोलाई सर्पको डर’ भने जस्तै भयो । हाम्रो टिम लिडर पुरुषोत्तम उपाध्यायले जुरुक्क उठेर गई छातीमा हात राखेर यहि है राणाको सिआइडी गणेश प्रसाद भन्दै समात्न पुगे । त्यसपछि हाम्रा साथीहरूले बन्दूक समातेर ‘खवरदार यहाँसे मत हिल्लाउ’ भने । गणेश प्रसाद र नारायण प्रसाद पोखरेलले भने ‘आपका भी कोही कानुन त होगा’ भनेर भने । त्यसपछि हाम्रा टिम लिडरले भने ‘हम जो बोले वही कानुन होगा, गणेश कुमार तुम एरेष्ट हो गया’ भनेर भने । त्यसपछि होहल्ला भयो । हाम्रा दाजुभाइहरूले पनि हामीलाई गाली गर्न थाले । उनीहरूले गणेश कुमारलाई किन समात्न लगाएको ? आफ्नै तेह्रदिने दाजुभाइलाई मारिदियो भने हाम्रो जुठो लाग्छ भनेर भने । उनलाई अर्कै बाटोबाट धानको खेतैखेत हुँदै नेओर क्याम्पमा
पु¥याइयो । हाम्रा दाजुभाइ सबैले उनलाई बचाउँनुपर्दछ भनेर लागे । त्यसपछि मेरा पिताजी समेत क्याम्पमा पुग्नुभयो । त्यहाँ रातभरी नै नेगोसियसन् भयो । उनीहरूले गणेश कुमारलाई छुटाउनका लागि सात हजार रूपैया भारु माग गरे । जुन भोलिपल्ट बिहान सूर्योदय हुन अगाडि नै बुझाउनुपर्ने भयो । त्यो समयमा सात हजार रूपैया जुटाउन गाउँमा निकै मुस्किल भयो । तथापि सबै जना मिलेर जम्मा गरियो । र गणेश कुमारलाई छुटाइयो । त्यसपछि पुरुषोत्तम उपाध्याय हिरो भए । क्रान्ति पनि सकियो । म पनि उनैसँग लागे ।
तपाईको अध्ययनको अध्याय फेरी कसरी सुरु भयो त ?
२००७ सालको क्रान्ति पश्चात २००९ सालमा म वीरगंजको त्रिजुद्ध माविमा भर्ना भए । त्यहाँ बनारसबाट भागेका मेरा काकाका छोरा त्यही फुपूका घरमा बसेर पढिरहेका थिए । त्यहाँ पनि उनले अर्काे काण्ड मच्चाए । कसैलाई थाहै नदिई आफ्ना सबै किताव लगेर इनारमा फालिदिएर बेपत्ता भए । त्यो समयमा नाम चलेको त्यो स्कूलमा पढ्दा आधा बेस नै कमजोर भयो । नौ कक्षाबाट दशमा जाने बेलामा म फेल भए । मेरो म्याथमा त जिरो नै आयो । त्यसपछि ट्यूसन पढेर एसएलसीको जाँच दिए फेरी फेल भए । दोस्रो पटक एसएलसी दिँदा हामी जनकपुरमा पढाई राम्रोे हुन्छ भन्दै जनकपुरमा गएर ट्युसन पनि पढ्यौंै । जनकपुरमा मैले दायाँबायाँ चोरचार गरेर एसएलसी परिक्षा दिएँ । त्यसपछि म म्याथमा ३० नम्बर ल्याएर २०११ सालमा एसएलसी पास गरे ।
उच्च शिक्षा कहाँ र कहिले लिनुभयो ?
म एसएलसी पास भएपछि विहारको दरभंगामा पढ्न गए र संयोगवस मेरो दिमागमा विषयको राम्रो ज्ञान हुन थाल्यो । क्लासमा राम्रो गर्न थाले । प्राध्यापकहरूले पनि मलाई माया गर्न थाले । जाँच दिए त्यसपछि मैले सेकेण्ड डिभिजनमा आइकम पास गरे । म २०१३ सालमा त्रिचन्द्र क्याम्पसमा बि.कम.मा भर्ना भएँ । म बिकममा पनि सेकेण्ड डिभिजनमै पास गरे । त्यही वर्ष नेपाली कांग्रेसको सरकार थियो । त्यो समयमा सिए पढनका लागि कोलम्बो प्लान अन्तर्गत विद्यार्थी पठाउनुपर्दछ भनेर दुई सिट मागिएको थियो । म पनि कोलम्बो प्लान अन्र्तगतको क्षात्रवृतिमा छनौट भएँ । म र डाकुरनाथ शर्मा बम्बईमा सीए अध्ययनका लागि छनौट भयौं । म त्यो समयमा क्षात्रवृतिमा पढ्न गएका कारण पैसाको कुनै दुःख थिएन । संयोगवस अध्ययनका क्रममा पनि धेरै ठूलो चार्टड एकाउन्टेन्टको फर्ममा काम गर्ने मौका पाए । त्यहाँ नौ महिना होटलमा बसेर अडिट गर्दा होटलमा माछा, मासु र फलफूल खान पाएपछि हामी गाउँका मानिसहरूलाई दैनिक भोज जस्तै भयो । मेरा इन्चार्ज पनि असाध्यै मेहेनती, इमान्दार र रिसाहा हुनुहुन्थ्यो । हामीलाई काम लगाउने क्रममा त गोरु जोते जस्तै गर्नुहुन्थ्यो । हामी बिहान आठ बजे देखि बेलकी ७÷८ बजेसम्म पुरै समय दिएर काम गर्दथ्यौं । त्यसैकारण मैलै तालिम पनि राम्ररी पाएँ । खानबस्न पनि निशुल्क पाएपछि मेरो क्षात्रवृत्तिमा पाएको मासिक एकसय पचहत्तर रूपैया भारु पुरै बचत हुन्थ्यो । साथै मैले रक्सी समेत नखाने हुँदा खर्चमा पनि मीतव्ययी थिए । साथै बिदामा घरमा आउँदा पनि कोशेली लिएर आउने गर्दर्थे ।
तपाईको जागिरे जीवन कसरी प्रारम्भ भयो त ? के कारणले जागिर छाड्नुभयो ?
म बम्बईमा पढ्दा पढ्दै २०१७ सालको काण्ड पनि भयो । त्यो समयमा तत्कालीन राजा महेन्द्र बम्बईमा आएका थिए । त्यसबेला संयोगबस म बम्बईको छात्रसंघको निर्वाचित सभापति थिए । राजा महेन्द्रले नेपाली विद्यार्थीलाई भेट्नका लागि बोलाएका थिए । मैले राजा समक्ष सबै विद्यार्थीहरूको परिचय गराइदिए । राजा महेन्द्रले पढाई सकेर नेपाल आएपछि मलाई भेट्नु भनेर भनेका थिए । मेरा साथी डाकुरनाथ पढाई सकेपछि हत्तार गरेर काठमाडौं आए । र उनी वीरगंजको चिनी कारखानामा चीफ एकाउन्टेन्ट बनेर गए । म चाहिँ छ महिना त्यही नै बसे । म काठमाडौं पुगेपछि चिफ एकाउन्टेन्ट बनाउछन् भन्ने सुनेको थिए । तर, मलाई जागिर खाने इच्छा नै थिएन । म काठमाडौं आएपछि जनकपुर चुरोट कारखानामा फाइनान्स चिफ बनेर काम गर्न दवाव आयो । सरकारका सचिवहरूले सरकारले छात्रवृत्तिमा दिएर पठाएको व्यक्तिले आदेश मान्नैपर्ने भनेर मलाई धम्कि समेत दिए । त्यो समयमा डा. भेष बहादुर थापा सक्रिय र जल्दाबल्दा मानिसको रूपमा गनिन्थे । उनी विदेशमा पढेका र राजा महेन्दले पत्याएका मानिस थिए । म अडिटको कामको खोजीमा सिंहदरबार गएर सचिवहरूलाई भेट्ने गरेको थिएँ । उनीहरूले मलाई नेपालमा कति अफिसहरू छन् ? र अडिट गर्ने आउनुस जागिर खान भनेर भन्ने गर्दर्थे । एक दिन भेष बहादुरले यहाँ सक्षम मानिस छैनन् तपाईलाई नेपाल बौंकको जनरल म्यानेजर बनाइदिन्छु भनरे मलाई भने । तर मैले १५ दिनपछि जवाफ दिन्छु भनेर पन्छिएँ । उनले मलाई भने कस्तो अनाडी मानिस हो जनरल म्यानेजर बनाइदिन्छु भन्दा पनि मान्दैन ? उनलाई मैले घरमा पनि सोध्नुपर्छ भन्दै कथा हालेर अलमल पारिदिए । किनकी मेरा गार्जियन त गाउँमै हुनुहन्थ्यो । उनी मसँग रिसाए । उनले मलाई भने तपाई काठमाडौंकोे मान्छे हनु हुन्न दरबारमा कोहि पनि चिन्नुहुन्न भने कहिपनि राम्रो काम पाउनुहुन्न । त्यो बेलाका मेरा साथी केदारनाथ उपाध्याय जो पछि प्रधानन्यायधीश पनि भए मैले सल्लाह गरे । उनले पनि मलाई त्यति ठूलो जागिर तुरुन्तै खाइहाल्नु भनेर सल्लाह दिए । तर,पनि म चाहिँ मानिन । त्यसपछि भेष बहादुर थापाले साधे के गर्नुहुन्छ भनेर ? मैले भने इन्टरनल अडिटको काम दिनुहोस भने। उनी त्यो समयमा नेपाल बैंकको चेयरम्यान थिए र मलाई नेपाल बँैकको इन्टरनल अडिटको काम दिए । मैले नेपाल बैंकमा पार्ट टाइम काम गरे । त्यो समयमा मैले मासिक सात सय रूपैयाँ तलब पाएँ । त्यहाँ काम गर्दा मलाई कसैले पनि सहयोग गरेनन् । उल्टै सीए नै पास नगरेको भन्दै हल्ला फिजाउन थाले । भेष बहादुरले मलाई बोलाएर भने तपाईको बारेमा सीए पासै नगरेको प्रचार गरिएको छ, मैले डिफेण्ड गर्न सक्तिन । तपाईले त्यहाँ गएर अडिट गर्दा के जान्नुभयो ? भनेर सोधे । मलाई नेपाल बैंकको एउटा रिपोर्ट बनाएर बझुाउँन भने । मैले बैंकमा भएकोे प्रणाली कहाँ कहाँँ खराबी रहेको छ त्यो सबैको रिपोर्ट तयार गरे । त्यो समयमा पञ्जाबीहरूले ट्रक चलाउने गर्दर्थे । मैले नेपालीहरूलाई ऋण दिएमा यो काम सहजै गर्न सक्तछन् भनेर रिपोर्ट दिए । साथै पुरानो पद्धतिमा भएका सबै त्रुटिहरू लेखेर दिए । त्यो रिपोर्ट सञ्चालक समितिमा छलफल भएपछि मैले सीए नै पास नगरेकोभन्ने आरोप पनि झुट्ठा सावित भयो । त्यसपछि भेष बहादुरले नेपाल बैंकमा जागिर खान पुनः अनुरोध गरे । मैले पनि विकल्पै नभएको भन्दै स्वीकार गरे । यसरी २०२२/०२३ सालमा मलाई नेपाल बैंकको प्रथम श्रेणीको विशेष अधिकृत बनाएर पठाइयो । त्यो समयमा नेपाल बैंकलाई नेवार बैंक भनेर भन्ने गर्दर्थे । पहाडीया पर्वते ब्रम्हाणको नेपाल बैंकमा नेवारसँग द्वन्द्व नै चल्ने गरेको थियो । त्यसैकारण मलाई कुनै नेवार कर्मचारीले सहयोग गरेनन् । त्यो समयमा महाप्रवन्धक पनि राजभण्डारी नै थिए । उनी दरबारका सचिव पुष्पराज राजभण्डारीका भतिजा थिए । त्यसैकारण कसैले पनि उनको विरोध गर्न सक्तैनथे । मैले काम गर्न थालेपछि फेरी त्यही प्रचार गरियो । काम गर्न सक्तैन भनेर । त्यो समयमा तीन वर्ष देखि बैंकको अडिट भएको थिएन । बैंकको अडिटर सीए फेल भएका युधिर शम्शेर थापा थिए । उनी नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर पनि भए । उनले आफ्ना भाई तारक बहादुरको नामबाट अडिट गर्ने गरेका थिए । तारक बहादुर जोग्राफीमा एम.ए. गरेका थिए । युधिर शम्शेरले बनारसको एक जना अग्रवाललाई अडिटका लागि बोलाएका थिए । इण्डियन अग्रवालले आफ्नो हेपाह प्रवृति देखाएर जीएमलाई धम्काउन थाले । उनले बैंकको रेकर्ड र सबै कागजपत्र नभएको भन्दै धम्की दिने गर्दर्थे । फेरी चेयरम्यान भेष बहादुरले मलाई बोलाएर भने नेपाल बैंकको अडिट गर्न सक्नुहुन्छ ? मैलै सहजै गर्नसक्ने भनेर उत्तर दिए । त्यो समयमा नरेन्द्रमणि दिक्षितका छोरा कुमारमणि संचालक समितिमा थिए । जो मेरा विरोधी थिए । अडिट गर्ने जिम्मा पाएपछि मैले त्यहाँ आलटाल गरिरहेको अग्रवाललाई बोलाएर बैंकको छतमा लिएर गएँ । त्यसपछि उसलाई मैले तिमीले किन अडिट नगरेको भनेर सोधे । उसले त्यस्तै गोलमोटल उत्तर दियो । मैले उसलाई भने तिम्रो विद्या पनि मलाई आउँछ । यदि तिमीले यो काम गर्दैनौं भने मैले अर्को मान्छे ल्याउन सक्छु भनेर भनेपछि उ अडिट गर्न तयार भयो । अडिट पुरा भएर ब्यालेन्स सिट बनिसकेपछि काम गर्न काबिल मान्छे रहेछ भन्दै होहल्ला गरियो । सबैतिर हंगामा भएपछि भेष बहादुरले फेरी बोलाए र भने तपाईले राम्रो काम गर्नुभयो । अव मैले विशेष अधिकृतको डिजिएम सरहको पदमा नियुक्ति गर्छु । मैले पनि आफ्नो इज्जतका निमित्त काम गरेर देखाउनुपर्ने भएकाले सहर्ष स्वीकार गरे । मलाई पहिला इन्टरनल एकाउन्टेन्ट र पछि बैंकिङ कार्यालयको म्यानेजर बनाए । जुन समयमा नेपाल बैंकको न्यूरोडमा एउटा मात्रै शाखा रहेको थियो । त्यहाँको म्यानेजरको पदको नाम एजेन्ट थियो । त्यसरी म एजेन्ट बनेर त्यहाँ काम गरे । एजेन्ट बनेर गएपछि मैले त्यहाँ एउटा चेक भजाउन ग्राहकहरूलाई तीन घण्टा सम्म लाग्ने अवस्था थियो । त्यसरी मानिसहरू चेक छाडेर बजारमा गएर काम गरेर फर्कदा मात्रै तयार हुन्थ्यो । त्यहाँ एउटा मात्रै बैंक भएकाले नेपालका सबै ठूलाबडा मानिसहरू राणा, ठकुरी र ठूला व्यापारीहरूको खाता हुन्थ्यो । त्यसरी मैले सबैको काम तुरुन्तै गर्ने व्यवस्था मिलाए । त्यसपछि यो कामको पनि व्यापक हल्ला गरियो । तराईको एक जना जमिन्दारको छोरा इमान्दारी पूर्वक राम्रो काम गर्छ भन्ने हल्ला चलाइयो । मैले त्यो समयमा चेक सटही सम्बन्धमा कसरी छिटो सेवा दिन सकिन्छ सबै क्यासीएर लगायतका कर्मचारीहरूलाई बोलाएर छलफल गरे । लेजर, ब्यालेन्स र सिग्नेचर हेर्नुप¥यो कसरी समय घटाउने ? उनीहरूले समय घटाउनै नसक्ने बताए । तर मैले ब्यालेन्स, लेजर र सिग्नेचर हेर्नका लागि कर्मचारीलाईसँगै बस्ने व्यवस्था मिलाएँ । त्यसपछि चेक दश मिनेटमै क्यास हुन थाल्यो । साथै मैले कागजको सानो गोलो सूचना बनाएर दश मिनेट भित्रमा चेक भूक्तानी नभएमा म्यानेजर कहाँ उजुरी गर्नुहोला भनेर आठ÷दश ठाउँमा टासिदिएँ । त्यो प्रचार दरबारसम्म पनि पुग्यो । यो मान्छे को र कहाँबाट आएको हो ? भनेर सोध खोज भयो । सिंहदरबारमा त्यो समयमा पनि ग्रुपिजम नै थियो । यादव प्रसाद पन्त, सूर्य बहादुर थापा र भेष बहादुर थापाको समुह भनिन्थे । पन्त र थापाको समूहले मलाई भेष बहादुर थापाको मानिस हो भनेर असहयोग गर्दर्थे । तर मेरो नाम चलिसकेको थियो । त्यसपछि मैले आफ्नो काम सकिएको भनेर जागिर नखाने र अडिट गर्न जाने सोचाई बनाएँ । मैले राजीनामा गरेपछि भेष बहादुरले मलाई क्रोधी बाहुन जनरल म्यानेजर बनाउछु भन्दा पनि जागिर नखाने भन्छ भने । सबैले जागिर नछाड भन्न थाले । मेरा ससुरालीले पनि मेरो राजिनामाको विरोध गरे । त्यो खबर मेरो गाउँमा पनि पुग्यो । राम प्रसादका बेटा जागिर छाडिदिए भनेर । उनीहरू पनि रिसाए ।
वीरगंजमा पढ्दा मेरो क्लासको साथी शंकरलाल केडिया न्यूरोडमा भेटिए । उनले आफ्ना बाबु वृजलाल केडियासँग लगेर परिचय गराइदिए । र महिनाको १५ सय रूपैया तलब भत्ता र गाडी समेतको सुविधा दिएर काम दिए । म पुतली सडकमा पदमोदय स्कूल अघि बस्थे । त्यो समयमा पुतली सडकमा बस कुरेर बसेको अवस्थामा वाणिज्य विभागको डाइरेक्टर गेहेन्द्रदेव पाठक भेटिए । उनी कार्यालय जाँदै थिए । उनले मलाई बाटोमा साल्ट टे«डिङको अडिट गर्नुहुन्छ भनेर सोधे । त्यो समयमा एक वर्षको अडिट बापतको आठसय रूपैया पाइने भयो । त्यो काम पाएपछि शंकरलाल केडियाको कहाँ गएर त्यहाँको काम पनि छाडिदिए । हेम बहादुर मल्ल त्यहाँको महाप्रवन्धक हुनुहुन्यो । जो असाध्यै भलाद्मी हुनुहुन्थ्यो । साल्टट्रेडिङ बेस बनाएर काम गरेपछि मलाई राम्रो भयो । त्यसपछि भेष बहादुरले मलाई पुनः बोलाएर सहयोग गर्न भने । उनले दरबारबाट एउटा इन्सुरेन्स कम्पनी खोल्नका लागि हुकुम भएको छ तपाईले मद्दत गर्नुप¥यो भने । अर्थमन्त्रालयमा सहसचिव सरहको दर्जा दिएर राख्छु समेत भने । इन्सुरेन्स कम्पनी खोल्नका लागि कति समय लाग्छ उनले पुनः सोधे । मैले तीन महिना लाग्ने भनेपछि उनले पत्याएनन् । म आफै कम्पनी खडा गर्ने र नियमावली– प्रवन्धपत्र बनाउने काम गरे । साथै विभिन्न मन्त्रालयको स्वीकृति लिने काम र कम्पनी विभागमा सबै दर्ता प्रक्रिया पुरा गराए । त्यसपछि अर्थसचिव उनै थापाको टेबुलमा पु¥याए । त्यो दर्ता भएपछि १५० जना मानिसहरूले जागिर पाउँछन् भनेर राजनीतिक सुरु भयो । कम्पनीको कारोबार नै भएको छैन । भेष बहादुर थापा र म माथि दवाव आउन थाल्यो । त्यसपछि उनीहरूले मलाई जीएम नबनाई डीजीएम मात्रै बनाए । उनीहरूले यूएनडीपीका सल्लाहकार हग्सनलाई जीएम बनाए । केहि समयपछि जीएम बनाउने आश्वासन दिएर उनीहरूले मलाई डीजीएममै बसेर काम गर्न भने । ती अंग्रेज असाध्यै इमान्दार, अनुभवी र अन्य कर्मचारीहरूलाई पनि असाध्यै माया गर्ने गर्दर्थे । उनी दुई वर्षका लागि काम गरे । त्यसपछि बीमा सस्थानको कारोबार सुचारु भयो । त्यो समयमा अध्यक्ष भएकाहरू विदेश जान र भत्ता खानका लागि असाध्यै लालयित हुने गर्दर्थे । मैले सिंहदरवारमा गएर चाकरी पनि नगर्ने र संस्थालाई सिध्याएर अनियमित्तता पनि नगर्ने बानीका कारण द्वन्द्व बढ्यो । दोस्रो व्यक्ति अफ्रिकामा बसेका अंग्रेज जस्को नाम जेम्स थियो । उनलाई जीएम बनाइयो । जो छुद्र र लालची थिए । उनले घुस खान थाले । जसका कारण मेरो समेत बदनाम हुन थाल्यो । २०२८/०२९ सालमा आरएनएसीको जहाज दूर्घट्ना भयो । त्यही समयमा जेम्स बेलायत गएर इन्सुरेन्स सेटल गरेर २० दिनमा नेपाल आए । उनले धेरै कम रकममा क्लेम सेटल गरेको कुरा मैले बताए । त्यसपछि त्यो कुरा भेष बहादुर थापालाई भने । त्यो समयमा आरएनएसीका जीएम त्यो समयमा तेज बहादुर प्रसाई थिए । उनी विदेशमा घुमेका रहेनछन् । उनले विदेश लैजाने सर्तमा मलाई समर्थन गरे । त्यसपछि हामीले ब्रोकरसँग एकै पटक कुरा गरेपछि रकम बढाइदियो । प्रसाई खुशी भए । उनी काम सकिएको भन्दै स्वीडेन एयरलाइन्समा कुरा गर्ने भन्दै उतै लागे । त्यसपछि पनि मलाई कम्पनीमा जीएम बनाइएन ।
सूर्य प्रसाद उपाध्यायका भाई रमेश उपाध्याय र कल्याण विक्रम अधिकारी जस्ता चाकरी गर्नेहरू र कम्पनीबाट फाइदा लिनुपर्छ भन्नेहरू सूर्य बहादुर थापासँग नजिक भएका थिए । म कायम मुकायम जीएम हुँदा एक दिन भेष बहादुरले मलाई प्रधानमन्त्री सूर्य बहादुर थापासँग भेट गराउँछु भन्दै सिंहदरबारमा बोलाए । सिंहदरबारको हल जस्तो कोठामा भेष बहादुर र म छि¥यौं । म मयलपोस सुरबाल लगाएको पातलो मानिसले प्रधानमन्त्रीलाई नमस्कार गरे । उसले मेरो मुखैमा हेरेनन् । म जस्तो स्वाभीमानी मानिसले त्यो सहन सक्ने कुरा थिएन । साथै सूर्य बहादुरको चाकरीबाज इन्द्रमणि राजभण्डारीलाई जीएम बनाए । जसका छोराले नेकोन एयर चलाएका थिए । उनी त्यसअघि एनआइडीसीका प्रथम श्रेणीका अधिकृत थिए । उनलाई जीएम बनाएपछि तत्कालै राजीनामा दिएर हिडे । रातको आठबजे भेष बहादुर थापाले यो कुरा थाह पाए । उनी त्यो समयमा यूएनडीपीको पार्टीमा थिए । उनले भोलिसम्म पर्खनुस म सरकारमा जाहेर गर्छु भने । तर म चाहिँ मानिन । मेरो जागिरे जीवन त्यसपछि अन्त भयो । यसरी मैले २०२७ सालमा जागिर छाडे ।
तपाईले नेपालको प्रजातान्त्रिक आन्दोलनमा कस्तो त्याग र योगदान पु¥याउनुभयो ?
मैले जागिर छाडेपछि सरकारप्रति घृणाको भावना जागृत भयो । म डेमोक्रेट त पहिल्यै देखि नै थिए । जागिरमा म प्रति अन्याय भएको हुँदा यो व्यवस्थाको कामै छैन भन्ने लाग्यो । मसँग विद्रोहको ज्वाला भड्किन थाल्यो । त्यसपछि मलाई राजा महेन्द्रले आफ्ना सचिव ईश्वरी मान श्रेष्ठ मार्फत बोलाउन लगाए । र भने विरगंज चिनी कारखाना, जनकपुर चुरोट कारखाना र आरएनएसी जहाँ भएपनि नियुक्ति दिएर पठाउनु भन्ने हुकुम भएको छ । मैले उनीसँग कुनै हालतमा पनि जागिर नखाने भनेर भने । उनले थपे तपाई त विदेश जानुहुन्छ भनेर भन्ने गरेका छन् । म विदेश जान्न बरु किसानको छोरो हुँ विरगंजमा पाँच विघा जमिन किनेर उखु खेती लगाएर खान्छु भनेर भने । त्यो समयमा राजाका सचिवले दुईघण्टा लामो छलफल गरे । उनी चकित परे । म ढोका खोलेर बाहिर जान खोज्दा पनि पुन आएर के जाहेर गरु ? भन्न लागे । तर मलाई काम गर्न मानिसहरूले कसरी अवरोध गरे ? त्यो सारा रिपोर्ट तयार गरेर दरबारमा पठाइदिए । मैले यो सिस्टममा इमान्दार मानिसको ठाउँ नै छैन भनेर लेखेर पठाइदिए । पछि राजालाई साह्रै घत लागेछ । दुई महिनापछि मैले दिएको रिपोर्ट त्यहाँका गलत व्यक्तिहरूको जागिर खोसियो । त्यसपछि मैले आफुसँगै पढेका साथी डाकुरनाथसँग मिलेर निर्मल साप्ताहिक चलाउन थाले । यसरी २०२७ देखि २०२९ सालसम्म पत्रिकाको प्रकाशन र सम्पादन गरे । मेरो पत्रिकामा अजय सुमार्गीको बाबु माधवराज सुमार्गीले मेरो पत्रिकामा काम गरेका थिए । पत्रिकाको मूख्य उद्देश्य के थियो भने बिपी भारतमा बसेर सशस्त्र क्रान्ति गर्ने भनेको थिए । तर, देशमै बसेर सत्याग्रह गर्ने भन्ने कृष्णप्रसाद भट्टराईको लाइनमा म थिए । मेरो पत्रिका पनि त्यही लाइनमा लेखियो । त्यो समयमा प्रजातन्त्रको माग गर्ने सशस्त्र क्रान्तिको विरोध गर्ने भएकाले प्रशासन पनि म प्रति त्यति बढि कठोर भएन । मेरो निर्मल पत्रिका सबै भन्दा बढि विक्री हुन थाल्यो । पत्रिका मार्फत मेरो नाम र इज्जत कमाइयो । हरेक वर्ष सबै विकास क्षेत्रमा राजा विरेन्द्रको भ्रमण हुने गर्दथ्यो । त्यो विषयमा मेरो पत्रिकामा भ्रमण वाहियात हो भनेर एक जनाले लेख लेखिदिए । उनले भ्रमणका नाममा गरिएको खर्चमा थुप्रै उद्योग धन्दा चलाउन सकिन्छ भनेर तर्क पनि दिए । त्यसपछि मेरो पत्रिका छापा मारेर बन्द गरियो । यसरी बिपीको कल्पना प्रेसमा काम गरेका पन्ना लाल श्रेष्ठले मलाई खोज्न प्रहरी आएको बताएपछि मेरो भाइले आफ्नो साथी गोपाल राजबाहकको बहिनी ज्वाईको घर क्षेत्रपार्टीमा लुकेर बस्ने व्यवस्था मिलाइदिए । म २०३६ सालको जनमत संग्रहमा एक वर्षसम्म पुरै समय बहुदलको पक्षमा लागे । साथै विपिको नजिक रहेर जनआकांक्षा साप्ताहिकको प्रकाशन गराएँ । २०४२ सालको सत्याग्रहमा सामेल भएकै कारण छ महिनासम्म नख्खु जेलमा थुनामा परे । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा राजविराज सप्तरीमा दुई महिनासम्म थुनामा परेँ । बहुदलको घोषणा पछि मात्रै छुटेको थिए ।
राजनीतिज्ञ र कर्मचारीका बीच तपाई के फरक पाउनुभयो ?
जागिरे र राजनीतिज्ञको रेलको लाइन जस्तै अलग बाटो हुने रहेछ । कर्मचारीहरू रेलको लाइनभन्दा दायाँबायाँ नजाने । र पहिलो नम्बरमा हाकिमहरू रिझाउने, दोस्रो विदेश भ्रमण गएर टीएडीएखाने, तेस्रो नम्बरमा कसरी बढुवा हुने ? यसरी कर्मचारीको जीवनको लक्ष्य तीनवटा मात्रै हुँदो रहेछ । कर्मचारीलाई देश विकास होस् वा नहोस् कुनै मतलवै रहँदैन । तरपनि जागिर चाहिँ सुरक्षितै राख्ने खोज्ने रहेछन् । त्यो समयमा राजनीतिज्ञहरूले जवर्जस्ती गर्छन र कर्मचारीहरू ऐन नियम भित्रको परिधिमा बस्छन् भनेर दरबारका निर्णयहरू कर्मचारीका पक्षमा हुन्थे । यसरी कर्मचारीहरू एउटा प्रमोशनका लागि पनि धाएर चाकरी गर्छन । तर राजनीतिज्ञहरू चाहिँ आफ्नो क्षेत्र र जिल्लाका समग्र मानिसहरूलाई हेरेका हुन्छन् । भने कर्मचारीहरूले आफ्ना नातागोताहरूलाई मात्रै जागिर लगाउने रहेछन् । यसरी कर्मचारी नातागोता र जात भन्दा अलग घेरामा जानै नसक्ने रहेछन् । यसरी राजनीतिज्ञले समाजको उत्तरदायित्वको बहन गर्ने हिसावमा काम गरेको हुन्छ ।