न्यायपालिकामा जनआस्था बढाउने हाम्रो प्रमुख मुद्दा हुनेछ
० तपाई सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ निर्वाचनका एजेण्डाहरु के– के छन् ?
सर्वोच्च अदालत बारमा हामी विजयी भयौं भने आवद्ध वरिष्ठ अधिवक्ता र अधिवक्ताहरु जुन पेशागत संगठनमा हुनुहुन्छ, उहाँहरुको कानून व्यवसायीक मर्यादालाई उचाईमा लैजाने हाम्रो प्रमुख एजेण्डा हुनेछ । साथै सर्वोच्च अदालत नेपालको सबै भन्दा माथिल्लो अदालत हो । त्यो अदालतलाई कसरी सदृढ र सवल बनाउने ? बेथिति र विसंगतिहरुलाई कसरी हटाउने ? यो संस्थामा जनआस्था कसरी बढाउने ? यो नै हाम्रो प्रमुख मुद्दा हुनेछ । यी मुद्दाहरुका लागि हामीहरु जे पनि गर्न तयार छौं ।
० सर्वोच्च अदालतबाट कहिले काँही मुद्दाहरु अपब्याख्या भएको भन्ने पनि सुनिन्छ । कतिपय मुद्दाहरुमा त अदालतबाट एमिकस क्युरीका लागि पनि अनुरोध हुन्छ । त्यस प्रकारका मुद्दाहरु अपब्याख्या भएको अवस्थामा तपाईहरुको भूमिका के हुन्छ ?
हामीलाई एमिकस क्युरीका लागि अनुरोध हुनु अदालतको सहयोगका निमित्त हुने भयो, त्यो छुट्टै पाटो भयो । तर, बेला बेलामा सर्वोच्च अदालतबाट भएका फैसलाहरु धेरै विवादमा आउने गरेको छ । त्यस्ता विवादित मुद्दाहरुका बारेमा कसरी फैसला भएका हुन् ? त्यसका बारेमा सर्वोच्च अदालतबाट स्पस्टिकरण दिन नसकेको कारणबाट न्यायलय प्रतिको जनआस्था घटिरहेको छ । त्यसकारण त्यस प्रकारका विवादित फैसला आएका खण्डमा सर्वोच्च अदालत बारले हरेक पाटोबाट विश्लेषण गर्नेछ । त्यसपछि हामी निस्कर्षमा पुग्नेछौं । साथै त्यस प्रकारका फैसला नदोह¥याउन अनुरोध गर्दछौं । त्यसका निमित्त फैसला अध्यनका लागि आवश्यकता अनुसार विद्धान र वरिष्ठहरुको कानून व्यवसायीहरुको समिति पनि बनाउनेछौं ।
० न्यायपालिका माथि कहिले काँही कार्यपालिका र व्यवस्थापिकाबाट राजनैतिक हस्तक्षेप हुने गरेको छ । त्यसका निमित्त तपाईहरुको नेतृत्वले कसरी काम गर्छ ?
सर्वोच्च अदालत न्यायको मन्दिर हो । यो न्यायको मन्दिर प्रति जनआस्था घटाउने काम नत कार्यपालिकाले गर्नहुन्छ, नत व्यवस्थापिकाले नै ? न्यायाधीश वा कानून व्यवसायी कसैले पनि यसरी न्यायपालिकाको जनआस्था घटाउने काम गरेको खण्डमा हामीलाई सह्य हुनेछैन । त्यसको हामीले सशक्त रुपमा प्रतिकार गर्नेछौं । यसरी हामीहरु न्यायपालिकालाई स्वतन्त्र राख्नका लागि आवश्यक्ता अनुसार फिल्डमा उत्रन पनि तयार छौं ।
० बारका विभिन्न पदमा निर्वाचित भएपछि राजनैतिक नियुक्तिका लागि पनि बायोडाटा बन्ने गरेको छ । तपाईको नेतृत्वले के गर्नेछ ?
बारको पदलाई प्लेटफर्म जस्तो बनाएर अन्य पदमा नियुक्ति लिने प्रयास यस अघि पनि भएका थिए । र, कतिपयले नियुक्ति पनि पाए । त्यसैकारण कानून व्यवसायीहरुले हामी माथि शंका उपशंका गर्नु स्वाभाविकै पनि हो । तर मैले के आश्वासन दिन चाहन्छु भने सर्वोच्च अदालत बारको अध्यक्ष पदमा रहुन्जेल कुनैपनि अन्य नियुक्तिका लागि जाने छैन । इकाई बारहरु मध्येको सबै भन्दा ठूलो बार सर्वोच्च बार प्रति म पूर्ण बफादारीका साथ काम गर्नेछु । साथै यो पदलाई दुरुपयोग गरेर अन्य पदमा जाने छैन । साथै तपाईहरुले बुझ्नुपर्ने कुरा के हो भने हाम्रो सम्पूर्ण टिमका साथीहरुलाई पनि मैले दुरुपयोग गर्न दिने छैन ।
० न्यायपालिकालाई राजनीतिक मुक्त गराउनका लागि तपाईका थप पहलहरु के के हुनेछन् ?
हामी न्यायपालिकामा कुनैपनि राजनीतिक दलबाट हस्तक्षेप भएको भन्ने जानकारी पाएको खण्डमा त्यसलाई पब्लिक सामु ल्याउनेछौं । न्यायपालिकाका कुनै न्यायधीशले सरकारसँग कुनै लसपस वा निर्देशित भएको जानकारी भएको खण्डमा त्यसको घोर भ्रत्सना गर्नेछौं । न्यायपालिका स्वच्छ र स्वतन्त्र रहेको हेर्न चाहन्छौं । साथै न्यायपालिकामा काम गर्ने श्रीमान्हरुको सबैले आदर गरुन् र आदरयोग्य बनून भन्नेमा हाम्रो सहकार्य हुनेछ ।
० निर्वाचनका विषयमा अन्तमा केहि भन्नु छ कि ?
यो बारको निर्वाचन पश्चात हाम्रो लोकतान्त्रिक प्यानलको उम्मेदवारहरु विजयी भएको खण्डमा वरिष्ठ अधिवक्ता र अधिवक्ता मित्रहरुले समाजमा मर्यादित र पेशागत संगठनको सदस्य भएर काम गर्ने वातावरण बनाउनका लागि अग्रसर हुनेछौं भन्ने पूर्ण आश्वासन दिन चाहन्छु ।
आफ्नो उम्मेदवारीबारे प्रष्ट पार्दै वरिष्ठ अधिवक्ता प्राध्यापक पूर्णमान शाक्य