October 7, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

पार्टी अध्यक्ष र प्रधानमन्त्री छोड भन्ने जस्ता विषयहरु सैद्धान्तिक होइनन् ः झापा बिद्रोहका नायक गौतम

मन कुमार गौतम, सभासद, संविधानसभामा

० अहिले नेतृत्वमा देखिएको विवाद सैद्धान्तिक हुँदै होइन ।
० पार्टीमा सदृढ एकताको पक्षमा जोगाइराख्नको निमित्त हामी सबै पार्टीका तमाम नेता र कार्यकर्ताहरुले प्रयत्न गर्नु नै आजको आवश्यकता हो ।
० अनुशासन भएन भने त्यो पार्टी अराजक हुन्छ ।
० यस्तै किसिमका अवरोध सिर्जना नगरेको भए धेरै काम गर्न सकिन्थ्यो ।
० निम्न पुँजीवादी चरित्र र चिन्तनमा आधारित भएपछि यो अवस्था सिर्जना हुन्छ ।
० वीर शहीदहरुको कसम खाएर रगतको टीका लगाई जवर्जस्त रुपमा पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्यका लागि लागिपरेका थियौं ।
० हामीले झापा आन्दोलन सुरु गर्दा जनताका कुनै पनि अधिकारहरु थिएनन् ।
० नेपालका कम्युनिस्टहरु दुःख पाउनुको कारण नै विभाजन हो ।
० पार्टीलाई कमजोर बनाउन, टुक्राउन र फुटाउनका लागि देशी विदेशी तमाम खाले शक्तिहरु लागिरहेका छन् ।
० अध्यक्षद्वय केपी ओली र प्रचण्डको बीचमा सहमति आवश्यक छ ।
० मलाई जेलमा भएका यातना, पीडा, गोली र बन्दूकको कुन्दाले पनि झुकाएन ।
० माधव कुमार नेपाल, झलनाथ खनाल, प्रचण्ड, वामदेब गौतमहरुले पार्टीलाई कमजोर बनाएर विभाजनको खाल्डोमा धकेल्ने काम गर्नुभयो भने धेरै अप्ठ्यारो ब्यहोर्ने गरी जनताले दण्डित गर्नेछन् ।

वि.सं २००६ साल मंसिर २७ गते पाँचथर जिल्लाको साविक पंचमी गाविस (हालको हिलियाङ गाउँपालिका–७), मा बाबु हेम लाल गौतम र आमा बसुन्धरा गौतमको सुपुत्रका रुपमा जन्मनुभएका मन कुमार गौतम झापा आन्दोलनका क्रममा १८ वर्ष जेल बिताउनुभयो । उहाँ वि.स.२०२९ साल माघ ११ गिरफ्तार भई २०४६ पुष १९ गते जेलबाट छुट्नु भएको थियो । साथै उहाँलाई प्रजातान्त्रिक आन्दोलनका क्रममा २०४६ फागुन १४ काठमाडौंबाट गिरफ्तार गरी फागुन १५ गते भद्रपुर जेलमा राखिएको थियो । त्यसपछि वाममोर्चाका नेता राधाकृष्ण मैनालीले राजासँगको वार्ताको क्रममा राजबन्दीहरु छोड्ने शर्त राखेपछि गौतम चैत्र २५ गते जेलबाट छुट्नुभएको हो ।
२०२७/०२८ साल देखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध हुनुभएका गौतम वि.स.२०७० सालको दोस्रो संविधानसभामा सभासद बन्नुभएको थियो । झापाको बिर्तामोडमा स्थायी रुपमा बस्नुभएका गौतमसँग २०५५ साल फागुन २१ गते नेकपा एमालेमा भएको फुटलगायत कम्युनिस्ट आन्दोलनको उत्तार चढावको लामो अनुभव छ । फुटको पीडाबाट गुज्रिदै आएको नेपाल कम्युनिस्ट पार्टीको अहिलेको अवस्था पनि विकराल बन्दै गएको छ । यसै सन्दर्भमा नेकपा (एमाले) र मालेमा केन्द्रीय नेतृत्वमा रहेर लामो समय काम गर्नुभएका गौतमसँग अहिले नेकपामा देखिएको विवाद र समाधानका विषयमा डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले गरेको विशेष अन्तर्वार्ताः


० तपाई कम्युनिस्ट आन्दोलनमा लाग्दा झण्डै १८ वर्ष जेल जिवन बिताउनुभयो अहिले गणतत्र नेपालको स्थापना भएको छ । तर, नेताहरु बीचको सत्ता संघर्ष देख्दा कस्तो महसुस भएको छ ?
हामीले लामो संघर्ष र भगिरथ प्रयत्न पछि टुक्रा टुक्रामा विभक्त भएको नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न र शक्तिशाली कम्युनिस्ट कार्यकर्ता निर्माण गर्नका लागि जेल, नेल, हत्कडी जस्ता यातनाहरु भोग्यौं । प्रधानमन्त्री केपी ओली १४ वर्ष,राधाकृष्ण मैनाली १६ वर्ष, म १८ वर्ष, मोहनचन्द्र अधिकारी १७ वर्ष, भिष्म धिमाल १८ वर्ष , अम्बर कार्की १८ वर्ष जेल बस्नुभयो । नेपालको कम्युनिस्ट आन्दोलनमा सबै भन्दा बढि मंगलमणि सतार १८ वर्ष जेल बस्नुभएको थियो । यसरी थप्रै साथीहरु कम्युनिस्ट आन्दोलनकै क्रममा जेलमा बस्नुभयो । साथै रत्न कुमार वान्तवा, राम नाथ दाहाल, नेत्र घिमिरे, ऋषिराज देवकोटा लगायतका साथीहरुले जीवनको बलिदान दिनुभयो । अहिले एकीकृत बनेको नेकपालाई तल माथि गर्ने कोशिश भइरहेको छ । यो पार्टीलाई कमजोर बनाउनका निमित्त जानेर हो वा नजानेर हो, वरिष्ठ नेताहरु विभाजनतर्फ अघि बढ्नु भएको छ । यो दूर्भाग्यपूर्ण छ । यस्तो कदम कदाचित रुपमा उचित होइन । यो सोह्र मात्रै होइन ३२ सै आना अनुचित कुरा हो ।


० अहिले नेताहरुको बीचको विवाद कस्तो हो ? बिभिन्न किसिमबाट नेतृत्व र सत्तामा पुग्ने होडबाजी नै चलेको छ नी ?
अहिले मध्यान्हको घाम जस्तै छर्लङ्ग छ । जो सुकैले पनि देख्न र बुझ्न सक्छ । यो विवाद सैद्धान्तिक हुँदै होइन । न कुनै पद्धति छ र न कुनै शैली छ । व्यक्तिवादी महत्वकांक्षा, आकांक्षा, ईश्या, द्वश, रिससँग सम्बन्धित छ । पार्टी अध्यक्ष छोड, प्रधानमन्त्री छोड भन्ने जस्ता विषयहरु सैद्धान्तिक हुन् र ? यो त महत्वकांक्षा पुरा गर्नका निमित्त प्रधानमन्त्री केपी ओलीले गरेका कामहरुमा ईश्या जागेर यो विरोध गरिएको हो । नेपाली जनताले केपी ओलीलाई एक जना राष्ट्रवादी नेताका रुपमा चिन्छन् । राष्ट्रको स्वाधीनता र स्वतन्त्रताका निमित्त गरिएका कामहरु जनताले नै अनुभूति गरिरहेको अवस्थामा आफ्नो निहित व्यक्तिवादी महत्वकांक्षा पुर्ति गर्नका निमित्त अहिलेका घट्नाहरु घटाइएका हुन् । बिल्कुलै एक जना कम्युनिस्ट कार्यकर्ता र देशभक्त नागरिकले यो कुराको समर्थन गर्न सक्तैन । यस्ता कुराको कार्यकर्ता पंक्तिबाट कडा आलोचना हुन जरुरी छ । तुरुन्तै बन्द गर्न नेताहरुलाई खबरदारी गर्नुपर्दछ । पार्टीमा सदृढ एकताको पक्षमा जोगाइराख्नको निमित्त हामी सबैले पार्टीका तमाम नेता र कार्यकर्ताहरुले प्रयत्न गर्नु नै आजको आवश्यकता हो ।


० कम्युनिस्ट नेता र कार्यकर्ताहरुमा फलामे अनुशासन हुन्छ भन्ने गरिन्थ्यो । त्यो अवस्था रहेन हैन ?
अहिले पनि कम्युनिस्ट पार्टी भित्र अनुशासन छ । र, सधै रहनुुपर्छ । अनुशासन भनेको हिजो, आज र भोली सधै नै चाहिन्छ । अनुशासन भएन भने त्यो पार्टी अराजक हुन्छ । एउटा माक्र्सवादी, लेनिनवादी र क्रान्तिकारी पार्टी अनुशासनहिन ढंगबाट कसरी चल्न सक्छ ? अनुशासनमा आवद्ध भएर मात्रै एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी चल्न सक्छ । अहिले पनि नेकपामा अनुशासन छ । तर, केहि मानिसहरु त्यो अनुशासन तोड्नका निमित्त अराजक खालका गतिविधि गरिरहेका छन् । जुन अस्थायी र क्षणिक हो । जुन समयले परास्त र असफल गराउने छ साथै बिनास गराउँनेछ । फरी अनुशासन र पद्धतिको अवस्थाको निर्माण हुनेछ ।


० झण्डै दुई तिहाई मतको सरकार छ । तर, जनताले भने आशा अनुरुप काम नभएको भनेर आलोचना गरिरहेका छन् नी ?
यो बिल्कुलै आरोप मात्रै हो । मिथ्या र गलत कुरा हो । नेकपाको झण्डै दुई तिहाईको सरकार बनेपछि संघीय सरकार होस्, प्रदेश सरकार वा स्थानीय सरकार नै किन नहोस्, जनता र राष्ट्रका निमित्त धेरै विकासका कामहरु भइरहेका छन् । तथापि जत्ति हुनुपर्ने हो त्यति भइसकेका छैनन् । धेरै काम गरियो भनेर सन्तुष्टि मानेर बस्ने बेला चाहिँ होइन । तर, पनि कामै भएन भन्नु चाहिँ सरासर नै गलत हो । यस्तै किसिमका अवरोध सिर्जना नगरेको भए धेरै काम गर्न सकिन्थ्यो । अहिले कामै गर्न दिइएको छैन ।


० सत्ताको नेतृत्व गरिरहँनुभएका प्रधानमन्त्री केपी शर्मा ओली नै संसदीय दल, सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमै अल्पमतमा पर्ने अवस्था कसरी आयो त ?
पार्टीमा यस्ता खालका अवरोधहरु दुनियाँमा आउने गर्दा रहेछन् । हामी विश्व कम्युनिस्ट आन्दोलनकोे इतिहासतर्फ फर्केर हे¥यौं भने, चीनमा अध्यक्ष माओत्सेतुङ पनि अल्पमतमा पर्नुभएको हामीले देखेका थियौं । त्यसै गरी रुसमा लेनिन र स्तालिन पनि अल्पमतमा परेको अवस्था हामीले पढेका थियौं । कैयौं अन्तराष्ट्रिय अवस्थामा कार्लमाक्र्स र एंगेल्सको विचार पनि अल्पमतमा परेका थिए । निम्न पुँजीवादी चरित्र र चिन्तनमा आधारित भएपछि यो अवस्था सिर्जना हुन्छ । कामै नभएको होइन । हाम्रा नेतागणहरु र केन्द्रीय सदस्यहरु सबैले ओली सरकारले गरेका कामहरु देखेकै छन् । तथापि अहिले भोटिङको अवस्थामा पनि त गएको छैन । भोटिङ भएपछि नै बहुमत र अल्पमतको कुरा थाह हुन्छ ।


० तपाईहरु कम्युनिस्ट पार्टीमा लागेर झापा विद्रोहमा संलग्न हुँदा कस्तो कम्युनिस्ट शासनको कल्पना गर्नुभएको थियो ?
हामीले २०४८ सालको अन्ततिरबाट झापा आन्दोलनको सुरु गरेका थियौं । त्यो समयमा नेपालमा २६÷२७ वटा टुक्राहरुको कम्युनिस्ट पार्टी थिए । त्यो अवस्थामा एकीकृत गरेर शक्तिशाली कम्यनिस्ट पार्टी नेकपा (माले) को गठन गरियो । यसरी माक्सवादी लेनिनवादी ढाँचाको कम्युनिस्ट पार्टी गठनका लागि हामीले झापा आन्दोलन सुरु
गरेका हौं । त्यो समयमा पार्टीको नेतृत्वमा समाजको आमुल परिवर्तन, राजतन्त्रको अन्त्य, पञ्चायती तानाशाहीको अन्त्य गर्ने र राजतन्त्र र पञ्चायतको चिहान माथि गणतन्त्र निर्माण गर्ने त्यसपछि जनताका तमाम किसिमका समस्याहरु गास, बास,कपास, स्वास्थ्य, शिक्षा र सुरक्षा जस्ता समस्याको समाधान गर्ने, जनता माथिको उत्पीडन शोषणहरुको समाधान गर्ने, मजदूर, किसान हेपिएका जाति र जनजातिका समस्याहरु समाधान गर्ने र जनतामा आधारित समतामूलक सुन्दर समाजको निर्माण गर्ने भनेर हामीले झापा विद्रोह सुरु गरेका हौं । झापा विद्रोह सुरु गर्दा जनताका कुनै पनि अधिकारहरु थिएनन् । सारा अधिकारहरु खोसिएका थिए । त्यो समयमा जनतालाई संगठित गरेर जनताको पक्षमा राजतन्त्र विरोधी आन्दोलन सुरु गर्ने कुरा चानेचुने थिएन । तर, हामी हिम्मतका साथ एउटा कम्युनिस्ट सिपाहीको अठोटका साथ जनताका सेवाका निमित्त आन्दोलन सुरु गरेका थियौं । त्यस क्रममा थुप्रै हाम्रा आदरणीय अग्रजहरुको हत्या गरियो । सुखानी, छिन्ताङ, पिस्करलगायतका दर्जनौ ठाउँमा क्रान्तिकारीहरुको रगत बग्यो । यसरी देशका बिभिन्न ठाउँमा साथीहरुको हत्या भयो । वीर शहीदहरुको कसम खाएर रगतको टीका लगाई जवर्जस्त रुपमा पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्यका लागि लागिपरेका थियौं । शहीदको सपना साकार पार्ने अठोट लिएर हामीले निरन्तर रुपमा अघि बढेका हौं । राजतन्त्रले हामीलाई सिध्याउन चाहन्थ्यो । हामी र राजतन्त्रबीच लामो र निर्मम सघर्षहरु भए् । तर, गौरवका साथ भन्नैपर्दछ, शहीदहरुको रगतका बलले पञ्चायत र राजतन्त्रलाई चिहानमा कोरेर गणतन्त्र नेपालको निर्माण गरेका हौं । अझैपनि धेरै कामहरु गर्न बाँकी नै छ । जनताका आधारभूत समस्याहरुको समाधान गर्न बाँकी नै छ । हामी त्यहि काम पुरा गर्नका निमित्त सबैभन्दा पहिला पार्टी भित्रै एकता, अनुशासन र दृढताको आवश्यकता पर्दछ । त्यो नै पहिलो शर्त हो । त्यसैकारण शहीदको सपना पुरा गरेर झापा आन्दोलन, कोअर्डिनेशन कमिटी र नेकपा माले कालको अठोट पुरा गर्नका निमित्त पार्टीको लौह अनुशासनको आवश्यक छ । यसको कुनै बिकल्प हुनै सक्तैन । बिभाजनको कुरा हामीले झिकेर फालिदिउँ । बिभाजनले नेपाली कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति ब्यहोर्दै आएको छ । सबै कम्युनिस्टहरु एकै ठाउँमा उभिने हो भने समुन्द्रको भन्दा बढि तागत उत्पन्न हुनेछ । नेपालका कम्युनिस्टहरु दुःख पाउनको कारण नै विभाजन हो ।
विभाजन, फुट र गुटका कारणले सधै दुःख पाएका हौं । हामीले फेरी पनि नेकपाको शक्ति निर्माण गरेका छौं । यसले नेपालको राजनीतिमा मात्रै होइन पहाड जस्तो दह्रो खरो जनताको आँट र भरोसा, जनताको विश्वास आर्जन गरेको शक्ति निर्माण गरेका छौं । यसलाई कमजोर बनाउन, टुक्राउन र फुटाउनका लागि देशी विदेशी तमाम खाले शक्तिहरु लागिरहेका छन् । नेपाली जनताको शोषण र उत्पीडनलाई निरन्तरता दिनका लागि जोड गरिरहेका छन् । यो कुरा बुझेर पार्टी एकतालाई जोगाउनका लागि तपाईको मिडिया मार्फत नेताहरुलाई अनुरोध गर्न चाहन्छु । हाम्रा आदरणीय नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, प्रचण्ड, वामदेब गौतमहरुले पार्टीलाई कमजोर बनाएर विभाजनको खाल्डोमा धकेल्ने काम गर्नुभयो भने इतिहासले तपाईहरुलाई क्षमा दिने छैन । साथै नेपाली जनताले क्षमा दिने छैनन् । धेरै अप्ठ्यारो ब्यहोर्ने गरी जनताले दण्डित गर्नेछन् । हुनतः पार्टी निर्माणका निमित्त दुःख कष्ट भोगेर यो अवस्थामा आएका नेताहरुले पार्टी एकताका निमित्त भूमिका निर्वाह गर्नुपर्ने हो । अहिले पनि क्षेत्र क्षेत्रमा गुटका भेलाहरु गरिएको सुन्नमा आएको छ । कृपया यस्ता कामहरु बन्द गरी इतिहासका आवश्यकतालाई पुरा गर्न जरुरी छ । इतिहासको प्रवाहको विरुद्धमा जो जान चाहन्छ, उ नराम्ररी भित्तामा पुगेर ठोकिने छ ।


१८ गते देखि स्थायी समिति र २२ गतेबाट केन्द्रीय समितिको बैठक बस्ने भनिएको छ । त्यसमा तपाईको तर्फबाट विवादको अन्त्यका लागि विकल्पहरु के हुन सक्छन् ?
हुन त अहिले म यी कमिटीहरुमा छैन । हामीले दुई पार्टी नेकपा एमाले र नेकपा माओवादीको एकीकरण गरी पार्टीको विधान निर्माणको क्रममा पटक पटकका अवस्थामा अध्यक्षद्वयको सहमतिमा विवाद टुङ्गो लगाउने भनिएको छ । अध्यक्षद्वय केपी ओली र प्रचण्डको बीचमा सहमति आवश्यक छ । सहमतिका आधारमा पार्टीको एकता अगाडी लिएर जानुपर्दछ । अहिले के कस्ता समस्याहरुको उठान भएका छन् र कसरी समाधान गर्ने ? जहाज उडाउन जान्नेले जहाज ‘लेण्ड’ गर्न पनि त जान्दछ । सचिवालय, स्थायी कमिटी र केन्द्रीय समितिको बैठकले आवश्यक ध्यान दिएर काम गर्नेछ । साथै आवश्यक भूमिका पनि खेल्ने नै छ । सहमति, एकता र फेरी पनि सहमति त्यसपछिको एकताको कुनै विकल्प नै छैन । तथापि सहमतिको विरुद्धमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी कुनै गतिविधि गर्ने छैन । बैठक एकताकै पक्षमा हुनेछ, भन्ने आशा र विश्वास गरेको छु । एकता जोगाइ एकीकृत पार्टी बनाएर, एकताको डोरी छिन्न नदिन तमाम कार्यकर्ताहरुको पार्टी एकता होस् भन्ने भावनालाई साकार बनाउनका निम्ति पार्टीको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीले भूमिका खेल्ने छ भन्ने शुभकामना दिन चाहन्छु ।


तपाई राजनीतिमा लाग्दा १८ वर्ष जेल बसेर गलत गरेछु भनेर दुःख मान्नु भएन ? वा राजनीतिमा लाग्दा राम्रो गरेछु भन्ने खुशी के मा लाग्यो ?
गज्जवको कुरा गर्नुभयो नारायणजी । मलाई कम्युनिस्ट आन्दोलनमा लागेका कारण जेल परे र दुःख पाए भन्न हालसम्म कुनै दिन छैन । मैले झापा आन्दोलनमा सक्रिय भई तरबार चम्काएर, बन्दूक र बारुद पड्काएर हिडेको अवस्थामा होस वा गिरफ्तार भएर सर्वस्वसहित आजीवन जम्मकैदको सजाय पाएर खुट्टामा नेल र हातमा हत्कडी लगाएर जेलका चिसा छिडीहरुमा निर्मम यातना ब्यहोर्दा, आफ्नै सहयोद्धा साथीहरुले रगत बगाउँदै वीरगति प्राप्त गर्दा वा जेलका चिसा छिडीहरुमा हाम्रा आदरणीय साथीहरु छवि राजवंशी, भेट्वा राजवंशी, हरि कृष्ण चौधरी, भीम बहादुर खड्का जेलका चिसा छिडीहरुमा निर्मम यातनाका कारण मृत्युवरण गरेका अवस्थामा कहिल्यै पनि कम्युनिस्ट पार्टीमा लागेर दुःख लागेन । कम्युनिस्ट पार्टी प्रतिको विश्वासलाई कम्युनिस्ट पार्टीको अगुवाईमा पहलकदमीमा समाजमा रहेको शोषण र दमन र उत्पीडनलाई निर्मुल गरी समतामा आधारित समाज, जनवादी समाज र साम्यवादी समाजको घोषणा गर्न सक्छौं । सुन्दर नेपालको निर्माण गर्न सक्छौं । हिमाल भन्दा पनि सुन्दर नेपालको निर्माण गर्न सक्छौं । यहि परिकल्पनाका कारण मेरो मन मष्तिस्कमा कहिल्यै पनि विचलित भावना आएन । मेरो उमेर यहि मंसिरको २६ गतेबाट ७२ वर्षमा लाग्दैछु । म २१ वर्ष नपुग्दै कम्युनिस्ट पार्टीमा संलग्न भएको हुँ । निरन्तर रुपमा ठीक ठाउँमा लागेको छु । मैले कम्युनिस्ट पार्टीमा लागेर जे गरिरहेको छु , राष्ट्र र जनताको मुक्तिका निमित्त, राष्ट्रको स्वतन्त्रताका निमित्त बिल्कुलै ठीक गरिरहेको छु भन्ने लागिरहेको छ । बाचुञ्जेल नै विचलित हुने वला छैन । कुनै शक्ति वा तागतले मलाई झुकाउने छैन । मलाई निरंकुश राजतन्त्रले पनि कहिल्यै झुकाउन सकेन । जेलमा भएका यातना, पीडा, गोली र बन्दूकको कुन्दाले पनि झुकाएन । म कम्युनिस्ट पार्टीको एक जना योद्दाका रुपमा नेपाली जनताको सेवकको रुपमा बाचुञ्जेल लागिरहँने छु । यसरी म सधै लागिरहँन्छु भनेरै शहीदको कसम खाएको छु । त्यस अर्थमा पनि म कहिल्यै बिचलित हुने छैन । निरन्तर रुपमा लागिरहँने तपाईको मिडियामार्फत प्रतिज्ञा पनि गर्दछु ।

० अन्तमा …………..?
म पार्टीका शिर्ष नेताहरुलाई भन्न चाहन्छु कि पार्टी तल माथि भयो भने माधव नेपाल, प्रचण्ड, झलनाथ खनाल, केपी ओली, वामदेव विष्णु पौडेल, ईश्वर पोखरेल कोहि पनि रहँने छैनन् । पार्टी जति सदृढ र शक्तिशाली बन्छ । त्यति नै नेताहरु नै स्थापित हुने हो । त्यसैले आदरणीय नेताहरु आक्रोश, आवेश, आत्मकेन्द्रीत भावना, महत्वकांक्षालाई बिर्सनुहोस् र एकतालाई जोगाउनका लागि र जनताका र १० औ लाख पार्टीका कार्यकर्ताको भावना, हजारौं शहीदको बलिदानबाट उब्जिएको एकतालाई बिचलित नभई जोगाउनुहोस् । फेरी पनि एकताका निमित्त सबैको दायित्व बनेको छ भन्ने चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.