यस्तो भयावह अवस्थाबाट देशलाई पार लगाउन नयाँ विकल्पसहित अगाडि बढ्नु पर्छ

गणेश विष्ट, केन्द्रीय सदस्य राप्रपा
जुझारु विद्यार्थी नेतादेखि यतिवेला राष्ट्रिय प्रजातान्त्रिक पार्टीको केन्द्रिय सदस्य रहनु भएका गणेश विष्ट कानुन व्यवसायिका रुपमा पनि चिरपरिचित नाम हो । २०४६ सालदेखि नेपाल ल क्याम्पसमा भर्ना भएर अध्ययनसँगसँगै राजनीतिमा पनि होमिनु भएका उहाँ २०४९ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन राप्रविको नेपाल ल क्याम्पस स्ववियु सभापति भएर राजनीति सुरु गर्नुभएको थियो । विष्टले त्रिभूवन विश्वविद्यालयहुँदै २०६३ सालमा युवक संगठनको कोषाध्यक्ष र पार्टीको युवकको संगठन विदेश विभाग प्रमुख भएर पनि काम गर्नुभएको छ । उहाँ वैतडीबाट संविधानसभाको चुनावमा पनि लडनुभएको थियो । राजनीति र कानुन व्यवसायलाई सँगसँगै अगाडि बढाउनुभएका गणेश विष्टसँग डायरी एक्सप्रेसका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः–
यतिवेला के गर्दै हुनुहुन्छ ?
तपाईं हामीलाई थाहै छ यति वेला कोरोना कहरले सबैलाई आक्रान्त बनाएको छ । यसले हरेक क्षेत्रलाई प्रभवित बनाएको छ । फेरि पनि केही कृयाकलापहरु भइनै रहेका छन् । आफ्ना केही व्यक्तिगत काम, केही पार्टीका काम र केही व्यवसायका काममा आफूलाई संलग्न गराउँदै आएको छु यतिवेला ।
लामो समयको अन्तराल पछि राप्रपा यतिवेला एक भएको छ, यहाँ पनि एकिकृत राप्रपाको केन्द्रिय सदस्य हुुनुहुन्छ अब कसरी अगाडि बढछ जस्तो लाग्छ ?
हो, हाम्रो लामो प्रयास यतिवेला सफल भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच पार्टी एकता भएसँगै यतिवेला नेता तथा कार्यकर्तामा उर्जा थपिएको छ । एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नयाँ जोश र नयाँ जागरका साथ नयाँ उत्साहका साथ अघि बढेको छ । अब एकता महाधिवेशन आगामी वर्षको वैशाख २५ देखि २८ सम्म काठमाडौंमा हुने भएको छ । पार्टीको चुनाव चिन्ह हलो र ‘गाई’ अंकित रातो, पहेँलो र निलो रंगको झण्डा एकिकृत पार्टीको झण्डा भएको छ । पार्टी एकिकरण भएर निर्वाचन आयोगबाट हालै मान्यता पाएपछि केन्द्रीय कार्यसमिति विस्तार गरिएको हो ।
त्यसो भए अब पार्टी एक ढिक्का भएर अघि बढछ ?
हो, अब यसको विकल्प छैन । ब्रम्हलुट, सर्वसत्तावाद, धर्मपरिवर्तन, बिदेशी चलखेललाई पराजित गर्न तथा राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउँदै लैजानुको विकल्प छैन । सुशासन समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण देशभक्त प्रजातन्त्रवादीहरूले संयुक्त मोर्चा बनाएर जानु आवश्यक छ ।
पटक–पटक फुटजुटको शृंखलाबाट गुज्रेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुनः एकीकृत भएको छ । नेपालको राष्ट्रिय राजनीतिमा परम्परागत मूल्य–मान्यताको जगमा खडा भएको राप्रपाको एकीकरणपश्चात स्वभावतः सामान्य नै भए पनि केही तरंग देखा परेका छन् । एकताको पृष्ठभूमि तथा भविष्यको सम्भावनाबारे थुप्रै आशंका र आंकलन देखिएका छन् ।
पार्टी एकीकरणलाई के ले प्रोत्साहित ग¥यो भन्ने लाग्छ ?
विगत १२ वर्षको राजनीतिक अभ्यासका क्रममा कांग्रेस र कम्युनिस्ट पार्टीहरू पटक–पटक असफल प्रमाणित भएको तथा जनआकांक्षाअनुरूप काम गर्न नसकेकाले कंग्रेस कम्युनिस्टबाहेक अर्को शक्ति भइदिए हुन्थ्यो भन्ने आमजनताको भावनाले समेत पार्टी एकीकरणलाई प्रोत्साहित गरेको हो भन्ने लाग्छ । राप्रपा एकीकरणबाट देशले एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति प्राप्त गरेको छ । कांग्रेस र कम्युनिस्टबाट वाक्कदिक्क भएका जनताले भोट हाल्ने र भरोसा गर्न सकिने विकल्प पाएका छन् ।
वर्तमान देशको अवस्थालाई कसरी लिनुहुन्छ ? जनता कोरोना कहरमा छन् तर, राजनीतिक विवादमा सधैँ देश रुमलिएको देखिन्छ नि ?
कोभिड–१९ भन्दा ठूलो भ्रष्टाचारले गाजेको छ देशलाई । राजनीतिक विवाद भन्दा पनि भागवन्डाको विवाद छ यतिवेला । देश अप्ठ्यारो अवस्थामा छ । यसलाई अब अगाडि बढाउने जिम्मा तपाईं हाम्रो काँधमा छ । देशले अब परिवर्तत खोजेको छ । यस परिवर्तनमा तपाईं हामी सबै सहभागी हुनुपर्ने समयको माग हो । सबैतिर बेथिति छ, विसंगति छ, अराजकताले पराकाष्ठ नाघेको छ । घरबाहिर निस्केका बालिका सुरक्षित छैनन् । देशको यस्तो भायवह अवस्थाबाट देशलाई पार लगाउन नयाँ विकल्पसहित अगाडि बढनुको विकल्प छैन ।
तपाईं कानुन व्यवसायी पनि हुनुहुन्छ ? दिनहु महिला तथा बालबालिका असुरक्षित हुँदै गएका छन् । न्याय हराउँदै गएको छ भन्दै दिनहुँ प्रदर्शन भइरहेका छन् । एउटा कानुन व्यवसायीका हिसावमा मुख्य समस्या कहाँ देख्नुहुन्छ ?
हो, तपाईंले भने जस्तै म कानुन व्यवसायी रुपमा पनि लामो समयदेखि यो क्षेत्रमा रहेर काम गरिरहेको छु । मैले व्यवसायका रुपमा भन्दा पनि सेवाका रुपमा यसलाई अगाडि बढाइरहेको छु । कानुन बनाएर मात्र होइन त्यसलाई कार्यन्वयनमा ल्याउनु मुख्य कुरा हो । राजनीतिक गर्ने व्यक्तिलाई न्यायिक क्षेत्रमा ल्याउनु हुँदैन तर ल्याइयो । हरेक क्षेत्रमा राजनीतिक करणका कारण नै कानुन कमजोर भएको हो भन्ने लाग्छ ।
अन्त्यमा,
वास्तविकताको धरातलमा राप्रपामा मात्र वर्तमान अवस्थामा कंग्रेस र कम्युनिस्ट पार्टीको विकल्प बन्ने वैचारिक एवं सांगठनिक चरित्र र क्षमता छ । अनुभवले खारिएका र लामो राजनीतिक यात्राका बाबजुद भ्रष्टाचार र अनियमितताको कुनै दाग नगलागेका र इतिहासको अग्निपरीक्षामा उत्तीर्ण भएका नेतृत्व छ । यो समय र सम्वादका लागि धेरै धेरै धन्यवाद ।