September 1, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

नेताहरुको रबैया हेर्दा सिंगो कम्युनिस्ट आन्दोलन कहाँ पुग्छ ? भन्ने लागिरहेको छ ः पूर्व मन्त्री साह

धर्मनाथ प्रसाद साह, पूर्व मन्त्री तथा नेता, नेकपा


अहिलेको सुबिधा भोगी भएको अवस्था हेर्दा त्यहि मान्छे हौ कि होइनौं भनेर सोच्नुपर्ने अवस्था छ ।
० मिलेर अघि बढेको भए पचास वर्षसम्म कसैले हल्लाउन सक्ने थिएन ।
० हाम्रो लिगल सिस्टम प्रति पनि जनताको जति विश्वास हुनुपर्दथ्यो त्यो छैन ।
० बेलायतकी महारानीले न्यायाधीशलाई बोलाएर पुरुस्कार दिइन् र भनिन् ‘तिमी जस्तो न्यायाधीश मेरो देशमा बस्यौ भने देशमा कहिल्यै बिपत्ति आउँदैन’।
० संविधान घोषणा भएको दिनमा मधेशबादी भनिने पार्टीका कार्यकर्ताहरु आएर मेरो घरमा तोडफोड गरिरहेका थिए ।
० त्यो समयमा कम्युनिस्ट भावना प्रति ओतप्रोत थियो ।

वि.स. २०१६ साल असार २५ गते साबिक बडाहरामाल–८, सिराहामा बाबु कस्तुरी साह र आमा सुन्दरी देबी साहको सन्तानका रुपमा जन्मनुभएका धर्मनाथ प्रसाद साह कम्युनिस्ट पार्टीमा लागे बापत १४ वर्षको उमेरमा जेल पर्नुभएको थियो । साथै कम्युनिस्ट पार्टीमा लागे बापत पटक पटक गरी दुई वर्ष जेल, एक वर्ष भूमिगत र पाँच वर्ष निर्वासनमा बिताउनुपरेको थियो । २०३४ साल देखि नै राजनीतिमा प्रवेश गर्नुभएका साह २०४६ सालको जनआन्दोलनको सुरुवातमै आफैले प्राध्यापन गराउनुभएको पृथ्वी नारायण क्याम्पस पोखराबाट गिरफ्तार भई कास्की, मुस्ताङ र स्याङजा जेलमा अड्डा सार गर्दै यातना भोग्नुभयो । भारतको दिल्ली विश्व विद्यालयबाट कानूनमा स्नातकोत्तर (एलएलएम) गर्नुभएका साह क्याम्पसमा स्थायी प्राध्यापन पेशाबाट नै राजिनामा दिएर राजनीतिमा होमिनुभयो । सिराहा क्षेत्र नम्बर पाँच बाट प्रतिनिधि सभाको सांसद र २०७० सालको संविधानसभामा समेत तत्कालिन नेकपा एमालेको तर्फबाट सभासद बन्नुभयो । अहिले झण्डै दुई तिहाईको नेकपाले नेतृत्व गरेको पार्टीको सरकार छ । यो अवस्थामा पनि अपेक्षित सेवा गरिब, दुःखी र निम्न बर्गिय असाहायहरुले पाउन सकिरहेका छैनन् । यसै सेरोफेरोमा रहेर पूर्वमन्त्री तथा नेकपाका नेता साहसँग डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले गरेको कुराकानीः


० अहिले झण्डै ३३ महिना देखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थिर सरकार बनेको छ । तर, जनताले आशा र अपेक्षा गरेको सेवा सुबिधा लिन सकिरहेका छैनन् नी ?
सत्य हो । नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बनेपछि समावेसी, समानुपातिक होला, जनताका पक्षमा धेरै राम्रा काम होलान् भन्ने विश्वास थियो । तर अहिले हामीहरु घर बाहिर गएर बुझ्दा समयमा सहज रुपमा मल नपाउँदा किसानहरु रुस्ट छन् । विदेशमा काम गर्न गएका युवाहरु पनि रिसाएका छन् । नेपालमै बेरोजगार भएकाहरु पनि सरकारसँग खुशी छैनन् । अहिले किसान, मजदुरलगायत कोहि पनि सन्तुष्ट देखिएका छैनन् । स्थिर सरकार बनेपछि केहि होला भन्ने जनताको आशा थियो । जति गर्नुपर्ने थियो त्यो हुन सकिरहेको छैन ।


० तपाईहरु जस्ता थुप्रै स्थायी जागिर छाडेर कम्युनिस्ट राजनीतिमा लाग्नेहरुको रगत पसिना बगेको छ । तर, सरकारमा जाने बित्तिकै किन यो अवस्था हुन्छ ?
म पनि १४ वर्षको उमेरमा पञ्चायत विरोधी राजनीतिमा लागेका कारण जेलमा बसेँ । त्यो समयमा जेलमा १७ जना कैदीहरु थिए । ति मध्ये सबैभन्दा कान्छो म नै थिएँ । तर, सबैभन्दा कान्छो भएपनि सबै भन्दा ठूलो नेल मलाई लगाइन्थ्यो । मसँग पढेका साथीहरु डाक्टर, इन्जिनियर बने, सरकारी जागिर खाए । तर, म भने राजनीति गर्ने सोचमा लागेँ । मैले माक्र्स, एगेल्स, लेनिन, स्तालिन, माहात्म गान्धी, ज्वावहरलाल नेहरुहरुको बारेमा पढे । उहाँहरु सबैले राजनीति गर्दा कानून विषय पढेको पाएँ । मैले एसएलसी परीक्षा दिदा जम्मा ९६ जना फस्ट डिभिजनमा पास भएका थियौं । त्यसैले म डाक्टर वा इन्जिनियर पढ्न सहजै पाउँथे । तर, यहाँको समाज हेर्दा पढे लेखेकाहरुको कुनै मतलव छैन । हामी त सामान्य किसानका छोराहरु हौं । हामी भूमिगत भएर जुन उद्देश्यका साथ राजनीतिमा आएका थियौं अहिलेको सुबिधा भोगी भएको अवस्था हेर्दा त्यहि मान्छे हौ कि होइनौं भनेर सोच्नुपर्ने अवस्था छ । कहिलेकाँही त म कम्युनिस्ट हो ? भनेर आफै अलमलमा पर्दछु । अहिले त खाने र ख्वाउनेहरु, धनाढ्यका छोरा छोरीहरु राजनीतिमा आएका छन् । उनीहरु सबै पार्टीमा हाबी भएका छन् । हाम्रो नेतृत्व किन यस्तो भयो ? हामी जस्ता हजारौ साथीहरुले सारा जीवन पार्टीमा खर्चिएका छन् । उनीहरु सबै पछि परेका छन् ।


० बुद्धिजिबीहरु पछि पर्नु र धन हुने व्यापारी र दलालहरु अघि आउनुमा वर्तमान निर्वाचन प्रणाली पनि दोषी होइन ? अहिलेको राजनीतिक चुनावी संरचनाका कारण नै यस्तो अवस्था आएको भन्छन् नी ?
अहिले निर्वाचन प्रणाली बारे सोच्नै पर्ने अवस्था आएको छ । अन्यथा हामी जस्ता मानिसको कुनै काम छैन । हामी जस्ता इमान्दार मानिसहरु यो निर्वाचन प्रणालीबाट जित्न सक्तैनौं । २०५६ सालको निर्वाचनमा दुई जना साथीहरु झगडा गरेका थिए । किन झगडा गरेको हो भनेर सोद्धा एक जनाले भने ‘उसले मलाई एउटा खुर्सानी दिएन’ । त्यो समयमा त्यस खालका इमान्दार कार्यकर्ताहरु थिए । अहिले त मोटर साइकल, तेल र मासु भात नै ख्वाउनुपर्ने हुन्छ । यो एक दुई पटक पछि यस प्रकारको निर्वाचन प्रणाली रहँन सक्तैन । अन्यथा व्यापारी र तस्करहरुका छोरा छोरी यस्ता निर्वाचनमा विजयी हुने अवस्था आउनेछ । त्यसैले अहिलेको निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्दछ ।
० पूर्व सभासद रबिन कोइराला लगायतका टिमहरु निर्वाचन प्रणाली परिवर्तन गरौ भनेर बैकल्पिक उपयाको खोजीमा छौं भन्नुभएको थियो नि ?
हामी यो निर्वाचन प्रणालीमा सुधारका लागि दवाव दिइरहेका छौं । तथापि हाम्रा नेताहरुले राम्रा र समसामायिक सुझावहरु सुनिरहँनुभएको छैन । तर, यो प्रणालीको निर्वाचनले देश र जनतालाई फाइदा गर्दैन । हाम्रो प्रयासले कुनै दिन यो परिवर्तन हुने नै छ ।
तपाईहरुले संविधानसभाबाट बनाएको समाजवाद उन्मुख २०७२ सालको संविधान कार्यन्वयन गर्नुपर्ने अवस्थामा नेकपाको सरकार सत्तामा रहँदा पनि कोरोना भाइरस (कोभिड–१९) का संक्रमित जनताको उपचार आफै गर्नु भनेर सरकारले भनेको छ नी ?


स्वास्थ्य उपचार जनताको फण्डामेन्टल राईट्स ( मौलिक अधिकार) हो । नागरिकको सुरक्षा, शिक्षा र उपचार गर्ने दायित्व सरकारको हो । यो अवस्थाबाट कुनै पनि हालतमा सरकार पन्छिन पाउँदैन । सरकारलाई सर्वोच्च अदालतले पनि आदेश दिएको छ । अब त लागू गर्ला जस्तो छ । स्वास्थ्य मन्त्री माथि पनि अदालतको मानहानीको मुद्दा चलिरहेको छ । अदालतको आदेश नहुँदासम्म नेताहरुको विचार सून्य भयो । यो राम्रो होइन । यस्ता विषयमा पनि अदालतले आदेश दिनुपर्ने ? सरकार आफै केहि गर्न नसक्ने ? यसरी सरकारले जनताको उपचार आफै गर भन्नु एकदमै गैर जिम्मेवार कुरा हो ।


० अहिले विश्व व्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीमा छ । तर, जिम्मेवार नेताहरु पदकै लागि झगडा गरिरहेका छन् । तपाई एक जना जिम्मेवार नेताको हिसावले के भन्नुहुन्छ ?
कुनै पनि काम गर्नका निमित्त एउटा प्रणालीमा जानुपर्दछ । पार्टी सञ्चालन गर्नका लागि हाम्रो विधान छ । विधानलाई सबैले मान्नुपर्दछ । विधान भन्दा माथि कोहि पनि हुँदैन । तर, यहाँ त विधान आफु अनुकूल व्याख्या गरिन्छ । आफुलाई फाइदा हुने भयो भने त्यो विधान ठीक र अन्यथा बेठीक भनिन्छ । दुई ठूला कम्युनिस्ट पार्टीहरु बीच पार्टी एकता भयो । जनताले आशा गरे जस्तै झण्डै दुई तिहाइको कम्युनिस्ट पार्टीको सरकार बन्यो । केन्द्रमा मात्रै नभएर सात वटा प्रदेश मध्ये ६ वटामा एकलौटी सरकार छ । काम गर्न चाहँदा ठूलो अवसर हो । यसरी हाम्रा नेताहरु हाम्रो पार्टीको विधान बमोजिम हिडेको भए पचास वर्षसम्म अन्य कुनै पार्टीले टाउँको उठाउने थिएनन् । तर, अहिले हाम्रै नेताहरुले विधान मानेका छैनन् । पार्टी एकताका पुरै कामहरु सकिएका छैनन् । यहाँका जिल्ला कमिटीहरु बनेका छैनन् । न नगर कमिटी छ, नत इलाका कमिटी नै छ । अहिले हाम्रै पार्टीबाट निर्वाचित भएका पालिकाका प्रमुखहरु आ–आफ्नै हिसावले काम गरिरहेका छन् । जसलाई जे मन लाग्छ त्यहि गरिरहेका छन् । सबै जना छाडा भएका छन् । पार्टी एकता भयो भनेर सर्कुलर आयो, मिलेर जाने भनियो । सकुलर प्रदेशमा आउन पाएको छैन, फेरी अर्को निर्णय हुन्छ । यो अवस्थाका कारण हामी जनतासँग पुग्न बाहिर निस्कन असाध्यै गाह्रो भएको छ । जनताले चिन्ता गरेर सोधेको अवस्थामा के जवाफ दिने ? मिलेर अघि बढेको भए पचास वर्षसम्म कसैले हल्लाउन सक्ने थिएन । तर, यसरी अगाडि बढेको खण्डमा त हामीले लाओस, भियतनाम, पश्चिम बंगाल, केरला जस्ता ठाउँको कम्युनिस्ट पार्टीको अवस्था के छ ? विश्व कम्युनिस्ट आन्दोलन कुन अवस्थामा छ ? यो विषयमा ध्यान दिइएन भने भोलि हामी कहाँ पुग्छौं ? नेताहरुको रबैया हेर्दा सिंगो कम्युनिस्ट आन्दोलन कहाँ पुग्छ ? भन्ने लागिरहेको छ ।


० तपाई कानूनको पृष्ठभूमिको एक जना नेता हुुनुहुन्छ । अहिले न्यायलयबाट पनि सामान्य जनताले न्याय पाउन एकदमै कठीन छ । न्यायलयमा पारदर्शिता छैन, भ्रष्टाचार व्याप्त छ भन्ने गुनासाहरु छन् । तपाई के भन्नुहुन्छ ?
हामीले पढे अनुसार दुई प्रकारको न्याय प्रणाली हुन्छ भनिन्छ । एक एक्जिस्टिङ लिगल सिस्टम भनिन्छ, जसमा सरकारले बनाएको नियमावली कानून, ऐन, संविधान एक्जिस्टिङ लिगल सिस्टम हो । अर्को ननएक्जिस्टिङ लिगल सिस्टम भनिन्छ । यस अन्तर्गत परम्परा र समाजको आफ्नै कानून हुन्छ । जहाँ एक्जिस्टिङ लिगल सिस्टम फेल हुन्छ, अन्याय हुन्छ । मुद्दा फैसला हुन लामो समय लाग्छ । मुद्दा फैसला हुन एक पीढि नै लाग्छ, कानूनी खर्च महंगो हुन्छ । हाम्रो लिगल सिस्टम प्रति पनि जनताको जति विश्वास हुनुपर्दथ्यो त्यो छैन । यो सिस्टममा न्याय पाउदिन भनेर दिन प्रतिदिन जनताको विश्वास घटिरहेको छ । जस्टिस डिलाइ इज जस्टिस डिनाई भनिन्छ । अर्थात ढिलो न्याय दिनु पनि अन्याय हो भनिन्छ । यसले गर्दा ननएक्जिस्टिङ लिगल सिस्टमको जन्म हुन्छ । त्यो भनेकै राज्यको यो कानून मान्दिन भन्नु हो । त्यो अवस्थामा समाजमा कुनै घट्ना घट्यो भने पञ्चायती बसेर समाजले आफै मिलाउँछ । यतिसम्म कि फौजदारी मुद्दाहरुमा पनि उनीहरु आफै मिलाइदिन्छन् । इण्डियामा ‘पिपल्स कोर्ट’ अर्थात जनताको अदालत भन्ने अवधारणा आएको थियो । जुन मैले वंगलादेशमा देखेको छु । हाम्रो नगरपालिका जस्ता त्यहाँका पाँचवटा नगरपालिका मिलेर बैठक बसे । यहाँको न्याय प्रणाली ठीक छैन । ढिलो र महंगो छ । हामी गरिबहरुले न्याय पाउँदैनौं । कहिले काँही न्याय पाए पनि साध्यै ढिलो हुन्छ । त्यसपछि सबैले निर्णयमा सहि गरेर ११ जनाको जुरी बनाए । कुनै मुद्दा गर्नु परेमा त्यहाँका दुई वटा रुख भएको एक ठाउँमा डोरी बाधेर खसालिएको छ । त्यहाँको अर्को विशेषता के छ भने चुरोटको कागजमा लेखेर अन्याय भयो भनेपछि त्यहाँ मुद्दा सरह मानिन्छ । यहाँ जस्तो नेपाली कागजमा लेखेर वकिल लगाउनु पर्दैन । डोरीमा कागजमा लेखेर झुण्डाएको देखेपछि एकजना मानिस आएर हेर्छन् र कानूनी प्रक्रियामा अघि बढउँछन् । समय तालिका पनि तुरुन्तै निर्णय भइहाल्छ । यहाँसम्म कि ज्यान केस पनि यहि मिलाइन्छ । ति सबै मुद्दाहरु जुरीले नै हेर्छ । त्यहाँ यो सिस्टम लागू गरिएको झण्डै २० वर्ष भयो । यो अवधिमा एउटा मुद्दा पनि बाहिर आएको छैन ।


हाम्रो लिगल सिस्टम, यहाँको न्यायापरिषद् र अदालत त सबैलाई जानकारी नै छ । हामी कहाँ एक कठ्ठा जग्गाको मुद्दा लड्दा चार कठ्ठा जग्गा बेचेका छन् । तथापि मुद्दाको छिनोफानो हुन सकिरहेको छैन । मुद्दा लड्दा लड्दै उठिबास हुने अवस्था आएको छ ।
संसारका कतिपय देशमा अहिले पनि न्यायपालिका प्रति जनताको आस्था र विश्वास छ । बेलायतमा एक समय राजकुमारले मादक पदार्थ सेवन गरि गाडी चलाएर ट्राफिक नियम उलंघन गरेछन् । त्यस पछि ट्राफिकले राजकुमारलाई समातेछ । प्रहरीको सिफारिसमा अदालतमा राजकुमार विरुद्धमा मुद्दा चलाइयो । मुद्दामा अदालतले राजकुमारलाई जरिवाना ग¥यो । त्यसपछि बेलायतकी महारानीले न्यायाधीशलाई बोलाएर पुरुस्कार दिइन् र भनिन् ‘तिमी जस्तो न्यायाधीश मेरो देशमा बस्यौ भने देशमा कहिल्यै बिपत्ति आउँदैन’ । के नेपालमा भएको भए एक जना ट्राफिक प्रहरीले कुनै राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्रीका छोरालाई समात्न सक्छ ? त्यो अवस्थामा उसको हालत कस्तो हुन्छ ?
० हाम्रो कानूनी प्रणाली समाज सुहाउँदो नभई कानून सुहाउँदो समाज बनाउन खोज्दा यो अवस्था आएको हो ?
हाम्रो न्याय पालिका समाज अनुसार नभएर समाज नै परिवर्तन गराउन खोजे जस्तो भयो ।
० तपाईको प्रदेशमा पनि धेरै गरिब, दलित र किसानहरु छन् । कम्युनिस्ट पार्टीको सरकार बनेपछि आशा र अपेक्षा गर्नेहरु धेरै छन् । कसरी आश्वस्त पार्नुभएको छ ?
हाम्रो प्रदेश पहिल्यै देखि पीछडिएको क्षेत्र हो । हाम्रो क्षेत्रमा पहिल्यै देखि संघीयताको माग थियो । संघीयता पनि आयो । तर,जनतालाई संघीयताको स्वादको अनुभव नै भएको छैन । अहिले पनि प्रदेश सरकारले अधिकारको विषयलाई लिएर संघीय सरकारलाई पाँच वटा मुद्दा हालेको छ । हेर्दा संघीयता बनेको छ । तर, अधिकार भने संघले दिन मानिरहेको छैन । उपेन्द्र यादवले संघीयता मेरो मुद्दा हो भनिरहेका छन् । तर, यो मुद्दा अरु कसैको होइन, मधेसी जनताको हो । म पनि यो देशको नागरिक हुँ । संघीयता मधेशको हावापानीको माग हो । समावेसी पनि यहिको माग हो । उपेन्द्र यादव र राजेन्द्र महत्तोको माग होइन । मैले पार्टीमा पनि बारम्बार यो विषय उठाएको थिएँ । आन्दोलन गरेपछि मात्रै संघीयताको घोषणा हुन्छ । मधेशबादीहरु हामीले ल्याएको भन्छन् । जुन बेलामा यो माग उठायौं । त्यो समयमा पार्टीले सुनेको भए, यो हाम्रो मुद्दा हुने थियो । हामी स्थापित हुने थियौं । तर, हाम्रा नेताहरुले सुन्नुभएन । आन्दोलन गरेपछि हाम्रै नेताहरुले ल्याप्चे छाप लगाउनुभयो । सहि सुझाव समयमा नसुन्दा हामी अप्ठ्यारोमा प¥यौं । २०७२ साल असोज ३ गते संविधान घोषणा भएको दिनमा मधेशबादी पार्टीका कार्यकर्ताहरु आएर मेरो घरमा तोडफोड गरिरहेका थिए । मेरो घरको झ्याल ढोकाहरु पुरै तोडफोड गरियो । किन फोडेको हो भन्दा पहाडीया पार्टीमा छ भनियो । हाम्रा पार्टीका साथीहरु मलाई मधेसी नजरले हेर्छन् । जति गरे पनि नहुने भन्छन् । जुन मान्छे चार दशक देखि कम्युनिस्ट पार्टीमा लडिरहेको छ, त्यसको कुरा कहिँ सुनुवाई हुँदैन । विषय हामीले उठान गरे पनि जस हामीले लिन पाइरहेका छैनौं ।


० हाम्रा कम्युनिस्ट नेताहरुमा पनि सामन्ति चिन्तन बाँकी नै रह्यो हैन ?

म कास्की जेलमा बस्दा मसँग प्रा.डा.भूपति ढकाल, गेहेन्द्रेश्वर कोइराला, परी थापा, केशवलाल श्रेष्ठलगायत थियौं । हामीलाई राजनीतिक कैदीको हिसावले क श्रेणीको सिदा दिइएको थियो । जेल भित्र हाम्रो संघर्ष नै भयो, मोटो र पातलोको विषयलाई लिएर ।
हामीले क श्रेणीको सिदा खाए पनि अन्य कैदीहरु मोटा चामलको सिदा खान्थे । हामी कम्युनिस्टहरु अन्यले भन्दा किन राम्रो र मसिनो चामल कसरी खाने भनेर मोटो चामल नै खानुपर्छ भनियो । मसिनो चामलका लागि आएको बढि पैसा फिर्ता दिऔं भनियो । तर, बेलामा कांगे्रसका साथीहरु मान्नुभएन । उहाँहरु मसिनो चामलकै भात खानुभयो । यसरी त्यो समयमा मोटो र मसिनो चामलका लागि दुईवटा मेस चलाइयो । यसरी त्यो समयमा कम्युनिस्ट भावनाको ओतप्रोत थियो । अलिकति पनि पैसा बच्यो भने गरिब कैदीहरुलाई साबुन, ब्लेड किनेर दिने भनेर योजना बनाएका थियौं । यसरी हामीमा पुरै कम्युनिस्ट आचरण थियो ।


अन्तमा केहि भन्नु छ कि ?
हाम्रा नेताहरुलाई तपाईको सञ्चार माध्यमबाट के भन्न चाहन्छु भने ‘धेरै जनाको रगत पसिना खर्चेर बनेको यो कम्युनिस्ट पार्टीमा आ–आफ्ना गल्ति कमजोरीहरुलाई सच्चाएर अघि बढेको खण्डमा जनताको अनुहार हसिलो हुन्छ । साथै नेताहरुको पनि भलो हुन्छ । हामीले यो समाजलाई परिवर्तन गरेर नयाँ समाजको सिर्जना गर्न सक्छौं । संविधानमा लेखेर मात्रै हुँदैन हामी त व्यवहारिक प्रयोगमा उत्रिनुपर्दछ । त्यसैमा देश र जनताको भलो हुन्छ । जनताहरु पनि सुखि र सम्पन्न हुन्छन् । अहिलेकै जसरी अघि बढ्ने हो भने बिनासको बाटो धेरै टाढा छैन । आफु पनि डुब्ने र अरुलाई पनि डुबाउने काम हुनुभएन । बृद्ध नेताहरु सबैले पद सम्हाली सक्नुभएको छ । दोस्रो पुस्ताका नेताहरुलाई पार्टी चाहिएको छ । यसरी बुढ्यौलीमा पार्टी पनि आफैसँग जाने खालको वातावरण नबनाउनुहोस् । किनकी नयाँ पुस्ताको पनि धेरै रगत र पसिना बगेको छ । पार्टीमा थुर्पै होनाहार कार्यकर्ताहरु छन् । उनीहरुको अनुहार हेरेर सेफ ल्याण्डिङ गराउनुपर्दछ । त्यसैमा आम जनता र देशको कल्याण हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.