परिवारबाट निकालिएका जेष्ठ नागरिक र असाहायका लागि सुन्दरीजलमा वृद्ध आश्रम बनाउने योजनामा छौं
रामाआज्ञा रौनियार, अध्यक्ष बोलबम काँवारिया संघ
रौतहट जिल्लाको साविक गढौं गा.वि.स.–१ मा बाबु जगदिश साह रौनियार र आमा सुबर्णी देवी रौनियारको सन्तानको रुपमा वि.स. २०२८ साल फागुनमा जन्मनुभएका रामाआज्ञा रौनियार बोलबम काँवारिया संघको केन्द्रीय अध्यक्ष तथा रौनियार सेवा समितिका कोषाध्यक्ष हुनुहुन्छ । राज्यले घोषणा गरेका बन्दाबन्दीको समयमा संस्थाले झण्डै २१ लाख जत्तिको राहत सामाग्री वितरण गरेको थियो । वि.स. २०६६ साल देखि ११ वर्ष लगातार रुपमा संस्थाको अध्यक्ष रहँदै आउनुभएका रौनियारसँग संस्थाको उद्देश्य र राज्यमा संस्थाले गरेको योगदानका विषयमा डायरी एक्सप्रेस साप्ताहिकका लागि शिव थापा र नारायण प्रसाद शर्माले गरेको कुराकानीः
० तपाई बोलबम काँवारिया संघको अध्यक्ष भएर कोभिड–१९ को रोकथामका लागि राज्यले गरेको लकडाउन (बन्दाबन्दी) मा गरिब, बिपन्न र असाहायहरुलाई के के कस्ता सहयोग गर्नुभयो ?
सरकारले चैत्र ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) को घोषणा गरेपछि हाम्रो बोलबम काँवारिया संघद्वारा चैत्र २७, २८ र २९ गते देखि ५ गते सम्म ९ केजीका दरले चामल, नून र आलु गरी एक हजार जना बिपन्न र गरिबलाई राहत बाड्यौं । बन्दाबन्दीमा मानिसलाई जस्तै पशुपति र स्वयम्भुका बाँदरलाई पनि खाने कुराको संकट परेको थियो । त्यसपछि हामीले त्यहाँ पनि सब्जी बजारबाट फलफूल लगेर ख्वायौं ।
० तपाईले राहत सामग्री कसरी जुटाउनुभयो ?
हाम्रो बोलबम काँवारीया संघको कोषमा पनि बिगतमा खर्च नभएको रकम थियो । त्यसका अतिरिक्त हाम्रा दाताहरुले २०/२५/५० हजारका दरले सहयोग गरिरहँनुभएको छ । यसरी दाताको नाम लिएर पनि राहत वितरण गरेका छौं ।
० तपाईहरुले यो अवधिमा कति रकम बराबरको सहयोग राहतका रुपमा वितरण गर्नुभयो ?
हामीले बन्दाबन्दीमा दशलाख जतिको राहत बाड्यौं । साथै दाताहरुबाट झण्डै दशलाख जतिको फलफूल वितरणका लागि निशुल्क आएको थियो ।
० कोभिड–१९ को महामारी अझै बढिरहेको छ । यो बीचमा केहि कार्यक्रमहरु पनि ल्याउने योजनामा हुुनुहुन्छ कि ?
नेपाल सरकारबाट सहयोग प्राप्त गर्न नसकेर अप्ठ्यारो परेकाहरुका लागि एभिन्यूज र न्यूज २४ टेलिभिजनमा फोन आएपछि हाम्रा कार्यकारिणी अध्यक्ष विश्वनाथ गुप्ता १०÷२० मिनेट भित्रै पुगेर सम्बन्धित व्यक्तिलाई राहत बाडिदिनुहुन्छ । यसरी निरन्तर रुपमा सहयोग जारी छ ।
० तपाईहरुको संस्थाको एम्बुलेन्सबाट कस्तो सेवा प्रदान गरिरहँनु भएको छ ?
हाम्रो संस्थालाई गोकर्णेश्वरका नगर प्रमुखले ४२ रोपनी जग्गा दिनुभएको छ । साथै बोलबम धाम बनाउनका लागि एक करोड रुपैया समेत बजेट दिनुभएको छ । त्यसैकारण हामीले त्यहाँका जनताको लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेका छौं ।
० अहिले पनि राहत बाड्ने योजना छ कि ?
हो यदि बीचमा भोकमरीको अवस्था सिर्जना भएको खण्डमा हाम्रो बोलबम कोषमा बाँकी रहेको रकमबाट पुनः राहतको कार्यक्रम अगाडि बढाउने छौं । गरिब र बिपन्नहरु जो खाद्यन्नको अभावमा छन्, उनीहरुका निमित्त खाद्यन्न र ग्यासहरु उपलब्ध गराउने योजनामा कार्यकारिणी बैठकबाट निर्णय गराउँने योजनामा छौं ।
सामाजिक कार्यमा लागिरहँदा तपाईहरु आफै यो महामारीबाट जोगिनका लागि कसरी काम गर्नुभएको छ ?
हाम्रो सुरक्षाका लागि बोलबमको बण्डी लगाएर, नाक मुख छोपेर, हामीले दुई÷तीन मिटरको दूरी राखेर बोरामा प्याक सामाग्रीहरु वितरण गर्ने गरेका छौं । जसमा नेपाल सरकारको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरिएको छ ।
० तपाईहरुको यो बोलबम काँवारिया संघ दर्ता गर्ने योजना कसरी बन्यो ?
हामी वि.स.२०५३ साल सम्म इण्डियाको बाबाधाममा यात्राका लागि जाने गर्दथ्यौं । जब हामी पेपरको काम गर्ने मनसायले काठमाडौं आयौं, त्यसपछि इण्डिया जानका लागि ५÷७ दिन नै लाग्ने भयो । त्यसैकारण सुन्दरीजलबाट जल लगेर पशुपति नाथको मन्दिरमा लगेर चढाउँदा झनै राम्रो हुने ठानेर यो योजना बनायौं । किनकी हिन्दूहरुको सबैभन्दा ठूलो ठाउँ भनेकै पशुपति नाथ हुन् । यसरी हाम्रो टिम गएर सुन्दरी जलबाट जल लगेर पशुपति नाथमा चढायौं । झण्डै दुई लाख मानिसहरु सुन्दरी जलमा जल लिन जाने र रातमा त्यहि बस्ने गरिन्छ । अहिले काठमाडौंको वडा नम्बर १३ मा संस्थाको कार्यालय रहेको छ । त्यसैगरी २०५४/०५५ सालमा पाँच लाख रुपैया खर्च गरी सुन्दरीजलमा एक विद्यालय बनाएर हस्तान्तरण नै गरेका छौं ।
० अहिलेसम्म यो संस्थामा कति सदस्यहरु छन् ?
हाम्रा बोलबमका उपसमितिमा क्षत्रिय अध्यक्ष नै ४० वटा छन् । सदस्यहरु झण्डै २० हजार छन् ।
० तपाईहरुको संस्थाको मूख्य उद्देश्य के हुन् ?
हाम्रो संस्थाको मूख्य उद्देश्य नेपाललाई हिन्दू राष्ट्र बनाउने हो । हाम्रा नेताहरुले नेपाललाई किन संविधानमा हिन्दू राष्ट्रबाट हटाए ? किनकी हामीहरु परापूर्वकालबाटै हिन्दूहरु हौं । हामी कुनै नेताको पछि लागेका हैनौं । केबल हिन्दू राज्य स्थापनाका लागि मात्रै लागेका हौं । हाम्रा मठमन्दिर, पाटी पौवाहरु बनाउने, विद्यालयहरु बनाउने, खान नपाएकाहरुलाई भोकका कारण नमरुन भनेर बोलबमबाट सहयोग गर्ने गरिरहेका छौं । परिवारबाट निकालिएका जेष्ठ नागरिक र असाहायका लागि सुन्दरीजलमा वृद्ध आश्रम बनाउने योजनामा छौं । त्यसै गरी धर्मशाला पनि बनाउँदै छौं ।
० अहिलेसम्म यसरी सामाजिक कार्यमा बोलबमबाट कति सहयोग गर्नुभयो ?
बन्दाबन्दीको अवधिमा मात्रै २१ लाख जत्तिको राहत बाड्यौं । हाम्रो साउन महिनामा एकै रातमा ४०÷४२ लाख रुपैयासम्म खर्च हुन्छ । शिवरात्रीमा पनि तीन दिन निशुल्क खाना ख्वाउने गर्दछौं । त्यसका लागि झण्डै १५ लाख रुपैया खर्च हुन्छ । त्यसै गरी दुर्गा पुजाको समयमा दुई ÷तीन लाख रुपैया खर्च हुन्छ । छठपुजामा पनि झण्डै दुई÷तीन लाख रुपैया खर्च हुन्छ । त्यसका लागि हामीले कुनैसँग पनि रकम लिँदैनौं । यसरी बोलबमकै कोषबाट रकम खर्च हुन्छ ।
० वार्षिक झण्डै कति रुपैया खर्च गर्नुहुन्छ ?
हामीले प्रत्येक वर्ष कम्तिमा पनि एक करोड रुपैया खर्च गर्दै आएका छौं ।
० यो सहयोग रकम तपाईले राज्यबाट पनि प्राप्त गर्नुहुन्छ कि ?
राज्यबाट हामीले एक रुपैया पनि सहयोग प्राप्त गरेका छैनौं । हाम्रो स्रोत भनेकै ब्यापारीहरु हुन् । साथै २० हजार सदस्यबाट एक÷दुई हजार देखि स्वइच्छाबाटै सहयोग लिने गरेका छौं । यसरी खुशीले सहयोग रकम दिएकै भरमा हाम्रो संस्था चल्दै आएको छ ।
० यो संस्थाका सदस्यहरु सबैको आ–आफ्नै व्यवसाय हुन्छ ?
हामी बोलबमका सदस्यहरु सबैको व्यवसाय हुन्छ । कोहि कागज, कपडा, खाद्यन्न लगायतका व्यवसायमा आवद्ध छौं । हिन्दू धर्मका लागि मात्रै हामीले साउनमा एक महिना, शिवरात्रीको समयमा एक महिना, आ–आफ्नो काम छाडेर व्यापारीसँग आर्थिक सहयोग माग्ने गर्दछौं ।
० तपाईहरु सदस्यले आम्दानीको कति प्रतिशत सामाजिक काममा खर्च गर्नुहुन्छ ?
म अध्यक्षको नाताले संस्थालाई वार्षिक एक÷डेड लाख रकम दिने गर्दछु । उपाध्यक्षले पनि एक लाख जत्ति नै दिने गर्नुहुन्छ । सदस्यहरुले पनि औकात अनुसारै दिनुहुन्छ ।
० तपाईहरुको मिसन नै हिन्दू राष्ट्र कायम गर्नु हो ?
हो हाम्रो मूख्य मिसन नै नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नु हो । इण्डिया सरकारले सुल्तानगञ्जबाट जल लैजानका लागि एक हप्ता लाग्ने ठाउँमा बिभिन्न सुबिधाहरु प्रदान गरिरहेको छ । नेपाल सरकारले धार्मिंक पर्यटनका लागि किन काम गरिरहेको छैन । सुन्दरी जलमा बोलबम धाम बनाइको खण्डमा कोहि मानिस इण्डिया जादैनथे । हाम्रै देशको विकास हुन्थ्यो । विदेशबाट पनि हिन्दूहरु नेपालका बोलबम धाम र पशुपतिको दर्शनका लागि आउने थिए ।
० राज्यले नेपाललाई धर्मनिरेक्ष देश घोषणा गरेको छ । यो अवस्थामा तपाईको मिसन संविधान बिपरित हुँदैन ?
हामी अरुको इशारामा चल्नु हुदैन । हामीहरु अधिकांश हिन्दूहरु नै बसोबास गर्ने हुँदा हामीलाई हिन्दू राष्ट्र नै चाहिन्छ । यो मेरो मात्रै माग होइन, आम जनताको माग हो । सरकार पनि जनताको माग अनुसारै अघि बढ्नुपर्दछ । जनता भन्दा ठूलो कोहि हुँदैन ।
० अहिले पनि तपाईहरु कोहि खान नपाएर भोकै मर्न लागेँ भनेको खण्डमा सहयोग गर्न तयार हुनुुहन्छ ?
हामी २४ सै घण्टा सहयोग गर्न तयार छौं । फोन आएको केहि समयमा हाम्रो टिम सहयोग लिएर पुगिहाल्छ ।
० अन्तमा केहि भन्नु छ कि ?
अहिले खान नपाएर गरिबीकै कारण धेरै जनाको मृत्यु भएको छ । वडा अध्यक्ष र पालिकाका प्रमुखहरुले आ–आफ्ना मतदातालाई मात्रै सहयोग गरिरहेका छन् । उनीहरुले धनीका लागि मात्रै सहयोग उपलब्ध गराउँदै आएका छन् । गरिब झनै गरिब बनिरहेका छन् । यो अवस्थाको अन्त हुनुपर्दछ ।