साहित्यले मन कि माटो छुनुपर्छ – माधव निर्दोष

पाल्पा जिल्ला देउराली गा.वि.स वडा नं ७ स्थीत पिता पोखनारायण नेपाल र माता लक्ष्मीदेवी नेपालको साइलो छोराको रुपमा जन्मिएका व्यक्ति हुन माधव निर्दोष । उनले ५ कक्षामा अध्यान सुरु गर्दा देखि नै साहित्यिक यात्राको थालनी गरे । माधब निर्दाेष कुशल गीतकार, गीतिकथाका सुभारम्भकर्ता तथा स्थापित पत्रकारसमेत हुन् । कक्षा ६ मा अध्यान गर्दा उनी रेडियो नेपालको हातेमालो वाल कार्यक्रममा उत्कृष्ट भएका थिए । उनले कक्षा १० मा अध्ययन गर्दा गरिवको पिडा नामक लघु उपन्यास प्रकाशन गरे । गीति कथा विधामा उनको नचिनेका रातहरु नामक गीती कथा संग्रहले नयाँ विधामा प्रवेश पायो । उक्त पुस्तक नेपाली गीतिकथा विधाको पहिलो पुस्तक भएको कुरा संस्कृतविद तथा संगीतकार बुलु मुकारुङले आफ्नो प्रकाशनमा उल्लेख गरेका छन् । निर्दोषका गीतिकथाहरु नचिनेका रातहरु, समयका पाइलाहरु, ऐतिहासिक उपन्यास अवसान, रेडियो पत्रकारिता रेडियो जक्की प्रकाशन छन् । त्यसबाहेक मितेरी, मित्रता, आत्मियता, ‘अ ग्लिम्स अफ लाईफ’ एल्वम प्रकाशनमा छन् । पछिल्लो समय वित्तीय साक्षरताको अभियानमा लागेका उनले बीमा गरौ र खाता खोलौ भन्ने दुई थप गीति एल्वम निकालेका छन् ।
निर्दोषको ‘कसले देखाईदियो मलाई यति राम्रो गाउँ स्वर्ग हो की भनेको थेँ नेपाल रैछ नाउँ’ भन्ने स्वदेशगान अत्याधिक मात्रामा चर्चामा छ । उक्त गीतले २०६५ सालमा रेडियोमा सबैभन्दा धेरै बज्ने गीतको रेकर्ड कायमा गरेको थियो । माधव निर्दोषद्धारा लिखित ‘अवसान’ नामक उपन्यासलाई नेपाली साहित्य आकाशमा सर्बाधिक लोकप्रिय र सर्वाधिक विक्रि भएको पुस्तकको रुपमा लिइन्छ । नेपाली राजनीतिक घटनामा शाह बंशको अन्त्य भएको घटनालाई लिएर लयार गरिएको पुस्तक अवसान ऐतिहासिक उपन्यास हो ।
उनले रचना गरेका तमाम् कविता, गीतिकथा, उपन्यास आदी विधामा ग्रामिण भेगमा घटेका समाचारको कलात्मक लेखन पाइन्छ । काल्पनीक शैली भन्दा पनि बस्तुपरक घटनामा आधारित रहेर साहित्य सृजना गरेकै कारण माधव निर्दोष लोकप्रिय साहित्यकारका रुपमा उभिएका हुन् भन्न सकिन्छ । उनले राष्ट्रिय साहित्य लिट्रेसी पुरस्कार, नेशनल क्यापीटल लिट्रेसी उत्कृष्ठ पुरस्कार, सगरमाथा सर्बोत्कृष्ठ म्युजिक अवार्ड, म्यूजिक खबर उत्कृष्ट गीतकार म्यूजिक एवार्ड, नाट्टेश्वर उत्कृट गीतकार एवार्ड, छाँयाँछवि उत्कृष्ट लिटरेसी एवार्ड तथा थुप्रै सम्मान र पुरस्कार प्राप्त गरेका छन् । उनै साहित्यकार तथा लेखक माधव निर्दोषसँग डायरी एक्सप्रेसका लागि सपना अधिकारीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ ।
तपाईं साहित्य र लेखनको क्षेत्रमा कहिलेदेखि लाग्नुभयो ?
म सानैदेखि साहित्य मन पराउने मान्छे हुँ । औपचारिक रुपमा भने कक्षा ६ मा अध्ययन गरिरहँदा रेडियो नेपालले हरेक वर्ष आयोजना गर्ने राष्ट्रिय हातेमालो वाल कार्यक्रममा भाग लिएर सुरु गरेको भन्न मिल्छ । रेडियो नेपालले आयोजना गर्ने हातेमालो बाल कार्यक्रममा मैले लेखेको कविताले सर्बोत्कृष्ट स्थान प्राप्त गरेपछि मलाई साहित्यमा कलम चलाउने प्रेरणा मिलेको हो । त्यसपछि कक्षा १० मा अध्ययन गर्दैगर्दा गरीवको पिडा नामक लघु उपन्यास प्रकाशन गर्न सफल भएँ । जुन पुस्तकले नेपालको ग्रामिण भेगका मानिसले गरिबीका कारण सहनु परेको तथा निम्न स्तरको जिवनशैलीको पिढालाई व्याख्या गरेको छ । त्यसपछि आई.ए तहको अध्ययनमा राष्ट्रिय स्तरका कविता प्रतियोगितामा सर्बोत्कृष्ट हुन थालेपछि मेरो साहित्य लेखनले निरन्तरता पाएको हो ।
यहाँले धेरै प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गर्नुभयो, कृति प्रकाशनका हिसावले तपाईका कृतिहरु के कस्ता रहेका छन् ?
साहित्यिक क्षेत्रका विविध विधाहरु मध्ये म गीतिकथा प्रकाशनमा लागेँ । त्यसबाहेक गीत, कविता गजलहरु रेडियो नेपालमा रेकर्ड हुन थालेसँगै गीत लेखनमा मेरो यात्रा अगाडि मोडियो । पत्रकारिताको विद्यार्थी भएका कारण पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि रेडियो पत्रकारिता सम्बन्धिको पुस्तक रेडियो जक्की प्रकाशन भएको छ । तीनवटा गीतिकथा संग्रह, तथा लघुउपन्यास, उपन्यास र फुटकर सिर्जनाहरु प्रकाशन भएका छन् । त्यसबाहेक एकल गीति एल्वमहरु पाँचवटा प्रकाशनमा छन् ।
अवसान नामक तपाईंको उपन्यास बढी चर्चामा आयो, यो पुस्तकको बारे केही बताइदिनुस् न ?
‘अवसान’ उपन्यास ऐतिहासिक उपन्यास भएका कारणले र नेपालको राजनीतिमा राजसँस्थासँग जोडिएका कारण यसको विक्री वितरण धेरै भएको हो । उक्त पुस्तकले नेपाली उपन्यास विधामा रेकर्ड नै कायम गर्न सफल भयो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको राजनीतिक आरोहदेखि राजसंस्थाको अन्त्य अर्थात राजसँस्थाको बहिरगमनसम्मको कथा यस उपन्यासले बोकेको छ । अन्य पुस्तकहरु भन्दा अलिक फरक र एउटा कालखण्डलाई समेटेका कारण उक्त उपन्यास बढी प्रभावकारी भएको हो ।
तपार्ईं विशेषगरी गीतिकथा लेखनबाट परिचित हुनुहुन्छ, तपाईको गीतिकथा लेखनलाई लिएर त्रिभुवन विश्व विद्यालयमा सोधपत्र पनि तयार पारिएको छ । गीतिकथा विधाका बारे केही वताइदिनुस् न ?
मेरो आफ्नो विधाका हिसाबले हेर्ने हो भने म गीतिकथा विधाको व्यक्ति हुँ । मैले धेरै नै गीतिकथा रचना गरेको छु । ती गीतिकथाहरु रेडियो नेपालको प्रशारणबाट धेरैपटक प्रशारण भएका कारण पनि मलाई गीतिकथा विधाले चर्चामा ल्याएको हो । मैले लेखेको ‘नचिनेका रातहरु’ नामक गीतिकथा नेपालको पहिलो गीतिकथा संग्रह भएका कारण पनि थप चर्चा भयो । मैले उक्त पुस्तक प्रकाशन गर्दासम्म गीतिकथा विधामा पुस्तक प्रकाशन भएका रहेनछन् । यस विधाका बारेमा बिभिन्न अध्ययनहरु भए । विभन्न संस्कृतविद्हरुले त्यसको अध्ययन गर्नुभयो । सोही अध्ययनका आधारमा त्रिभुवन विश्व विद्यालयमा सोधपत्र तयार गरिएको हो । गीतिकथा लेखन अहिलेपनि दजारी रहेको छ । मैले पनि आफुलाई यसै विधाबाट अगाडि बढाउन चाहान्छु । गीतिकथा संग्रहको नयाँ विधामा पहिलो पुस्तक प्रकाशनपछि उक्त पुस्तकबाट धेरै पटक रेडियो नेपालले गीति कथा वाचन ग¥यो । त्यसपछि समयका पाइलाहरु नामक अर्को गीति कथा संग्रह पनि मेरो प्रकाशनमा आयो । हाल तेस्रो गीतिकथा संग्रह पनि प्रकाशन भएको छ ।
पछिल्लो समयमा यहाँले धेरै थरी उत्कृष्ट गीतकारको एवार्ड पाउनुभएको छ, तपाईका गीतहरु कति छन् र कस कसले गाउनुभएको छ ?
मैले आधुनिक गीतहरु, गजलहरु तथा स्वदेश गानहरु धेरै लेखेको छु । रामकृष्ण ढकाल, अन्जु पन्त, नरेन्द्र प्यासी, श्रेयसी चेम्जोङ राई, मनोजराज शिवाकोटी, नरेन्द्र प्यासी, रीता केसी, विन्दु परियार जस्ता अब्बल कलाकारले गीत गाउनुभएको छ । त्यसका अतिरिक्त विदेशी कलाकार देव राखाले पनि मेरा चारवटा गीतहरु गाउनुभएको छ । एक दिनको कुरा हो, मोरीससका दार्शनिक तथा कलाकार देब राखा नेपाल भ्रमणमा आएका बेला ट्याक्सीमा हिड्दै गर्दा एउटा गीत गुन्जीएछ । नरेन्द्र प्यासीको आवाज । जुन गीत सुनेपछि देब राखाले त्यो गीतलाई धेरै मन पराउनुभएछ । नेपाल भ्रमणमा आएका बेला उहाँले मेरा गीतहरु सुनेर मोहित भएको भन्नुभयो । पछि गीत सुनैकै भरमा मेरो खोजी गरेपछि हाम्रो भेट भयो । मलाई भेटेपछि उहाँको मेरा गीतहरु आफ्नो स्वरमा रेकर्ड गर्ने उद्देश्य रहेछ । अनि मैले लेखेका पाँचवटा गीतहरु उहाँले आउनुभयो । सुरुमा एउटा गीत मागेर रेकर्ड गर्नुभयो । अनि एक एक गरेर सुरु भएको गीत रेकर्ड गर्ने कार्य लगातार अघि बढ्यो । र, नेपाली भाषामै ‘अ ग्लिम्स अफ लाईफ’ नामक एल्वम नै उहाँले तयार गर्नुभयो । उहाँले युद्ध लडेको सिपाही हेर, सबैले पाउँछन् कर्मको फल, पानी माथी तैरीएको, गल्ती भए माफ गर, जाउ छोडेर जाउ गरी पाँचवटा गीत गाउनुभएको छ ।
तपाईको ‘रेडियो जक्की’ पुस्तक कसरी तयार भयो ?
म पत्रकारिता विषयका अध्ययनरत हुँ । पछिल्लो समय बढेको रेडियो क्रेजलाई हेर्ने हो भने नेपालमा रेडियो पत्रकार बन्न चाहनेहरुको संख्या अथाहा छ । ती सबैलाई एउटा पुस्तक आवश्यक छ भन्ने लाग्यो । त्यसै अनुरुप मैले ‘रेडियो जक्की’ पुस्तक तयार गरेको हुँ । उक्त पुस्तक धेरैलाई रेडियो पत्रकारिता अध्ययन गर्ने सामाग्री बनेको छ । रेडियो जक्की नामक सो रेडियो पत्रकारिता पुस्तक रेडियो पत्रकारिता सिक्ने वा रेडियोमा बोल्न सिक्नेका लागि महत्वपूर्ण दस्तावेज मानिन्छ । सो पुस्तक पढेर धेरै व्यक्तिहरु रेडियो पत्रकार बनेको सुन्दा मलाई खुसी लाग्छ । रेडियोमा बोल्न चाहाने एवं वाक कलाका बारेमा अध्ययन गर्न चाहने धेरै व्यक्तिले उक्त पुस्तक अध्ययन गरिसकेका छन् । त्यसबाहेक विभिन्न इन्स्ट्रिच्यूटहरुले यही पुस्तक पढ्नका लागि रेडियो पत्रकारिता वा उद्घोषण सिकिरहेका प्रशिक्षार्थीहरुलाई अनुरोध गर्ने गर्दछन् भने विभिन्न कलेजहरुमा अध्ययन गर्ने पत्रकारका लागि पनि रेडियो पत्रकारितामा यो पुस्तक राम्रो मानिएको छ । जुन पुस्तकले रेडियो पत्रकारिता, रेडियो प्रविधि एवं बोल्ने कलाको क्षमता अभिबृद्धि मात्रै होइन रेडियो पत्रकार बन्नकै लागि मद्धत गर्दछ ।
तपार्ईको बिचारमा नेपालको सन्दर्भमा कस्तो साहित्य आवश्यक छ ?
साहित्यले कि मन छुनुपर्छ कि माटो छुनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । नेपाल एउटा ग्रामिण क्षेत्रले भरिएको देश हो । यसकारण हामीले सिर्जना गर्ने रचनाहरु तथा साहित्यक सिर्जनाहरु ग्रामिण परिभेषका नै प्रभावकारी हुन सक्छन् । मेरो विचारमा ग्रामिण तह, पछाडि परेको समाज र गरिबी भित्रका कथाहरु एवं यहाँको संस्कृति बोकेका विषयबस्तुहरु नेपाली साहित्यका प्रभावकारी विषयबस्तु हुन सक्छन् ।