February 12, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

फिल्म निर्देशन गरिसके पनि एक्सन नै गर्छु अझै केही वर्ष ः केसी

नेपाली सिने नगरीमा हिमाल केसी द्वन्द्व निर्देशकका रुपमा लोकप्रिय तथा चर्चित नाम हो । उहाँले अहिलेसम्म दर्जनौ चलचित्र मार्फत दर्शकको वाही वाही बटुल्न सफल हुनुभएको छ । द्वन्द्व निर्देशनमा तीन दशकभन्दा बढी समयमा उत्कृष्ट फिल्म दर्शकमाझ पस्किनुभएको उहाँले चलचित्र निर्देशन पनि गर्नुभएको छ । वि.स. ०३२ को साउन महिनामा ललितपुरको गोदावारीमा जन्मिनुभएका उहाँ सानैदेखि खेलकुदमा रुची राख्नुहुन्थ्यो । उहाँ सानैदेखि कुस्ती खेल्न रुची राख्नुहुन्थ्यो । केसीको एकातिर खेलकुदमा रुची थियो भने अर्कोतर्फ सानैदेखि फिल्म क्षेत्रमा चाहना थियो । उहाँ जसरी भए पनि पैसा जुटाएर सिनेमा घरमा आएका फिल्म हेर्न नछुटेको बताउनुहुन्छ । त्यही सानैदेखिको चलचित्र क्षेत्रको लगावले नै आज उहाँ सफल द्वन्द्व निर्देशकका रुपमा चिनिनुहुन्छ । चलचित्र ‘सोल्टिनी’बाट सहायक द्वन्द्व कलाकारमा देखिनुभएको उहाँले २०६५ देखि द्वन्द्व निर्देशक भएर थुप्रै सफल चलचित्र पस्किनुभएको छ । उहाँका कर्मले धेरै अवार्ड र पुरस्कार तथा सम्मान पनि पाएका छन् । प्रस्तुत छ नेपाली चलचित्रको द्वन्द्व क्षेत्रमा लामो समय उत्कृष्ट क्रियशन पस्किन सफल हिमाल केसीसँग डायरी एक्सप्रेसका लागि अनिता घिमिरेले गरेको कुराकानीः–

कसरी आउँनुभयो यो क्षेत्रमा ?

म सानैदेखि अत्याधिक चलचित्र हेर्थे र घरमा गएर सबैलाई बटुलेर चलचित्रको फाइट खेल्ने गर्थे । मेरो यो क्षेत्रमा अत्यधिक लगाव थियो । बिदाको बेला साथीसँग बालाजु घुम्न जादा बरिष्ठ द्वन्द्व निर्देशक एनबी महर्जनसँग भेट भयो । भेटघाट चिनजान पछि मैले यो क्षेत्रमा मेरो इच्छा रहेको कुरा खुलस्त राखे । म चलचित्रको हिरो हुन चाहन्थे । उहाँले मलाई हुन्छ काममा आउँ भन्नुभयो । यसरी एनबी महर्जनसँग जोडिन पुगे । अर्को दिन मलाई चलचित्र छायाँकन भइरहेको ठाउँमा लगियो । त्यहाँ चलचित्र बलिदानको छायाँकन भइरहेको रहेछ । मलाई त्यहाँ सहयोगीको काम दिइयो । काम गरे । तर, म यसबाट सन्तुष्ट भइनँ । मेरो इच्छा, चाहना र सोख भनेको छ कलाकार अझैँ भनौ हिरो बन्ने थियो । तर, मलाई त्यहाँ त स्पोर्ट ब्वाईमा पो राखियो । मैले मेरो असन्तुष्टि एनबी दाईसँग राखे पछि उहाँले चलचित्रमा खेलाउछु भन्नु भयो र उहाँसँग मैले काम गर्ने अवसर पाए ।

नेपालमा पहिलोपटक कारको स्टन्ड गर्नुभयो होइन ?

हो, नेपालमा पहिलोपटक कारको स्टन्ड देखाएको थिए मैले चलचित्रमा । नेपालमा पहिलोचोटि हो, मैले ‘अञ्जली’ भन्ने फिल्ममा कारको स्टन्ड दिएको थिए ।

पाईं त फिल्मको हिरो बन्न आएको मान्छे ?

हो त म फिल्मको हिरो बन्छु भन्ने थियो । त्यसका लागि अभिनय र नृत्यका कक्षाहरू पनि लिए । मेरो पहिलो प्राथमिकतामा नै हिरो थियो । द्वन्द्व त दोस्रो । फिल्म खेल्नलाई धेरै कोशिस पनि गरे । फिल्ममा आबद्ध पनि भए । फिल्मको नाम थियो ‘कोशिस’ । फिल्मलाई तीर्थ थापाले निर्देशन गर्ने भनिएको थियो । ‘कोशिस’ कोशिसमै सीमित भयो, फिल्म बनेन ।’ पछि अन्य फिल्ममा स–सानो भूमिकामा अभिनय गरे । पछि म फिल्मको हिरो नबनेर भिलेन बन्न पुगे । मलाई फिल्म ‘नाई नभन्नु ल’ले भिलेनको रुपमा परिचित गरायो । मलाई कलाकार हो भनेर चिनाएको भनेको नै फिल्म ‘नाई नभन्नु ल’ले हो । त्यसपश्चात म केही फिल्ममा भिलेनको भूमिका देखिए ।

अनि द्वन्द्व निर्देशक तर्फ ?

एनबी महर्जनको असिस्टेन्ट बनेर मैले धेरै फिल्ममा सहायक द्वन्द्व निर्देशकको भूमिका निर्वाह गरे । मैले फिल्म ‘मर्यादा’मा पहिलोपटक द्वन्द्व निर्देशक बनेर काम गरे । जसबाट म सबैमा नोटिस पनि हुन पुगे । पहिलो फिल्मले नै सफलता दिलायो मलाई । द्वन्द्व निर्देशक बन्नका लागि धेरै समय कुरे मैले । पछि सफलता हात लाग्दै गयो । मैले निर्देशकका रुपमा फिल्म ‘पिंजडा ब्याक अगेन’ गरे ।

यहाँले अभिनय, सहायक र द्वन्द्व निर्देशक भएर काम गरेका केही चलचित्रको नाम लिनुपर्दा ?

मैले चलचित्र ‘प्रेमपूजा’, ‘प्रेमदीप’, ‘हत्यारा’लगायत ७० वटा जति चलचित्र खेलेहुँला । त्यस्तै सहायक भएर ‘हामी तीन भाई’, ‘आफ्नो मान्छे’, ‘आफन्त’, ‘मुग्लान’, ‘बन्दकी’, ‘पाहुना’, ‘सुखदुःख’लगायत एकसय भन्दा बढी चलचित्र गरे । २०६५ सालबाट मैले द्वन्द्व निर्देशकका रुपमा ‘मर्यादा’, ‘फैसला’, ‘रामबलराम’, ‘शिलशिला’, ‘मिस्टर मंगले’, ‘हाँसिदेऊ एकफेर’, ‘पराई’, ‘कवाज’, ‘मले मनलाई छुन्छ’, ‘निगरानी’, ‘निरभाई’, ‘जय शिवशंकर’, ‘बडीगार्ड’, ‘मेरो मनको साथी’, ‘मौसम’, ‘छविलाल कञ्जुस छैन’, ‘भैरव’, ‘यात्रा’, ‘मिस्टर नेपाली’, ‘ए मेरो हजुर–३’, ‘प्रसाद’लगायत एक सय १५ भन्दा बढी चलचित्रको द्वन्द्व निर्देशन गरे ।

फिल्म निर्देशन तिर पनि हात हाल्नु भएको छ, द्वन्द्व निर्देशनमा यहाँको एक खालको उचाई छ अब कता लाग्नुहुन्छ त ?

फिल्म निर्देशकभन्दा म द्वन्द्व निर्देशकमा नै रमाउछु । अबको दिनमा पनि द्वन्द्व निर्देशक नै भएर काम गर्छु । मैले फिल्म निर्देशन गरिसके पनि एक्सन नै गर्छु अझै । किनभने जुन ठाउँबाट मैले आफूलाई हिमाल केसी भन्न पाएको छु त्यो काम चाहिँ अझ १० वर्ष गर्ने मन छ ।

यो पेशामा निरन्तर लामो समयदेखि हुनुहन्छ कस्तो लाग्छ अहिले फर्केर हेर्दा ?

हो, म लामो समयदेखि यो क्षेत्रमा आफ्ना पसिना बगााईरहेको छु र सफलता पनि प्राप्त भइरहेको छ । सानैदेखिको मेरो इच्छाको क्षेत्रमा लागेर आफ्ना केही सपनाहरू पूरा गरिरहेको छु । आजको दिनसम्म चुम्नका लागि धेरै मेहनत र लगानी पनि परेको छ मेरो । यो एक दिन एक क्षणले भएको होइन लामो समय ब्यतित भएको छ यसमा । कडा संघष र मेहनेतले सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुराको म आफू पनि एक उदाहरण हुँ भन्ने लाग्छ ।

यहाँका चलचित्रले सफलता पाइरहँदा, दर्शकको वाही वाही बटुलिरहँदा यहाँले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार, सम्मान र अवार्ड पनि बटुल्न सफल हुनुभयो हैन ?

मलाई के लाग्छ भने राम्रो काम गर्दै जादा त्यसको कदर हुँदो रहेछ । ढिलो चाडो मात्र हो । आफ्नो कामको लागवले त्यसको परिणाम पनि राम्रै आउने रहेछ । मेरो हकमा पनि त्यही भयो भन्ने लाग्छ । हो, मैले गरेका चलचित्रले सफलता प्राप्त गर्दै जादा म पनि त्यो सफलताको हकदार भए भन्ने लाग्छ । नेशन अवार्ड–२०६६, नेफ्टा अवार्ड–२०७०, नेफ्टा अवार्ड–२०७३, फान अवार्ड–२०७२, कामना फिल्म अवार्ड २०७३, कामना फिल्म अवार्ड २०७४, कामना फिल्म अवार्ड २०७५, एलजी सिने अवार्ड २०७३, एलजी सिने अवार्ड २०७४, डी सिने अवार्ड २०७३, इशान फिल्म अवार्ड २०७३ एनएफ डी सिने फिल्म अवार्ड २०७३, बक्स फिल्म अवार्ड २०७३ लगायत अन्य पुरस्कार र सम्मानहरू मैले गरेका क्रियशन मार्फत प्राप्त भएका छन् ।

तपाईका अहिलेसम्म आउँदा थुप्रै कुशल चेला पनि उत्पादन भएका छन्, यो क्षेत्रमा आउने नयाँ पिढीलाई के भन्नुहुन्छ ?

चन्द्र पन्त, सम्राट बस्नेत, श्री श्रेष्ठ जस्ता आधा दर्जन हुनुहुन्छ । जो मसँग काम गर्नुहुन्थ्यो भन्दा मलाई आफैँलाई गर्वको महसुस हुन्छ । यो क्षेत्रमा आउने नयाँलाई पनि म प्रशिक्षण लिएर, अनुभव बटुलेर व्यवसायिक सफलता प्राप्त गर्ने दृढ अठोट लिएर मात्रै आउनुहोस् रहरले होइन भन्न चाहन्छु ।

अन्त्यमा ?

मैले लामो समय यो क्षेत्रमा गरेका काम र मेरा बारेमा यो लोकप्रिय साप्ताहिक डायरी एक्सप्रेस मार्फत राख्ने मौका दिनुभयो, यसका लागि हार्दिक आभार व्यक्त गर्दछु । नेपाली चलचित्रलाई माया गरौ । जय सिनेमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.