September 1, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

हरेक कामलाई लगावका साथ काम गर्छु, त्यसैले सफलता दिलाउँदै गयो

– चलचित्र निर्देशक चेतनाथ दंगाल
नेपाली चलचित्र क्षेत्रमा आफ्ना थुप्रै सिर्जना मार्फत धेरैको मन मष्तिकमा बस्न सफल नाम हो चेतनाथ दंगाल । उहाँले अहिलेसम्म आउँदा थ्रपै चलचित्रको निर्देशन गर्नुभएको छ । उहाँले निर्देशन गरेका चलचित्रले आम दर्शकलाई मनो रञ्जन प्रदान गर्नुका साथै व्यवसायिक सफलता प्राप्त गर्न सफल भएका छन् । ‘बादशाह’, ‘अन्योल भविष्य’, ‘हृदयघात’, ‘हाम्रो योद्धा’, ‘दानव’ ‘कुरबान’, ‘शुसेली’, ‘अधुरो सपना’, ‘लावारिस’, ‘युद्ध’ ‘दौडान’लगायतका चलचित्र मार्फत उहाँले दर्शकको वाही वाही बटुल्न सफल हुनुभएको छ । नेपाली कला क्षेत्रमा नै आफूलाई समर्पित चेतनाथ दंगालसँग डायरी एक्सप्रेस साप्ताहिकका लागि शारदा देवी सापकोटाले गर्र्नुभएको कुराकानीको संक्षिप्त अंशः–

पछिल्लो समय के गर्दै हुनुहुन्छ ?

तपाईं हामी सबै कोरोनाको कहरमा छौं । जसका कारण थुप्रै भइरहेका काम यतिवेला थाति छन् । मैले निर्देशित चलचित्र ‘निम्तो’ यतिवेला पोष्ट प्रोडक्सनमा रहेको छ । अर्को नयाँ चलचित्रको तयारीमा छौ । कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी संक्रमणका कारण केही ढिला भएको छ ।

कसरी आउँनुभयो नेपाली कला क्षेत्रमा ?
मेरो जन्म काभ्रेपलाञ्चोकको तत्कालिन होक्से–३मा बुबा पदमप्रसाद दंगाल र चित्रमायाको कान्छो छोरोका रुपमा भएको हो । बाल्यकालदेखि नै कलाक्षेत्रमा मेरो विशेष रुची थियो । चलचित्र भनेपछि म हुरुक्कै हुन्थे । सानैदेखि अत्यधिक चलचित्र हेर्न रुचाउने म उच्च शिक्षाका लागि काठमाडौं आएसँगै यो क्षेत्रमा विस्तारै विस्तारै सामेल हुँदै गए । सानैदेखिको मेरो अन्तरआत्मामा रहेको यो क्षेत्रको लगावले मलाई यसक्षेत्रमा तान्दै लग्यो ।

कला क्षेत्र भनेपछि धेरैको रोजाईको क्षेत्र पर्छ, तर आफूले चाहे जस्तो सफलता प्राप्त नभएपछि, एक–दुई वर्ष पछि मान्छे पलायन हुने गरेका धेर उदाहरण रहेको पाईन्छ । तर, यहाँले यो क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएको छ । यो क्षेत्रमा कसरी सफल भए जस्तो लाग्छ ?
हो, तपाईंले भने जस्तै केही रहरले आउने व्यक्ति यो क्षेत्रमा केही समय पछि पलायन हुने गर्दछन् । तर यहीँ क्षेत्रमा केही उल्लेखनीय कार्य गरौ भनेर आएकाहरुले राम्रै गर्नुभएको छ । मेरो कुरा गर्नुहुन्छ भने म हरेक कामलाई लगावका साथ गर्छु । हरेक विषयको गहिराइमा पुग्ने, चुनौती मोल्ने र त्यसको सामना गर्ने मेरो बाल्यकालदेखिको स्वभावले नै जस्तोसुकै चुनौतीको सामना गर्दै आजको अवस्थामा सायद मलाई सफलता प्राप्त गरेको हुन सक्छ । फेरि म एकैपल्ट निर्देशक भएर आएको होइन सिक्दै आएको हुँ । सुरुमा कनिष्ठ सहायक निर्देशक भूमिकाबाट यस क्षेत्रमा आएको हुँ । मुख्य निर्देशक हुँदै निर्देशकमा हात हाले ।
यहाँको निर्देशनमा थुप्रै चलचित्र दर्शकमाझ आएका छन् र लोकप्रिय पनि, तपाईंले निर्देशन गरेका केही चलचित्रको नाम लिनुपर्दा ?
मैले निर्देशन गर्दै गए दर्शकले मनपराउँदै जानुभयो । अहिलेसम्म आउँदा धेरै चलचित्र भए केहीको नाम लिनुपर्दा ‘बादशाह’, ‘अन्योल भविष्य’, ‘हृदयघात’, ‘हाम्रो योद्धा’, ‘दानव’ ‘कुरबान’, ‘शुसेली’, ‘अधुरो सपना’, ‘लावारिस’, ‘युद्ध’ ‘दौडान’लगायतका रहेका छन् त्यस्तै मेरो चलचित्र ‘निम्तो’ यतिवेला पोष्ट प्रोडक्सनमा रहेको छ । अर्को नयाँ चलचित्रको तयारीमा पनि रहेको छु । सन् २०१७ देखि निरन्तर २ वर्ष एनटिभीबाट आएको टेलिफिल्म ‘सोह्र दुने आठ’का निर्माता तथा निर्देशनका रुपमा रहेँ । यो सर्वाधिक लोकप्रिय टेलिफिल्म रह्यो । त्यस्तै मैले ५० भन्दा बढी म्युजिक भिडियोमा पनि निर्देशन पनि गरेको छु ।
तपाईंले निर्देशन गरेका चलचित्रले व्यवसायिक सफलता हात पार्दै गर्दा विभिन र पुरस्कार पनि चुम्न सफल भए, फेरि यहाँ केही अवार्डहरुको निणर्यकका रुपमा पनि रहनु भयो होइन ?
मलाई के लाग्छ भने हामीले दर्शकमाझ राम्रो पस्किन सक्नु पर्छ । राम्रा चलचित्रले जहिले व्यवसायिक सफलता प्राप्त गर्ने गर्छन । फेरि म पुरस्कार र अवार्डका लागि काम गर्दिन । दर्शकलाई कसरी राम्रो भन्दा राम्रो प्रस्तुति पस्किन सकौ भन्ने नै लाग्छ जहिले नि । तपाईंले भने जस्तै मैले निर्देशन गरेका चलचित्रले सफलता प्राप्त गर्दै जादा नेफ्टा अवार्डमा बेष्ट निर्देशक, बक्स अफिस अवार्ड, राष्ट्रिय चलचित्र अवार्डलगायत थुप्रै सम्मान पुरस्कार प्राप्त भए । यस्तै डीसीने अवार्ड, सूर्य इन्टरनेशनल अवार्ड जस्ता चलचित्रका समबन्धि प्रतिष्ठित अवार्डको निर्णयकको रुपमा पनि रहेको छु भने व्युटी प्याजेन्नटको निर्णयकमा पनि रहेको छु ।

चलचित्र कर्मसँगसँगै यहाँलाई विभिन्न संघ संस्थामा रहेर सामाजिक गतिविधिमा पनि त्यतिकै संलग्न रहेको पाईन्छ नि ?
मानिस सामाजिक प्राणी हो । समाजमा रहेको हरेक मानिसको सामाजिक कत्वर्य हुन्छ कि उसले समाजकालागि केही योगदान गरोस भन्ने । समाजसेवा मेरो पनि अन्तरस्करणमा छ । आफैँ व्यक्तिगत रुपमा पनि केही गरौ भन्ने लागिरहन्छ भने । विभिन्न संघ संस्था मार्फत पनि लागिरहेको छु । यस्तै यो क्षेत्रका विभिन्न संघ संस्थामा पनि रहेको छु । चलचित्र संरक्षण मञ्च, चलचित्र निर्देशक समाजको मानार्थ सदस्य रहेको छु । यस्तै राजधानी कला केन्द्रको प्रशिक्षकको रुपमा रहेको छु भने कान्तिपुर फिल्म एकेडमीको बोर्ड मेम्बर, नेपाली सिने समुहको कार्यकारी निर्देशक समेत रहेर कार्य गर्दै आएको छु । त्यस्तै दोलखा फिल्मस् प्रा.लि.को प्रवन्ध निर्देशक पनि रहेको छु ।
लामो समयदेखि चलचित्र निर्देशनमा हुनुहुन्छ, निर्देशन के रहेछ ?
बडो जटिल प्रश्न सोध्नु भयो । मलाई लाग्छ निर्देशन क्रिएशन हो । एउटा निर्देशकले नयाँ नयाँ विषयवस्तु दिन सक्नुपर्छ । ‘चलचित्रको क्याप्टेन भनेको निर्देशक हो, कथावस्तु छनोट गर्ने अधिकार निर्देशकलाई हुन्छ । चलचित्र निर्माताको एकखालको भिजन आउन सक्छ । तर, त्यसको डिसिजन निर्देशकको हातमा हुन्छ । त्यसैले सबैभन्दा धेरै जिम्मेवारी निर्देशककै हुन्छ, निर्देशकको हातमा हुन्छ कस्तो चलचित्र बन्ने ।
यो कतिको सजिलो वा गाह्रो काम हो ?
निर्देशन भन्ने बित्तिकै एकदमै गाह्रो क्षेत्र हो भन्नुहुन्छ । किनभने सामाजिक र राष्ट्रप्रतिको जिम्मेवारी निर्देशकको काँधमा आएको हुन्छ । मैले निर्माण गरेको चलचित्रबाट दर्शकलाई कस्तो प्रभाव पर्छ भन्ने बुझ्नुपर्ने हुन्छ । चलचित्र सामाजिक दायित्व बोकेको पाटो भएकोले त्यसलाई निर्देशन गर्नु कम सजिलो छैन ।
नेपाली चलचित्रका कस्ता दर्शक रहेको पाउँनुहुन्छ ?
पछिल्लो समय सामाजिक चलचित्रका दर्शक धेरै रहेका छन् । आफ्नोपन, आफू सुहाउँदो सामाजिक कथाबस्तुमा आधारित चलचित्र दिन सक्नुपर्छ । यथार्थ बोकेको चलचित्रलाई दर्शकले धेरै मन पराउँछन ।
अहिले नेपाली चलचित्रको अवस्था कस्तो पाउँनुहुन्छ ?
अहिले त कोरोना कहरको मारमा हाम्रो चलचित्र क्षेत्र पनि परेको छ । सबैतिर बन्द छ । तर, पनि सधै यस्तै त नहोला । अवस्य फेरि सबैक्षेत्र पुरानै अवस्थामा फर्किने छ । मात्र केही समय लाग्ला । नयाँ जोश र जागरका साथ फेरि चलचित्र क्षेत्र उठने छ । मलाई के लाग्छ भने नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्छ । समय सधै एकनासको हुँदैन यो परिवर्तनशिल छ । समयको माग अनुसार जो कोही पनि चल्नुपर्छ । नेपाली चलचित्र सवल, सक्षम र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुग्नु जो कोही नेपाली चलचित्रकर्मीका लागि गर्वको कुरा हो ।

यहाँले आफूलाई समाजसेवाप्रति यतिकै अग्रणी रुपमा अग्रसर गराउँदै आउनुभएको छ नि ?
माथि पनि भने समाज सेवा मेरो अन्तस्करणमा छ । कला क्षेत्रसँगसगै म समाजसेवामा पनि आफूलाई त्यतिकै अग्रसर गराइरहेको हुन्छु । वि.सं. २०७२ वैशाखमा देशमा आएको विनशकारी भूकम्पमा आहत भएका धेरैलाई राहत पु¥याउन बिभिन्न ठाउँमा पुगे । अन्य विभिन्न विपतका बेलामा पनि आफूलाई त्यतिकै सक्रिय रुपमा सहभागी हुन मनलाग्छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले गरेको लामो ‘लकडाउन’का कारण अप्ठायारोमा परेकालाई धेरैलाई राहत लिएर विभिन्न ठाउँमा पुगेको छु । आफैँ मैले यसो गरे उसो गरे भन्नु भन्दा पनि मेरो सानो प्रयासले कसैलाई ठूलो राहत मिल्छ भने म त्यसमा जहिले आफूलाई अग्रपंक्तिमा उभ्याउने जमर्को गरेको हुन्छ ।
यो क्षेत्रमा आउन चाहनेहरुका लागि के भन्नुहुन्छ ?
यो क्षेत्र धेरै राम्रो क्षेत्र हो । तपाईंमा अन्तरनिहित भएको कला तपाईंले आम दर्शकलाई पस्किता त्यसबाट उहाँहरुले आनन्द उठाउन सक्नुहुन्छ भने त्यो निकै राम्रो कुरा हो जस्तो लाग्छ मलाई । यो क्षेत्रमा आउन चाहने धेरै नयाँ कलाकारलाई प्रशिक्षण पनि दिइरहेको छु म । यो क्षेत्रमा आउँन चाहने नयाँलाई रहरले मात्र नभएर आफू यहीँ क्षेत्रमा केही गर्नसक्छु भन्ने भएमा पढेर र बुझेर आउँन सल्लाह दिन्छु ।
अन्त्यमा ?
डायरी एक्सप्रेस साप्ताहिक लोकप्रिय छ नेपाली पाठक माझ । यस्तो लोकप्रिय पत्रिकामार्फत नेपाली कला क्षेत्रका कुरा राख्ने मौका दिनुभएको धेरै धेरै धन्यवाद व्यक्त गर्दछु । हामी सबै नेपलीले नेपाली चलचित्र र कलाकारलाई माया गरौ भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.