April 19, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

पार्टीलाई गम्भीर संकट परेको समयमा कार्यबहाक सभापति भएँ

1 min read


गोपालमान श्रेष्ठ, नेता नेपाली कांग्रेस
ई.स. १९४७ जुलाई १५ मा आमा चमेली श्रेष्ठ र बाबु शंखनारायण श्रेष्ठका सन्तानका रुपमा पुतलीबजार नगरपालिका -५् स्याङ्जामा जन्मनुभएका गोपालमान श्रेष्ठ नेपाली कांग्रेसका नेता शिर्ष नेता मध्येका एक जना हुनुहुन्छ । नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा पटक पटक गरी साढे पाँच वर्ष बन्दी जीवन, एक वर्ष भूमिगत र एक वर्ष निर्वासित जीवन बिताउनुभएका श्रेष्ठ, शिक्षा, भौतिक पूर्वाधार उद्योग वाणिज्यलगायतका मन्त्री भइसक्नुभयो । अर्थशास्त्र र इतिहासमा स्नातक गर्नुभएका श्रेष्ठ स्याङ्जाबाट २०४८, २०५६ पटक पटक संसद सदस्य पदमा निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस पार्टीलाई अप्ठ्यारो परेको समयमा कार्यबाहक सभापतिको भूमिका निर्वाह गरी लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउनुभएका श्रेष्ठ १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको अनुरोधमा उम्मेदवारी दिन नपाएको भएतापनि आगामी २०८२/०८३ सालमा हुने १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नुहुने निश्चित भएको छ । अहिले लामो संघर्ष पछि स्थापना भएको गणतन्त्र धर्मरमा छ । यिनै समसामयिक विषयमा नारायण प्रसाद शर्माले उहाँसँग निवासमै गरेको छोटो कुराकानीः


तपाई नेपालको लोकतान्त्रिक आन्दोलनमा सहभागि भएको पनि ६, दशक भन्दा बढि समय भइसकेको छ । पुनः राजालाई स्थापित गर्नुपर्छ भनेर एउटा समूह लागिरहेको छ । तपाईले कसरी मुल्यांकन गर्नुभएको छ ?
अहिले गणतन्त्र स्थापना भएको पनि १७/१८ वर्ष भइसकेको छ । यत्ति सजिलै गणतन्त्र आउला भन्ने मेरो परिकल्पनामा पनि थिएन । २०६२/०६३ सालको आन्दोलन पश्चात नेपालमा गणतन्त्र स्थापना भएको हो । यसमा राजा ज्ञानेन्दको पनि देन छ । आफुराजगद्धीमा आएपछि उनका दुई तीनवटा कामका कारण पनि गणतन्त्र आएको हो । जब तत्कालिन राजाले २०५९ साल असोज १८ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाजीलार्ई अपदस्त गरेर उहाँले असक्षम प्रधानमन्त्री भनेर प्रधानमन्त्रीलाई दोष लगाएर ‘टेकओभर’ गर्नुभयो । त्यसपछि कहिले सूर्य बहादुर त कहिले लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाउनुभयो । त्यसरी उहाँले १२/१४ महिना बिताउनुभयो । त्यसपछि अर्को पटक गल्ति महसुस गरी शेरबहादुरजीलाई नै प्रधानमन्त्री पनि बनाउनुभयो । तत्कालिन प्रधानमन्त्री देउवाले काम गरेर अघि बढिरहेको अवस्थामा उहाँले २०६१ साल माघ १९ गते आफ्ना बाबु महन्द्रले जस्तै गरी महेन्द्रपथ सम्हाल्नुभयो । २०१७ साल पौष १ गते तत्कालिन राजा महेन्द्रले जे काम गरेका थिए, त्यहि काम ज्ञानेन्द्रले गरे । उनले पनि राजनीतिक अधिकार सबै खोसेर पार्टीहरुलाई प्रतिबन्ध लगाएर ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिई आफै मन्त्रीपरिषद्को अध्यक्ष बने । त्यसपछि उनले श्रीलंकामा बसेर अन्तिम जीवन बिताएका डा. तुलसी गिरी र किर्तिनिधि विष्टलाई उपाध्यक्ष बनाए । यसरी शासन टेक ओभर गरेपछि भक्त बहादुर कोइरालाको शाही आयोग बनाएर पूर्व प्रधानमन्त्री शेर बहादुर देउवालाई मुद्दा लगाएपछि हामी आन्दोलनमा गएका हौं । यसरी सात पार्टी र माओवादी मिलेर १२ बुँदे सम्झौता गरी अघि बढेका थियौं । यदि ज्ञानेन्द्रले त्यो काम नगरेको भए, अहिलेसम्म खोपिको राजा अर्थात संवैधानिक राजा भएर अहिलेसम्म पनि बस्न सक्थे । हामी गणतन्त्र ल्याउनका लागि आन्दोलनमा जान बाद्य उहाँले नै निहु खोजेका कारणले हो । वीथआउट ब्लड सेड (बिना रक्तपातपूर्ण) नै उहाँलाई विदाई गरेको हो । जनताको नासो जनतालाई नै बुझाएको हो । त्यसैकारण गणतन्त्रको बदला राजतन्त्र आउने कुरा परिकल्पना नै नगरे पनि हुन्छ ।


राजा ल्याउनुपर्छ भन्ने समूहको नेतृत्व गरेका दुर्गा प्रसाईलाई विदेशी शक्तिहरुको पनि समर्थन छ भनिन्छ नी ?
दुर्गा प्रसाईलाई त्यस्तो कुनै प्रकारको समर्थन छैन । खाली प्रचार मात्रै हो । पूर्व राजा गोरखनाथको दर्शन गर्न गएका हुन् । त्यसपछि भुटान गएका हुन् । हाम्रा मित्रराष्ट्रहरुले राजालाई सघाउछन् भन्ने मलाई विश्वास लाग्दैन ।


हिजो राजाको शासन नदेखेका युवा पीढिहरु र दलहरुले शासन गर्दा सेवा प्रवाह गर्ने क्रममा राम्रो नगरेकै कारण राजा आउँदा राम्रो हुन्छ भन्ने भ्रम परिरहेको छ नि ?
जुन युवाहरु हिजोको राजाको शासन देखेनन् । राणाको शासन त देख्ने कुरै भएन । राजाहरुले ३० वर्षसम्म गरेको निर्दलिय पञ्चायती शासन पनि देखेनन् । त्यतिबेलाका राजाले गरेको क्रियाकलाप र अहिलेको क्रियाकलाप मुल्यांकन हुनुपर्छ । २०१७ सालमा दुई तिहाईको सरकारलाई अपदस्थ नगरेको भए हाम्रो मुलूक कहाँ पुग्थ्यो ? उनले नेपालीलाई रैती बनाउने काम गर्न थाले । हामीले २००७ सालमा १०४ वर्षको राणाशासन फालेर बन्दी भएको राजालाई स्वतन्त्र गरायौ । भागेको राजालाई बिपी कोइरालाले लिएर आउनुभयो । तर, राजाले त्यो कुरै बुझेनन् । २००७ सालमा हामी संविधानसभाको निर्वाचनमा जाने सम्झौता भएको थियो । तर, २००७ सालपछि २०१४ सम्म राजाले खेलाउँदै गए । कहिले कुन नेता, कहिले कुन नेता ? लाई प्रधानमन्त्री बनाइयो । बि.स. २०१४ सालमा हाम्रो पार्टीले सत्याग्रह गरेको थियो । त्यसपछि राजा महेन्द्रले संविधानसभाको हैन प्रतिनिधिसभाको चुनाव गराउँछु भने । जसमा नेपाली कांग्रेस पार्टीले दुई तिहाई बहुमत ल्याएर सरकार पनि बनायो । त्यो सरकारको प्रधानमन्त्री बिपी कोइरालालाई थुनेर अपदस्थ गरियो । हाम्रो बोल्न पाउने स्वतन्त्रता छिनेर शासन गरेको अवस्था नदेखेका युवाहरु छन् । पछिल्लो समयमा राजा ज्ञानैन्दले गरेको शासन पनि नदेखेका युवाहरु छन् । तिनै युवाहरु २५/३० वर्ष भइसकेका छन् । गणतन्त्रमा आइसकेको र संविधान आइसकेपछि दाहसंस्कार गरिसकेको बर्षौ दिन पछि अर्थात १७/१८ वर्षपछि त्यो लास जिउँदो भएर आउँछ भन्ने कल्पना नगरे हुन्छ । राजा आएपछि के हुन्छ भने, अहिले खराव नेतालाई हटाउन जनताले सहजै सक्छन् । कोहि खराव छ भने पाँच पाँच वर्षमा आवधिक निर्वाचन हुन्छ हराइदिए भइहाल्छ । अहिले केहि नेताहरुको बदनामी भएको अवस्था छ । तिनीहरुलाई परिवर्तन गर्न नेपाली जनताले सक्छन् । आ–आफ्नो पार्टीका कार्यकर्ताहरुले उनीहरुलाई बिश्राम दिलाउन सक्छन् । तर, राजा आएपछि त्यो सम्भव छैन ।
राजाले वर्षौसम्म पञ्चायत गएपछि सुतेर बसेको नेता नवराज सुबेदीलाई अघि सार्नुभयो । पहिला पनि तुलसी गिरीलाई अघि सार्नुभयो । अहिले आएर नवराजलाई अघि सार्नुभयो । अर्का उदण्ड दुर्गा प्रसाईलाई कमाण्डर बनाउनुभयो । जसले गर्दा १५ चैत्रको घट्ना घट्यो । राजाको चाहना के रहेछ भन्ने कुरा नेपाली जनताले छर्लङ्ग बुझे त्यो कल्पना नगर्दा नै हुन्छ ।


एकथरीले त सरकारले नै उत्तेजित बनायो । शान्तिपूर्ण रुपमा अघि बढेको जुलुसमा अश्रु ग्यास हानियो त्यसैकारण आन्दोलन हिंस्रक बन्यो भन्दैछन् नी ?
त्यो सरकारले गर्दा होइन । पूर्व नियोजित हो । ग्रुप ग्रुप मिलेर कहाँ–कहाँ आगजनी गर्ने ? कहाँ–कहाँ तोडफोड र लुटपाट गर्ने ? भनेर योजना अनुसारै गरिएको हो । त्यसै अन्तर्गत पार्टीका कार्यालय, मिडियाका कार्यालय कतै पनि छाडिएन । घर जलाउने, मान्छे मार्ने, काम गरियो, जुन अत्यन्तै आपत्तिजनक छ । दुर्गा प्रसाइबाटै सुरक्षाकर्मीलाई किच्ने गरी जुन गाडी हाकियो । त्यसपछि उत्तेजित भएर सरकारले पनि एक्सन लिएको हो । यसको जिम्मा पूर्व राजा ज्ञानेन्द्रले नै लिनुपर्दछ । अहिलेसम्म राजाले मैले गरेको होइन भन्ने विज्ञप्ती पनि जारी गरेका छैनन् । राजा घुम्दा पहिलाका राजा कस्ता थिए ? भनेर हेर्नका लागि पनि मानिसहरु झुम्मिएका मात्रै हुन् । पूर्व राजाले जसरी दरबार त्याग गर्नुभयो त्यहि बमोजिम सम्मान छँदै थियो राजनीतिमा आउने इच्छा लागेको खण्डमा पार्टी खोलेर आएर चुनाव लडे भइहाल्छ । फेरी संवैधानिक राजा हुन्छु भनेर कसैले पनि विश्वास गर्ने छैनन् ।


राजाले त मौका हेर्ने नै भए, तथापि जनतामा राज्यले दिने सेवा प्रबाहका कारण निरासा बढिरहेको छ । देशमा २७ खर्ब ऋण पुगेको छ । यस विषयमा तपाईको भनाई के छ ?
हो, तपाईले भनेको ठीक हो । वि.स. २०७२ साल वैशाख १२ मा बिनासकारी भूइचालो गयो । अबौं धनजनको क्षति भयो । सन् २०१८ मा संसारभर आएको कोभिड १९ (कोरोना भाइरस) र माओवादीको १० वर्षे युद्दले पनि देश थिलो थिलो बन्यो । जनताको इच्छा र आकांक्षा बमोजिम सरकारले काम गर्न नसकेको मैले पनि महसुस गरेको छु । सेवा प्रवाह कमजोर छ । अहिले लाखौ लाख युवाहरु विदेशमा पलायन भएका छन् । गाउँ पुरै रित्तिएको छ । गाउँमा विकास त पु¥यायौं । तर, पनि स्वास्थ्य, खानेपानी सुबिधा पुगेको छ । त्यसैकारण नेपालीहरुको जीवनस्तर माथि पुगेको छ । जनतालाई सेवा प्रवाहमा कन्जुस्याई गर्नुपर्छ मुखले बोलेर हुँदैन । युवाहरुलाई प्रभाव पार्ने किसिमको काम गर्नुपर्छ । आवश्यक परेको खण्डमा आफुभन्दा पछिका पिढीलाई कार्यभार पनि सुम्पनुपर्छ । त्यसले गर्दा युवाहरुलाई मन छुने काम गर्न सकिन्छ । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता विषयमा निस्वार्थ हिसावले सुशासन दिनुपर्छ । जो सुकै भ्रष्टाचारी होस् उनीहरु माथि सरकार निर्ममतापूर्वक अघि बढ्नुपर्छ । त्यसपछि मात्रै ठीक हुन्छ । हामीले इतिहास पढाउँदैनौं । हाम्रो पाठ्यक्रममा शाह वंशको इतिहास छ । वि.स.२००७ सालको आन्दोलन कसरी भयो ? नेपालका राजनीतिक पार्टीहरुको इतिहास कस्तो छ ? पञ्चायत कसरी फालियो ? त्यसको इतिहास हाम्रो विद्यार्थी भाइबहिनीहरुलाई पढाउनुपर्छ । अहिले स्वबियुको निर्वाचन हेरौं न सबैभन्दा बढि नेपाली कांग्रेस समर्थक नेबिसंघ पहिलो नम्बरमा, नेकपा एमाले समर्थक अनेरास्वबियु दोस्रो र माओवादी समर्थक अखिल क्रान्तिकारी तेस्रो स्थानमा छ । अन्य पार्टीहरु राजाबादी वा राप्रपाले कतै जितेका छैनन् । अहिले प्रशस्त मात्रामा पैसाको खोलो बगाएर मास देखाएर जनतालाई भड्काउने काम भइरहेको छ । त्यसैले धेरै असर गर्दैन । गणतन्त्रवादीहरु एकै ठाउँमा उभिन्छन् । अहिले सरकार पक्ष र प्रतिपक्ष भन्दा पनि राजाबादीहरुको आन्दोलन पछि सबै गणतन्त्रबादीहरु एक जुट भएर अघि बढिरहेका छन् ।


अस्थिर सरकार भएका कारण समस्या उत्पन्न भयो त्यसैकारण नै संविधान संशोधन गर्नुपर्छ भनेर दुई ठूला दलहरुको सरकार बनेको छ । तर, अहिलेसम्म भएको छैन नी ?
हामी दुई ठूला दलले सातबुँदे समझदारी गरेर गठबन्धन गर्ने सहमति गरेका हौं । प्रत्येक, तीन –तीन महिना, छ–छ महिना वा नौ –नौ महिनामा सरकार परिवर्तन हुनु राज्यका लागि राम्रो होइन । हामीले २०४६ सालपछि परिवर्तन त ल्यायौं तर, पाँच वर्षको अवधिसम्म कुनै सरकार पनि टिकेनन् । यो नै हाम्रो दूर्भाग्य हो । यसकारण अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आएन । एउटै पार्टीको पनि बहुमत आउने गरी संविधानलाई देशको अनुकूल बनाउनुपर्छ । अहिले यहि प्रणालीका कारण बहुमत आउन नसकेको हो । यसैकारण हामीले सोच्नुपर्दछ । हामीले सबैको सहमति लिएर संविधानमा केहि परिवर्तन गर्नुपर्छ । संविधानमा सेक्युलयर (धर्मनिरपेक्ष) भन्ने छ । त्यो भन्दा धार्मिक स्वतन्त्रता भनेको भए हुन्थ्यो कि ? त्यसले सबैलाई समेट्ने थियो कि ? यि विषयहरु संविधानमा अनुकूल परिस्थितिमा संशोधन गर्नेछौं । हामी दुई ठूला पार्टीको झण्डै दुई तिहाई उपस्थिति छ । तथापि अन्य दलको पनि सहयोग र समर्थन लिएर केहि बुँदाहरुमा संशोधन गर्नुपर्छ भन्ने मेरो धारणा छ ।


२०१५ साल पछिका कुनै पनि सरकार पाँच वर्ष नटिकेको अवस्थामा आवधिक निर्वाचन तीन वर्षको अवधि मात्रै बनाउँदा हुँदैन र ?
पाँच वर्ष कुनै लामो समय होइन । बिपीको पालामा २०१५ सालमा दुई तिहाईको सरकार थियो । त्यो समयमा सिस्टम बसालेको भए हुन्थ्यो । हाम्रो पार्टीलाई २०४८ सालको निर्वाचनमा पनि बहुमत दिएका थिए । तर, त्यतिबेलाको नेतृत्वले कसैका कुरा सुनेकै कारण मध्यवधिमा जानुभयो । त्यसमा पनि गल्ति भएको हो ।
हामी लोकतन्त्रवादीहरु एकीकृत भयौं भने फेरी नेपाली जनताले बहुमत दिन्छन् । वि.स. २०५६ सालमा पनि हामीले बहुमत ल्यायौं तथापि छिनाझपटी गरेर किसुनजीलाई फ्रान्सको निम्ता मान्न पनि नदिएर हत्तार गरेका थियौं । नेपाली जनताले नेपाली कांग्रेस पार्टीलाई बहुमत दिइरहेका छन् । फेरी पनि दिन्छन् । हामी चत्नु परेको छ । पदको लोलुपतामा पटक पटक सरकार परिवर्तन गर्ने काम गरेका छौं ।


तपाई नेपाली कांग्रेस पार्टीको पटक पटक कार्यबहाक सभापति पनि हुनुभयो । अब १६औं महाधिवेशनमा सभापति पदको पनि आकांक्षी हुनुहुन्छ की ?
म स्वाभाविकै रुपमा केन्द्रीय सभापति पदको उम्मेदवार हुँ । चौधौं महाधिवेशनमा म पार्टी सभापति पदमा संस्थापन पक्षबाटै उम्मेदवार हुन लागेको थिएँ । त्यति बेला शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले बोलाएर भन्नुभयो ‘गोपालमानजी यस पटकको १४ औं महाधिवेशनमा म नै सभापतिमा उठ्नु प¥यो । तपाई १५औं महाधिवेशनमा उम्मेदवार हुनुपर्छ । त्यो बेलामा म सहयोग गर्छु ।’ समर्थन गर्नुस् भनेपछि बिना शर्त उहाँलाई दिएको बचन शिरोधार्य गरेको छु । साथै प्रस्तावक बनेको हुँ । जत्ति बेला पार्टीलाई अप्ठ्यारो पर्छ म सहयोग गर्छु । २०६१ सालमा पार्टीलाई गम्भीर संकट परेको समयमा कार्यबहाक सभापति भएर काम गरे । तत्कालिन राजा ज्ञानेन्द्रको खिलापमा कफन बाधेर तयार भएँ । मैले त शेरबहादुरजीलाई सभापति बनाएर संघीयतामा जाने प्रस्ताव पास गरेको हुँ । त्यहि बाटोमा अहिलेसम्म हिडेका छौं । हामी सल्लाह नै गरेर अघि बढ्छौं । महाधिवेशन चार वर्ष पुगे पनि २०८२ सालमा हुँदैन । किनकी हाम्रो हालसम्मको परम्परा नै हरेक सभापतिले एक वर्ष थप्ने प्रस्ताव ल्याएका छन् । २०८३ सालमा पार्टीको सभापति बन्ने मेरो सोच छ । जस अनुसार कार्यकर्ताहरुको सद्भाव बटुलिरहेको छु ।


दुई ठूला दलको अहिलेको गठबन्धन कहिलेसम्म अघि बढ्छ ?
यो गठबन्धन वि.स. २०८४ सम्म नै जान्छ । यसमा ढुक्क भए हुन्छ । अहिले ओली जी प्रधानमन्त्री हुनुभएको १० महिना जत्ति भएको छ अझै १५÷१६ महिना बाँकी छ । उहाँले शेर बहादुरजीलाई समयमै हस्तान्तरण गर्नहुनेछ । त्यसपछि यो सरकार २०८४ सम्म नै जान्छ तल माथि हुँदैन ।


सरकारले सेवा प्रवाहमा आशावादी बनाउन के कस्ता सुधार गर्नुपर्छ भन्ने लाग्छ तपाईलाई ?
जनताको इच्छा र आकांक्षा अनुसार अर्थ व्यवस्थामा धेरै सुधार गर्नुपर्छ । सुशासन कायम गर्नुपर्छ । भ्रष्टाचारी माथि मेरो वा तेरो नभनि कारबाही गर्नुपर्छ । विकास निर्माणमा तिब्रता ल्याउनुपर्छ, सहकारी पीडितलाई न्याय दिलाएर समस्यालाई समाधान गर्नुपर्छ । गरिब नेपालीहरुले बचतका लागि सहकारीमा लगेर जम्मा गरेको रकम फिर्ता गराएर न्याय दिलाउँनुपर्छ । शिक्षकहरु सडकमा आन्दोलन गरिरहेका छन् । उनीहरुको माग पनि सम्बोधन गर्नुपर्छ । युवाहरुलाई शिक्षा नीतिमा परिवर्तन गर्नुपर्छ । व्यवसायिक शिक्षामा लैजानुपर्छ । स्कूलका शिक्षा प्राप्त गरेपछि कुनै कामको दक्ष पठाउनुपर्छ । कृषि,स्वास्थ्य, शिक्षा, शान्ति सुरक्षा, पर्यटन जस्ता क्षेत्रमा ध्यान दिनुप¥यो । शान्ति सुरक्षा कायम गर्ने विषयमा तेरो र मेरो भन्नुभएन । सबै कामहरु अघि बढाउन पर्छ ।


न्त्यमा केहि भन्नु छ कि ?
हाम्रा नेताहरुले महसुस गरी सुधार गर्नुपर्छ । साथै समय आएपछि नेतृत्व पनि हस्तान्तरण गर्नुपर्छ । नयाँ पुस्तालाई पनि अघि बढाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.