April 19, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

भण्डारा दोस्रो खानेपानी आयोजना, १६ हजार भन्दा बढीलाई लाभ:मन्त्री यादव


काठमाडौँ, चैैत । खानेपानी मन्त्री प्रदीप यादवले चितवन भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्तीका १६ हजार दुई सय ४४ जनसंख्यालाई प्रत्यक्ष लाभ पुग्ने बताएका छन् । आज चितवन भण्डारा दोस्रो खानेपानी आयोजना उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले विगतमा राप्ती नगरपालिकाका नागरिकहरूले खानेपानी अभावका कारण दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै आजदेखि यहाँका नागरिकका पानीका समस्या सधैँका लागि समाप्त भएको बताए ।


उनले भने, “यो आयोजना आर्थिक वर्ष २०७७/७८ मा नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तर्गत सञ्चालनमा आएको हो । यसले राप्ती नगरपालिका वडा नं. ४, ५, र ६ क्षेत्रलाई सेवा प्रदान गर्नेछ । यस योजनाबाट तीन हजार दुई सय घरधुरीका १६ हजार दुई सय ४४ जनसंख्यालाई प्रत्यक्ष लाभ पुग्नेछ ।”
त्यस्तै, मन्त्री यादवले चितवन राप्ति नगरपालिका भण्डारा क्षेत्रका नागरिकहरूका खानेपानीका समस्या सधैँका लागि समाधान भएको बताउँदै भन्नुभयो, “पानीको अभावका कारण यहाँको बसाइँ कठिन थियो, तर आजको दिनले नयाँ युगको सुरुवात गरेको छ ।”
संघीय सरकार, उपभोक्ता समिति, र स्थानीय समुदायको साझा प्रतिबद्धता, सहकार्य, र परिश्रमको फलस्वरूप आज यो महत्वपूर्ण योजना हासिल गर्न सफल भएको उनकोे भनाइ थियो । मन्त्री यादवका अनुसार भण्डारा दोस्रो खानेपानी आयोजनाले राप्ती नगरपालिका ४, ५, र ६ का बासिन्दाहरूलाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउनेछ, जसबाट हजारौँ नागरिकको स्वास्थ्यमा सुधार आउनेछ ।


विगतमा यहाँका स्थानीय उपभोक्ताहरू इनार तथा ट्युबवेलको पानी उपभोग गर्न बाध्य थिए, जुन परीक्षण गर्दा हानिकारक जीवाणुयुक्त पाइएकाले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने अवस्था रहेकोमा अब यो योजना सम्पन्न भई सञ्चालनमा आएसँगै यस क्षेत्रका जनताहरूले हरेक दिन २४ सै घण्टा स्वच्छ, शुद्ध, र सुरक्षित खानेपानी उपभोग गर्न पाउने मन्त्री यादवले थप जानकारी दिए ।


उनले भने, “भण्डारा माध्यमिक विद्यालय तथा राप्ती नगरपालिकाले उपलब्ध गराएको जग्गामा आवश्यक पूर्वाधार निर्माण गरिएको छ । यस क्षेत्रका जनताहरूले अबदेखि २४ सै घण्टा स्वच्छ र सुरक्षित खानेपानी उपभोग गर्न पाउनेछन्, जसले यहाँका जनताहरूको स्वास्थ्यमा सुधार ल्याउनेछ ।”
नेपालको संविधानले सुरक्षित र स्वच्छ खानेपानीलाई प्रत्येक नागरिकको मौलिक हकको रूपमा परिभाषित गरेको उल्लेख गर्दै मन्त्री यादवले नेपाल सरकार, खानेपानी मन्त्रालय, तथा सम्बन्धित निकायहरू विगत लामो समयदेखि नेपाली नागरिकहरूलाई गुणस्तरीय खानेपानी सेवा प्रवाह गर्न निरन्तर प्रयत्नशील रहेको जानकारी गराए ।


उनले भने, “नेपाल सरकारको दीर्घकालीन लक्ष्य ‘सबैका लागि स्वच्छ खानेपानी’ भन्ने प्रतिबद्धतासँग सिङ्गो सरकार, विकास साझेदार, दातृ निकाय, तथा स्थानीय तहहरूसँग हातेमालो गर्दै अघि बढिरहेको छ ।” स्थानीय समुदायको जीवनस्तरमा वृद्धि गर्ने तथा दिगो विकास लक्ष्य अन्तर्गत ‘स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छता’ लक्ष्य प्राप्तिमा टेवा पु¥याउने मन्त्रालयको नीति निरन्तर अघि बढिरहेको उहाँको भनाइ छ ।
संघीय, प्रदेश, र स्थानीय सरकारको सहकार्य अझै सशक्त बनाउन निरन्तर पहल गर्दै आएको उल्लेख गर्दै मन्त्री यादवले यस्ता आयोजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न नवीन तथा प्रविधि–मैत्री उपायहरू अवलम्बन गरिने बताए ।
उक्त आयोजना रु ९ करोड ९१ लाख २५ हजार ५९ दशमलब २५ लागतमा सम्झौता गरिएको थियो भने हालसम्म रु ९ करोड ८६ लाख ७८ हजार २८८ दशमलब १६ खर्च भएको छ । नेपाल सरकारको रु ९ करोड ६८ लाख ६० हजार २८८ दशमलब १६ तथा उपभोक्ताको सहभागितामा रु १८ लाख १८ हजार लागतमा सुरु भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, भरतपुरले जनाएको छ ।
कार्यक्रममा संघीय सांसद हरि ढकाल, प्रदेश सांसद एवं पूर्वमन्त्री जेएन थपलिया, पूर्वमन्त्री दावा लामा, राप्ती नगरपालिकाका नगरप्रमुख शमशेर लामा, नगर उप–प्रमुख देवेन्द्र लामा, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.