March 19, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

अहिलेका नेताहरु जुका जस्तै तन्किएर जनताको रगत चुसेका छन्

1 min read

चेतनाथ ढुंगाना, एमसीसी अनुमोदन विरोधी अभियन्ता



जिम्मुवालको सुपुत्रका रुपमा धादिङको किरानचोकमा जन्मनुभएका चेतनाथ ढुंगाना नेपालमा २०४७ सालको संविधान बिउँताउनुपर्छ भन्ने विषयमा धर्ना दिँदै आउनुभएको छ । जीवनको उत्तराद्धमा पनि युवा जस्तै सक्रिय रहँदै आउनुभएका ढुंगाना नेपालको सार्वभौम संसदबाट अमेरिकी परियोजना एमसीसीलाई जसरी पनि संसदबाट अनुमोदन हुनुहुन्न भन्ने पक्षमा हुनुुहन्थ्यो । तथापि सत्ता बाहिर रहँदा कुनैपनि हालतमा एमसीसी पास हुनुुहुँदैन भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालले ब्याख्यात्मक घोषणा भन्दै आम जनताको आँखामा छारो हाली संसदबाट अनुमोदन गराउनका लागि ज्यान छाडेर लागे । अहिले देश आर्थिक संकटमा छ । त्यसैकारण २०४७ सालको संविधान बिउँताएर मात्रै देश लिकमा चल्न सक्छ भन्ने मान्यतामा अडिग हुुनुहुन्छ ढुंगाना । काठमाडौंको माइतीघर मण्डलामा धर्नाको क्रममा अचानक भेट भएका ढुंगानासँग डायरी एक्सप्रेस साप्ताहिकका प्रतिनिधि विष्णु होमागाईले गरेको विशेष वार्ताः


० तपाईको पृष्ठभूमि बताइदिनुहोस् न ?

मेरो घर धादिङ जिल्लाको किरानचोक हाल गजुरी गाउँपालिका –८ मा पर्दछ । म २००६ साल भदौ २५ गते जन्मिएको हुँ । अहिले म धेरै समय काठमाडौंमा बस्ने गरेको छु । पेसाले किसानको छोरा भएका कारण खेती किसान नै गर्दै आएको हुँ । मेरो पुर्खाले चार पुस्ता देखि जिम्मुवालको काम गर्दै आउनुभयो । मेरो हजुरबा स्वर्गिय हुँदा मेरो बुवा चार वर्षको भएका कारण जिम्मुवालको काम गर्न नसकी राजिनामा गरी छाडी दिनुभएछ । पछि जिम्मुवाल गरेका ब्यक्तिले रैती (जनता)सँग १७ पैसा बढी उठाएका कारण मुद्दा दिनुभएछ । मुद्दा जितेपछि मेरै बुवाले पुनः जिम्मुवालको काम गर्नुभएको रहेछ ।
२०११ साल भदौ ११ गते गाउँमा ठूलो महामारी भयो । त्यसपछि भैm झगडा पनि भयो । १३ ÷१४ गते मेरो बुवालाई समातियो । बुवाले धादिङ जिल्लाभरीका जिम्मुवाल मध्ये धेरै रकम राजस्व बुझाउनुुहन्थ्यो । त्यसैले उहाँलाई ठूलो जिम्मुवाल भनिन्थ्यो । म पनि सँगै गएको थियो । झगडीयाहरुको भनाभन हुँदा उहाँले भन्नुभयो ‘हातमा हत्कडी लाग्छ तर, मुखमा लगाउन मिल्दैन, देशमा राजा छन् भन्नुभयो । मैले न्याय पाउँछु नहेप भनेको सुनेको थिएँ ।’ म त्यो समयमा छ वर्षको मात्रै थिएँ । पछि २०१७ सालमा नेपाली कांग्रेसको सरकारलाई तत्कालिन राजा महेन्द्रले बर्खास्त गरिदिनुभयो । कांग्रेसलगायतका ‘लुटेरा’ हरुलाई नियन्त्रणमा लिएर जेल हालियो । जनता र राष्ट्रको जिउँ धन बचाएर सेवा गर्नुभयो । २०२१ सालमा भूमिसुधार लागू गरियो । त्यहाँ भन्दा उतातिर धेरै जसो मोहीहरुको जग्गामा तल्सिङहरु नै बसेर उपभोग गरेका रहेछन् । २०२१ सालको भूमिसुधार पछि त आधा मोहीले पाउने व्यवस्था गरियो । मोहीले पनि खान र जग्गा उपभोग गर्न पाए । त्यसपछि मात्रै गरिबहरुको पनि उद्दार भयो । यसरी तत्कालिन राजा महेन्द्रले ठूलो काम गर्नुभएको थियो ।


० नेताहरुले उक्त समयमा राजा सामान्ती हुन् भन्ने गर्दथे । अहिले त झनै ठूलो राजाका रुपमा नेताहरुले चलखेल देखियो हैन ? सामान्ती भनिएका राजाहरु समाजवादको अभ्यास गरे भने समाजवादी हुँ भन्ने नेताहरु सामान्ती संस्कारकोे अनुयायी बने हैन ?
अहिलेका नेताहरु पुरै सामान्तवादी भए । तत्कालिन राजाहरु समाजवादी थिए । २०२० सालमा मेरो बुवा बिरामी भएर हिडडुल गर्न सक्नुभएन । त्यो समयमा असार मसान्तभित्रै तिरो तिरेर चुक्ता गर्नुपर्दथ्यो । मेरो बुवाले रैतिलाई माया गर्नुपर्छ, एक पैसा पनि बढि तिरो लिनुहुँदैन,आफ्नो गाउँ र टोलमा दुःख कष्ट परेमा पसिना बगाउनुपर्छ, राष्ट्रमा समस्या आएको खण्डमा रगत बगाउनुपर्दछ भन्नुहुन्थ्यो ।
घरका छोरा छोरीलाई भन्दा बढि माया गर्नुपर्छ भन्नुहुन्थ्यो । २०३३÷०३४ साल देखि आन्दोलन सुरु भयो । २०३७ सालमा जनमत संग्रह भयो । त्यसपछि निर्दलले जित्यो । २०४६ सालमा फेरी आन्दोलन भएका कारण सत्ता पल्टियो ।
२०४७ सालमा संविधान बन्यो त्यसपछि कांग्रेस, एमालेलगायतका राजनीतिक पार्टीहरु सिनमा देखिए । सुरुमा नेपाली कांग्रेस पार्टी सत्तामा गयो । राजा महेन्द्र र वीरेन्द्र सरकारले छिमेकी मित्र राष्ट्र चीन, रुसलगायतको सहयोगमा स्थापना गरेका बाँसबारी छाला जुत्ता कारखाना, भृकुटी कागज कारखाना, वीरगञ्ज चिनी मिल, जनकपुर चुरोट कारखाना, हरिसिद्धि इट्टा टायल कारखाना, हेटौडा कपडा उद्योग, बुटवल धागो कारखाना लगायतका दुई दर्जन भन्दा बढि उद्योगहरु कमिसनको लोभमा कौडीको मोलमा बेचे । यसरी बेच्नका लागि उनीहरुलाई विदेशीले पैसा पनि दिए । त्यसैले ति नेताहरुले विदेशीको भरिया र दलाल बनेर उद्योग धन्दाहरु नै बेचिदिए । नेपालमा उद्योग धन्दा भएपछि विदेशीको ब्यापार नुहने भयो । त्यसैकारण यहाँका उद्योगहरु मिलिभगतमा बेचिदिएका हुन् । नेपालमा कलकारखाना नभएपछि नेपालीहरु रोजगारीका लागि विदेशमा भौतारिन बाद्य भए । यिनीहरुले डलरको मोलमा कमिसन खाए ।


० तपाईको भनाईमा राजाकै शासन व्यवस्था जनताका लागि राम्रो थियो भन्ने हो ?
हो, अहिलेको व्यवस्थामा भन्दा राजाको शासनमा जनताले सुख सुविधा पाएका थिए । राजाहरु जनता र देश प्रति सधै उत्तरदायी बने ।


० अहिले जस्तो गलत र चित्त नबुझ्दा विरोध गर्न त पाइदैनथ्यो नि ?

विरोध गर्न नपाएपनि त जनताको जिउँधनको सुरक्षा त थियो नि ? राजाको शासनमा बोल्न नपाउने भए पनि अहिले बोली हाल्दा पो के नै भएको छ र ? २०४७ सालको संविधान निर्माण भएपछि २०४८ सालमा संसदको निर्वाचन भयो । पाँच वर्ष पनि नेपाली कांग्रेसको एकल सरकार टिकेन । पछि मध्यवधि निर्वाचन भयो । मध्यवधि निर्वाचन पछि २०५२ सालमा माओवादीले सशस्त्र विद्रोह सुरु ग¥यो । देशमा उद्योग धन्दा बन्द भइसकेका थिए । गाउँमा दुई हल गोरु पालेका किसानहरुलाई पनि माओवादीले दुःख दियो । कतिपयलाई आफुसँगै हतियार बोकाएर लग्यो । कैयौं मरे, कैयौं घाइते भए, कैयौको घरबार नै बिचल्ली भयो । २०६२÷०६३ सालमा विदेशीको भरिया बनेर दिल्ली बसेका प्रचण्ड र बाबुराम नेपाल आए । त्यसपछि जंगल बसेका मानिसहरु आएपछि देशमा केहि गर्लान भन्ने मलगायत धेरै मानिसहरुलाई भयो । उनीहरुले पनि देशलाई स्वीजरल्याण्ड बनाउँछु भन्थे । हामीले पनि पत्यायौं । २०७२ साल असोज ३ गते संविधान बन्यो । तर, त्यो संविधान दिल्लीमा बनेको थियो । जनताको संविधान हैन ।


० यो संविधान त ६०१ जना संविधान सभाका सदस्यबाट बनेको हैन ?
यो संविधान नेपालमा बसेर बनाइएको हैन । यो त दिल्लीमा बसेर बनाएका थिए । जनताको संविधान भएन ।


२०७२ सालको संविधानका असमति जनाएरै इण्डियाले नेपालमा नाकाबन्दी लगाएको हैन र ?
सुरुमा केहि खटपट भएपनि पछि त यिनीहरु मिली हाले नी ? राजा वीरेन्द्र जनप्रेमी र राष्ट्रवादी राजा भएका कारण प्रजातन्त्र पनि दिनुभयो । प्रजातन्त्र राम्रो होला भन्ने थियो । त्यो समयमा प्रजातन्त्रका लागि हामीले अश्रु ग्यास पनि खाइयो । धेरै जना थुनामा पनि परे । गणतन्त्र पनि आयो । तर, २०७८ फागुन १२÷१४ तिर एमसीसीका विरुद्धमा हामी जनताहरु आन्दोलित भयौं । यो एमसीसी अनुमोदन नगरौं राष्ट्रको हित हुँदैन भनेका थियौं । यो एमसीसी राष्ट्र र जनताका लागि शीर माथिको गोली हुन्छ भन्यौं । अन्य प्रकारका सहयोग मागौं भन्यौं । तर हामी माथि नै लाठी बर्सियो ।


० तपाई यस अघि संसदबाट एमसीसी अनुमोदनका विरुद्धमा सक्रिय भएर लाग्नुभयो नी ?
हो हामी यसका विरुद्धमा सक्रिय पूर्वक नै लाग्यौं । तथापि केहि लोभि पापी नेताहरुले डलरको कमिसन पाउने लोभमा पास गरेरै छाडे । हाम्रो भिडन्त त सेना प्रहरीसँग मात्रै भयो । कुर्सीमा बसेर हुकुम दिनेहरुसँग केहि भएन । हाम्रै दाजुभाइले हामीलाई नै लाठी बर्साए । यि राष्ट्रघाती डलरवादीहरुले नेपाली भूमिलाई खपटा र पत्रु बनाएर छाड्ने भए ।


एमसीसी को सम्झौता खारेज गर्नुपर्छ भन्ने तपाईको मत हो ?
हो एमसीसी खारेज गरेरै छाड्नुपर्दछ । हामीले विरोध गरिरहँदा त्यो समयमा हाम्रा तीन जना युवाहरु प्रधानमन्त्री प्रचण्डसँग माग पत्र लिएर गए । उनीहरु त्यहाँ जाँदा तीनै भाइको मुख थुने । २०११ सालमा मैले मेरै बुवाको मुखबाट सुनेको थिएँ हातगोडामा नेल लाग्छ, तर, मुखमा नेल लाग्दैन । बोल्न पाइन्छ यहाँ राजा छन् भनिएको । तर, अहिले आएर बोल्न दिइएन । झनै मुख नै थुनियो । यो प्रकरणले अदालतमा प्रवेश पायो र तर, जहाँ तहि सामाजिक सञ्जालमा मुख थुनेको दखिइदा पनि कारबाही नै भएन । अदालतमा न्यायाधीशले मुख थुन्नेलाई कारबाही हैन पीडितलाई नै धरौटी मागे ? अदालत त जनताको पो हुनुपर्दथ्यो । न्यायाधीश त प्रचण्डको पो बनिदिए । जुन न्यायाधीश तीन करोड नेपालीको हुनुपर्दथ्यो । अहिले प्रचण्डसँग स्पष्ट रुपमा बोल्न सक्ने मान्छे नै भएन । हिजो प्रचण्डले नेपाली जनता र नेपाली सेनालाई मारे । अहिले पछिल्लो समयमा आफु प्रधानमन्त्री बहाल हुँदा पनि दुई लाख जनता काठमाडौंमा उतार्छु भन्छन् । त्यो कसका लागि उतार्ने हो ? के प्रहरी र नेपाली सेना मार्न उतार्ने हो ?
पूर्वमा गए भने हामीलाई निर्वाचनमा जितायौं भने जातीय राज्य दिन्छु भन्छन् । पृथ्वी नारायण शाहले एकीकृत बनाएको राज्यलाई प्रचण्डले बाडिदिने ? हाम्रो गाउँमा सबै मिलेर बसेको अवस्थामा कस्तो जातिय राज्य बनाउने हो ? प्रचण्डको जातिय राज्य धर्ति माथि हो कि मुनि छ ? जनतालाई बेकुफ बनाउने ?


प्रसंग बदलौं इण्डियन प्रधानमन्त्री मोदी नेपाली भूभाग कालापानी क्षेत्रमा यहि असोज २५ गते बिना अनुमति र जानकारी नै भ्रमण गरे । यो विषयमा प्रचण्ड सरकार बोल्दैन त ?
यो राष्ट्रघाती सरकार हो । यसलाई नेपाल र नेपालीको कुनै मतलव छैन । यो त दिल्लीको आदेशमा बनाइएको सरकार हो । यो विदेशीको आर्शिवाद प्राप्त सरकार हो । नेपाल सरकार हैन । यो संविधान जलाएर २०४७ सालको संविधान बहाली गर्नुपर्छ । यो संविधानले जनताको पक्षमा काम गर्दैन । त्यसैले २०४७ सालको संविधान लागू गर्नुपर्छ । त्यसका लागि नेपाली सेनाले नेतृत्व गरी सत्ता हातमा लिनुपर्छ । पञ्चायत कालमा डिबी लामा आइजी थिए ।


० उनी त नेपाली कांग्रेसको नेता भएर सांसद र मन्त्री पनि भए नी ?

डिबी लामाले चरेस र मुर्तिको ब्यापार गरेको सुनिन्थ्यो । सबैलाई थाह भयो । त्यसपछि २०५८ साल जेठ १९ गते तत्कालिन राजा वीरेन्द्रका सपरिवारका सामुहिक हत्या गरियो । त्यो समयमा प्रज्वल शम्शेर जबरा प्रधानसेनापति थिए । अहिले प्रभुराम शर्मा नेपालका प्रधान सेनापति हुनुहुन्छ ।


० के नेपालको सत्ता सेनाले चलाउनुपर्छ भन्नुभएको हो ?
हो प्रचण्डले भनेको जातिय राज्य कहाँ छ ? हामीलाई थाह भएन । उनले भने जस्तै जातिय राज्यको भ्रम किन पारिएको छ ? १७ हजार जनतालाई पनि मार्ने, राजा फाल्नकै लागि त निर्वाचनबाटै हुन्थ्यो । कहिले दुई लाख जनता काठमाडौंमा उताछु भनेर बोल्दै हिड्ने ? त्यसैले सेनाले सत्ता हातमा लिएर चलाउँनुपर्छ ।


० तपाईले भने जस्तै यो संविधानले अब काम गर्दैन ?
गर्दैन , यो त नेताका लागि मात्रै बनाइएको संविधान हो । जनताको पक्षमा छैन । आर्यघाटमा लगेर यो संविधान जलाउँनुपर्छ । यस्तो व्यवस्था नआओस् भन्ने हो ?
० तपाई किन यत्ति धेरै असन्तुष्ट ?
अहिले आफ्नै कार्यकर्ता लगाएर दिन दहाडै मान्छे मार्छन् र आफै पैसा खाएर छुटाउँछन् त्यहि हो कानून ? टीकापुरमा ८ जना निहत्था प्रहरी मारियो । तीनलाई सहजै छुटाइयो । नेपाली सेना र नेपाल प्रहरी र सेना मार्नेलाई छुट दिन पाइदैन । बीच सडकमा क्रुर हत्या गरिन्छ, राष्ट्रपतिले कार्यकर्ता हो भन्दै माफी दिन्छन् ।
नेपाली सेनामा पनि भ्रष्टाचारले जर्जर बनाएको छ । त्यसैकारण सेनाले पनि त सत्ता हातमा लिएर जोखिम मोल्न चाहदैन भनिन्छ नि ?
कतिपय भ्रष्टाचार भएको पनि होला । विदेशीले नेपालका जान्ने सुन्ने भनेकाहरु डलरबाट किन्न सकिन्छ भन्ने ठानेका हुन्छन् । यसरी एकथरी मानिसहरु किनेपछि हामीले नेपाल आफ्नै बनाउन सकिन्छ भन्ने सोँचमा छन् । डलरलाई हामीले त वनका पातका खोस्टा बनाउँछौं । नेपाली सेनाले सत्ता हातमा नलिए देश रहँदैन । एमसीसी संसदबाट अनुमोदन गर्नका लागि हामीलाई हामी माथि लाठी बर्साए । यहि अवस्थामा देश रहैदैन ।


० अहिलेको शासन ब्यवस्था कसले चलाएका हुन् त ?
यो शासन त मतियाराले चलाएका हुन् । यिनीहरुका श्रीमती मर्दा पनि राज्यका सेनालाई सलामी दिन आदेश गर्छन । एउटा नेताको मृत्यु हुँदा पनि सलामी दिइन्छ । राजाको मृत्यु भयो भने वा प्रधानसेनापतिकै मृत्यु भएको खण्डमा मात्र सलामी दिनुपर्छ । अहिलेका नेताहरु त जुका जस्तै तन्किएर जनताको रगत चुस्न आएका छन् । राष्ट्रध्वंश गर्नकै लागि आएका यि जुकाहरुलाई सलामी दिन जरुरी छैन । राष्ट्रपति मरे पनि नेपाली सेनाले सलामी दिनुुहँदैन । त्यसैले नेपाली सेनाले शासन हातमा लिएर चलाउँनुपर्छ । तब मात्रै राष्ट्र रहन्छ । नत्र राष्ट्र नै समाप्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.