किसानकै आत्मलाई रुवाएर देशलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ ?
1 min read
० अहिलेको बजेट देश र राष्ट्रका लागि दीर्घकालिन हिसावले पनि ‘राष्ट्रघाती’ छ ।
० देश बनाउने हो भने कोहि राजनेता बनेर अठोट र संकल्प लिनै पर्दछ ।
० सरकारले मलखाद्यको पनि व्यवस्था नगर्ने, जनताले खेतमा प्रयोग गर्नका लागि ल्याएको एक दुई बोरा मल पनि लुटेरा शैलीमा पक्रेर भन्सारमा लगेर बुझाउने ?
० जिटुजी भनेको नेपाल सरकारका मन्त्री र प्रधानमन्त्रीले बिचौलियाहरुमार्फत कमिसन खाने माध्यम हो ।
० जे चिजमा बढि कमिसन आउँछ, सरकारमा बस्नेले त्यसैमा लगानी गर्ने नीति नै बनेको छ ।
० किसान, गरिब, दलित र असाहाय गाउँका जनताका समस्याहरु अहिले पनि जिउँका तिउँ नै छन् ।
० जब देखि देशमा प्रजातन्त्र स्थापना भयो, त्यसपछिका प्रजातान्त्रिक नेताहरुको सम्पत्ति छानविन हुनुपर्दछ ।
० युवाहरु पलायन हुँदै जाँदा नेताहरुले देशलाई लिजमा लगाउन बेर छैन ।
० यो क्षेत्रमा हिजो गुण्डाराज थियो । यहाँ पुरै दादागिरी नै चल्दथ्यो । कानून र विधिको शासन नै लागू हुँदैनथ्यो ।
० नेताहरु आफ्नो आचरणमा सुधार गर्न सकेनन्् भने राष्ट्र जोगाउन कठिन छ ।
नेपाली कांग्रेसबाट २०६४ सालमा निर्वाचित सांसद मोहम्मद आफ्ताव आलमले जनतालाई तर्साएर निर्वाचन जित्नका लागि बम बनाउन भारतबाट मानिसहरु ल्याए । २०६४ साल चैत्र २७ गते बम बनाउँदा घाइते भएका जिउँदा मानिसलाई इट्टाभट्टामा राखेर मारेको अभियोगमा धेरै वर्षको प्रयासपछि मात्रै जेल परे । उनी जेल परेपछि मात्रै रौटहट क्षेत्र नम्बर २ का जनताले बल्ल लोकतन्त्रको महसुस गर्न पाए । आलम अहिले नख्खु कारागारमा छन् । तथापि नेपाली कांग्रेसले चाँहि उनकै छोरालाई उम्मेदवार बनायो । रौतहट दुईको संघीय संसदको निर्वाचिनमा जनताका लोकप्रिय जनप्रतिनिधि किरण साह अत्याधिक मतले विजयी भए । उनै सांसद साहसँग डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले रौतहटमै व्यस्त रहेको मौकामा गरेको विशेष वार्ताः
० बजेट विनियोजन गर्दा नै प्रधानमन्त्री दाहाल, अर्थमन्त्री महत र सत्ताका सहयात्री अर्का पूर्व प्रधानमन्त्री देउवाको जिल्लामा मात्रै अत्याधिक असन्तुलित रुपमा केन्द्रीत भयो भन्ने गुनासो छ । तपाईलाई कस्तो लाग्छ भरखरै संसदबाट पास भएको बजेट ?
अहिले देशको अर्थतन्त्र एकदमै संकटपूर्ण अवस्थामा छ । यो समयमा सरकारले ल्याएको बजेट प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा असन्तुलित रुपमा विनियोजन हुनु आम जनताका लागि दूर्भाग्य नै हो । समानुपातिक हिसावले १६५ वटा निर्वाचन क्षेत्रमा जानु पर्ने बजेट केबल तीन जिल्लाका क्षेत्रहरुमा मात्रै प्राथमिकतामा राखेर विनियोजन गर्नु असाध्यै नराम्रो विषय हो । अहिले सबैभन्दा पिछडिएको रौटहट जिल्लाको क्षेत्र–२ मा जो आर्थिक सूचांकमा हेर्दा सबैभन्दा पछाडी परेको छ, त्यसलाई हामी सबैले गम्भीरताका साथ लिएका छौं । बजेट विनियोजनका विषयमा सत्ताधारी दलका साँसदहरु पनि रुवाबासी नै गरेका थिए । बजेटका विषयमा मन्त्रालयगत रुपमा दफावार छलफल हँदा पनि सत्ताधारी दलकै सांसदहरु रुवाबासीको नाटक गरेका थिए । त्यो अवस्थामा हामीलाई बजेट पास हुँदैन भन्ने विश्वास लागिरहेको थियो । तर, सत्ताधारी दलहरुले ह्वीप नै लगाएर जबर्जस्त पास गरे । यो बजेट पारित गर्नु भनेको सिंगो राष्ट्रका लागि दूर्भाग्य नै हो । यसले समग्र राष्ट्रको लागि हित गर्दैन । यो बजेट विनियोजन हुनु भनेको ‘समग्र राष्ट्रको विकास, समृद्धि र सुशासनको बिपरित नै हो भन्ने मेरो बुझाई छ’ । यसमा मैले मिडियामार्फत पनि के भन्न चाहन्छु भने अहिलेको बजेट देश र राष्ट्रका लागि दीर्घकालिन हिसावले पनि ‘राष्ट्रघाती’ बजेट हो भन्ने लागेको छ । किनभने यो देशका तीन जिल्लामा मात्रै बजेट विनियोजन गरेर अन्य जिल्लालाई पाखा लगाउने कार्य बिल्कुलै गलत हो । प्रधानमन्त्री र मन्त्रीहरुको क्षेत्र विशेष हुने, अन्य निर्वाचन क्षेत्रका जनताहरु हैनन् ? किन विभेद भयो ? अन्य क्षेत्रका जनताले राष्ट्रलाई कर तिरेका छैनन् ? अहिले यसरी सत्ता टिकाउने किसिमले जुन बजेट बाँडफाँड गरिएको छ, यो बिल्कुलै गैर जिम्मेवारपूर्ण कार्य हो । सुशासन र पारदर्शिताका लागि यो अझ घातक छ ।
० तपाई किसान आन्दोलनबाट पञ्चायतकालमा पनि चर्चित रौतहट जिल्लाका एकजना सांसद हुनुुहुन्छ । जनताले बालीनाली लगाउँदा यो समयमा सहजरुपमा मल बीउँ पाएका छन् कि छैनन् ?
तपाईले बडो समय सान्दर्भिक कुरा उठाउनुभयो । हिजो (शुक्रवार असार १५ गते) मात्रै राष्ट्रिय धान दिवस थियो । हामीले बोधिमाई नगरपालिकामा धान दिवस मनाउँदा किसानहरु उत्साहित हुँदै आउनुभएको थियो । जब हामी खेतमा धान रोपाई गर्दै थियौं, किसानहरुले आँशु झारिरहँनुभएको थियो । उहाँहरुले भन्नुभयो “तपाईका पूर्वजहरुले यहि रौतहटबाट किसान आन्दोलन गरेर सिंगो नेपालको सरकारलाई नै झुकाएका थिए । अहिलेको अवस्थामा हामीले मल, बीउँ नपाउनु, सिंचाईको सुबिधा नहुनु दूर्भाग्य नै हो ।” अहिले सरकारले मलखाद्यको पनि व्यवस्था नगर्ने, जनताले खेतमा प्रयोग गर्नका लागि ल्याएको एक दुई बोरा मल पनि लुटेरा शैलीमा पक्रेर भन्सारमा लगेर बुझाउने ? देशको समृद्धि यस्तो व्यवहारबाट सम्भव छ ? देशलाई दीर्घकालिन रुपमा आत्मनिर्भर बनाउन सकेमात्रै देश समृद्ध बन्न सक्छ । तर, राज्य यहाँका किसानहरु प्रति नै उत्तरदायी बन्न सकेको छैन । बाली लयाउने समयमा किसानसँग मलखाद्य छैन । सिंचाईको व्यवस्था छैन किसानको लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ । म निर्वाचनमा होमिइरहँदा जनतालाई पढाई, कमाई, दवाई र सिँचाई गरी चारवटा संकल्पका साथ अघि बढाएको थिएँ । मलाई आत्म विश्वास छ तपाई पनि किसानकै छोरा हो । अहिले संघमा भएका २७५ जना सांसदहरु धेरैजसो किसानकै छोरा छन् । तर, किसानकै आत्मलाई रुवाएर देशलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ ? तपाईको मिडियामार्फत नेपाल सरकार समक्ष मैले के भन्ने चाहन्छु भने “किसानका निमित्त मलखाद्य, सिंचाई र बीउँको व्यवस्था गर्न कृषिमन्त्री र प्रधानमन्त्री समक्ष अनुरोध गर्न चाहन्छु ।”
० सरकारका मन्त्रीहरु भाषणमा जिटुजीबाट मल ल्याउने गड्डी हाक्छन् । मल समयमा आउँदैन र प्रयाप्त रुपमा सहज तरिकाले पनि आउँदैन ? किन यस्तो भइरहन्छ ? राज्यको यत्रो संयन्त्रले पनि समयमा आंकलन गर्न सक्तैन ?
जिटुजी भनेको नेपाल सरकारका मन्त्री र प्रधानमन्त्रीले बिचौलियाहरुमार्फत कमिसन खाने माध्यम मात्रै हो । उहाँहरु यि कमिसन खोर मार्फत आफ्नो कमिसन जम्मा गरी हेरिरहँनुभएको छ । भन्नलाई त यो सरकारले पनि भ्रष्टाचारमा शून्य सहनसिलता भनिएको छ । तर, ःष्नजत तय च्ष्नजतक अर्थात ‘जिसका लाठी उसका भैस’ भइरहेको छ । जिटुजी मार्फत मलखाद्य ल्याउने बचन दिनु हात्तीको देखाउने र खाने दाँत जस्तै हो । सरकार र जनप्रतिनिधिहरुबाटै किसानहरु ठगिएका छन् । अर्कोतर्फ अहिले प्राकृर्तिक रुपमा किसानहरु पानी नपरेर पनि छटपटाईरहेका छन् । मधेश प्रदेशमा एकदमै कम पानी परिरहेको छ । मेरो जिल्लाको लालबकैया नदीमा अहिलेसम्मको इतिहासमा कहिल्यै पनि पानी सुखेको थिएन । तर, यसपटक पानी सुकेर जनावरहरु नै मर्न थाले । यो अवस्थामा पनि सरकार कानमा तेल हालेर सुतेको अवस्था छ । त्यसैले पनि मैले हिजै (१५ गते शुक्रवार) पनि किसानसँग भनेको थिएँ “दोस्रो किसान आन्दोलन हामीले रौतहटबाटै सुरु गर्नुपर्छ । मल, बीउँका लागि आन्दोलन गर्नुपर्छ ।” पटक पटक व्यवस्था फेर्नका लागि आन्दोलन भए तर, जनताको अवस्था फेरिएन । कुनै पनि आन्दोलनमा सामेल भए पनि अहिलेसम्म किसानले केहि पाएकै छैनन् । गास, बास र कपास भनिन्छ, तर, नेताहरुले आफ्ना नाता–गोता, सम्धी–सम्धीनी, छोरी ज्वाई, छोरा–छोरी, भान्जा–भान्जीलगायतका लागि मात्रै गाँस , बास र कपासको ग्यारेन्टी गरेका छन् । किसान, गरिब, दलित र असाहाय गाउँका जनताका समस्याहरु अहिले पनि जिउँका तिउँ नै छन् । अहिले हामीले प्रजातन्त्र ल्यायौं, लोकतन्त्र ल्यायौं, गणतन्त्र पनि ल्यायौं तर, जनताको अवस्था फेरिएन । अहिले जनताका पक्षमा काम गर्ने राजनेताको खाँचो छ । राजनीतिले बिगारेको अवस्था हो । देशमा सुशासन कायम गरी जनताका पक्षमा काम गर्न आवश्यक छ । जहिले पनि मलखाद्यका लागि किसानले आन्दोलन गर्नुपर्ने अवस्था रहँदै आएको छ । रोष्टममा गएर प्रधानमन्त्रीले भाषण गर्नुहुन्छ “जीटुजीबाट मलखाद्य आइसक्यो ।” तर, हामी फिल्डमा गएर हेर्दा एउटा नगरपालिकामा दुईसय बोरा मल पनि किसानहरुले पाएका छैनन् । अहिले समइसा नै यहि छ । यसको निराकरणका लागि संसदमा पनि जोडदार रुपमा आवाज उठाएको छु ।
० अहिले राज्यले किसानको मल, बीउँ र सिंचाईमा भन्दा पनि ठूला भवन निर्माण र बाटो घाटोमा मात्रै बजेट विनियोजन गरेको देखिन्छ नी ?
बाटोघाटो र भवन निर्माणमा नेताहरुलाई सिधै कमिसन आउँछ । किसानलाई मल, बीउँ सर्वशुलभ गराएर त कमिसन मिल्दैन । किसानको खेतमा सिंचाईको सुविधा उपलब्ध गराएर पनि कमिसन मिल्दैन । जे चिजमा बढि कमिसन आउँछ, सरकारमा बस्नेले त्यसैमा लगानी गर्ने नीति नै बनेको छ । भ्रष्टाचार गर्ने, र नीतिगत रुपमा कुम्ल्याउने सोच बनेको छ । राष्ट्र बनाउँ भन्ने सोच नै आएन । देशलाई अगाडि बढाउनेतर्फ भन्दा पनि मुन्टो फर्काएर तलतिर धकेल्ने बाहेक अन्य केहि काम छैन । देश बनाउने हो भने कोहि राजनेता बनेर अठोट र संकल्प लिनै पर्दछ । जबसम्म संकल्प र अठोट लिइदैन तबसम्म किसानहरुको समस्या समाधान हुँदैन । अहिलेको अवस्थामा किसानहरुले रोपाई गरी सकेपछि मल आएर के काम हुन्छ ?
Oअहिले युवाहरु रोजगारी र अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । नेपालमा भएका केहि उद्योगहरु पनि बन्द गरिए । तपाईको जिल्लामा भएको चिनी मिल पनि बन्द गरियो । किसानको उखुको भुक्तानी पनि बक्यौताकै रुपमा राखेर सास्ती दिइन्छ । यसको समाधान तपाईको विचारमा के हो भन्ने लाग्छ ?
देशमा प्रजातन्त्र पछि देशको स्थिति जुन अवस्थामा देखा परेको छ, त्यसमा उद्योग धन्दाहरु धारासायी बनाइएको छ । यहाँको चिनी मिल किसानहरुको ‘लाइफलाइन’ थियो, जुन बन्द गरिएको अवस्था छ । किसानहरुले उखु उत्पादन गर्ने तर समयमा बिल भुक्तानी नगर्ने जस्तो क्रियाकलाप भइरहेका छन् । यो सरकारको चरम लापार्वाही हो । यस्तो क्रियाकलापको म घोर निन्दा गर्दछु । सरकारमा पुगेर उद्योगीहरुलाई आफ्नो योजनामा हिडाउने, भ्रष्टचार गर्ने अवस्था बनिरहेको छ । मधेश प्रदेशमा त यो बजेटले एकदमै विभेद गरेको छ । मधेश प्रदेशमा रहेका जनकपुर चुरोट कारखाना, वीरगञ्ज चिनी मिल, रौतहटको चिनी मिल बन्द भएको अवस्थामा सञ्चालन गर्नुको सट्टा झनै दयनीय बनाइएको छ । त्यसैले गर्दा हाम्रो देशमा उद्यमशीलता र रोजगारीमा विश्वास गर्ने युवाहरु रोजगारी खोज्ने अवसरबाट बन्चित भएका छन् । हाम्रा हुने खाने भाइहरु पनि विदेशिन बाद्य छन् । के बिप्रेषण (रेमिटान्स)बाट देश चल्छ ? विदेशीसँग चन्दा मागेर अर्थतन्त्र मजबुत हुन्छ ? कहिल्यै पनि हुँदैन । हाम्रो देशमा हरेक चिज उत्पादन गर्न सकिन्थ्यो । यो देशमा युरेनियमको खानी देखि यार्सागुम्बालगायतका अति महत्वपूर्ण जडिबुटीहरु छन् । त्यसलाई उपयोग नगरेर देशलाई परनिर्भरतातर्फ धकेल्ने काम गरिएका छन् । देश र राष्ट्रका लागि घातक छ । यहाँ बित्तिय सवालमा हेर्ने हो भने देशले थेग्नै नसक्ने गरी ऋण लिइएको छ । नेपालीहरुको स्वाभिमान बचाउन नसकिने अवस्था छ । त्यसैकारण हामीले रोजेको र सोचेको जस्तो राष्ट्र बनाउने काम भएन ।
अहिले राष्ट्रको सबै क्षेत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । जब देखि देशमा प्रजातन्त्र स्थापना भयो, प्रजातान्त्रिक नेताहरुको सम्पत्ति छानविन हुनुपर्दछ । म पनि सांसद छु, मेरो पनि छानविन होस् । मैले मिडियामार्फत पनि के भन्न चाहन्छु भने ‘यो देशका युवाहरुलाई जवसम्म उद्यमशीलतामा विश्वास गराउन, कृषिमा आत्मनिर्भर गराउन, आफ्नै देशका उत्पादनमा जोड्न सकिदैन युवाहरु विदेश पलायन हुन अवस्था रहिरहन्छ । देश अहिले ‘रेड जोन’ मा छ । आर्थिक परिसुचांक एकदमै खराव छ । यो देशमा राज्यले अर्थतन्त्रमा ब्यापक सुधार गरिएन भने देशको अर्थतन्त्र भित्री रुपमा खराव अवस्थामा छ । नेपालका जनताहरु धनी छन् तर, सरकार भने गरिब छ । अहिलेसम्म नेपाल सोमालिया बनेको छैन । माओवादीको जनयुद्धमा पनि हाम्रै नेपालका युवा भाइहरु लडिरहँदा पनि देशको अर्थतन्त्र जोखिममा थिएन । नेताहरु आफ्नो आचरणमा सुधार गर्न सकेनन्् भने राष्ट्र जोगाउन कठिन छ । युवाहरु पलायन हुँदै जाँदा नेताहरुले देशलाई लिजमा लगाउन बेर छैन ।
० तपाईको निर्वाचन क्षेत्र रौतहट–२ मा प्राथमिकताका साथ जनताका पक्षमा उठाउनुपर्ने विषयहरु के–के हुन् ?
रौतहट क्षेत्र नम्बर दुईमा यहाँका जनताहरुको मूल माग भनेको विकास, पारदर्शिता, पढाई, कमाइ, दवाई, सिंचाई हो । सर्वबिदितै छ,यो क्षेत्रमा हिजो गुण्डाराज थियो । यहाँ पुरै दादागिरी नै चल्दथ्यो । कानून र विधिको शासन नै लागू हुँदैनथ्यो । प्रहरी प्रशासन अमूक व्यक्तिको निर्देशनमा चल्दथ्यो । म यो क्षेत्रमा निर्वाचनमा लडे देखि नै जनताका मागमा दृढ संकल्प लिएको छु । यहि अठोटका साथ अघि बढेको छु । यो क्षेत्रका जनताले खोजेकै विषयमा काम गरेको छु । यहाँ अहिले गुण्डाराजको लगभग अन्त नै भइसकेको छ । रामराज्यको सुरुवात भएको छ । रावण राज्यको अन्त भइसक्यो, निर्भय राज्यको सुरुभयो । पढाईका विषयमा गुणस्तरीय शिक्षाको लागू गर्नका लागि सांसदको हैसियतले शिक्षा प्रणालीमा सुधारका लागि लागिरहेको छु । युवाहरुलाई रोजगारीका लागि उद्योगीहरुसँग वार्ता गरी ६ सय जनाले रोजगारी पाउने म्याक्स फर्मास्युटिकल्स उद्योग (ईशनाथ नगरपालिका–३) को स्थापना हुन लागिरहेको छ । जुन अन्तिम चरणमा छ । यसरी उद्योगहरु स्थापना हुँदा यहाँका युवाहरुले रोजगारी पाउनेछन् । बाटोघाटोको समस्या छ । स्वास्थ्यमा आमूल परिवर्तन हुने गरी सकेसम्म धेरै बेडको अस्पतालको आवश्यकता छ । म त्यसमा पनि लागिरहेको छु । आम सेवाग्राहीले सुबिधा पाउन सकून भन्नेमा छु । सिंचाईका लागि पनि यहाँ समस्याहरु छन् । हिजो यहाँ सहजरुपमा धान, गहुँ, मकै उत्पादन भइरहेको थियो । गण्डक आयोजनाको पानी आउथ्यो । तर, गणतन्त्रको स्थापना पछि त्यो पानी कता चोरी भयो ? मेरो क्षेत्रमा आउँदैन । सिंचाईका लागि जमुनिया र गण्डक सिंचाई आयोजनालाई सञ्चालन गरी हाम्रा सेवाग्राही किसानहरुको खेत खेतमै पानी पु¥याउन प्रयत्नशील छौं । म जुन सुकै मूल्य चुकाएर पनि यहाँका किसानको लागि आवश्यक सिंचाईको व्यवस्था गराउन तयार छु । यहि उद्घोषका साथ मैले रौतहट क्षेत्र नम्बर दुईका जनतामा अठोट गर्दछु ।
० अन्तमा केहि भन्नु छ कि ?
यो क्षेत्रमा मलाई संसदको निर्वाचनमा अत्याधिक मतले विजय गराउनुहुने रौतहट–२ का जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु । यो क्षेत्रमा विकास, निर्भय समाजको स्थापना, पढाई, कमाई र दवाई जस्ता संकल्प लिएर अघि बढेको छु, पाँच वर्षमा जसरी पनि पुरा गर्नेछु ।