राज्यसँग जस्को पहुँच छ अनुदान पनि तिनैले पाउने गरेका छन्
चांगु नारायण नगरपालिका–९ का राम खड्का २०६६ साल देखि पोल्ट्री व्यवसायीमा लाग्नुभएको छ । पटक पटक फार्ममा बर्डफ्लुका कारण नोक्सानीको मारमा पर्नुभएका खड्का यसपटक त ७ हजार ८ सय कुखुरा बर्डफ्लुका कारण नष्ट गरिए । सरकारको कार्यविधिकै कारण ढिलाई हुँदा उहाँले पहिले नै मरिसकेका झण्डै ५ हजार कुखुराको क्षतिपुर्ति नै पाउनुभएन । मात्रै २७९० कुखुराको मात्रै मारिएको सिडी रिपोर्ट बनाइयो । कुखुरा पालक किसानहरुको समस्या र महामारीको अवधिमा परेको मारका विषयमा उहाँसँग गरिएको छोटो वार्ताः
० तपाई लामो समय देखि कुखुरा पालन व्यवसाय गर्दै आउनुभयो । अहिले पछिल्लो अवस्थामा तपाईका कुखुराहरु पनि बर्ड फ्लुका कारण मरे भन्ने सुनियो । कारण के रहेछ ?
म बर्ड फ्लुको विज्ञ त होइन तर, एक जना अनुभवी व्यवसायी हुँ । मैले भाइरसको रोकथामका लागि गर्नुपर्ने कतिपय मापदण्डहरु पालना गरेको थिएँ । तथापि कसरी फैलन पुग्यो पत्तै भएन । मैले व्यवसायीले गर्नुपर्ने बायो सेक्युरिटी पूर्ण रुपमा पालना गरेको थिएँ । फर्मको कम्पाउण्डमा कुकुरसमेत पनि छिर्न दिएको थिँइन ।
० पशुपन्छी बीमामा महामारी रोगका कारण देखाएर बर्डफूलुबाट मरेका कुखुराको क्षतिपुर्ति दिँदैन । राज्यले दिने क्षतिपुर्ति पनि कार्यविधिकै ढिलाईका कारण तपाईले झण्डै पाँच हजार कुखुराको क्षतिपुर्ति नपाउने अवस्था भयो भन्नुभयो । यसरी त किसानहरु नै बिस्थापित हुने अवस्था आयो नी ?
हो । हामीले त केबल बायो सेक्युरिटी अप्नाउने हो । मैले ब्यवसायिक रुपमा पेसा गर्नका लागि विदेश पढ्न जान लागेका छोरालाईसमेत आफ्नै देशमा केहि गर्नुपर्छ भनेर विदेशमा जान रोकेर आफ्नो साथ लिए । यो व्यवसाय २०६६ सालमा दर्ता गरेर सुरु गरेको भएपनि मैले काम गरेको चाहिँ २०५५ साल देखि नै हो । अहिले सरकारले किसानको पहिचान नै गर्न सकेको छैन । किसानका नाममा बिचौलियाले सुबिधा लिएका छन् ।
० नेपाल सरकारले मासु र अण्डामा आत्मनिर्भर छ भन्छ । तर, महामारी नियन्त्रणका लागि कसरी अघि बढ्ने विषयमा सरकारलाई किन दवाव दिनुभएको छैन ?
हामीले संघ संस्थामार्फत घच्घचाएका छौं । उहाँहरुले मापदण्ड तोके बमोजिम नै काम गरेका पनि छौं । राज्यको कार्यक्रम छ तथापि हाम्रो पक्षमा लागू नै भएका छैनन् । युवालाई स्वरोजगार बनाउने, भटेरिनरीका सुबिधाहरु दिने, किसानलाई दिइने तालिमहरुको हामी जस्ता व्यवसायीलाई समावेस नै गराएको छैन । तर, तालिमका नाममा बिभिन्न व्यक्तिहरुलाई देखाएर राज्यका बिभिन्न निकायले रकम दोहोन गरिरहेका छन् । यस विषयमा राज्यका निकायहरु जानकार छन्, तर उनीहरु त्यसैमा मिसिएर त्यसलाई झनै प्रदुषित बनाएका छन् । कामको लामो अनुभव र व्यवसायमा समर्पणका आधारमा मैले काम गर्दै आएको हुँ । म परिश्रम र मेहनतमा मात्रै निर्भर छु । राज्यको सहयोग त शून्य नै छ ।
० तपाईले अहिलेसम्म सरकारबाट कत्ति पनि सहयोग प्राप्त गर्नुभएको छैन ?
मैले आठ हजार कुखुरा पालेको थिएँ । तथापि सहयोग नै पाएको छैन भन्दा पनि हुन्छ । सनराइज बैंक भक्तपुर शाखाबाट एक करोड ऋण लिएको थिएँ । मेरा कुखुराहरु फागुनको २६ गते देखि ३० गतेसम्म चार हजार आठसय मरे र बाँकी सबै नष्ट गरिए । मैले किस्ता समयमा दिन नसक्दा राष्ट्रबैंकको निर्देशन भन्दै ब्याजमा दिइएको पाँच प्रतिशत अनुदान पनि काटियो । कि त किस्ता तिरेर ब्याज चुक्ता गर्नुस् कि त ऋण अनुदान त्याग्नु भनेर बैंकका अधिकारीहरुले दवाव दिए । बर्ड फ्लु महामारीका कारण अहिले किस्ता समयमा तिर्न नसक्दा सुबिधा पनि काटियो । यसले गर्दा मैले १२ प्रतिशत ब्याजमा ऋण तिर्न बाद्य छु ।
० सरकारले किसानलाई उत्पादनमा भन्दा त बिचौलियालाई अनुदान दिँदै आएको छ । त्यसैकारण समस्या भएका हुन् ?
हो, मूख्य कुरा मैले पहिल्यै नै भनिसकेँ किसानको पहिचान नै भएन । वास्तविक काम गर्ने किसानहरु एकदमै मारमा छन् । यो देशमा राज्यसँग जस्को पहुँच छ अनुदान पनि तिनैले पाउने गरेका छन् ।
मैले सनराइज बैंकबाट ऋण लिँदा कुखुरापालनका लागि भनेर ऋण लिएको हुँ । तथापि दाना उद्योगबाट दाना लिँदा गुणस्तरमा पनि समस्या हुने र महंगो पनि पर्ने भएका कारण आफै उत्पादन गरेँ । दानाको फर्मुला पनि थाह छ । त्यसैकारण अधिकांश किसानहरुलाई निःशुल्क सिकाउने पनि गरेको छु । हाम्रा सरकारी निकायका डाक्टरसावहरुले पैसा लिएर मात्रै सिकाउँदै आउनुभएको छ ।
० अन्य पेसामा आफ्नो उत्पादनको मूल्य आफै राखिन्छ तर, कुखुराको मासु र अण्डाको मूल्य त दाना उद्योगीले आफ्नो स्वार्थसिद्ध हुने गरी राख्छन् भनिन्छ नि सत्य हो ?
एकदमै सत्य हो । दाना उद्योगले अण्डा र मासुको मूल्य निर्धारण गर्छ । हाम्रा संघ संस्थाले मूल्य तोक्छन्, कोल्ड स्टोरले मूल्य तोक्छ । कोल्ड स्टोरलाई प्रतिकेजी १० रुपैया मूल्य छुट्टाउनुपर्छ । अहिले संघले जीउँदो बोइलर कुखुराको मोल २९० रुपैया तोकेको छ । तर, किसानले २८० रुपैया मात्रै पाउँछन् । तथापि उपभोक्ताले पनि सस्तो दरमा खान पाउँदैनन् । यसरी उपभोक्ता र वास्तविक किसान ठगिएका छन् । राज्यको अनुगमन छैन । राज्य केबल करमुखि मात्रै देखिन्छ । किसानलाई बिचौलियाले कसरी ठगिरहेका छन् त ? भन्ने विषयमा गाई भैसी पालक किसानहरुको पनि गुनासोहरु छन् । किसानले उत्पादन गरेको दुध बिचौलियालाई दिन्छन् । बिचौलिया ठेकेदारहरु धनी छन् । प्रशस्त पैसा कमाएका छन् । जसको दुध कसरी उत्पादन हुन्छ भन्ने ज्ञान नै छैन । दुध उत्पादन गर्ने किसानहरुको बिजोग छ । अहिले गाईमा नयाँ रोग आएको छ । जीउँमा फोका आउने र उपचार नभएको खण्डमा मर्छन् । यसरी गाईका फार्महरु नै रित्तिएका छन् । स्थानीय तहका सरकार र केन्द्र सरकारले यसमा कुनै वास्ता गरेको छैन । अहिले टनेलामा किसानहरुले १० रुपैया प्रतिकेजीमा गोलभेडा बेचेका छन् तर, हामीले खानुपर्दा ४० रुपैया प्रति केजी तिर्नुपरेको छ । कति अन्तर छ, राज्यले अनुगमन गर्नु पर्दैन ? टमाटर उत्पादन, गाई पालन वा कुखुरापालन वा धान उत्पादन नै किन नहोस् सबैजना किसान नै हुन् नी । हामी कृषि प्रधान देशका किसानहरु हौं तथापि राज्यले किसानको हितमा केहि काम गरेको जस्तो लाग्दैन ।
० तपाई एक जना किसान उत्पादनका लागि उन्नत बीउँ, मल आधुनिक औजार, बजारीकरण जस्ता विषयमा राज्यको उपस्थिति कस्तो हुनुपर्छ भन्ने लाग्छ ?
राज्यले किसानको उत्पादनलाई उचित मूल्य दिनुपर्दछ । किसानहरु बिभिन्न प्रकारका सहकारी र बैंकबाट ऋण लिएर उत्पादनका काममा लगाएका छन् । त्यसका लागि किसानहरु ब्याज र सेवा शुल्क बुझाउँदै नांगो बनेका छन् । सहकारीहरु किसानकै बचत रकम खाएर भागेका छन् । सरकारले उनीहरुलाई कारबाही गर्दैन । अहिले माइतीघरमा तिनै ठगहरुको विरुद्धमा आन्दोलन र धर्ना छ । किसानहरुले समयमा मल पाउँदैनन् । हामीले त कुखुरा पालेका कारण मल प्रयोग गर्न पाएका छौं । अहिले कुखुराको दानामा प्रयोग गर्ने भुस मात्रै १५ रुपैया केजी छ । कसरी उत्पादन गर्न सकिन्छ ।
० अहिले देशमा काम गर्ने वातावरणका लागि राज्यले सहजिकरण नगर्ने, जसका कारण ८० लाख युवाहरु रोजगारी र अध्यनका लागि विदेशमा छन् । अव त कुखुराको अण्डा र मासुमा पनि कसरी आत्मनिर्भर होला त ?
कुखुराको लागि चाहिने दाना पिना, मकै देखि औषधिहरु पनि भारतबाटै आउँछन् । त्यसका लागि ति कच्चा पदार्थहरु पनि भारतबाटै ल्याइन्छ । मैले एक पटक युक्रेनबाट मकै मगाएको छु । भारतको राजस्थानबाट मकै ल्याइन्छ । भारत र अन्य मुलूकबाट मकै पिना लगायतका कच्चा पदार्थ र औषधि नल्याएको खण्डमा कुखुरा नपाले पनि हुन्छ ।
० हाम्रा युवा शक्तिहरु कृषि पेसामा लगाउन राज्यले के गर्नु पर्ला ?
मैले मेरो छोरा चार वर्ष अघि नै अष्ट्रेलिया जान खोज्दा रोकेँ । तर अहिले पठाउँदै छु । फार्ममा बर्ड फ्लुले सखाप पारेको छ । बैंकको ऋणले उठ्न सकेको छैन । कुखुरा फार्ममा राम्रो भइरहँदा मेरो ऋणको किस्ता तल माथि गरेको थिइँन । तर, अहिले चैत्र मसान्त सम्मको ऋण मात्रै समयमा तिर्न सकिन । तथापि यहि परिस्थितिमा व्यवसाय कसरी चलाउँने ?
० संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधिहरुले तपाईको आवाज सुनेनन् ?
उहाँहरुले आश्वासन मात्रै दिनुभयो । तर, खुलेर नै सहयोग गर्न सक्नुभएन ।
० बीमाले महामारीमा सम्बोधन गर्दैन, सरकारले सुन्दैन, तपाईहरुका संघ संगठनहरु पनि छन् नी तिनीहरुले कत्तिको दवाव सिर्जना गरेका छन् त ?
संघहरु पनि नाफा र स्वार्थमूलक मात्रै छन् । अण्डा ब्यावसायी संघ, कुखुरा व्यवसायी संघ भनिन्छ तर किसानको पक्षमा काम गर्दैनन् । अहिले अण्डाको मोल तोक्दा एक बाक्सा अर्थात सात क्रेटमा २१० गोटा अण्डा हुन्छन् । त्यसको रेट अण्डा ब्यवसायीले तोकेपनि किसानले पाउँदैनन् । उनीहरुले त बेच्नैपर्छ । त्यसैले किसानले त बिचौलियासँग तुम शरणम् गर्नुपर्छ । बिचौलियालाई प्रति बाक्सा २०० देखि २५० रुपैयासम्म तिर्नुपर्छ । किसानलाई उत्पादन गर्न छ महिना लाग्छ । लागत उठाउनका लागि १७/१८ महिना देखि दुई वर्ष नै लाग्छ । यसरी किसानले प्रतिक्रेट १० रुपैया नाफा लिन सक्दैनन । तर, बिचौलियाले त प्रति क्रेट नै ३० रुपैया नाफा गर्छन् ।
किसानहरु कसरी नाफामा हुन्छन् ? बिचौलियाले किसानलाई ज्यादती नै गरेका छन् । बोइलर कुखुराको मासुको मोल कोल्ड स्टोरले तोक्छन्, अण्डाको मोल अण्डा व्यवसायीले तोक्छन् । कसरी किसानको हित र पक्षमा हुन्छ ?
० अन्तमा केहि भन्नु छ कि ?
तपाईको पत्रिका मार्फत मेरा कुराहरु सरकारको कानमा पुगेको खण्डमा म पनि धेरै धेरै आभारी हुने थिएँ ।