बार बर्दिया वनभोज काण्ड,जो पिटिए उसैलाई हत्या अभियोग
बर्दिया । भनिन्छ सयौं दोषि छुटून तर, एक जना निर्दोष पनि नफसून । तर, व्यवहारमा भने कतिपय गलत ब्यक्तिका कारण ठीक उल्टो अवस्था देखिएको छ । वि. सं २०७७ साल मंसिर ३ गते भुरी गाउँ बर्दियाका १७ जना युवाहरु बर्दियाको बबई पुलको दक्षिण पर्ने मसान डाँडामा दुई ग्रुप बनभोजमा सहभागि भइरहेका थिए । बनभोजमा एक पक्षले ल्याएको अटो रिक्सालाई रक्सीले मातेका एक जना सेनाका सिपाही विष्णु रणपालले आफुलाई घरमा पु¥याउन चालक ओम बिकलाई जबर्जस्त आग्रह गर्दै थिए । बोलेको पनि नबुझिने एक जना अपांग प्रभात वन उक्त अटोरिक्सामै बसिरहेका थिए । सेनाका सिपाही रणपालले भनेको नमानेको भन्दै चालक बिकमाथि सांघातिक हमला गरे । त्यसै क्रममा उनले अपांग वनमाथि पनि निर्मम रुपमा मुखमा हिकाएका थिए । त्यसपछि रगताम्मे भएका वन भागेर प्रहरीलाई १०० नम्बरमा खबर गरी हार गुहार गरे । नेपाली सेनाका बहालवला मानिसले आएर बिनाकारण अटोरिक्सा चालक बि.क. र अपांग बनलाई पिटेको भन्दै बनभोजमा गएका केहि ब्यक्तिहरु आएर त्यसको प्रतिरोध गरे ।
यसरी झगडामा संलग्न १० जना फरार भए । त्यस क्रममा दुई पक्षबीच हानाहान भएपछि भाग्ने क्रममा बबई नहरको नालीमा परेर रणपालको मृत्यु भयो । झडपमा संलग्न मध्ये १० जना फरार भए । वनभोजमा संलग्न घर जान तयारी गरी सामान मिलाउँदै गरेका ६ जना र सिपाही रणपालबाटै पिटाई खाएर प्रहरीलाई खबर गर्ने प्रभात वन पक्राउ परे । उनी बोली पनि नबुभिने भएकै कारण झनै शंकास्पद भएको भन्दै प्रहरीले नियन्त्रणमा लियो । सुरुमा आफ्ना गल्ति नभएको भन्दै एक दुई दिनमै छुट्ने आशामा अपांग वनका परिवारले पनि घट्नालाई सामान्य रुपमा लिए । तर, साढे दुई वषए बित्यो, अहिले पनि जेलमै बिताउन बाद्य भए ।
हाल निपेन्द्र वन, प्रभात वन, ओम बहादुर विक, सुमित थापा, सागर चौधरी, रितेश थापामगर, भरत थापा गरी सातजना पूर्पक्षका लागि थुनामा छन् । उनीहरु दुई वर्ष पाँच महिना देखि थुनामै रहेका हुन् । त्यसै गरी असिम माझि, शिशिर योगी, रत्न बहादुर शाही, जोसेफ केसी, अमित केसी, आकेश भण्डारीलगायत १० जना युवाहरु फरार छन् ।
यो मुद्दा लामो समय देखि मोलमोलाईमा अल्झिएको सरोकारवलाहरु बताउँछन् । मुद्दा दर्जनौं पटक पेशी तोकिए पनि फैसला हुन दिइएको छैन । केहि महिना अघि १४ जनासंग जनही १० लाखका दरले उठाएर बर्दियाका तत्कालिन जिल्ला न्यायाधीश लोक जंग शाहलाई मुद्दा फैसला गराएर छुटाउने शर्तमा ५० लाख दिए । त्यसपछि पैसा दिन नसक्ने, झगडामै सामेल नभएका र पिटाई खाएका प्रभात वनलगायतका तीन जनालाई फसाउने प्रपञ्च रचियो । यो षडयन्त्रको पर्दाफास भएपछि न्यायाधीश शाहलाई न्यायपरिषद्को सिफारिसमा जागिरबाटै बर्खास्त गरियो । अहिले पनि बिचौलियाहरुले कार्यरत न्यायाधीशलाई प्रभावित पार्ने कोशिश गरिरहेका छन् । उनीहरुले पेसी सारेर भएपनि मुद्दालाई प्रभाव र दवावमा पार्ने कोशिश गरेका हुन् । तथापि कानून र ऐनमै टेकेर मुद्दाको किनारा लगाउने पक्षमा अदालत प्रशासन प्रतिवद्द भएको स्रोतको दाबी छ ।
अहिले तालिम प्राप्त सेनाको सिपाहीलाई अपांग ब्यक्तिले कसरी पिटेर मार्न सक्छ भन्ने प्रश्न खडा भएको छ । यदि त्यसरी नै एक जना अपांगले नेपाल प्रहरीको १०० नम्बरमा फोन गरी गुहार माग्न सक्छ भने अन्यले प्रहरीलाई किन बोलाएनन् । प्रहरीलाई नै खबर गर्ने ब्यक्ति कसरी अभियुक्त बन्यो ? त्यसै गरी प्रहरी किन ढिला गरी घट्ना स्थल पुग्यो ? बनभोजमा जाने अन्य ब्यक्तिहरुले किन झगडा मिलाएर छुट्टाउने प्रयास नै गरेनन् ? यसै आधारमा पनि भन्न सकिन्छ उनीहरु नै झगडामा संलग्न थिए ।
घट्नामा किन अपांग वनलाई फसाइयो ?
घट्नाका घटेपछि संलग्न समूहका पैसावला व्यक्तिहरुले निर्धन र अशक्त प्रभात वनकी आमा प्रमोदा गिरी वनलाई आर्थिक प्रलोभन देखाएर तिम्रो अपांग छोरालाई नै दोषि करार गरी अरु सबैलाई उम्काउन प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव नमानेपछि सबै जना अभियुक्त रिसाएर उनकै दुबै जना छोराहरु प्रभात वन र नृपेन्द्र वनलाई फसाएर अन्य बाँकी १४ जनालाई उम्काउन खोजिरहेका छन् । पेशी तोक्ने अनेक निहुँ झिकेर स्थगित गरी हालसम्म पनि फैसला हुन दिएका छैनन् । सामान्यतयः जिल्ला अदालतमा दुई वर्ष भित्रै मुद्दा फैसला गर्नुपर्ने प्रावधान छ ।