राष्ट्रपतिको उपचार खर्च ऐन बिपरित,मेडिकल बोर्डको सिफारिस बिनै विदेशमा उपचार
1 min readकाठमाडौं । आफुले जनतालाई सडक जाम गरेर दुःख नदिने उद्घोष गरेर चर्चामा आएका राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमै उपचार गर्न सकिने रोगका लागि पनि भारतको सुबिधा सम्पन्न अस्पतालमा गएर उपचारको नाममा जनताले तिरेको कर दुरुपयोग गरेका छन् । उनले राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ को दफा ९ को उपदफा १ मा उपचार खर्च शिर्षकमा प्रष्ट उल्लेख भएपनि मेडिकल बोर्डको सिफारिस नलिई उपचार गर्न भारतको नयाँ दिल्ली गएका हुन् । उनको उपचार भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भइरहेकोे छ । उनलाई यहि वैशाख ६ गते बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रसँग सूचनाको हक अन्तर्गत जानकारी माग्दा ७ गते विहिबारसम्म मेडिकल बोर्डले विदेश लैजानका लागि सिफारिस नगरेको लिखित जानकारी दिएका थिए ।
नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुधmाव दिएसँगै पौडेललाई भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा.निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ को दफा ९ को उपदफा १ मा उपचार खर्च शिर्षकमा राष्ट्रपति वा उपराष्ट्रपति स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई उपचार गराउँदा लागेको उपचार खर्च नेपाल सरकारले ब्येहोर्नेछ भनि उल्लेख छ । तर, राष्ट्रपति पौडेल मेडिकल बोर्डको सिफारिस बिनै भारतमा उपचारका लागि गएका छन् । उनको उपचारका लागि राष्ट्रपति कार्यालयले श्री एयरलाइन्सको एयर एम्बुलेन्स बुक गरेको छ । नेपाल सरकारले विदेशमा उपचार गर्नका लागि मेडिकल बोर्डबाट पास गरेको आधारमा मात्रै उपचार खर्च भुक्तानी गर्न मिल्छ । तर राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपतिको उपचार सरकारले गर्ने भनेका कारण राष्ट्रपतिलाई भारत जानका लागि श्री एयरलाइन्सको एयर एम्बुलेन्स कार्यालयबाटै बुक गरिएको बताए । राष्ट्रपति पौडेलले आफ्नो निजी खर्चमा उपचार गर्न चाहेको खण्डमा भने मेडिकल बोर्डबाट सिफरिस गरिरहँनु पर्दैन । तर, भीभीआइपीहरुले गरेको अनाआवश्यक खर्चले सीमा नाघेको भन्दै अर्थशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् ।
सामाजिक अभियन्ता डा.ललन चौधरी भन्छन् “देशको सर्वमान्य ब्यक्तिको कहिँ कतैबाट पनि टिकाटिप्पणी हुने खालको काम हुनु हुँदैन । उहाँले ऐन, नियम, कानून र विधि पद्दती मान्नु पर्छ । जनताको कुनै प्रतिक्रिया आउने अवस्था हुनुहुँदैन । मेडिकल बोर्डको सिफारिस बिना उपचारका लागि विदेश जानु बिल्कुलै नमिल्ने कुरा हो” ।
प्रथम राष्ट्रपति रामवरण यादवले २०७० असारमा आन्द्रामा घाउ देखिएपछि उपचारका लागि जापान पुगे । जापानमा उनको उपचार खर्च करिब ५० लाख रुपैयाँ भएको थियो । त्यो खर्च पनि सरकारले व्यहोरेको थियो । २०७३ असोजमा यादवको उपचारका लागि सरकारले तीन करोड रुपैयाँ खर्चिएको थियो । क्यान्सरको उपचारका लागि अमेरिका पु¥याइएका यादवको उपचार खर्च सरकारले व्यहोरेको थियो । पेटमा कालो दाग देखिएको भन्दै जापानको सुबिधा सम्पन्न अस्पतालमा जानका लागि पूर्वराष्ट्रपति डा यादवले घरमै बोलाएर मेडिकल बोर्ड पास गरेका थिए । उनलाई ग्राण्डी अस्पतालमा गरिएको परीक्षणमा पेटमा कालो दाग देखिएको थियो । पूर्व राष्ट्रपति यादवको उपचार एक पटक नेपालकै चिकित्सकसँग पुन गरेपछि मात्रै मेडिकल बोर्डबाट पास गर्नुपर्ने भन्दै बोर्डका सदस्य बरिष्ठ चिकित्सक किरण श्रेष्ठले अडान लिएका थिए । जापान गएर परीक्षण गर्दा राष्ट्रपति यादवको कुनै रोग नरहेको जानकारी भयो । देशले झण्डै ५० लाख रुपैया जनताको कर गुमायो । राष्ट्रपति यादवका छोरा डा. चन्द्र मोहन यादव र छोरीका लागि साइट सिइङ भ्रमण मात्रै बन्यो उपचारका लागि जापान जाँदा । यसरी उपचारका नाममा पदको दुरुपयोग गर्ने एक जना पात्रमा पूर्व राष्ट्रपति यादवको नाम पनि
अग्रपंक्तिमै छ ।
निबर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको नेपालबाहेक अन्य मुलुकमा उपचार गरिएको जानकारी छैन । भण्डारीको औषधि उपचार शीर्षकमा भने सरकारले सामान्य खर्च व्यहोर्दै आएको थियो । राष्ट्रपतिमा दुई कार्यकाल बिताएकी भण्डारीले विदेशमा उपचार गराएको अभिलेख छैन ।
निवर्तमान उपराष्ट्रपति नन्द बहादुर पुनले आफु जुन सुकै अवस्थामा भए पनि नेपालमै उपचार गर्ने अडान लिएर बसेका थिए । जसका कारण विदेशमा पढेर आई नेपालमा सेवा गरिरहेका चिकित्सकहरु आफ्नो पेसाप्रति उत्साहि भए । गम्भीर अवस्थाको बिरामी पर्दा पनि पूर्व उपराष्ट्रपति पुन भारतमा उपचार गर्न गएनन् । उनलाई नेपालकै चिकित्सकले निको पनि गराए । साधन र श्रोत नभएको खण्डमा राज्यले व्यवस्था गर्नुपर्नेमा राज्यका उच्च तहमा पुगेका नेताहरु नै उपचार खर्चका नाममा करोडौं रुपैया लिएर विदेशका अस्पतालमा गएर उपचार गर्दा सिटामोल पनि किनेर खान नसक्ने गरिब र असाहाय जनताले कसरी मुल्याङकन गर्लान चासो र चिन्ताको विषय बनेको छ ।
ग्यास दूर्घट्नामा परेका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई भारत लैजानका लागि पनि मेडिकल बोर्डले पास गरेको थियो । उनको किन भारतमा लैजाने भन्ने विषयमा तथ्य र कारणसहित किर्तिपुर अस्पतालका चिकित्सकहरुले सिफारिस गरेको वीर अस्पतालका मेडिकल बोर्डका सदस्य डा. किरण श्रेष्ठले बताए । भण्डारीको उपचार अहिले पनि मुम्बईको एक अस्पतालमा भइरहेको छ । उनी गुल्मीबाट प्रत्यक्षमा निर्वाचित सांसद पनि हुन् ।
राज्यको सबै भन्दा पुरानो अस्पताल वीर अस्पतालमा देशभरबाट उपचार गर्न आएका सर्वसाधारण जनताका लागि एउटा मात्रै एमआरआई मेसिन भएकै कारण पालो कुर्न १५ दिन पर्खनु पर्ने अवस्था छ । तथापि एउटा मेसिन थप्न राज्यले बजेट उपलब्ध गराउन सक्तैन । तर, उपचारका नाममा आफु निकटका झोले कार्यकर्ता र भीभीआइपीहरुको उपचारका नामका करोडौं रुपैया वितरण हुँदै आएको छ । जुन पहुँचवलाका निमित्त मात्रै लोकतन्त्र र गणतन्त्रको आभास आएको छ ।
नेपालमै उपचार हुन सक्ने कतिपय रोगहरु उपचार नै नगरी राज्यकोषबाट करोडौं लिएर विदेशमा उपचार गर्नेहरुमा तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई आँखाको उपचारका लागि २०४७ सालमा क्यानाडा गएका थिए । सुशील कोइराला क्यान्सरको उपचारका लागि पटक पटक अमेरिका गए । त्यसै गरी गिरिजा पुत्री सुजाता कोइरालाले पनि उपचार खर्चका लागि भन्दै ५० लाख रुपैया लिइन् । करौडौं रुपैयाको जग्गा जमिन भएका नेपाली कांग्रेसका नेता चक्र बास्तोलालालाई उपचार नै गर्न नसक्ने रोगले च्यापिरहेको अवस्था हुँदा पनि ५० लाख रुपैया राज्यकोषबाट उपलब्ध गराइयो । नेकपा (एकीकृत समाजवादी)का बरिष्ठ नेता झलनाथ खनालले पनि पछिल्लो पटक भारतमा गएर मिर्गौला प्रत्यारोपण गर्दा दुई करोड रुपैया भन्दा बढि राज्य कोषबाट लिए । देशको अर्थतन्त्र ऋणात्मक अवस्थामा छ । साउन देखि नौ महिनाको अवधिमा दुई खर्ब १९ अर्ब रुपैया ऋणात्मक छ । जसका कारण राज्यले बचतपत्र बेचेर कर्मचारीलाई तलब भत्ता ख्वाउनु पर्ने अवस्था छ ।
राष्ट्रपतिको स्वास्थ्य सम्बन्धी जानकारी कसले दिने ?
राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सम्बन्धी जानकारी आम मानिसले पाउनु पर्ने अधिकार नै हो । तथापि निजी सचिवालय वा परराष्ट्र मन्त्रालय मौन बसेको छ । तर, नेपाली राजदुतावास नई दिल्लीले तेस्रो दिन मात्रै बक्तब्य जारी गरेको छ । नेपाली जनताले दाउरा बेचेर तिरेको करबाट उपचार गरिएको राष्ट्रपतिको समाचार सहि र समयानकुल हुनुपर्छ भन्ने चौतर्फि माग छ । तथापि राष्ट्रपति पौडेलको सचिवालय यस विषयमा मौन छ ।
राष्ट्रपति रामचन्द्रको बिगत पनि यस्तै विवादित
गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचत २०४८ सालमा तनहुँ १ बाट सांसदमा निर्वाचित भएका थिए । पहिलो संसदीय निर्वाचनमा सफल भएपछि उनी स्थानीय विकासमन्त्री भए । उनी मन्त्री भएका समयमा संसद्मा उपस्थित भएका बेला राष्ट्रिय सभामा उनीमाथि गोल्छे सार्कीले गालामा चड्काएका थिए । आफु बोलिरहँदा विषय प्रशंग नै नसुनि गिज्याएको भन्दै राष्ट्रिय सभाका सदस्य गोल्चे सार्कीले तत्कालिन मन्त्री पौडेललालाई यसरी चड्काएका थिए । साथै उनी नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको पदमा १७ पटक लडेर पनि पराजित भए । साथै पौडलले तनहुँ हाइड्रोको लागि आफ्नो दमौलीको घर महंगो भाडामा लगाएका थिए । त्यसो त राष्ट्रपतिकै उम्मेदवार बन्नेभएपछि तनहुँबाट प्रतिनिधिसभामा नउठेको भए अहिले पुनः निर्वाचनमार्फत राज्यले झण्डै १० करोड खर्च गर्नुपर्ने थिएन । तर, उनकै कारण २०७९ मंसिर ४ गते निर्वाचन भएपनि अहिले २०८० वैशाख १० गते नै तनहु–१, मा उपनिर्वाचन हुँदैछ । त्यसो त उपराष्ट्रपति राम सहाय प्रसाद यादव बारा–२ र रबि लामिछानेकाका कारण चितवन–२ मा यहि बैशाख १० गते उपनिर्वाचन भएको छ ।