January 14, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

राज्यदोहोन गरेर उपचारका लागि विदेश जाने प्रवृत्तिको अन्त्य हुनुपर्दछ

रामचन्द्र सिम्खडा, अधिवक्ता तथा पूर्व अध्यक्ष उच्च अदालत बार एशोसियसन पाटन

सन्दर्भ राष्ट्रपति राम चन्द्र पौडेलको उपचारका लागि भारत प्रस्थानः


वाणिज्य कानूनका ज्ञाता अधिवक्ता रामचन्द्र सिम्खडा लामो समय देखि वकालत पेसाका साथै उपभोक्ता हितका विषयमा आवद्ध संस्थाहरुमा पनि आवद्ध हुनुहुन्छ । स्पष्टवक्ता, योग्य र इमान्दार छबि बनाएर न्याय र कानूनका क्षेत्रमा रहेका विकृति र विसंगतिको अन्त्यका लागि उहाँ अहोरात्र खट्दै आउनुभएको पनि छ । सिम्खडा उच्च अदालत बार एशोसियसन पाटनका निबर्तमान अध्यक्ष समेत हुनुुहुन्छ । अहिले भीभीआइपी पद धारण गरेका कतिपय ब्यक्तिहरुले राज्यकोषको दोहोन गर्नकै लागि संविधान, ऐन, कानून र कार्यविधिको धज्जी उडाएर आम जनतालाई लज्जित बनाएका छन् । उनीहरुको नैतिकता र इमान्दारिताको कसी नाप्ने साधन नै बनेको छैन । भरखरै भारतको नयाँ दिल्ली स्थित एम्स अस्पतालमा छातीको उपचारका लागि गएका गणतन्त्र नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको विषयमा आम जनताबाट बिभिन्न टिकाटिप्पणीहरु हुँदै आएका छन् । राष्ट्रपति पौडेल मेडिकल बोर्डको सिफारिस बिनै भारतमा उपचारका लागि गएका हुन् । सरकारले नै बनाएका ऐन, कानूनको धज्जी उडाएका राष्ट्रपति पौडेलको उपचारका क्रममा भारत जाँदा ऐनका बर्खिलाप गरी मेडिकल बोर्डको सिफारिस बिनै गरिएको कामका विषयमा केन्द्रीत रहेर डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले गरेको सम्बादः

० अहिले नेपालमै उपचार गर्न सकिने रोगका लागि देशको आर्थिक अवस्था जर्जर हुँदा राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि मेडिकल बोर्डको सिफारिस बिनै भारतमा लागि जानुभएको छ । चिकित्सकहरुले नेपालमै उपचार गर्न सकिन्थ्यो भनिरहेका छन् । तपाई यस विषयमा के भन्नुहुन्छ ?
वास्तवमा अहिले कानून भन्दा माथि कोहि पनि छैन । कानूनले चाहिँ जसलाई जे अधिकार दिएको छ त्यहि पालना गर्नुपर्दछ । कानूनले दिएका सुबिधा र अधिकारहरु उहाँले प्रयोग गर्ने हो । त्यो भन्दा बाहिर गएर कसैले पनि काम गर्नु हुँदैन । साथै काम गर्ने छुट पनि छैन । हिजो राजा कानून भन्दा माथि थिए । तर, अहिले राष्ट्रपति पनि कानून र ऐन भन्दा माथि छैनन् । सामान्य उपचारका लागि पनि बाहिर जाने काम बिल्कुलै गलत हो । देश टाट पल्टिएको अवस्थामा छ । प्रत्येक विषयमा यस्तै भईरहको छ । दुई दिन अघि मात्रै बनाइएको समितिमा ५० प्रतिशत भत्ता भनिएको छ । सुबिधा बराबरको भत्ता भन्दै समितिहरु बनाईन्छ । यस्तो मिलिजुली खाने विषयको अन्त्य गरिनुपर्दछ । अहिले राष्ट्रपतिले अन्यलाई पनि सिकाउने गरी नैतिकता प्रदर्शन गर्नुपर्नेमा यो खालको व्यवहार बिल्कुलै गलत छ । सामान्यतयः परिवारलाई भन्न लगाएर एयर एम्बुलेन्सबाट विदेशमा जाने वातावरण बनाउनु भनेको झनै गलत छ । मानवीय हिसावले उहाँको उपचार हुनुपर्दछ । तर, त्यसका लागि नेपालका चिकित्सकहरुले हामी उपचार गर्न सक्तैनौं भन्ने अवस्था हुनुपर्दछ । मिलेर जाने र मनपरि रुपमा गरिने खर्च राज्यले ब्येहोर्न सक्तैन । यस्तो गलत कार्यको हामी डटेर बिरोध गर्नुपर्दछ ।


० अहिले राष्ट्रपतिको स्वास्थ्य अवस्थाका विषयमा पनि तेस्रो दिनसम्म उहाँको निजी सचिवालय, सरकार केहि बोलेको छैन । नेपाली दुतावास नयाँ दिल्लीबाट मात्रै विज्ञप्ती निकालेको देखिन्छ नी ?
राष्ट्रपतिले जे गर्नुभएको छ जनताले थाह पाउनुपर्दछ । उहाँलाई के रोग लागेको हो ? कुन रोग हो अनुमान गरेर त भएन नी । सुबिधा पाउने भएपछि राज्यकोषबाट दोहोन गर्ने परिपार्टीले देश बरबादीतर्फ लगिएको छ । उहाँकै खर्चमा यो उपचार हुनुपर्दछ । उहाँहरुलाई तलब सुबिधा दिएकै छ । राज्यकोषबाटै खर्च गर्नुपर्दछ भन्ने ? यो सर्बत्र बिरोध हुनुपर्दछ ।


० राष्ट्रपति पौडेलले मेडिकल बोर्डकै सिफारिस बिना उपचार गर्न विदेशमा जानुभएको छ । उपचार खर्च राज्यले ब्यहोर्न मिल्छ कि मिल्दैन ?
कानून भन्दा बाहिर गएर गरिएको कामबाट उहाँले एक पैसा पनि पाउनुहुन्न । कानून भन्दा बाहिर को छ ?


० राष्ट्रपति उपचारका लागि मात्रै नभएर भारतीय नेतालाई भेटघाटका लागि दिल्ली दरबार गएका हुन् भन्ने बुद्धिजिबीहरुको आरोप छ नी ?

अहिलेको राजनीतिक लगाम इण्डियाबाटै निर्देशित छ । त्यसैले हाम्रा नेता भन्नु त यहाँको राज्यकोषबाट सुबिधा लिनुबाहेक अन्य के काम नै गरेका छन् र ? जनता खाना नपाएर, उपचार नपाएर मरिरहेका छन् । आफैलाई भीभीआइपी भन्दै राजा भन्दा धेरै सुबिधा लिएर मोजमस्ती गरिरहेका छन् । यिनीहरुलाई जत्ति घोचेपनि गैंडाको छाला जस्तै भईसकेका छन् । जत्ति बिरोध गर्दा पनि अनियमितता गर्न छाडेका छैनन् ।


० तत्कालिन राष्ट्रपति डा. रामवरण यादवको भित्री आन्द्रामा दाग देखिएको भन्दै उपचारका लागि जापानको सुबिधा सम्पन्न अस्पतालमा जानका लागि सिफारिस गर्न मेडिकल बोर्डका सदस्यहरु डा. बुलन्द थापा, किरण श्रेष्ठलगायतका तीनै जनालाई बोर्ड पास गर्न शनिवार निवासमै बोलाएर धम्की दिएको भन्ने सुनिएको थियो । उक्त समयमा पनि एक पटक परीक्षण गरेर मात्रै बोर्डले सिफारिस गर्ने अडान बरिष्ठ सर्जन तथा बोर्ड सदस्य डा. किरण श्रेष्ठले लिनुभएको र पछि पूर्व राष्ट्रपति यादवकै छोरा डा. चन्द्र मोहनले धम्की दिएपछि सिफारिस गर्न बाद्य हुनुभयो भन्ने सुनियो । जापानको सुबिधा सम्पन्न अस्पतालमा गएर उपचार गर्दा रोग नै नभएको जानकारी भयो । यो अवस्थालाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
पहिलो कुरा मलाई डाक्टरी शब्दहरु धेरै ज्ञान छैन । तर, कानूनले निषेध गरेका कामहरु जब राष्ट्रपतिले उलंघन गर्नुहुन्छ भने त्यसको सुबिधा लिन सक्नुहुन्न । दोस्रो भीआइपी नामधारीहरुले जनताको करबाट आएको राज्यकोषको जसरी दोहोन गरिरहेका छन् हामी सर्वसाधारणले त्योको घोर बिरोध गर्नुपर्दछ । तेस्रो कानूनले निषेध गरिएका कामहरु गर्र्दै जाँदा डा. किरण श्रेष्ठ जस्ताले राजिनामा दिनै परेपनि आफ्नो निष्ठामा बस्न सक्नुपर्दछ । भोली राष्ट्रपति रामचन्द्र पौडेलले पुरानै मिति हालेर मेडिकल बोर्डको सिफारिस लिन सक्लान् । त्यो पनि नहोला भन्न सकिदैन । पहिलाका राष्ट्रपति हुन् या अहिलेका राष्ट्रपति नै किन नहुन् । यस्तो गलत कार्य नजिरका रुपमा स्थापित हुन्छ । भोलि जो कोहिले पनि त्यहि गर्छ त्यसैले यस्ता विषय वस्तुहरु समयमै रोक्नुपर्दछ ।


० वीर अस्पतालमा भिआइपी उपचार कक्ष पनि छ । तर, देशका भिआइपीहरु मेडिकल बोडको सिफारिस बिनै विदेशमा उपचार गर्न जाँदा के होला त ?
भिआइपीहरुका निमित्त भनेर अस्पतालमा बेड बनाउने, खाली नै भएपनि त्यसलाई प्रयोग गर्न सर्बसाधारणले नपाउने । उपचार गर्न बेड नपाएर गरिब र असाहाय बिरामीहरु मरिरहेको छ । तथापि भिआइपीको नाममा रहेका बेड खाली नै छन् । यस्तो पनि हुन्छ ? राम्रो काम गरेको खण्डमा त कथित भिआइपीहरु सहजै रुपमा जनतासँग जान डराउनु पर्दैन नी । अब त राज्यको श्रोतमा लुट मच्चाउनेहरुलाई सुरक्षा हैन कानून बमोजिम कारबाही गर्नुपर्दछ । हामीले भिआइपी कक्ष किन निर्माण गरेका हौं ? उपचार नगरी बिदेशमै लैजाने हो भने किन बनाउनु प¥यो त्यो भीआइपी उपचार कक्ष ? ३ करोड जनताका लागि स्वास्थ्यको चिन्ता नहुने ? भिआइपीहरुलाई रुघा खोकी लाग्ने बित्तिकै उपचार गर्न बिदेशमा लैजानु पर्ने ? अहिले देश गम्भीर आर्थिक संकटमा छ । त्यसको बारेमा कुनै छलफल नै नगर्ने ? उद्योग धन्दालाई प्रोत्साहन नगर्ने । हिजो राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्र बहादुर केसीले अमेरिका पढेर आउनेहरुले उद्योग धन्दा बेचेँ भन्नुभएको थियो । वास्तवमा त्यहि नै त छ । भृकुटी कागज कारखाना बेचिँदा विदेशमै पढेका महेश आचार्य अर्थमन्त्री थिए । हामीहरु जसले ठूला कुरा गरेको छ उसैको पछि लागिरहेका छौं भन्ने कुरा हो ।

० अहिले उपकरण नभएर वीर अस्पतालमा एमआरआई गर्दा १५ दिन कुर्नुपर्दछ । दुईवटा मेशिन राख्ने बजेट छैन । यस्तो अवस्थामा देशका भिआइपीहरु सामान्य रोगको उपचारका लागि पनि विदेश जाने प्रवृति बढ्दै जाँदा कहाँ पुगिएला त ?
म बस्तु र सेवाका विषयमा सामान्य जानकारी भएको व्यक्ति हुँ । मेरो विषय त वाणिज्य कानून हो । जसको जहाँ पहुँच हुन्छ कानून बमोजिम चल्नुपर्दछ । कालाबजारी गर्नुहुँदैन भन्ने हो । दण्डहीनताको काम गर्नुहुँदैन । स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा हामीले राम्रो ढंगले काम अघि बढाउनुपर्दछ । साथै राज्य दोहोन गरेर उपचारका लागि विदेश जाने प्रवृत्तिको अन्त्य हुनुपर्दछ ।


० पूर्व राष्ट्रपति विद्या देवी भण्डारी पनि राष्ट्रपति भएपछि विदेशमा उपचार गर्नुभएन । त्यसै गरी पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पनि र विदेशमा उपचारका लागि जानुभएन । त्यो संस्कार त सिकेनन् नी ?
राम्रो कुरा सिकेको भए त देश राम्रो भइसक्थ्यो नि । नराम्रो कुरा मात्रै पो सिके नि ? नगर्नुपर्ने कुरा पो सिके ।


० अन्त्यमा केहि भन्नु छ कि ?
जहिले पनि देश निर्माणका लागि राष्ट्रको हितका लागि काम गर्नुपर्दछ । हिजोको राम्रो नजिरलाई प्रयोग गर्नुपर्दछ । गलत कामको अन्त्य हुनुपर्दछ । हामी श्रीलंकाको जस्तो आर्थिक अवस्थातिर गइरहेका छौं । श्रीलंकाको जस्तो आर्थिक अवस्था हुनबाट बचाउने काम नेतृत्वकर्ताको हो । हामीसँग केहि गर्ने अधिकार छैन । जसले पावर प्रयोग गर्न सक्छ, उसले इमान्दारिताका साथ काम गर्नुपर्दछ भन्ने कुरा नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.