प्लाष्टिक रिसाक्लिङ्ग उद्योग बस्तीकै बीचमा, प्रदुषण भइरहँदा सम्बन्धित निकाय मौन
काठमाडौं । चन्दागिरि नगरपालिका वडा नम्बर १० बोसीगाउँमा उमित श्रेष्ठले चलाएको प्लाष्टिक उद्योगका कारण वरपर रहेका घना बस्तीका बासिन्दाहरु प्रदुषणको चरम मारमा परेका छन् । यो प्रदुषणबाट शिसनडोल टोलमा वरपर रहेका झण्डै ९० घर जत्ति यहाँको प्रदुषणबाट स्वास्थ्यमा प्रत्यक्ष रुपमा जोखिम मोलिरहेका छन् । पुराना प्लाष्टिकका भाडाहरु, प्लाष्टिकले झोला र बिषादीका बोत्तलहरु जलाउँदा अत्यन्तै घातक कार्सिनोजोनिक हुने हुँदा टोलबासीहरुलाई स्वास प्रस्वासमा पनि गाह्रो भई बिरामी भइरहेका छन् । टोल समितिले २०७९ साल भदौ २२ गते चन्द्रागिरि नगरपालिका र वातावरण विभागमा उजुरी समेत दिइसकेको श्रोतले बतायो । तथापि हालसम्म पनि कुनै कारबाही भएको छैन ।
पुराना प्लाष्टिक जम्मा गरी रिसाक्लिङ्ग गराएर प्लाष्टिकका पाइपलगायतका समान बनाउने गरिन्छ । यो उद्योगको वरपर बाक्लो बस्ती रहेको छ । प्रायः जसो बिहान सबेरै र बेलुकी बाह्र÷एक बजेतिर प्लाष्टिक पोलेर आएको धुवाको प्रदुषणयुक्त मुस्लो नै निस्केको छिमेकीहरुले देखेका हुन्छन् । तर, अनुमति बिना प्रवेश निषेध भनेर टासिएको गेटबाट भित्र पस्न पाइदैन । खोला किनारमा स्थापना गरिएको उद्योगले पुरै प्रदुषित बनाएको छ । यो उद्योग दर्ता गरिएको छ कि छैन ? वरपरका बासिन्दालाई पनि थाह छैन ।
डायरी एक्सप्रेस साप्ताहिकका प्रतिनिधि र केहि टोलबासीहरु सिसन्डोल स्थित उक्त स्थानमा पुग्दा प्लाष्टिक जलाएर आगोको मुश्लो निस्किरहेको थियो । कुनै रोकतोक बिनै उनीहरु प्रदुषण युक्त प्लाष्टिक जलाएका थिए । उद्योगको वरपर विषादीका बोत्तलहरु जलाउनका लागि ठिक्क पारिएको देखिन्थ्यो । तर, यो उद्योग किन बस्तीको बीचमा यसरी सञ्चालन गर्न दिइएको छ ? टोलबासीसँग उत्तर पाउन सकिएन ।
जलाउन ठिक्क पारिएको प्लाष्टिकहरु
यसै विषयमा चन्दागिरि नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष शिव कुमार महर्जनसँग सम्पर्क गर्दा उनले भने यस विषयमा स्थानीयहरुले आफुसँग गुनासो गरेपछि सम्पर्क गर्ने प्रयास गरेको तर व्यवसायी उमित श्रेष्ठसँग भेट नै हुन नसकेको भन्दै आफुले बुझ्ने बताए । यस विषयमा प्लाष्टिक उद्योगका सञ्चालक उमित श्रेष्ठसँग पटक पटक फोन सम्पर्क गर्न खोज्दा पनि सफल हुन सकेन । बोसीगाउँ स्थित सिसनडोल नयाँ बस्ती टोल सुधार समितिका अध्यक्ष सूर्य भट्टराईसँग यस विषयमा थप बुझ्न खोज्दा सम्पर्क हुन सकेन । वातावरण विभागका सूचना अधिकारी सरोजा अधिकारीसँग लामो समय अघि देखि सूचना दिँदासमेत किन अनुगमन गर्नुभएन भनि प्रश्न गर्दा उनले भनिन्् ‘अहिले वातावरण ऐनले स्थानीय तहलाइ पनि विषेश अधिकार दिइएको छ । तर, पनि आफुहरु जानकारी लिएर निरीक्षणमा तदारुकताका साथ लाग्ने छौं’ ।
के के छन् वातावरण विभागले पाएको जिम्मेवारी ?
वातावरण विभागमा अहिले पनि ६ जना वातावरण निरीक्षकहरुको मात्रै दरबन्दी देखिन्छ । तथापि उनीहरु कहाँ निरीक्षण गरेर आफ्नो काम देखाएका छन् ? वातावरण विभागको कार्यनीतिक लक्षहरुमा वातावरण सम्बन्धी कानूनहरुको तर्जुमा गर्दा प्राविधिक सहयोग उपलब्ध गराउँने, वातावरणसँग सम्बन्धित कानून, नीति तथा मापदण्डहरुको कार्यान्वयनका लागि योजना एवं कार्यक्रम तर्जुमा कार्यन्वयन अनुगमन मल्यांकन तथा परिक्षण गर्ने, कानूनद्वारा निर्दिष्ट अधिकारको कार्यन्वयनलगायत कानून उलंघन गर्नेलाई दण्ड जरिवाना गर्न पहल गर्ने, वातावरणीय तत्वहरु तथा वाावरणीय गुणस्तर पालना अनुगमन गर्ने लगायतका छन् । तथापि ऐन र कानूनले अनुगमन र कारबाही गर्नका लागि सिफारिस प्राप्त अधिकारीहरुको निकम्मापनका कारण समाजमा खराव काम गर्नेहरुको भने मनोबल बढिरहेको छ ।