February 12, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

नेपालमा निषाद समुदायको पहिचान को प्रश्न ?

सत्य नारायण भगत बिन्द (निषाद) संविधानसभा सदस्य / पूर्वराज्यमन्त्री नेपाल



नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक अर्थात बहुविविधतामा आधारित कृषि प्रधान देश हो । यहाँ सयौ जात जाति भाषा भाषि , समुदाय एक साथ अनेकतामा एकता कायम गर्दै बसोबास गर्दै आएको विशिष्टता छ । नेपालको संविधान २०७२ ले बिभिन्न समुदायको राजनैतिक पहुँच, जीवनस्तर सुदृढ गर्नको लागि अनेकौ प्रकारको सेवासुविधाको मापदण्ड बनाएर लागु गरिएको छ । यहाँ बसोवास गरेका समुदायहरू मध्ये दलित, मुस्लिम, खसआर्य, थारू, महिला, आदिवासी जनजाति, अल्पसंख्यक, सिमान्तकृत समुदाय, पिछडिएको क्षेत्र , मधेशी जस्ता विभिन्न समुदायको पहिचान संवैधानिक रूपमै किटान गर्दै राज्यले आयोग बनाएर काम कारबाही अगाडि बढाएका छन् । तर नेपाल को पूर्व मेची देखि पश्चिम महाकाली सम्म मधेशी भूभागमा घनिभूत ढंगले तथा देशैभरि छरिएर बसोवासगर्ने विभिन्न उपजाती नाम थर ले पहिचान गरिएका एउटै मूल निषादवंश को “निषाद समुदाय” को नत राज्यले संवैधानिक रूपमा पहिचान गर्न सकेको छ नत कुनै प्रकारको सेवा सुविधा नै दिइएको छ । जबकी यो देशको सर्वाधिक चौतर्फि उत्पिडनको शिकार भई आर्थिक समाजिक , साँस्कृतिक , शैक्षिक , एवं राज्यमा पहुँच नभएको र मुख्यतः राजनैतिक रूपमा बहिष्करणमा परेको दशौं लाखको हाराहारीमा रहेको एक मात्र जाती समुदाय “निषाद समुदाय“ हुन् । आज निषाद समुदाय राज्य र यहाँ भएभरको संपूर्ण राजनैतिक पार्टीहरूवाट अपमानित, अपहेलित, दबित, किञ्चित भएर हुँदै, पहिचान बिना नैरस्यतापूर्वक जीवन बिताउन बाध्य छन् ।
विश्वको सानो मुलुक नेपालमा संस्कृति र पहिचान को हिसाबले सयौं जातजाति भाषाभाषि रहेको जाती समुदाय मध्ये निषाद समुदाय खासगरि मधेशमा बसोवास गर्ने जाति समुदाय हुन् । मधेशमा बसोवास गर्ने जातिहरूको एक अध्यन अनुसार १२९ जाती समुदाय को नाम उल्लेख गरिएको छ । जसमा नेपालको समथर भूभाग मधेश भरिमा खोलानाला , नदी किनारमा अत्यधिक मात्रामा बसोवास गर्ने जाती समुदाय “निषाद समुदाय” हुन् । यो धर्तिकै मूल निवासीको रूपमा चिनिने निषाद समुदाय झण्डै २० उपजातिमा रहेको विभिन्न थर जाति उपनामले चिनिने गरिन्छ, जस्तैः– बीन, मलाह, नुनिया, केवट, बेलदार, बिन्द, खरबिन्द, मुखिया, सहनी, महतो, गोढिया, बनपर, सोरहिया, मोरियारी, धिवर, चाँय, तियर, लोनिया, बहरदार, बोट , बोटे, मुडियारी आदि गरी दशांै लाख भन्दा बढिको हाराहारीमा रहेको छ । यी उपजातीहरू मूलरूपमा निषाद वंशको जाती समुदाय हुन् । तर शिक्षा र चेतनाको कारण एकजुट भएर एउटा नामले चिनिन सकिरहेको छैन । यसको कारण राज्य द्वारा उचित संरक्षण र विकास हुनुको साटो बेलाबेलामा “फुटाउने र शासन” गर्ने नीति अन्तर्गत फुटाई रहन्छ र साथै राजनैतिक स्वार्थपुरा गर्नको लागि भोटबैंकको रूपमा यहाँको तमाम राजनैतिक पार्टीले निषाद समुदाय लाई प्रयोग गर्दै फुटाउदै आएको छ । शिक्षा र चेतनाको हिसावले हाम्रो आपसी टुटफुट र अनेकताको कारण निषाद समुदायको प्रयाप्त जनसंख्या हुँदा हुँदै पनि राजनैतिक सत्ता , संवैधानिक अधिकार, राज्यको विभिन्न सेवासुविधाबाट बञ्चित छ । जबकी देशमा दशहजार बीसहजार वा एकलाख भन्दा कम जनसंख्या भएको जाती समुदाय चेतना, शिक्षा, पहुँच, आर्थिक र राजनैतिक रूपमा धेरै अगाडि छ । र ती वर्ग समुदायले निषाद समुदाय माथी सदियौ देखि शासन गर्ने गरेको पाइन्छ । अर्को तिर नेपालको राष्ट्रिय राजनैतिक पार्टीका नेताहरूको नश्लिय सोंच र चिन्तनको कारण मधेशमा बसोबास गर्ने सबै मधेशी समुदायलाई सोलोडोलो बुझ्ने र निश्चित जातीसमुहलाई हरेक दृष्टिकोणबाट प्रश्रय दिने गर्दछ । यहाँ भएको मधेश केन्द्रीत दल र तिनका नेताहरूले पनि यसलाई गोलमटोल गरेर हामी सबै मधेशी नै हौ भन्दै आफ्नो प्रभुत्व जमाई “निषाद समुदाय” लाई सधैभरि गुलामको रूपमा प्रयोग गरीरहेको छ । यी सबै कारणहरूले गर्दा आज निषाद समुदाय पछि परेको यथार्थता लाई कसैले नकार्न मिल्दैन । जबकि परापूर्वकाल देखि नै निषाद समुदाय को आफ्नो छुट्टै पहिचान, संस्कृति, खानपान, पेशा र व्यवसायहरू आफ्नै तरिकाको हो । यो समुदाय खासगरी पानीसँग खेल्ने, माछा पालन गर्ने, माछामार्ने, बिक्रीवितरण गर्ने, डुंङ्गा तार्ने, शिकार गर्ने, मेहनत मजदुरीमा विश्वस्त र आश्वस्त भएको जाती समुदाय हो । यो समुदायको इतिहास धर्तिकै सबभन्दा अग्रज, सचेत, वैज्ञानिक, संम्पन्न, संबृद्ध र इमान्दार, सिधा सपटा, मेहनती, एक मानव द्वारा अर्को मानव सम्म पुग्ने मार्ग निर्माता को रूपमा पनि चिनिन्थ्यो, इतिहासको विभिन्न तथ्य र प्रमाण का अनुसार कालान्तरमा आएर जब यस धर्तिमा एक मानवद्वारा अर्को मानव लाई शोषण दोहन को सुरूआत भयो । त्यहिबाट ठगिदै यस्को संबृद्धि र संपन्नता नष्ट हुँदै गयो र त्यो क्रम संसारभरि आजसम्म जारी छ ।
यहाँ विडम्बना त के छ भने मधेशमा बसोवास गर्ने अन्यसमुदाय जस्तै ः– दलितहरूलाई राज्यले सहजै दलित आयोग खडागरि मधेशपहाड सबैतिरको दलितलाई सेवा सुविधा को व्यवस्था गर्ने, मधेशमै बसोवास गर्ने मुस्लिम हरूको मुस्लिम आयोग खडा गरि मधेश पहाड सबै तिरको मुस्लिम हरूलाई एकनास सेवासुविधा को व्यवस्था गर्ने, मधेशमै बसोबास गर्ने थारूजाती लाई थारू आयोग खडागरी मधेश पहाड पूर्व पश्चिम जहाँ भएपनि एकनासले सेवासुविधाको व्यवस्था गर्ने, मधेशमै बसोवास गर्ने जनजातीहरूको लागि पनि मधेश र पहाड मा बसोवास गर्ने सबैको हकमा एकनास सेवासुविधाको व्यवस्था गर्ने, मधेशमै बसोवास गर्ने खसआर्यहरूको हकमा पनि त्यहि अनुसारको सेवा सुविधा लागु गर्ने, त्यस्तै मधेशमै बसोवास गर्ने उच्चजातीहरूको लागि पनि राज्यको त्यहि अनुसार व्यवस्था गर्ने तर हरेक दृष्टिकोणबाट पछाडि पारिएको जातिसमुदाय “निषाद समुदाय” प्रति राज्यको सौतेला व्यवहार किन ? के निषाद समुदाय नेपालका नागरिक होइनन् ? हामी निषाद समुदाय गर्बका साथ नेपाली हौ भन्ने अवस्थामा छौ ? हाम्रो प्रश्नको जवाफ यहाँको तमाम राजनैतिक दलका राजनेता संग छ ? आज यो प्रश्न हाम्रो मन मष्तिष्कमा गंभिर ढंगले उब्जिएको छ ?
यो सच्चाई जगजाहेर छ कि नेपालमा भए गरेको तमाम न्यायपूर्ण राजनैतिक आन्दोलन, संघर्ष वा बिद्रोहमा निषाद समुदायको इमान्दारी पूर्वक सकृय सहभागीता, अदम्य साहस, लगन, त्याग निष्ठा र उच्च बलिदानी भएको इतिहास हामी संग सुरक्षित छ । एकसे एक होनहार निषाद समुदायको वीर बिरांगनाहरूको बलिदानीले यो माटो सिंचित भएको छ भिजेको छ, नेपाल को संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान हाम्रो रगतले लेखिएको छ । यो देशलाई सिंगार्न, सज्जाउन, बनाउन हामी हाम्रो कोणबाट कुनै कसर बाँकी राखेका छैनौ । फेरि पनि आज हामी निषाद समुदाय पहिचान विहिन, संवैधानिक अधिकारबाट बञ्चित, राजकीय सत्ताबाट बहिष्कृत, राजनैतिक पार्टीहरू बाट तिरस्कृत र समाजिक रूपमा अपहेलित भइ हिनताबोध, कुण्ठित, दबित भई एक प्रकारको गैरनागरिक सरह जीवन जिउन हामी बाध्य भएका छांै । तसर्थ कुनै वर्ग समुदायको देशमा वास्तविक नागरिकको पहिचान त्यतिखेर हुन्छ जब त्यो वर्ग समुदाय स्वाभिमान , आत्मसम्मान, पहिचान सहित राज्यको हरेक काम कार्वाहिमा हिस्सेदार भएको हुन्छ । त्यतिखेर त्यो समुदायको गर्वको अनुभुति हुन्छ । आफ्नो वर्ग समुदायको आफैले सेवा गर्ने अवसर प्राप्त गरेको हुन्छ । तर यहाँ त्यसो होइन , यहाँ त निषाद समुदाय माथि अन्यायपूर्ण शासनको डण्डा बर्साउने गैर निषाद समुदाय हुन् । निषाद समुदायको भाग्य र भविष्यको फैसला गर्ने गैर निषाद हुन् । निषाद समुदायको जायज अधिकारहरू गैर निषादले उपयोग र उपभोग गरि रहेको छन् निषाद समुदायको जनसंख्यालाई भजाएर (भोट बैंकको रूपमा प्रयोग गर्दै) गैर निषाद समुदायले सेवासुविधा लिइरहेका छन् । यहाँ सबैले भन्ने गरिन्छ, हाम्रो देशको संविधान २०७२ विश्वको संविधान भन्दा उन्नत, प्रगतिशील, न्यायिक, जनपक्षिय भनिए तापनि निषाद समुदायको लागि “कागलाई बेल पाक्यो हर्ष न विस्मात” को कथा जस्तो अनुभुति भइरहेको छ । दिनदिनै हाम्रो आत्मा पिरोली रहेको छ । यो देशमा हामी एउटा फरक समुदायको भएकोले हाम्रो फरक पहिचान हुँदा हुँदै “निषाद समुदाय” को माग र मुद्दालाई संबोधन नगर्नु राज्यको चरम नश्लिय सोंच र चिन्तन बाहेक अरू केही भन्न सकिदैन ।
हामीले दुनियाँको समाजशास्त्री, कानुनबिद्ध, संविधानविद्ध र मानवअधिकारकर्मि सबैको तर्क लाई यदि गहिरो गरि अध्यन गर्ने हो भने समाज, राष्ट्र वा देशको सर्वाङ्गिन विकासको अवरोधक एक मानवद्वारा अर्को मानव माथि हुने गरेको हरेक प्रकारको अन्याय, अत्याचार, विभेद हरू नै प्रमुख कारण बन्न जान्छ । यो विधिलाई हृदयंगम गर्ने हो भने आज हाम्रो देशमा राज्यको संवैधानिक कानुनी हतियार बाट हाम्रो निषाद समुदाय माथि अक्षम्य नश्लिय अपराध भएको ठहरिन्छ । किनकी नेपालमा भएको संपूर्ण जाती समुदाय , क्षेत्र, वर्ग, लिङ्ग को संवैधानिक परिभाषा सहित पूर्ण वा आंशिक रूपमा भए पनि व्याख्या गरेको छ अधिकार दिइएको छ । तर नेपालको एकमात्र जाती समुदाय हो “निषाद समुदाय” जसको न संवैधानिक व्याख्या छ न कानुनी अधिकार छ ।
राज्यको दया मायामा कहिले हामीलाई दलित सरह व्याख्या गर्छन् र कहिले त्यो सेवा सुविधा लुटछन् । हाम्रो देश अहिले संविधानको रक्षा, विकास, शान्ति, संमृद्धिसहित समाजवादको दिशामा अगाडि बढने राज्यले आफ्नो उदेश्य बनाएको छ । के निषाद समुदाय तथा अन्य उत्पिडित जाती समुदायको संवैधानिक अधिकार सुनिश्चितता बिना समाजवादको परिकल्पना सम्भव छ ? शान्ति सम्ंभव छ ? देशमा बिधिको शासन, भ्रष्टाचार निवारण, वर्गिय पहिचान, नागरिक सन्तुष्टि र मूलरूपमा राष्ट्र निर्माण तथा सामाजवादको आधारशिला खडा गर्ने आधारभुत वर्ग समुदायको चित प्रशनता बिना समाजवादको परिकल्पना मेरो बिचारमा असम्भव मात्र होइन पूर्णत बकवास हो, वहियात हो । नेपालको राष्ट्रिय पुरातत्व विभागले पनि खोज अनुसन्धान गरि नेपालको जातिय अभिलेखमा निषाद समुदाय को बसोवास परापूर्व काल देखिनै रहेको ठहर गरेको पाईन्छ । राष्ट्रिय अभिलेखालयको ९९ नं. सुचिमा निषाद समुदायको सुचिकृत गरेको छ । त्यसकारण राज्यले सर्वप्रथम अविलम्ब निषाद समुदाय सहित अन्य जाती समुदायको संवैधानिक रूपमा पहिचानको शुनिश्चितता गर्नु, कानुनी अधिकारको ग्यारेन्टी गर्नु, निर्मम रूपले भ्रष्टाचार उन्मुलन गर्नु र खासगरि आधारभूत वर्ग समुदाय को माँग र मुद्दालाई प्राथमिकतामा राखि कामकार्वाही अगाडि बढाउनु नै समाजवादको आधार खडा गर्नु हो ।
अव निषाद समुदायको पहिचान सामान्य हिसाब किताबले राज्यले आफैले संवोधन गर्छ भने हामीलाई लाग्दैन । किनकी इतिहास साक्षी छ, राजतन्त्र आफै समाप्त भएर गणतन्त्र आएको होइन । सबै जातजाती भाषाभाषीको अधिकार त्यसै प्राप्त भएको होइन । ती सवै लडाई र आन्दोलन को जगमा प्राप्त भएको सर्वविदितै छ। हो हामीले पनि हाम्रो अधिकारको लागि लड्यौ तर हामीसंग विश्वासघात भयो धोका भयो हामी ठगियौ, हामी फेरि एक पल्ट लुटियौं । हाम्रो लडाई ओझेलमा परे । असंगठित भए, हाम्रो बुझाई पुगेन वा हामीले राज्यलाई बुझाउन सकेनौ त्यो आफ्नो ठाउँमा छ । तर हाम्रो चाहना भावना र उदेश्य “निषाद समुदाय” को समान अधिकारको ग्यारेन्टी नै थियो । तर दुर्भाग्य हाम्रो चाहना सपनामा नै सिमित रह्यो ! अब ती सपना लाई बिपनामा बदल्नको लागि हामी निषाद समुदाय एक जुट हुनै पर्छ, एउटा फ्रेममा आउनै पर्छ । अब हामी कसैले कसैको भोट बैंक बन्ने होइन हाम्रो स्वाभिमान, पहिचान र संवैधानिक राजनैतिक अधिकार सहित संपूर्ण अधिकारको लागि संघर्षको मोर्चा खडा गर्नै पर्छ । कसैको महलको दास भएर बस्नु भन्दा आफ्नै झुप्राको मालिक भएर बसेको राम्रो हुने छ । किनकी “ केही पाउन को लागि केही गुमाउनै पर्छ “यो सार्वभौम सच्चाई र मान्यता हो । आजादि , सामान्ता स्वतन्त्रता को लागि बलिदान अपरिहार्य शर्त हुन । आज सम्मको दुनियाँ को इतिहासले पनि यो सच्चाइ लाई प्रमाणित गरेको पाईन्छ । हामी एकताबद्ध भएर अगाडि बढौं , हाम्रो पहिचान आफै सुरक्षित हुन्छ । थोरै कठिनाइ हुन्छ तर अधिकार सुनिश्चित अवस्य हुन्छ । सबैलाई चेतना होस । आज बाट परंरागत हिसावले अन्धकार ( रात्री घट्छ, उज्यालो दिन बढछ, जाडो घट्छ, गर्मी बढछ, हामीले पनि आफ्नो भित्रको अचेत घटाउ, सचेत बढाउ, अनेकता घटाउ , एकता बढाउ !! जय निषाद को अभिवादन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.