स्याङ्जाको कम्युनिस्ट इतिहास –१

दुर्गा नारायण ढकाल, अधिवक्ता, प्रगतिशील साहित्यकार
स्याङ्जा जिल्ला हालको भूगोलको हिसावमा पश्चिम ४ नं. मा पर्दथ्यो । अर्थात राणा प्रधानमन्त्री वीर शम्शेरको शासनकालमा नेपाललाई ३५ जिल्लामा बिभाजन गरिएको अवस्थामा स्याङ्जा पश्चिम ४ नं.मा थियो । नेपाल एकीकरण पूर्व कायम रहेका चौविसे राज्यहरु नुवाकोट, सतिकोट, भिरकोट, गह्रौ, पैयौं, रिसिङ, घिरिङ, ढोर राज्यका केहि भाग र हालको पर्वत जिल्लाका दक्षिण पश्चिम भेग तथा कास्की र तनहुँका केहि भागहरुसमेत पश्चिम ४ नं.मा पर्दथे । वि.स. २०१८ सालको प्रशासकीय विभाजन अन्तर्गत रिसिङ, घिरिङ र ढोर राज्यका केहि भागलाई हालको तनहुँ जिल्लामा तथा पैयु र पर्वतका केहि भागलाई पर्वत जिल्लामा समावेस गरियो । त्यसकारण तत्कालिन पश्चिम पश्चिम ४ नं. इलाकाभित्रका काम एउटै कार्यक्षेत्रभित्रबाट भए । वर्तमान स्याङ्जा–पर्वत र स्याङ्जा–कास्कीका राजनीतिक अभियानका कार्यहरु एक आपसमा जोडिएका छन् ।
स्वाभाविकै रुपमा स्याङ्जा जिल्लालाई नेपाल कम्युनिस्ट पार्टीको मध्य गण्डक प्रान्तिय कमिटीले आफ्नो मूख्य स्थानबाट सम्पर्क बढाउने कार्ययोजना अनुसार भयो । मध्यगण्डक प्रान्तिय कमिटीमा संगठित चित्र बहादुर गुरुङ, निर्मल लामा, कृष्णलाल प्रधान, हिक्मत सिंह भण्डारी मध्येबाट स्याङ्जा जिल्लामा कम्युनिस्ट पार्टीको प्रचारको काम सञ्चालन गरियो । पार्टीको प्रचारात्मक कार्य भएपनि सुरुको दिनमा संगठानात्मक कार्यको ठोस विवरण भने भेटिदैन । यद्यपि कम्युनिस्ट बनेका व्यक्तिहरुले स्वतन्त्रतापूर्वक प्रचार गरेको भेटिन्छ । पुरानो विभाजन अनुसार पश्चिम ४ नं. हालको पर्वत भोक्सिङ घर भएका जमदार चित्र बहादुर गुरुङको प्रभावले २००८ साल देखि यस क्षेत्रमा कम्युनिस्टको प्रभाव रहेको कुरा सोम प्रसाद गौचनले उल्लेख गरेका छन् । त्यसै गरी पाल्पा देखि कम्युनिस्ट पार्टीको प्रभाव चापाकोट र ज्याग्दीखोला क्षेत्रमा फैलिएको गौचनले उल्लेख गरेका छन् ।
होवीर आले २००७ सालको क्रान्तिमा होमिएका एक जना योद्दा थिए । सुरुमा नेपाली कांग्रेसबाट प्रभावित भएपनि पछ कम्युनिस्ट बने । यसरी २००७ साल देखि नै कम्युनिस्ट बनेका शम्शेर बहादुर थापा, गणेश दत्त त्रिपाठी, उमाकान्त शर्माले हजारौको संख्यामा अखिल नेपाल किसान संघको सदस्य बनाएको पाईन्छ । २०११ सालमा तानसेनको जेबिटी हाईस्कूलमा अध्यन गर्दा देखि नै बाच्छाका सोम प्रसाद गौचन कम्युनिस्ट बनिसकेका थिए । माथि उल्लेखित कम्युनिस्ट योद्धाहरुकै सहकार्यमा २०१६ साल फागुनमा सोम प्रसाद गौचनको नेतृत्वमा १३ सदस्यीय स्याङ्जा जिल्ला समिति गठन गरिएको थियो ।
जसमा सचिबमा बच्छाका सोम प्रसाद गौचन, सदस्यहरुमा बहाकोटका होबीर आले, पुतलीखेतका शेखर प्रधान, फोसिक्सङका उमाकान्त शर्मा, फोक्सिङकै खड्क बहादुर अधिकारी, बहाकोटका जुद्ध बहादुरआले, रत्नपुरका नगेन्द्र भट्टराई, सेखामका ढाल बहादुर मल्ल, वालिङ देविस्थानका खगेन्द्र कोइराला, ताराप्रसाद श्रेष्ठ र सम्मर बहादुर थापा, बाच्छाका पदम बहादुर कोइराला, दहथुमका गणेश दत्त त्रिपाठी गरी १२ सदस्यीय समिति बनेको थियो ।
यसरी स्याङ्जा जिल्ला समति बनेपछि पार्टीको काम बिस्तार गर्ने आधार खडा भएको थियो । र उत्साह पनि थपियो । त्यसपछि पार्टीको केन्द्रमा सम्पर्क गरी पुष्पलाल श्रेष्ठको आतिथ्यमा पुतलीखेतमा जनभेला सम्पन्न गरिएको सन्देश चारैतिर फैलन गयो । गाउँ गाउँमा फटाहा विरोधी आन्दोलन सुरु भयो । शोषित पीडित जनतामा कम्युनिस्ट पार्टी प्रतिको आकर्षण पैदा भयो र आशाको नजरले हेर्न थालियो । जनताले आफ्नो गाउँमा कम्युनिस्ट नेता र कार्यकर्ताहरुलाई बोलाउन थाले । पार्टीको कामले गति लिन थाल्यो । यहि समयमा २०१७ साल पुस १ गते राजा महेन्द्रले फौजी काण्ड रचे र पार्टीहरु माथि नै प्रतिबन्ध लाग्यो । पार्टी माथिको प्रतिबन्ध पछि ब्यापक धरपकड सुरु भयो ।
जिल्ला समितिका सदस्य जुद्ध बहादुर आलेलाई प्रशासनले गिरफ्तार गरी चरम यातना दिएर महत्वपूर्ण कागजातहरु बरामद गरियो । नगेन्द्र भट्टरार्ई पक्राउ परे भने २०१७ चैत्रमा सचिव सोम प्रसाद गौचनलाई समेत प्रशासनले गिरफ्तार ग¥यो । यस प्रकारको दमन, धरपकड, यातना र धम्कीले पार्टी निर्माणको काममा ब्यापक धक्का लाग्यो । मध्य गण्डक प्रान्तिय कमिटीले कामलाई व्यवस्थित बनाउन नयनदत्त सिग्देल र नगेन्द्र भट्टराईलाई सम्पर्कमा लिई प्रचारात्मक कार्यमा खटायो । बाँकी जिल्ला सदस्यहरु कोहि पेसामा जोडिए भने कोहि सामान्य पार्टीका काममा संलग्न भए । कोहि आफ्नै ढंगले सामाजिक काममा खटिँदै आए । पार्टीमा प्रतिबन्ध पछि केन्द्रमा रायमाझी गुटको पतनजेल आत्मसमर्पण बढ्यो । सचिव सोम प्रसाद गौचनको गिरफ्तारी पछि बाँकी सदस्यहरु निस्कृय भए । कति त विघटन र संकटको सामना गर्न नसकी जागिर र पेसामा संलग्न भए । त्यसै गरी कतिपय विदेश नै पलायन भए भने कोहि धैयतापूर्वक पार्टी केन्द्रको नयाँ निर्णयको प्रतिक्षामा रहेँ ।
कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन २०१९ पछि कम्युनिस्ट पार्टीको केन्द्रमा नै फुट र विभाजनको श्रृंखला सुुरु भयो । केन्द्रमा भएको विभाजनको असर स्याङ्जा जिल्लामा पनि पर्न गयो । यसरी २० को दशक कम्युनिस्ट पार्टीबीचको फुट र बिभाजनको दशक बन्यो । कम्युनिस्ट पार्टीका दर्जनौं समूह खडा भए । बिभाजित अवस्थामा स्याङ्जा जिल्ला अधिकांश समूहको अस्थित्व नभएतापनि चौथो महाधिवेशनमा आवद्धहरु संस्थागत स्पमा काम कारबाहीस् गर्न नसकेता पनि छिटफुट रुपमा सम्पर्क कमिटीमा रहेर काम गरेको पाईन्छ ।
वि.स. २०२२ सालमा भूमिगत रुपमा उमेश चन्द्र थापाको नेतृत्वमा जिल्ला संगठन कमिटी बनाइएको पाइन्छ । त्यसपछि उमेश चन्द्र थापाले कार्यक्षेत्र छाडेर काठमाडौंतिर गएपछि भेषराज शर्मा, पीताम्बर शर्मा, एम.एस. थापा (जो बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा श्रममन्त्री बने) पनि पेसा व्यवसायमा लागेकाले संगठनको काम अघि बढ्न सकेको थिएन । त्यसभन्दा अगाडि पाल्पा घर हो भन्दै बलराम उपाध्याय र कम्युनिस्ट नेता निर्मल लामाले कम्युनिस्ट पार्टीको मुखपत्र बाड्न र संगठन बिस्तारका लागि आए । यसरी निर्मल लामाले कोल्मा बराहचौर माविमा पढाएका थिए । पछि वि.स. २०२४ सालमा ओरष्टे मड्किनाका खड्ग बहादुर गुरुङ भूमिसुधार सहायक मन्त्री भएपछि निर्मल लामालाई निगरानीमा राखिएको थियो । यसरी धना महारानीबाट खड्ग बहादुर गुरुङले किनेको सय मुरी धानको मोही विवादमा निर्मल लामा भिडेका थिए । त्यसपछि निर्मल लामाले फलेबासमा पढाएर संगठन निर्माणका काममा लागेका थिए ।
वि.स. २०२४ सालमा चुडामणि शर्मा, रामचन्द्र गौतम, रुद्र बहादुर थापा क्षेत्री लगायतले तत्कालिन अवस्थामा हलियालाई मुजुरा दिने प्रथाको विरोध गर्दै ठूलीबेँसीमा हलिया आन्दोलन चलाएको भेटिन्छ । पुष्पलालले २०२४ सालमा लेखेको मूल बाटोमा समेटिएको कम्युनिस्ट पार्टीको १८ औं सिंहालोकन भन्ने पुस्तक प्रकाशित भयो । पछि तनहुँतिरका रोहित समूहका कार्यकर्ताहरुले नयाँ जनबादी पुस्तक ल्याए । पार्टी प्रतिबन्ध भएकाले फापरथुम ठूलीबेंसी आसपास हुँदै फलेबाससम्मको खच्चरको बाटो भएको हुँदा निर्मल लामाहरुले छुट्टै संगठन बनाएका थिए । त्यसै गरी नरेन्द्र भट्टराईले छुट्टै आन्दोलन गरे । नेपाली कांग्रेसका दण्डपाणी उपाध्याय (बिरुवा)ले गरेको आन्दोलनमा अर्को कम्युनिस्ट आन्दोलन रामचन्द्र चापागाई, मेघ बहादुर थापा, नरनाथ लम्साल, टंक प्रसाद पोखरेल ठाकुर प्रसाद उपाध्याय पोखरेल, टंक प्रसाद शर्मा चापागाई, दीपक अधिकारी, र नविन अधिकारीले छुट्टै संगठन गर्र्दै आएका थिए ।
२०२७÷०२८ सालतिर नेपाली कांग्रेसले सशस्त्र विद्रोहको घोषण गरेको थियो । कतिप ठाउँमा कांग्रेसको विरुद्धमा कम्युनिस्टका नामबाट भिडाउने, उपयोग गर्न लगाउने, पञ्चहरुको चालबाजी नै चलिरहेको थियो । प्रजातन्त्र बलियो बनाउँदा राष्ट्रियता कमजोर हुने, विदेशी हस्तक्षेप बढ्ने हुँदा राष्ट्रियता र प्रजातन्त्र सँगसँगै जान सक्तैन । कांग्रेस बलियो हुँदा राष्ट्रियता कमजोर हुन्छ बरु कम्युनिस्ट र राजा राष्ट्रवादी हुन् । कांग्रेसहरु अराष्ट्रिय तत्व हुन् भन्ने पञ्चहरुको व्यापक प्रचार थियो । त्यसैको लहैलहैमा कम्युनिस्टहरु पनि प्रभावित थिए ।
कम्युनिस्ट भएपछि डाक्टर हुन पाईन्छ । केशरजंग रायमाझीले डाक्टर पढाउन रुस पठाउँछन् भन्ने हल्ला अनुसार स्याङ्जाका केहि युवा विद्यार्थीहरुलाई रुसमा निःशुल्क डाक्टरी पढ्न पठाइएको थियो ।
चीनमा सांकृर्तिक क्रान्तिको खबर राष्ट्रिय अन्तर्राष्ट्रिय रेडियोको माध्यमबाट देशभित्र चलेको अर्को सामन्तवादी दमनको विरोधमा जनमत बढिरहेको थियो । फापरथुमको वनजंगल व्यक्तिको नाममा दर्ता गरेको विरोधमा बान्नो भत्काउने, ब्यक्तिगत बनाएका जग्गा सार्वजनिक घोषणा गर्ने काम फापरथुम, पञ्चमूल र आरुचौरमा भएका थिए । सो आन्दोलनको नेतृत्व धर्मदत्त ढकाल, सोमनाथ सापकोटा र पूर्णभद्रले उठाएका थिए । धर्मदत्त ढकालले भन्ने गर्थे ‘म झापा विद्रोहको समर्थनमा काठमाडौंमा जुलस गरी आफैले नेतृत्व गरेको थिएँ’ । पछि मुक्ति पोखरेलको नेतृत्वमा संगठन बनाएर जग्गा हडप्ने विरुद्धको आन्दोलन गरिएको थियो ।
वि.स.२०२८ सालमा प्रशासनको नाकैमुनि स्याङ्जाको टुडिखेलमा चुडामणि शर्मा, रुद्रबहादुर, केदार प्रसाद ढकाल र भृषराज शर्माले जिल्ला स्तरीय सास्कृर्तिक सम्मेलन गराएका थिए । पछि केदार ढकाल र भेषराज शर्मालाई प्रशासनले दुःख दिएको थियो । २०२९ सालमा चौथो जिल्ला सम्मेलन बनारसमा हुँदा एम.एस. थापा स्याङ्जाबाट बैकल्पिक केन्द्रीय सदस्य बनेका थिए । पार्टीको पोलिट ब्युरो सदस्य चाहिँ चित्र बहादुर गुरुङ थिए । उक्त समयमा छापाखाना किन्नका लागि रकम जम्मा गर्ने कुरा भएको थियो । स्थानीय शोषक फटाहाहरुको विरोध गर्नुपर्छ भन्ने थियो । तथापि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालले चाहिँ नीति नै बनाएर अप्रेसनको काम गर्नुपर्छ भन्थे ।
वि.स. २०२९ साल पुस १ गते राजा विरेन्द्र मुर्दावादको पर्चा बाड्ने काम थियो । नुवाकोट, रामकोश, सेतिदोभान, लामागे, स्याङ्जा बजारमा बेलुकी ७ बजेबाट नेकाका रामचन्द्र गौतम, नारायण गौतम, रुद्र बहादुर थापा, चुडामणि शर्मा , गुमान सिंह थापालगायतले रातभरी नै पर्चा बाडेका थिए । बिहान घरमा पुग्दा नेकाका नारायण गौतम रुद्र बहादुर थापा, र रामचन्द्र गौतमलाई पक्राउ गरियो । राम चन्द्र गौतम र रुद्र बहादुर थापालाई चरम यातना दिइयो । तर, नारायण गौतमलाई कांग्रेस रहिछस् जा भनेर छाडियो । जिल्ला प्रहरी कार्यालयका स्थानीय प्रहरी निरीषकले गालामा हान्दा रुद्र बहादुरको कानको जाल नै फुटेको थियो । त्यसैकारण उनी हालसम्म पनि कान सुन्दैनन् । बहिरो बनेर हिडिरहेका छन् । त्यसै गरी २०२७ सालमा विरुवाको किचानासमा टंक प्रसाद पोखरेल, रामचन्द्र चापागाई, टंक चापागाई, तारणी प्रसाद वाग्ले, दीपक अधिकारी, धन प्रसाद वि.क., ठाकुर प्रसाद उपाध्याय पोखरेललगायतले भ्रष्टाचार विरोधी अभियान चलाएका थिए ।