बल्लव भाई पटेलले राजा त्रिभुवनकै पालामा नेपाललाई लिन खोजेका थिए
वि.स. १९८२ साल चैत्र १५ गते तत्कालिन चारबुर्जा दरबार हालको कान्तिपथ, काठमाडौंमा जन्मनुभएका पुरुषोत्तम शम्शेर जबरा नेपालका चिर परिचित इतिहासविद् हुनुहुन्छ । उहाँका बाजे रुद्र शम्शेर जबरा नेपालका प्रथम फिल्डमार्शल हुनुहुन्थ्यो । बाबु ईश्वर शम्शेर जबरा र आमा बोर्ण कुमारी राणाका जेठा सन्तानका रुपमा उहाँको जन्म भएको हो । उहाँका दुई भाइहरु माहिला बटुक शम्शेर र कान्छा किशोर शम्शेरको निधन भइसकेको छ । भारतको वाराणसी स्थित जय नारायण कलेजबाट शिक्षा प्राप्त गर्नुभएका जवराले श्री तीनहरुको तथ्य वृतान्त भाग–१, २०४७, श्री तीनहरुको तथ्य वृतान्त भाग–२, लुकेछिपेका प्रतिभा, सम्झेका र सुनेका कुराहरु, भएका र सुनेका घट्नाहरु, लुकेछिपेका प्रतिभाहरु, राणाकालिन प्रमुख ऐतिहासिक दरबारहरुलगायत पुस्तकहरुको प्रकाशन गर्नुभएको छ । जहाँनिया राणाशासनको अन्तको लागि क्रान्तिमा खरो रुपमा उत्रनुभएका पुरुषोत्तम शम्शेर जवरासँग हाल गणतन्त्रकालिन नेताहरुले गरेको जहाँनिया शासनको अवस्थाका बारेमा उहाँकै निवास कुपण्डोलमा कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले गरेको विशेष अन्तवार्ताः
० तपाई प्रथम फिल्ड मार्शलको नाती बाल्यकाल कसरी बित्यो ?
हाम्रो परिवारलाई जुद्ध शम्शेरले काठमाडौंबाट धपाउँदा म सात वर्षको थिएँ । पाल्पामा लामो समय बसियो । त्यहाँ मलाई सबैले चिन्थे । मेरो जिजुबुवा फिल्ड मार्शल रुद्र शम्शेरले जे गरे पनि ‘ऐन बमोजिम’ भन्नुहुन्थ्यो । मैले उहाँलाई एउटा रेकर्डर बनाएर ऐन बमोजिम भन्नुस् न भन्थे । त्यो बेलामा उहाँले अड्डा अदालत, सेना र प्रशासनका विषयमा वास्तै नगर्नुभन्नुहुन्थ्यो । कसैले आफ्नो मान्छे भर्ना गर्ला कि भनेर त्यसो भन्नुुहुन्थ्यो मैले जिजुबुवालाई मन बुवा भन्थे । अनेक कुरा गर्छ यसले भन्दै मलाई गाली गर्नुहुन्थ्यो ।
० त्यसपछि कति वर्षमा वाराणसी जानुभयो ? अध्ययन कहाँ गर्नुभयो ?
मैले आफ्नो पुस्तकमा सम्पूर्ण कुराहरु लेखेको छु । २००७ सालको क्रान्तिमा लागेका कारण पढाई छुट्यो । हामीले क्रान्तिका लागि भारतको बर्गनियामा दुईवटा घर भाडामा लिएर राखेका थियौं । त्यो समयमा नौतनवाको क्षेत्रतर्फ डा. केआइ सिंहले क्रान्तिको नेतृत्व गरेका थिए । हामीसँग डा. सिंहले मिलेर क्रान्ति गर्ने सहमति भएको थियो । तथापि उनले धेरै जनताहरु ल्याउन सकेनन् । हामीले सेना ल्याउने भनेर ति दुई वटा घर प्रयोग गर्ने भनिएको हो ।
० तपाईहरुलाई भ्याली बाहिर पठाउनुको कारण खास के थियो ?
जुद्ध शम्शेरले आफ्ना छोरा बहादुर शम्शेरलाई श्री ३ प्रधानमन्त्रीको रोलक्रममा राख्नका लागि यो प्रपञ्च गरेका थिए । तर, जुद्ध शम्शेरकै आमा भारतीय थिइन् । उनी त्यहाँको कथित तल्लो जातकी थिइन् । उनलाई बीर शम्शेरले उच्च जात दिलाएका थिए ।
० तपाई जहाँनिया शासनको अन्तका लागि २००७ सालको क्रान्तिमा सामेल हुनुभयो । तर, दलका नेताहरुले झनै श्रीमती, छोराछोरी, भाइभतिजा, सालासाली, महिला साथीलगायतलाई समानुपातिक सांसद बनाएर लाभको पदमा राखेर जहाँनियाँ शासन गरिरहेका छन् । यसबारेमा तपाई के भन्नुहुन्छ ?
मनपरितन्त्र छ, आफ्नो इच्छा अनुसार काम गरिरहेका छन् । अहिले म राजनीतिमा सक्रिय पनि छैन । केबल तमासा हेरेर बसिरहेको छु । अहिले खुट्टाका कारण हिड्न पनि सक्तिन । जानु पनि कहिँ छैन । टेलिभिजन हेर्ने र समाचार सुन्नुबाहेक केहि छैन ।
० तपाईले तत्कालिन शासकहरुको भित्री कुराहरु पनि सतहमा ल्याउनुभयो नी ?
हो म त्रिभुवन सरकारसँग गएर दिल्लीमा पनि बसे । हामी रोजै (दैनिक) जसो नै त्यहाँ जान्थ्यौं । त्यहाँ त्रिभुवनका छोराहरुसँग कुरा हुन्थ्यो । त्यो समयमा भारतीयहरुले कुनै पेपरसम्म पनि हेर्न दिँदैनथे । मेलै लगेका पत्रिकाहरु हारालुछ गरी पढ्ने गर्दर्थे । महाराजधिराजहरुले पनि त्यहि पत्रिका हेर्थे । त्रिभुवनले पनि नेपाललाई भारतीयहरुले लिन खोजे भनेर कुरा बुझिसकेका थिए । त्यहि समयमा भारतीय नेता बल्लवभाई पटेलले भारतीय राजाहरु खत्तम पारेपछि नेपाललाई लिन खोजेका थिए । त्रिभुवन सरकारले यो कुरा बुझेर बिरामी भएको नाटक गरी उसलाई भेट्न दिएनन् । संयोगबस त्यहि समयमा बल्लबभाइको निधन भयो । त्रिभुवन सरकारले किन बिरामी कोठामा बसेको सुरुमा भन्नुभएन र उहाँ हार्ट (मुटु)को बिरामी भएका कारण सुरुमा हामीलाई विश्वास लाग्यो । तर, पछि मात्रै थाह भयो, उहाँले बल्लवभाइको प्रश्नको उत्तर नदिनका लागि त्यसो गर्नुभएको रहेछ । वार्षिक करोडौं रुपैया दिन्छौं राजकाज छाड्नु भनेर त्रिभुवनलाई भारतीय नेता बल्लव भाइले भनेका थिए । हामीलाई त्रिभुवनले सरकारले पछि मात्रै भन्नुभयो ।
० त्यहि समय देखि नै नेपाललाई लिनका लागि भारतीय नेताहरुले योजना बनाएका रहेछन् नी ?
हो त्यो बेलामा नै नेपाललाई लिनका लागि हात हालिसकेका थिए । उता भारतीय राजाहरुलाई खत्तम गरेपछि नेपाल लिनका लागि तयारी गरिरहँदा पटेलको मृत्यु भयो । पटेल मरेका कारण नै नेपाल बच्यो । पछि ज्वाहरलाल नेहरु पटेल जस्तो कडा थिएनन् ।
० इन्दिरा गान्धीले पनि त नेपालको तराईलाई गाभ्नका लागि तयारी गरेको कुरा रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का अधिकारी आरके यादवले लेखेको पुस्तकमा भनिएको छ नी ?
त्यो समयमा भारतलाई जरुरत भएकाले केहि भाग मात्रै लिन खोजिएको हो । तर, बल्लवभाइ पटेलले त नेपालको सबै भूभाग लिन खोजेका थिए ।
० हाम्रा राजा, श्री तीन र नेताहरुमा कसलाई राष्ट्रवादी मान्नुहुन्छ ?
राजाहरु त सबै जना उस्तै नै थिए । कसलाई के भन्ने ? पछि हाम्रा कांग्रेसका नेताहरु बिपी कोइराला पनि राष्ट्रबादी हुन् । बिपीका भाइ गिरिजा प्रसाद कोइरालाले चाहिँ जहाज अपहरण गरेर डकैती गरी नेपाली रकम भारतमा ओसारेका थिए । तथापि कसैले केहि गरेनन् । यो पुस्तक त गिरिजा प्रसाद कोइराला जिबितै हुँदा लेखिएको हो । यसमा कसैले होइन भनेनन् ।
० अहिले गणतन्त्रमा सबै नेताहरु राजा बनेर जहाँनीया शासन सुरु भएको छ । यसलाई कसरी मुल्यांकन गर्नुभएको छ ।
मलाई राजा मन पर्दैन तर, यी नेताहरुले पनि राम्रो काम गरेका छैनन् । मलाई अहिले राजनीतिमा मन लाग्दैन ।
० तपाई ९८ वर्ष सम्म देखेका र भोगेका अविश्मरणीय कुनै घट्नाहरु पनि छन् की ?
मैले भनिसके राजा त्रिभुवन बिरामी भए भन्दै देश बचाउनका लागि नाटक गरेको पनि देखेँ । राजाहरुले गोली हानेर मारेको पनि देखियो । शाहवंशको राजकाज पनि देखियो ।
० गणतन्त्रको भविश्य कस्तो देख्नुभएको छ ?
अहिले त अनेक खालको छ । हामी त कल्पना नै गर्न सक्तैनौं । आ–आफ्ना पार्टीका भनाईहरु बेग्ला बेग्लै छन् ।
० विदेशीको दवाव र प्रभाव पहिला भन्दा बढि भएको हो ?
वास्तवमा नेपालमा विदेशीको प्रभाव पहिला भन्दा बढि नै छ । जुन कुुरा पनि समय अनुसार हुँदो रहेछ ।
० अन्तमा केहि भन्नु छ कि ?
जीवन भनेकै आयो, गयो र बित्यो । त्यहि नै रहेछ । अन्य केहि छैन ।