गोकुल जोशीकै कारण पबित्र विचार र स्वच्छ भावना लिएर हिड्न सिकें: भेँडाबारी माहिला
शुक्लागण्डकी नगरपालिका वडा नम्बर ११ राइपुरको खोलाखेतमा जन्मनुभएका भेडाबारी माहिला जनकबि गोकुल जोशीका बालसखा हुनुहुन्छ । गोकुल जोशीका विषयमा ७९ वर्षिय जेष्ठ नागरिक भेँडाबारी माहिलासँग तनहुँकै राईपुरमा जम्काभेट हुँदा डायरी एक्सप्रेस साप्ताहिकका नारायण प्रसाद शर्माले लिएको छोटो अन्तवार्ताः
० तपाईले गोकुल जोशीलाई कसरी चिन्नुहुन्थ्यो ?
पातलो शरीर, मिलेका दात भएका, गडेका आँखा शारीरिक रुपमा र गहुँगोरो, नाके नाके बोली भएका गोकुल जोशीको हुलिया थियो । उहाँले मलाई भेँडाबारी माहिलो भनेर बोलाउँनुहुन्थ्यो । मेरोतर्फबाट गोकुलको सम्झनामा एक दुई काब्य पनि सुनाउन चाहन्छ, ।
जस्तो रंग मिलायो त्यस्तै हुन्छ पानी,
संगत अनुरुप हुन्छ आचरण र बानी ।
याद छ बचपन गोकुलजीसँगको,
छिटा प¥यो मेरो काब्य रंगको ।
उहाँले भनेको एउटा शब्दको मेरो जीवनमा गायत्रीमन्त्र बनेको छ । म ६ वर्षको थिए । एक जना मानिस दुईवटा सुनको बेरुवा औँठी, घडी, कोट सुरुवाल र छालाको जुत्ता लगाएर कडक कडक गर्दै चौतारीनेरबाट हिडिरहेको थियो । ‘ए कान्छा बा कति धनी मानिस रहेछ’ भनेर मैले उहाँलाई सुनाए । ‘सुनैको दौरा सुरुवाल लगाएपनि एक दिन उ पनि मर्छ’ भन्नुभयो ।
उहाँले आफ्नै सुरमा भनेको एउटा काब्य पनि छ ।
रहँने छैनन् चौपारी पर्खाल पुर्खाले चिनेको,
हिड्ने दिन हो पुरानो बाटो बाउबाजे हिडेको ।
कोदाको सुखा नूनको ढिका मिलाई टोकेको,
छोराले डोको बोक्दैन अब बाबुले बोकेको ।
गोकुलको यो भविश्ष्यबाणी अहिले हामी सबैले भोग्नु परेको छ ।
लक्ष्मी प्रसाद देबकोटा र लेखनाथ पौडेल पनि गोकुलको अगाडि केहि पनि हुनुहुन्नथ्यो ।
३१ वर्षसम्म कुमारै रहेर समाजलाई चेतना दिएर,
अन्तमा अपमानित भई जानुप¥यो गोकुललाई संसारै छाडेर ।
धेरै थिए काब्य रचना गोकुलको झोलामा,
कसको हात प¥यो होला अन्त बेलामा ।
तिनै काब्य रचना लिएर घुमेका छन् कवि बनेर,
काब्यको फल चाखे तर, काब्य नै चिनेनन् कसैले ।
० गोकुल जोशीसँग भएका अनय स्मण पनि छन् कि ?
वास्तवमा दूर्गन्धित पानीमा उत्पन्न भएपनि कमलको फूलमा त्यो पानीबाट सिन्चित हुन सक्तैन । आकासको पानीबाट फर्कनु पर्दछ । त्यसैगरी यो दानबतामुखी समाजमा जन्मेको भएपनि दानब्यता र बैमनस्यताले स्पर्श गर्न सकेन । जोशी एक जना समाज सुधारक हुनुहुन्थ्यो । उहाँका काब्यहरु पढियो भने कहानी धेरै छ । उहाँलाई कतिले बौलाह पनि भने । २००८ साल तिर गोकुल मेरा बाबुका अत्यन्तै प्रिय पात्र हुनुुहन्थ्यो । आर्थिक रुपमा उहाँको निम्न अवस्था थियो ।
२००८ सालमा पैसाको आवश्यकता भएर मेरा पिताजीले भैसी बेचिदिनुभएछ । कटौरा भरी महेन्द्र मल्ली रुपैया चुलि भरिराखेका थिए । गोकुल कतैबाट आउनुभयो । र भन्नुभयो हेर्न माहिला कपि कलम किन्नुपरेको छ, त्यसपछि मैले राखेको ११ मोहोर झिके । त्यसपछि उक्त रुपैया गोकुललाई दिए । त्यो रकमले एक वर्ष पुग्यो । गोकुल फेरी आउनुभयो । गोकुलजीले संसारमा घटेका हरेक घट्नाहरुलाई काब्यमा उतारेर लेख्नुुहुन्थ्यो । १०–१५ घुमेर आएपछि ज्यामा (हजुर आमा) भेट्नुहुन्थ्यो । गोकुल मेरो पिताजीको एक जना प्रिय मान्छे मध्येको हुँनाले म पनि उहाँको प्रिय थिएँ । उहाँले सधै मलाई भेँडाबारी माहिला भनेरै बोलाउनुहुन्थ्यो । यसरी मेरो घर चार नम्बरमा र उहाँको घर तीन नम्बरमा पर्दथ्यो । म आज जस्तो बनेको छु, त्यो गोकुल जोशीकै प्रेरणाबाट बनेको हुँ । स्वच्छ भावना र पवित्र विचार लिएर ंहिड्न सिकेँ । अन्याय र अत्याचारको बिरोध गर्न पनि उनै जोशीले सिकाए ।
० नेपालमा अहिलेको अवस्थाबारेमा तपाईको केहि भन्नु छ कि ?
जीवन अनिश्चित छ । स्वर्गभूमि नेपाल अहिले नर्क बनिरहेको छ ।
मैले यसै विषयमा केहि काब्य पनि लेखेको छु ।
पाँच ज्ञानेद्रीययुक्त शीर झुकाई शाष्टङ्ग दण्डवत छ नेपाल आमालाई
श्रृष्टिको विधानलाई पालना गरेर पापको घर सहेर
अन्याय, अत्याचार अनि बलात्कारबाट च्यूत बन्यो तिम्रो पबित्र दरबार
हिउँको सेतो बस्त्र ओडेर पर्वत श्रृंखलाको तन्लेसो पिएर
श्रृष्टिको विधानलाई पालना गरेर कति बस्छौ पापको घर सहेर
हाम्रो धर्म र संस्कार बेचे नेताहरुले
सबै प्रभाव बन्यो विदेशी सभ्यताले ।
चल्दैछ तत र ममको महामारी
एउटै छ मन्दिर धेरै छन्, यहाँ पुजारी ।
बर्वाद हुँदैछ, देशको अर्थतन्त्र
भ्रष्टाचार भयो राजनीतिको मन्त्र ।
बिकृति ल्यायो महिला सशक्तिकरणले,
रुनुपरेको छ माता र पिताले ।
जन्माए, लेखाए, पढाए, हुर्काए,
अहिले तिनले के फल पाए ।
पुत्र बधु घुम्छन् शहरहरुमा,
माता पिता नुहाउँछन् आशुको नदीमा ।
नरोउँ सन्तान अज्ञानी पर्दा,
भोलि तिमी माथि नै बिपत्ति पर्ला ।
० गोकुल जोशीको थर जोशी कसरी रहेको हो ? उहाँ त पोखरेल होइन ?
बहाकोट डाँडास्वाराका क्रान्तिकारी नेता होबिर आले हाम्रो घरमा आउनुभएको थियो । मेरो पिताजीको अत्यन्तै मिल्ने साथी हुनुहुन्थ्यो । उहाँ राष्ट्रिय पञ्चायतको पनि सदस्य हुनुभयो । गोकुललाई तिम्रो काब्य अत्यन्तै जोशिला रहेछन् भनेर जोशी नाम राखिदिनुभएको हो ।
० तपाईलाई कबिताहरु रचना गर्ने प्रेरणा गोकुल जोशीकै कारण हो ?
मैले जत्ति लेखे त्यो सबै गोकुल जोशीकै प्रेरणाबाट हो ।
बर्षाभरी कालकाटी हिउँद आएपछि,
लुगा फेर्न सुन्ताला र सुठो बोकी बोकी ।
जंगलको जडिबुटी संगालेको घिउ,
बेच्न हिड्छन् ढाक्रे दाजु गर्दै सिउँ सिउँ ।
दिनभरीको थकाईमा ज्यान थकाएर,
बास बस्छन् रुख मुनि ज्यान जोगाएर ।
यो २०११ साल माघ १४ गते गोकुलले मेरो घरको आडको तगरामा बसेर बनाउनुभएको काब्य हो । किनकी उहाँहरु त्यहि वर्षको पुस १८ गते बुटवल जानुभएको थियो । त्यसपछि फर्केर आएर यो कविता लेख्नुभएको हो । गोकुलको जीवनी बिस्तार गर्दा महाभारत नै बन्छ ।