October 3, 2023

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

मापदण्ड बिपरितका इट्टाभट्टा सञ्चालनमा नगरप्रमुख गिरीको साथ ?


शारदा देवी सापकोटा


काठमाडौं । पञ्चायतकालमा राष्ट्रिय पञ्चायतका उपाध्यक्ष तथा मन्त्री बनेका पर्साका जय प्रकाश मलाहाले जनतालाई कसरी बेकुफ बनाउनुपर्छ भन्ने खुलासा गरेका थिए । जयप्रकाशले आमसभामा जनतासामु मञ्चमा गएर बोल्दा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओ र अञ्चालाधीशलाई बेसरी गाली गर्दर्थे । त्यसपछि उनीहरुकै निवासमा गएर भन्ने गर्थे । “जनताको भोटका लागि मात्रै यो कुरा गरेको हो अन्यथा नलिनुहोला, म त तपाईकै मान्छे हुँ” । ठ्याक्कै त्यहि नक्कल गरेका छन् चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले । इट्टाभट्टा बस्तीबाट हटाउन स्थानीयहरुले पटक पटक आन्दोलन गर्दै आएका छन् । तर, परिणाम अहिले पनि आएको छैन । केहि इट्टाभट्टाले अहिले पनि काम सञ्चालन गर्ने तयारीमै छन् । नगरप्रमुख गिरीको व्यवहार कतै बार्गेनिङ्ग त होइन भन्ने आम स्थानीय बासीले शंका गरेका छन् ।
चन्द्रागिरी नगरपालिकामा रहेका इट्टाभट्टाहरु मापदण्ड बिपरित वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन बिनै अहिलेसम्म पनि सञ्चालनमा छन् । नगरपालिकाले यी भट्टाहरु मापदण्ड बमोजिम सञ्चालन गर्न राजपत्रमा सूचना जारी गरीसकेको छ । तथापि अहिलेसम्म पनि बिएन इट्टाभट्टा सञ्चालन हुँदै आएको छ । राजनीतिज्ञहरुले मञ्चमा जनता सामु एउटा कुरा बोल्ने र उद्योगी ब्यापारीसँग चन्दा लिनका लागि गोप्य रुपमा निवासमै पुग्ने प्रवृतिका कारण यो अवस्था आएको हो ।

नगरपालिकाका प्रमुख गिरीको हिरा इट्टाभट्टामा समेत लगानी रहेको श्रोतको दाबी छ । त्यसैकारण पनि अन्य इट्टाभट्टाहरु पनि हिरा इट्टाभट्टकै सञ्चालकसँग मिलेरै मापदण्ड बिपरित भएपनि सञ्चालन गर्न पाउनुपर्छ भन्ने मौकाको खोजीमा छन् । चन्द्रागिरी नगरपालिकामा केहि वर्ष अघि सम्म २५ वटा इट्टाभट्टा सञ्चालनमा थिए । अहिले वडा नम्बर १० मात्रै चार वटा इट्टाभट्टा सञ्चालनमा छन् । मापदण्ड बनाएर मात्रै सञ्चालन गर्न पाउने अन्यथा यथास्थितिमा इट्टाभट्टा सञ्चालन गर्न नपाउने अदालतको आदेश छ ।


अदालतको आदेश बिपरित अहिले पनि इट्टाभट्टा सञ्चालन गरिरहेको हुँदा हटाउन माग गर्दै स्थानीयहरु यहि कार्तिक २० गते आइतवार पनि भेला भएका थिए । भेलामा नगरपालिकाका बिपद् व्यवस्थापन अनुगमन समितिका संयोजक सञ्जय सिग्देल, चन्द्रागिरी नगरपालिका वडा नम्बर ९का वडाअध्यक्ष अच्युत अधिकारी, सुन्दरबस्ती टोल सुधार समितिका संयोजक शंकर खड्कालगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । वडा अध्यक्ष अधिकारीले इट्टाभट्टा कुनै हालतमा पनि यथास्थितिमा सञ्चालन गर्न नदिइने भन्दै प्रष्ट पारेको टोल सुधार समितिका संयोजक शंकर खड्काले बताए ।

यस विषयमा चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले मापदण्ड भित्र रहेर सञ्चालन गर्नका लागि बिएन इट्टालगायतले निवेदन दिएको र त्यस विषयमा छलफल भइरहेको बताए । कस्तो मापदण्ड बनाउने भन्ने अहिले नै एकीन नभएको नगरप्रमुख गिरीले प्रष्ट्याए । तपाईहरुले राजपत्रमा भट्टा बन्द गराउनु भन्ने आदेश प्रकाशन गरेको हैन भन्ने प्रश्न गर्दा मापदण्ड बनाएर सञ्चालन गर्नु मात्रै भनेको भन्दै बन्द गर्न नभनेको जिकिर गरे । यस विषयमा बिएन इट्टाभट्टाका सञ्चालक पूर्ण महर्जनसँग सम्पर्क उनले भने “हामी अहिले भट्टा सञ्चालन गरिरहेका छौं । अर्को वर्ष नगरपालिकाको पनि निर्देशन मान्नुपर्छ के हुन्छ हेरौ”।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.