संविधान नचिनेका व्यक्तिहरु दादागिरी देखाएर जनताको फैसला गरिरहेका छन्

केपी शर्मा ओली, अध्यक्ष नेकपा एमाले
/
स्थानीय निर्वाचनको मतदानकै क्रममा मात्रै सत्ताधारी दलको घमण्डले ५/७ जना एमालेका मानिसहरु मारिएका छन्् । हुम्ला, अछाम, बाजुरा लगायतका ठाउँमा एमालेका मानिस मारिएका हुन् । कांग्रेस र माओवादीका मानिसहरुले एमालेका मानिसहरु मारेको अवस्था छ । यो लोकतन्त्र हुनै सक्तैन । अहिलेसम्म जनताले स्वतन्त्र रुपमा भोट हाल्न नपाएको ठाउँ स्याङ्गजाको चापाकोट पनि हो । जसको पारिपट्ट रामपुरमा पनि स्वतन्त्र र निश्पक्ष निर्वाचन भएको छैन । स्थानीय तहको निर्वाचनमा पाँचदलभित्रै पनि केहि ठाउँमा कांग्रेसले माओवादीलाई त केहि ठाउँमा माओवादीले कांग्रेसलाई, केहि ठाउँमा एसले कांग्रेस माथि आक्रमण पनि भए । यो कहिँ लोकतन्त्र हो ? यसरी जनताले स्वतन्त्रपूर्वक मतदान गर्न नपाएको नेपालको अत्यन्तै कुख्यात ठाउँ नै स्याङ्जाको चापाकोट बनेको छ ।
हामी लडेको किन नेपाली कांग्रेसका नेताहरुलाई सोध्न चाहन्छु । कि जनताले लोकतन्त्रको प्रयोग गर्न पाउदैनन भन्नु प¥यो । जनताले पाउने भनेकै मताधिकार हो । मताधिकारकै प्रयोग गर्न दिइदैन भने लोकतन्त्रका निमित्त बलिदान नगरेका, लोकतन्त्रका निमित्त यातना नपाएका मानिसहरु जनताको मताधिकार खोस्ने गरेका छन् । जसले लोकतन्त्रका निमित्त ज्यान जोखिममा राखेर आन्दोलनमा होमिएको हुन्छ, लोकतन्त्रका निमित्त, बलिदान र काम गर्दछ । आफ्नो ज्यान जोखिममा किन राख्छ ? देश र जनताका निमित्त राख्छ ।
जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने बुँथ कब्जा गर्नुपर्छ, भोट लुटेर जनता मारेर मैले जिते भनेर यो लोकतन्त्रमा कुनै अर्थ रहँदैन । जसरी पनि बुथ नै कब्जा गरेर भएपनि, प्रहरी प्रशासन लगाएर, मतदातालाई बाटो छेकेर, प्रहरी लगाएर बाकस फोर्नुपर्छ भन्ने, मतदातालाई ढुंगा हानेर तर्साएर, मतदाताको अधिकार खोस्नुपर्दछ भन्नेहरुलाई रोक्नैपर्दछ । नेकपा एमालेलाई देशभरबाटै लुटिएको भोट चाहिदैन । तर, नेकपा एमाले कसैले जनताको मताधिकार खोसेर जनताको मत लुट्न खोज्छ भने, लोकतन्त्रको हनन भइरहँदा पिठ्यु फर्काएर बस्न अवस्था हुँदैन । एमाले कुनै पनि हिसावमा टुलुटुलु हेरेर बस्ने छैन । हामी गलत काम कारबाही र क्रियाकलाप गर्दैनौं । तर, लोकतन्त्र विरोधी क्रियाकलापको जवाफ नेकपा एमालेले दिनैपछ र नियन्त्रण गर्नैपर्र्छ । गुण्डागर्दी र लुटपाट रोकेर जनताको हक अधिकार स्थापित नगर्ने हो भने हामी जेल नेल खाएको के अर्थ हुन्छ ? देशका लागि लड्दा हाम्रा अग्रणीहरु अंगभंग भएका छन् । पारिवारिक अवस्था चौपट भएको छ । देशका लागि जीवनको आहुती गरेका छन् । तर, यो जानी जानी किन मैदानमा आइएको छ ? त्यो लोकतन्त्रका लागि नै हो ।
राणा र राजाहरुको शासनमा पनि लोकतन्त्र नभएकै कारण उनीहरुका विरुद्धमा हामी लडेका हौं । कांग्रेस र माओवादीले गुण्डागर्दी गर्दा पनि त्यसका विरुद्ध हामीहरु लडेका छौं । जनताका लास माथि टेकेर खिल्ली उडाउने कुरा नेकपा एमालेलाई मान्य हुँदैन । टुलुटुलु हेरेर पनि बस्न सक्तैन ।
मैले हृदय देखि नै स्वागत गर्न चाहन्छु । हामीले जुन सुकै शर्त राखे पनि पद महाधिवेशनसम्मका लागि हो । मलाई महाधिवेशनबाट अध्यक्ष चुनियो भने मात्रै अध्यक्ष हुन सक्छु । अन्यथा हामी आफै बाहिरिनुपर्दछ । हामीलाई के ले स्थायी बनाउँछ भने हाम्रो कामले मात्रै । हामी सक्रिय भएर लाग्यौं, र आफ्नो भूमिकालाई प्रभावकारी बनायौं भने मात्रै हामी त्यहि पद पाउन सक्छौं । जसको श्रेष्ठता छ उसले त्यहि अनुसारको काम पाउँछ ।
कोलम्बसले नयाँ संसारको पत्ता लगाउनका लागि स्पेन र पोर्चुगलमा तीन वटा जहाज र खानाको व्यवस्था गरिदिए भारत पूर्व छ भने म पश्चिमतिर लाग्नेछु भनेर खोज अनुसन्धान गर्नका लागि माग राखे तर, पोर्चुगलले मानेन । स्पेनमा पनि त्यहि माग राखे । उनले अदालतमा मुद्दा हाले । अन्तमा सहमति भयो । स्पेन सरकारले तीनवटा जहाज एक वर्ष चलाउनका लागि र अन्य खानपानका लागि समेत व्यवस्था गरिदियो । यसरी प्रयास बिना कुनै उपलब्धि हात पार्न सकिदैन । कोलम्बसको यो भ्रमणबाट युरोपमै कायपलट भयो । जबकी सुरुमा स्पेन र पोचुगल दुबैले त्यो परिमाणको सहायता दिन मानेनन् । संसारमा असम्भव भनेको कुरा केहि छैन । सबै कुरा सम्भव बनाउन सकिन्छ ।
हाम्रो जस्तो प्रकृतिले भरिपूर्ण देशमा विकास गर्ने कुरा गर्दा उखान हाल्यो भन्छन् । हामीले विकास गर्न सक्छौं भन्ने कुरामा मलाई आत्मविश्वास छ । अहिले पाँच दलिय आठ दलिय गठबन्धन छ । देश जनतको हितमा छैन । सर्वभौमिकताको प्रश्न उठिरहेको छ । सुशासनको कुराहरु उठेका छन् । ‘समृद्ध नेपाल, सःखी नेपाली’ जस्ता राम्रा शव्दहरु यिनीहरुको मुखबाट कहिल्यै सुन्नु भएको छ ?
राष्ट्रपतिले नागरिकता विधेयकमा त्रुटि देखिएका कारण संसदमा फिर्ता पठाउनुभयो, संसदमा नल्याइकनै बाहिरैबाट मसल देखाएर राष्ट्रपतिले फिर्ता गरेको नागरिकता संशोधित विधेयकलाई छलफल नै गरिनुहुँदैन भनियो । संसद बाहिरै निर्णय गरियो । सरकार गम्भीर हुँदो हो त संसदभित्र बहस चलाउन सक्थे । यिनीहरुको खोपडीमा शून्य छ । त्यसैले यिनीहरुको दम्भ र घमण्ड छ । पाँच दल भएपछि पुग्यो भन्ने छ । जनतालाई यिनीहरुले हेपेका छन् । ‘काले काले मिलेर खाउँ भाले’ भनेका छन् । संविधान नचिनेका व्यक्तिहरु दादागिरी देखाएर जनताको फैसला गरिरहेका छन् । देशको अस्थित्व जोगाउनका लागि पनि हाम्रो अगाडि संघीय र प्रदेश सभाको निर्वाचन आएको छ । यसमा हामीले जित्नुपर्छ । एमालेले सरकार बनाउनका लागि होइन, उद्देश्यहीन ढंगले सरकार बनाउने होइन । यो देशलाई जोगाउनका लागि, ओरालो लागेको जनताको आर्थिक उन्नतिलाई जोगाएर माथि उठाउनका लागि पनि एमालेले जित्न आवश्यक छ । यिनीहरु किन राष्ट्रिय हितका लागि अघि बढ्न सक्तैनन् ? देशका सार्वभौम जनता र लोकतन्त्रलाई हार्न दिनुहुँदैन । कांग्रेस र माओवादीले लोकतन्त्रलाई हराईरहेका छन् ।
(पर्साका प्रदेश सभा सदस्य प्रह्लाद गिरीसहितको समूह र स्याङ्जा चापाकोटका कांग्रेस, नेकपा समाजवादी लगायतका पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको अवसरमा एमालेका अध्यक्ष ओलीले पार्टी मूख्यालयमा दिएको मन्तब्य)