निसाद समुदाय र शिक्षाको प्रश्न ?
1 min read
सत्य नारायण भगत बिन्द (निषाद) संविधानसभा सदस्य / पूर्वराज्यमन्त्री नेपाल
नेपालको मधेशमा बसोवास गर्ने ठूलो हिस्सा, लगभग दश लाख भन्दा बढि जनसंख्या रहेको निषाद समुदाय पछौटेपन र गरिबीको कारण आज पनि सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक र मुख्यतः राजनैतिक बहिष्करणको कारण नेपालको हरेक समुदाय भन्दा भिन्न प्रकृतिको चौतर्फि उत्पिडन भोगिरहेको छ । निषाद समुदाय को छुट्टै प्रकृति, संस्कृति, संस्कार, पेशा, लवाई ख्वाई, उठबस भए पनि राज्यले यो समुदायलाई संवैधानिक रूपमा पहिचान दिन सकेको छैन । सदियौ देखि राज्यको शोषण, दमन, अन्याय, अत्याचार, अपमानको शिकार भई कुण्ठित भएर बस्नु बाध्य भएको छ । निषाद समुदायको अवस्था दिनानुदिन झन झन खस्किदै जानुको कारण राजनैतिक रूपमा पहुँच न हुनु जसको कारण हो । शिक्षामा अत्यन्तै पछाडि पर्नु नै हो । भनिन्छ “जहाँ गरिबी त्यहाँ अशिक्षा, जहाँ अशिक्षा त्यहाँ शोषण दमन र उत्पिडन ! जहाँ शोषण र दमन त्यहाँ, त्यहाँ सामाजिक बिद्रोह अनिवार्य हुन्छ ।” शिक्षा हरेक समस्याको सामाधान गर्ने साँचो हो । त्यसकारण यो छोटो लेख मार्फत निषाद समुदाय र शिक्षाको प्रश्नमा आधारित शिक्षाको महत्व र सामाजिक विकासको प्रश्नमा दुई शब्द कोर्ने प्रयत्न गर्ने छु ।
निषाद समुदाय जन्मजात मेहनती, इमानदार, सोझासिधा भए पनि शिक्षाको दृष्टिकोणले असाध्य नै पछाडि पारिएको समुदाय हुन । जबकी “शिक्षा सामाजिक विकासको मेरूदण्ड हो” आर्थिक हिसाबले साह्रै कमजोर रहेको निषाद समुदाय शिक्षा क्षेत्रमा पछाडि पर्नु स्वभाविक हो । शिक्षामा कमजोर भए पछि राजनैतिक रूपमा टाढिनु कुनै अनौठो कुरा होइन । राजनैतिक रूपमा पछि पर्नु को अर्थ सिधै हरेक क्षेत्रमा जबरदस्त प्रभाव पर्नु र अन्यायको शिकार हुनु हो । अर्थात यी सबै कुरो एक अर्कासँग अन्तरसंबन्धित विषय हो । एउटा भनाई छः “Poltics is comand” यस्को अर्थ राजनितिले हरेक क्षेत्र लाई नेतृत्व गर्दछ । निषाद समुदाय शिक्षा क्षेत्रमा पछाडि हुनुमा एक त गरिबी, दोश्रो चेतना कमजोर, तेश्रो समाज विकास क्रमको गतिलाई श्रृजनशिलतामा नबुझ्नु या यसप्रति उदासिन रहनु हो । हाम्रो समाज र सिंगो संसार लाई बुझ्न र बदल्न को लागी शिक्षा प्रमुख हतियार हो । शिक्षाको सन्दर्भमा दुनियाँको धेरै विद्वानहरूले आ– आफ्नो तर्क राखेको पाईन्छ । भारतको मिशाइल मैन को रूपमा चरचित वैज्ञानिक एवं पूर्व राष्ट्रपति Dr.A.P.J Kalam यसरी भन्नु हुन्छ ः– “Education is most powerful weapons which you can use to change the world” तसर्थ शिक्षा बिना हामी मानव भएर पनि अचेत र निरीह प्राणी सरह जीवन बितानु को बिकल्प छैन । Rober thost भन्छन ः “Education is the ability to listen to almost anything without lising you temper or self – Confidence.।” त्यसै गरि नेल्सन मण्डेला भन्छन ः– “शिक्षा मानव जीवन परिवर्तन को लागि शसक्त हतियार हो ।” अझै एउटा भनाई लाई बुझ्दा ः– “कागले राती केही देख्न सक्तैन र उल्लुले दिउँसो केहि देख्न सक्तैन “तर अशिक्षित मान्छे दिन रात कुनै प्रहर केहि पनि देख्न सक्तैन” । हाम्रो समाजमा जुन समुदाय शिक्षित छ त्यहि समुदाय दिक्षित छ । चारैतिर त्यहि समुदायको बोलबाला छ , प्रभाव छ । तिनै समुदायको हालीमुहाली छ । जो शिक्षामा पछाडि छ त्यो हरेक ठाउँमा पछाडि छ । यो सच्चाई हो की शिक्षा बिना हामी हाम्रो समुदाय माथि भइरहेको अन्याय अत्याचार लाई गहिराई रूपमा नत हामी बुझ्न सक्छौ , न शोषण दमनको बिरूद्धमा आवाज उठाउन सक्छौ , न समाजलाई संगठित र सुसज्जित गर्न सक्छौ , न त जायज अधिकारको लागि योग्य लडाई लड्न सक्छौ, न त संवैधानिक अधिकार सुनिश्चित गर्न नि सक्छौ । त्यसकारण शिक्षा अति नै महत्वपूर्ण विषय हो । केवल शिक्षित मान्छेले नै समय परिवेशको बदलाव संगसंगै समाज रूपान्तरण को कल्पना गर्न सक्छ । युग सुहाउदो आफुलाई लाई आफ्नो समुदाय लाई अगाडि बढाउन सक्छ । शिक्षा यस्तो “यन्त्र” हो जो मानव समाजमा भइरहेको हरेक प्रकारको घट्नाक्रम लाई सहि र गलत छुट्याउने, बोल्ने, बाद प्रतिवाद गर्ने, संगठित गर्ने, संघर्ष गर्ने चेतना पैदा गर्छ ।
निषाद समुदाय भित्र रूढिवादी पुरातन सोंच को कारण देखिएको केही कमजोरी , साँस्कृतिक विचलनता, शिक्षाप्रति उदासिनता, चिन्तन र चेतनाको अभावले पनि यो समुदाय शिक्षामा पकड जमाउन सकिरहेको छैन भने मुख्यतः– राज्यको शिक्षामा व्यापारी नीति, शिक्षामा पनि वर्गिय चरित्र अनुसार ग्रहण गर्नु जस्ता अवैज्ञानिक नीति मुख्य दोषी हुन जान्छ । शिक्षा लिनु मानव समाजको नैसर्गिक अधिकार हो । मेरो बुझाईमा राज्यले हरेक नागरिकको शिक्षा र स्वास्थ्यमा निशुल्क जिम्मा लिनु पर्दछ । गौतम बुद्ध अगाडि भन्नु हुन्छ ः– “जब तपाईको जीवनमा शिक्षा माथि अन्धविश्वास हावी हुन्छ, त्यतिखेर संझिनु होला तपाई मानसिक गुलाम भइसक्नु भएको छ ।” निश्चय नै हाम्रो निषाद समुदाय चेतनाको अभावमा पुजा आजा , धर्मकर्ममा पैसा खर्च गर्न जायज ठान्छ तर शिक्षाप्रति अनुदार नीति लिन्छ । अर्को निषाद समुदायको कमजोरीको रूपमा जोड दिएर भन्नु पर्दा दिनभरी कमाएको पैसा क्षणभरमै जाँड रक्सीमा नष्ट गर्ने, बच्चालाई स्कुल पठाउनुको सट्टा आफू सँगसँगै माछा मार्ने, आफ्नो पेशामा उतार्ने वा बनी ज्याला गर्ने तिर बढि जोड गर्ने, बालविवाह , अनमेल बिवाह, छोरा छोरी बीच भेदभाव, धार्मिक अनुष्ठान, हरेक कार्यक्रममा भोज भतेर जस्ता कमजोरीहरू पनि छन । जसले गर्दा समाज विकास हुनुको साटो समाजमा रूढिवादी परंम्परा जकडिदै अधंकारमय हुँदै गएको छ । यि प्रबृति र बिकृतीहरूको बिरूद्ध हाम्रो समुदायको सचेत युवाहरू, बुद्धिजीवीहरू, समाजसेवीहरू अभियानको रूपमा समाजमा नियमित चलाउनुपर्छ । यहिनेर भारतिय संविधानको रचायिता डा. भिम राव अम्वेडकर भन्नुहुन्छ ः– “एक रोटी कम खाओ लेकिन अपने बच्चो को पढाओ । “अझ अगाडि भन्नु हुन्छ ः– “शिक्षित बनो, संगठित बनो, संघर्ष करो, अधिकार प्राप्त करो । “अझ अगाडि थप्नु हुन्छ ः– “यदि बिना पढे अधिकारकै लिए संघर्ष मे जाओगे तो जीत असंभव है” अझै अगाडि थप्नु हुन्छ ः– “तपाईको शिक्षाले सत्य र असत्य छुट्याइयोस् र असत्यको विरूद्ध लड्ने क्षमताको साहस र विकास होस् अन्यथा त्यो शिक्षाको कुनै तुक र अर्थ छैन” । त्यसेैले हाम्रो बुझाई हो शिक्षा मानव चेतना र ज्ञानको मुल श्रोत हो भने, ज्ञान समाजिक रूपान्तरणको मुख्य मार्ग देखाउने सर्बोत्म साहस हुन । आजको २१ औं शताब्दीको नेपालमा हामी निषाद समुदाय त्यो समुदाय हो जहाँ हाम्रो दशौं लाख माथि यो देशको दस हजार, बीस हजार जनसंख्या पनि नभएको जाति समुदायले शासनको डन्डा चलाई रहेको छ, हुकुमत गरिरहेको छ, उनी शासन गरिरहेको छ हामी शासित भइरहेका छौ । जसको मूल जड शिक्षा नै हो । त्यसकारण हामी निषाद समुदायले सर्वप्रथम आफ्ना गलत कुसंस्कार युक्त संस्कृतिहरू माथि निर्मम प्रहार गर्दै, त्याग्दै जानु पर्छ । आवश्यक परे एकछाक भोकै बस्ने तर शिक्षाको महत्वलाई प्राथमिकतामा राखि आफ्नो बच्चा लाई पठन पाठनमा लगाउनुपर्छ । हाम्रो अग्रज विद्वान, समाजसेवी, राजनैतिक कर्मी र सचेत युवाहरू संयुक्तरूपमा रचनात्मक कार्यक्रमहरू बनाई, समाजको जेहन्दार बिधार्थि हरूलाई प्रोत्साहन स्वरूप पुरस्कार को व्यवस्था , पढने वातावरण को सृजना हरू गर्ने, समाजमा भई रहेको कुरिति कुसंस्कार को बिरूद्ध कार्यक्रम गर्ने, युग सुहाउँदो समाज सुधारक अनेकौ कार्यक्रम हरू गर्ने । भने राज्यले शिक्षा र अर्थ बिचको अन्तर्बिरोध लाई हल गर्दै निषाद समुदायको विद्यार्थिहरूलाई उच्च शिक्षा सम्म अध्यनको बातावरण राज्यले व्यवस्था गरिनु पर्छ । निषाद समुदाय देशकै अति विपन्न, पिछडिएको समुदाय भएको हुनाले निषाद समुदाय को बाल बालिकालाई अनिवार्य शिक्षा ग्रहण गर्नको नीति अबल्मबन गर्दै पाठ्यपुस्तक, कपि, कलम, कपडा को साथ साथै भरण पोषण भत्ताको रूपमा पनि व्यवस्थापन गरिनु पर्छ । जेहन्दार विद्यार्थिलाई रुचि अनुसारको शिक्षाको लागि विशेष प्राथमिकताको साथ लिनु पर्छ । समाज शिक्षित नभए राष्ट्र विकास संभव छैन भन्ने मान्यतालाई राज्यले अक्षरस पालना गर्दै अशिक्षित समुदायको बदलावको लागि शिक्षामुखि नितिगत कार्यक्रमहरू ल्याउनु अनिवार्य शर्त हुन् । परंरागत नभएर जनमुखि शिक्षा, व्यवसायिक शिक्षा, व्यवहारिक शिक्षा, समाजिक परिवर्तनको लागि उपयोगी शिक्षा जस्ता कार्यक्रम हरू ल्याउनु पर्छ ।
अन्त्यमा म के जोड दिन चाहन्छु भने शिक्षा यस्तो अजम्बरी सम्पत्ति हो जसलाई न कसैले चोर्न सक्छ नत नष्ट नै गर्न सक्छ र साथै समाजमा भइरहेको हरेक प्रकार को सत्य र असत्य छुट्टयाउने, जाँच्ने र नाप्ने कसी हो । शिक्षाले भित्री ज्ञानको ज्योति बल्छ र मानिसलाई सुन्दर प्रणिको रूपमा सबैको आदरणीय बनाउँछ । मानिसलाई निर्भिक, निडर र साहसी बनाउछ । शिक्षा नै ज्ञान, साहस, ताकत, पहिचान, स्वाभिमान, आत्मसम्मान, न्याय, अधिकार, संसारलाई बुझ्ने र बदल्ने लोक कल्याण को लागि ढोका खोल्दछ । मलाई के विश्वास छ भने जुन दिन देखि हाम्रो निषाद समुदाय शिक्षा प्रति लगन, मिहनेत, झुकाब र लगाव राख्न थाल्छ त्यो दिनदेखि हाम्रो समुदायको हरेक क्षेत्रमा मुक्ति र विकास सहित समुन्नत समुदायको रूपमा परिचय स्थापित गर्ने ढोका सम्भवतः खुल्दै जान्छ । त्यसकारण आजै देखि हामी हाम्रो समुदायको प्रगति, उन्नति र विकासको लागि शिक्षामा जोड दिनको लागि प्रतिज्ञा गरौं !! प्रतिबद्ध बनौ !! निषाद समुदाय माथि हुने हरेक प्रकारको सामाजिक विभेदको विरूद्ध एक जुट बनौं !! यो संसार हाम्रो थियो र हाम्रो हुनेछ !! धन्यवाद !! जय निषाद को अभिवादन !! लाल सलाम !! २०७९/१०/१० गते शुभम् !